Saturday, October 31, 2015

मलाई छेक्न खोज्दा सबै गुम्योः रामचन्द्र पौडेल

पूर्वसहमति विपरीत प्रधानमन्त्री पदको लोभ राख्दा कांग्रेसले राष्ट्रपतिसहित प्रमुख पद गुमायो नि ?

कांग्रेस पदका लागि होइन, देश, जनता र लोकतन्त्रका लागि राजनीति गर्ने पार्टी हो । राष्ट्रपति पद पाउने लोभमा कांग्रेसले राष्ट्रिय मुद्दालाई उपेक्षा गर्न मिल्दैनथ्यो । अहिले हामी राष्ट्रको चिन्ता गरिरहेका छौं । संविधानलाई लोकतान्त्रिक बाटोमा अभ्यास गराउनुपर्ने थियो । सँगै, संविधान जारी भएपछि मुलुकमा नयाँ परिस्थिति खडा भयो । संविधान त आयो तर मधेससँगको असन्तुष्टि बाँकी नै रहन पुग्यो । त्यसलाई कांग्रेसले उपेक्षा गर्न सक्ने अवस्था थिएन । त्यसमा पनि कांग्रेस, एमाले र एकीकृत माओवादीको गठबन्धनलाई फेरि जीवित राख्दा पहाड र मधेसको दुरी झन बढाउने सम्भावना हुन्थ्यो । त्यसलाई रोक्न हामीले पुरानो गठबन्धनलाई नयाँ ढंगबाट अघि बढाउनेबारे सोच्यौं ।

दलहरु विभाजित हुँदा राष्ट्रिय एकता मजबुत हुने हो र ?

अहिले ठूला दल मिलेर असन्तुष्ट पक्षलाई झन्झन् कुण्ठित बनाइरहेका छन् । आफ्नाविरुद्ध प्रमुख दल मिलिरहेका छन् भन्ने मनोविज्ञान उनीहरुमा पर्न दिनु हितकर हुँदैनथ्यो ।

प्रधानमन्त्री चुनाव आएपछि मात्र तपाईंहरुलाई त्यो ज्ञान भयो ?

होइन । मधेसको सवाल मनोवैज्ञानिक र आत्मसम्मान, सहभागिता र स्वायत्तताको हो । त्यसलाई सम्मान गर्न सके उनीहरुलाई नजिक ल्याउन सकिन्छ भन्ने सोच र मानसिकता बुझेरै कांग्रेस अघि बढेको हो ।

कांग्रेस, एमाले र माओवादीबीचको गठबन्धन तोड्दा मधेसको सवाल कसरी समेटियो र ?

हामी पहिले पनि अलग–अलग पार्टी हौं । संविधान जारी भइसकेपछि दलहरुबीच गठबन्धन जारी राख्नु आवश्यक पनि थिएन । कता–कता मधेस भर्सेज ठूला पार्टीहरुको गठबन्धनजस्तो देखियो । मधेसवादी दलविरुद्ध ठूला पार्टी एक छन् भन्ने देखियो । र, संविधान बनेपछिको अवस्थामा मुलुकलाई लोकतन्त्रको स्वभाविक बाटोमा फर्काउने प्रयत्न गरेका हौं । प्रमुख दुई दल एउटा सत्तामा, अर्काे प्रतिपक्षमा बसेका हांै । यो स्वाभाविक नियम हो ।

जे होस्, सत्ताको लोभ त थियो नि ?

लोभ वा अर्को कुरा नै होइन । लोकतन्त्र भनेकै बहुमतले शासन गर्ने हो । एमालेले अन्य दलको समर्थन जुटायो र सरकार चलाउँदैछ । दुर्भाग्य, हामीले सकेनौं र प्रतिपक्षमा बसेका छौं । यसमा हामी अधिर हुनुपर्ने कारण छैन ।

संविधान निर्माणअघि एमालेलाई सरकारको नेतृत्व दिन्छु भन्ने, अहिले आएर स्वाभाविक नियम भन्दा अलि अफ्ठेरो लागेको छैन ?
कसले दिन्छ भनेको थियो एमालेलाई सरकारको नेतृत्व ? कहाँ भएको थियो भद्र सहमति ? सहमतिका लागि पार्टी अध्यक्षले आफ्ना कलिकहरुसँग पनि छलफल गर्नुपर्छ । केन्द्रीय समिति, पदाधिकारीमा छलफल गरेर यति सहमति गरौं भनेर गरेको मात्र सहमति हुन्छ । तर, सभापतिजीले संविधान जारी भएपछि एमाले अध्यक्षलाई प्रधानमन्त्री दिने भनेर हामीलाई कहिल्यै भन्नुभएन र सल्लाह लिनु पनि भएन । ल भै हाल्यो, सुशील कोइरालाले त कांग्रेसमा सल्लाह गर्नुभएन होला, एकीकृत माओवादीमा अध्यक्ष पुष्पकमल दाहालले पनि कलिकहरुसँग सल्लाह नगरेको मैले बुझेको छु । एकान्तमा उहाँहरुले के कुरा गर्नुभयो, त्यसको मतलब हुँदैन ।

त्यो तपार्इंको कुरा भयो तर सभापतिले त भन्नुभएछ नि त ?

केपी ओलीलाई संविधान बनाइदेऊ, तिमीलाई प्रधानमन्त्री दिउँला भनेर किन फकाउनुप¥यो ? सत्ताको सौदाबाजी संविधानसँग गर्ने कुरा नै अनुचित हो । १६ बुँदेअघि बालुवाटारमा बसेको प्रमुख दलको बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतमले संविधान जारी भएपछि केपीले प्रधानमन्त्री पाउने हो कि होइन भनेर सोध्दा मैले होइन भनेपछि बैठक टुंगिएको हो ।

सभापतिले त पुनः प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता नगरेसम्म सहमति भएको छैन भन्नुभएको थिएन नि ?

सभापतिजीले सर्वदलीय बैठकमा प्रस्टसँग भन्नुभएको छ । ‘व्यक्तिविशेषसँग के कुरा भयो भन्दा पनि संस्था ठूलो कुरा हो । जे कुरा भन्न खोजेको त्यसलाई प्रस्टसँग भन्न सकेको भए सबैलाई छर्लंग हुन्थ्यो । भन्नचाहिँ सभापतिले भन्दै आउनुभएको हो तर वाणी खुलेन । त्यसले गर्दा समस्या भएको हो ।

कसको दबाबमा उम्मेदवारी दिनुभयो त सभापतिले ?

कम्युनिस्टहरु अफवाह फैलाउन र आफ्नो पक्षमा जनमत बनाउन अत्यन्त सिपालु छन् भने हाम्रा साथीहरु त्यसमै बहकिन पनि अभ्यस्त छन् । आफ्नो पक्षमा जनमत बनाउने र भएको कुरा बाहिर लैजाने सचेतना हाम्रा साथीहरुमा कमी देखिएको छ । परिणाम र परिस्थिति नबुझी आफ्नाविरुद्ध बोलेर हिरो बन्ने हाम्रा साथीहरुको प्रवृत्तिले जनतामा दुविधा र आम कार्यकर्तामा निराशा छाएको हो । यसमा नेतृत्व तहमा रहेका हाम्रा साथीहरुको दोष छ ।

दक्षिणी छिमेकीको प्रेसरमा सभापतिले उम्मेदवारी दिएको आम बुझाइ छ त ?

छिमेकी मुलुकको प्रभावमा कुन नेता कति पर्छन् भन्ने कुराको छुट्टै मूल्यांकन जरुरी छ । तर, छिमेकीको दबाबमा उम्मेदवारी दियो भन्ने गलत कुरा हो । दुर्भाग्य, हाम्रा सभापतिलाई पनि केही साथीहरुले तपार्इंले संविधान बनाएपछि संशोधनसहितका काम आफैंले पूरा गरेर छाड्नुपर्छ भनेर लालायित बनाइदिए ।

को–को हुन् ती ?

सभापतिजीसँग अति अन्तरंग भएका साथीहरु । म कस–कसको नाम लिऊँ । अर्को कुरा शेरबहादुरजी (वरिष्ठ नेता शेरबहादुर देउवा) पनि पार्टीको आगामी महाधिवेशनलाई ध्यानमा राखेर रामचन्द्र हुनुभन्दा बरु सुशील नै भए पनि होस् भन्ने मानसिकतामा जानुभयो । दुवैले मलाई छेक्न खोज्दा यो राजनीति बिग्रेको छ ।

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनलाई हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन दलहरु तयार भएका थिए । एकीकृत माओवादी विभाजन भएर ८० जनाले हाम्रो पक्षमा मतदान गर्ने परिस्थितिमा पनि यसको लाभ रामचन्द्रले लिन्छ की भन्ने सोचे र सहमति तोड्न हुँदैन भनेर लागे । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सरकारको नेतृत्व लिन राखेको प्रस्ताव तुहाउने काम भयो । त्यसको परिणाम प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने परिस्थिति आयो । हाम्रै नेतृत्वमा दोस्रो संविधानसभा निर्वाचन हुन सक्थ्यो, त्यो हाम्रै साथीहरुले गुमाइदिए । अहिले पनि समयमा निर्णय गरेको भए यो परिणाम आउने थिएन ।

त्यसो भए समस्या तपाईंहरु तीन जनामै रहेछ ?

म कसैलाई रोक्न लागिनँ । मैले यो चाहिँ भनेको हुँ कि अब मैले अवसर पाउनुपर्छ, देशका लागि म केही गर्छु । अरुले काम गरेको मलाई त्यति धेरै चित्त बुझेको छैन । एकपटक म गरेर देखाउँछु भनेको चाहिँ हो । त्यो मेरो अधिकार हो । कांग्रेसमा मात्र होइन, यो देशमा अहिलेको समसामयिक नेताहरुमा सिनियर हुँ । सबैभन्दा बढी योगदान दिएको र सबैभन्दा बढी जोगाएर राजनीतिमा राखेको मान्छे पनि हुँ । तर, साथीहरु मलाई रोक्न लागे ।

अन्तिम समयमा आएर संसदीय दलको नेता हुनुपर्छ भन्ने ? उम्मेदवारी दिन २४ घन्टा पनि बाँकी छैन, चुनाव गराउनुपर्छ भनेर के गर्न खोजेको ? म संसदीय दलको नेता भएको बेला शेरबहादुरजी कार्यसमितिबाट निर्णय गराएर उम्मेदवार बन्नुभयो, मलाई भने उम्मेदवार बन्न रोक्नुभयो । गुटबन्दी र भागबन्डाको राजनीतिले कांग्रेसलाई सबैभन्दा कमजोर बनाएको छ । त्यसले ठिक समयमा ठिक निर्णयमा पुग्न पार्टीलाई अवरोध गरेको छ । यसले पार्टीलाई प्यारालाइसेज बनाएको छ । त्यसलाई म तोड्न चाहन्छु ।

कार्यकर्ता त तपाईंबाट हस्तक्षेपकारी भूमिका निर्वाह हुन्छ भन्नेमै विश्वास गर्दैनन् ?

हो, तपाईंले भनेको कुरा । मैले चाल्ने कदमले कहीँ देश, पार्टी र जनतालाई नोक्सान पुग्छ कि भनेर संवेदनशील हुन्छु । मैले कुरा बुझेको छु । राम्रो कुरा राम्रैसँग अघि सारेपछि मथिएर आउँछ भन्ने सोचेको छु । बढी सावधान हुन खोज्दा झन् बिगँ्रदो रहेछ भन्ने महसुस भएको छ । अब बढी सावधान होइन, बढी यथार्थवादी हुन्छु ।

बेलामा निर्णय लिन नसक्ने अनि गल्ती छोप्न तपार्इंहरु एकले अर्कालाई देखाएर उम्कन लाग्नुभएको छ ?

मैले प्रस्ट कुरा सामुन्नेमा भन्दै आएको छु, अब पनि भन्छु । तर, अरु साथीहरु नभनिदिने । एमाले रिसाउँछ कि ? केपी ओली चिढिन्छन् कि ? प्रचण्ड चिढिन्छन् कि भनेर मेरा समकालीन नेता तुष्टीकरणको नीतिमा जाने र प्रस्ट कुरा गर्दा म मात्र छुचो बन्ने परिस्थितिले स्थिति बिग्रेको छ ।

तपार्इंहरु तीनै जना नेता असफल हुनुभयो, प्रधानमन्त्रीदेखि प्रमुख पद पार्टीले गुमायो ?

तीन जना नेताका कारण पार्टीले महŒवपूर्ण पद गुमायो, अब छाड्नुपर्छ भन्ने कुरा मैले पनि सुनेको छु । तर, सय भारी खर काट्ने र सय भारी खर पोल्नेको एउटै मूल्यांकन गर्नुहुन्न । खर काट्न कति मेहनत परेको हुन्छ तर खर बाल्न एउटा काँटी कोरेर सल्काइदिए पुग्छ ।

उपसभापतिका रुपमा तपार्इंले कति काम गर्नुभयो पार्टीमा ?

पार्टीमा सामूहिक दायित्वको लेखाजोखा हुनुपर्छ । सभापतिजी प्रधानमन्त्री भएपछि कार्यवाहक दिए म विभागलाई सञ्चालनमा ल्याउँछु, भ्रातृ संगठन अधिवेशन र पार्टीको संगठन देशभर चलायमान गराउँछु भनेको थिएँ तर दिनुभएन ।

कांग्रेस महाधिवेशन तोकिएको मितिमा हुन्छ त अब ?
तोकिएको मितिको विकल्प छैन । आइतबार बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारी थाल्छ ।

तपाईंको दाबेदारी केमा रहन्छ ?
पार्टीको नेतृत्व अब मैले पाउनुपर्छ । मैले पाउँदा पार्टी र लोकतन्त्रलाई बढी योगदान दिनसक्छु भनेर मैले साथीहरुमाझ राख्दै आएको छु । राजनीति भनेको प्रतिस्पर्धा हो नेतृत्वका लागि मैदानमा उत्रिने हो । अब म पछि हट्ने ठाउँ छैन, हट्दिनँ ।

कार्यकर्ताले त तपाईहरु तीन जनाको विकल्प खोज्न थालिसके नि ?
हाम्रो पालामा पनि हामीले गिरिजाबाबु, किसुनजी, गणेशमान सिहंलाई भनेकै हांै । तर, उहाँहरुले बाँचुजेञ्ल नेतृत्व गरी नै राख्नुभयो । त्यसैले कांग्रेसमा यथार्थ एकातिर, नारा अर्कोतिर हुन्छ । प्रधानन्यायाधीशको नेतृत्वमा चुनाव गराउने निर्णय लिँदै गर्दा ‘मुलुक निर्दलीयतातिर गयो भनेर युवाहरुले हल्ला मच्चाए तर हामीले लक्ष्य त पूरा ग¥यौं नि । त्यसको अर्को विकल्पै थिएन । माओवादीको नेतृत्वमा परेको भए उसले संविधानसभा विकृत बनाउँथ्यो । हामीलाई उनीहरुले दिँदैनथे । चुनाव गराएर संविधान बनायौं । पुराना नेता भनेर नारा मात्र लगाएर हुँदैन । नेतृत्वको आलोचना गरेर मात्र हुँदैन । ऐनमौकामा हामीले सही निर्णय गरेका छौं ।

भनेपछि अझै गल्ती महसुस भएको छैन ?
पार्टी केही कमजोर भयो कि भन्ने हो । त्यसलाई हामी जोगाउँछौं । अर्को निर्वाचनमा पार्टीलाई बहुमत आउने ठाउँमा पु¥याउँछौं, हेर्दै जानुहोला ।

दक्षिणकै आसमा हुनुहुन्छ ?
दक्षिण, उत्तर कसैको आसमा छैन म । म कसैको गुलामी गर्ने मान्छे होइन बिपीदेखि अहिलेसम्मका नेतासँग टक्कर पनि लिएको छु, सही काममा सहयोग पनि । म कसैबाट सञ्चालित र निर्देशित हुन्नँ । स्वतन्त्र रुपबाट यो देशको राजनीति अघि बढ्नुपर्छ । दुवै छिमेकीसँग सन्तुलन कायम गरेर बुद्धिमतापूर्ण निर्णय लिनुपर्छ । मधेसी जनतालाई पनि चिढ्याउने काम गर्नु हुन्न ।

जति कुरा गरे पनि यत्तिका समय भयो मधेस ठप्प छ ?
हो, मधेसका केही जायज माग सम्बोधन गर्नुपर्नेछ । कांग्रेस नेतृत्वको सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । त्यसलाई तत्काल अघि बढाउन सरकारलाई आग्रह गर्छु । मधेसका जायज माग हामी पूरा गर्छौं । मधेसलाई चित्त बुझाएर नै देशको एकता र अखण्डतालाई मजबुत बनाउँछौं ।

कसरी बुझाउनुहुन्छ मधेसको चित्त ?

चित्त बुझाउनुपर्छ । हामीले उहाँहरुसँग राम्रोसँग संवाद गरेर, यथार्थ बुझाएर अघि बढ्नुपर्छ । डिल गर्ने तरिका नमिल्दा समस्या समाधान हुन सकेको छैन । अब छिट्टै टुंगोमा पुग्नुपर्छ ।

कसरी हुन्छ त ?
क्षेत्र निर्धारण र समानुपातिक समावेशी सिद्धान्तलाई हामीले स्वीकार गरेका छौं । त्यसमा देखिएको अस्पष्टतालाई स्पष्ट बनाउन संशोधन दर्ता गराएका छांै । सात वटै प्रदेश स्वायत्त नै छन् । प्रदेशको सीमांकनका विषयमा त्यहाँका जनताको राय बुझेर यताउता गर्न सकिन्छ । जनताको भावना उपेक्षा गरेर होइन । ६ प्रदेश बनायौं, कर्णालीलाई चोट पुग्यो । त्यसमा हाम्रो असावधानी भएकै हो तर मधेस र पहाड भनेर गरेको होइन ।

संविधानमा मधेसका सवाल सम्बोधन गरिएको छ । अहिले ‘मिस लिड’ भएको छ । नेताहरुको अभिव्यक्तिका कारण मधेसी जनता आक्रोशित छन्, त्यसलाई पनि हामीले बुझ्नुपर्छ ।

समस्या मधेसको मात्र हो कि छिमेकीसँगको पनि हो ? मुलुकमा नाकाबन्दी जारी छ, तपाईंको पार्टीले नाकाबन्दी भएकै मानेको छैन ?

घोषित रुपमा नाकाबन्दी छैन । केही नाकाबाट अहिले पनि छिटफुट सामान आइरहेकै छन् । हाम्रै मान्छेले पनि रोकिराखेका छन् । कसरी नाकाबन्दी भन्ने कि यसको परिभाषा प्रस्ट छैन । आपूर्ति व्यवस्था रोकिएको छ । त्यसलाई सहज बनाउन कांग्रेसले निरन्तर आग्रह र पहल गर्दै आएको छ ।

अब संसद र संविधान कार्यान्वयन गर्न कांग्रेसको भूमिका कस्तो हुन्छ ?

कांग्रेस संविधान कार्यान्वयनका लागि दृढतापूर्वक रचनात्मक भूमिका निर्वाह गर्न तयार छ । संविधानको भावनामा बाधा नपुग्ने गरी ऐननियम बनाउन हामी सहयोगी भूमिकासहित जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्छौं । विरोधका लागि मात्र विरोध गर्दैनांै ।

सरकारले राज्य सञ्चालन ठिक ढंगबाट गरे सहयोग गर्छौं । नेतृत्वमा पुगेपछि पक्षपाती ढंगबाट राज्य चलाउने एमाले प्रवृत्ति छ । त्यसलाई निरन्तरता दिन लाग्यो र आफ्ना मान्छेलाई मात्र पोस्न खोजे हामी जमेर प्रतिवाद गर्छौं ।

प्रमुख दल फेरि पनि मिलेरै जान्छन् त ?

मिलेर जाने भनेको के ? भाग शान्ति जय नेपाल हो भने म मान्दिनँ । चेक एन्ड ब्यालेन्सको सिद्धान्तमा अघि बढ्नुपर्छ ।

कांग्रेस एमाले नेतृत्व सरकारमा जाने कुरा पनि छ नि ?

अहिले कांग्रेस सरकारमा जाँदैन ।

पुनर्निर्माण प्राधिकरणको विषयमा पार्टीको नीति के हुन्छ ?

मैले डे वानदेखि नै युद्धस्तरमा काम गर्नुप¥यो भन्दै आएको हुँ । दसवटा कुरा एकैपटक सोचेर एघारबाट निर्णय एकैपटक गरेर जानुपर्छ भनेको तर एमालेले काम गर्न दिएन । यो देशका लागि खेलबाड भएको छ । खै मिलेर सरकार बनाएको त हो भूकम्पप्रभावित जनता अहिले पनि आकाशमुनि रात बिताइरहेका छन् । दुई ठूला दल मिलेर बनाएको सरकार फापसिद्ध भएन । दुई दलबीच सम्बन्ध सुमधुर हुनसकेन । राष्ट्रका महŒवपूर्ण विषयमा दुईदुई दलको तानातानीमा अड्कियो । सहमतिका नाममा हाम्रा वामपन्थी मित्र सधैँ ठग्ने गर्नुहुन्छ । अब यसलाई दुर गरेर जानुपर्छ । सहमतिकोे तथाकथित कुरा बेइमानी हो ।

उहाँहरु कि तपाईहरु ?

हामीले कहीँ बेइमानी गरेका छैनौं । एमालेले सहमतिका नाममा मुलुकलाई सात महिना झुलाउने काम ग¥यो । आफ्ना लागि मात्र सहमतिको माला जप्ने । प्रचण्डले सहमतिबाट गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउँछु भनेको होइन, खै त ? अब त्यसको अन्त्य हुनुपर्छ । राष्ट्रको राजनीतिबाट जनताको ध्यान अन्यत्र मोड्नु हुँदैन ।

साभार:नागरिक दैनिक

‘क्यालीगुला’ र विद्या भण्डारी- भवानी बराल

राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेपछि वी.पी. कोइरालालले एउटा प्रसंगमा सम्राट क्यालिगुला र इजिप्टका राजा फरुखको बारेमा कतै उल्लेख गरेको कुरा राजैतिक इतिहासमा चाखलाग्दो छ । सम्राट क्यालीगुलाले आफ्नो प्यारो घोडालार्इ ‘सिनेटर’मा नियुक्त गरेका थिए । यस्तै इजिप्टका राजा फरुखले आफ्नो भान्सेलाइ मन्त्री बनाएका थिए । तत्कालीन राजा महेन्द्रले पनि आफ्ना ससुरा हरि शमसेरलार्इ ‘फिल्ड मार्सल’(प्रधान सेनापति) बनाएको प्रसंग क्यालिगुला र फरुखसंग वी.पी.ले तुलना गरेका छन् । समानता यति हो, दुबैजनाले आज्ञा पालकलाई पद बाँडे । फरक यतिमात्र हो, क्यालिगुलाले जनावरलार्इ सिनेटर र फरुकले मान्छेलार्इ मन्त्री बनाए । महेन्द्रले ससुरालार्इ जंगी अड्डाको दर्ज्यानी दिए ।

सम्राट, राजा, महाराजाहरुको निर्लज्जताको पराकाष्ठा इतिहासमा हामीले भोग्दै,खेप्दै आएका छौं । तर, आधुनिक युगमा विचारसम्बद्ध भनिएको पार्टीले गरेको नियुक्ति पनि क्यालिगुला, फरुख र महेन्द्रको जस्तै देखिनु र त्यसैको वाहवाहीमा भजनमण्डली झैं झुम्मिने प्रबृत्तिले यो युगलार्इ गिज्याइरहेको भान हुन्छ ।
प्रसंग विद्या भण्डारीको राष्ट्रपतिमा चयन गरिएको विषयसंग सम्बन्धित छ । उनी एमालेको तर्फबाट एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकलयायत साना दलको समर्थनमा राष्ट्रपतिमा निर्वाचित भइन । उनको नियुक्तिमा अनेक चर्चा परिचर्चाहरु भए । नेपालको इतिहासमै पहिलो महिला राष्ट्रपति भएकाले गर्व गर्नुपर्ने आदि इत्यादि फूलझडी जोडिए ।
कुनै अलौकिक ‘देवी’नै नेपालको कायापलट गर्न आएको जसरी उनको बखान भयो । तर, यी सबै बखान केबल र फगत उनको पार्टी, केही ‘टाइकुन’ मिडिया र सामाजिक सञ्जालमा औंलामा गन्न सकिने उनका भजन मण्डली फ्यानलार्इ बाहेक यो बिषयले तरङ्ग ल्याउन सकेन । उनको विजय जसरी प्रचारित थियो, त्योबमोजिमको हर्षोल्लास छँदै थिएन । कारण, देश जलिरहेको छ, उनले गर्न सक्ने हैसियत उनमा थिएन, छैन र अब पनि हुन्न ।
विद्याले राजनैतिक विरासत मदन भण्डारीको मृत्युपछि प्राप्त गरेकी हुन् । अविकसित मुलुकमा अक्सर यो फेसनजस्तै भएको छ । दूर्घटनाबस लोग्ने मरेपछि ‘श्रीमतीजी’हरुको अवसर र पालो आएको धेरै घटनाहरु प्रस्तुत गर्न सकिन्छ । निम्न चेतनास्तर, अविकसित मुलुक, पारिवारिक राजनीतिक व्यवस्था, कुलिनतन्त्र भएका दक्षीण एसीयाली मुलुकहरुमा यस्ता प्रशस्त उदाहरण भेटिन्छन् ।
तर, पारिवारिक विरासतमा पाइने यस्ता अवसरहरुले सम्बन्धितहरुका लागि जीवन विमा हुन्छ । आम जनताका लागि यो बिडम्बना मात्रै हो ।
विद्या अहिले जहाँ पुगेकी छिन, त्यसको पहिलो पृष्ठभूमि त्यही पारिवारिक विरासतको वियोगान्त नाटक हो । दोस्रो, उनलार्इ यो ठाउँमा पुर्याउने अर्को भर्याङ क्यालीगुला, फरुख र महेन्द्रीय प्रबृत्ति हो । त्यो प्रबृत्तिका औतारी चैं केपी शर्मा ओली हुन् ।
विद्याको भन्दा बढी हैसियत र गुण भएका भेट्रानहरु हुँदाहुँदै ओली प्रबृत्तिका आगे तिनले मुख मिठ्याउँदै गम खानु परेको वियोग त छँदैछ । तर,ओलीलार्इ त क्यालीगुला र फरुकवादलार्इ निरन्तरता दिनु थियो । यसै मेसोमा विद्यालार्इ ढुङ्गा खोज्दा शालिग्राम भेट्टाएसरह भएको मात्र हो । नचिताएको बेला अपुताली आइलागेको जस्तो ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा ०४० सालमा विद्यार्थी युनियनको कोषाध्यक्ष हुँदादेखिको विद्याको ‘द्रब्य मोह’ले अहिले पनि निरन्तरता पाएको देखिएको छ
नत्र विद्याको हैसियत गुणस्तर त्यो पदमा पुग्ने नै होइन । महेन्द्र मोरङग आदर्श बहुमुखी क्याम्पसमा ०४० सालमा विद्यार्थी युनियनको कोषाध्यक्ष हुँदादेखिको विद्याको ‘द्रब्य मोह’ले अहिले पनि निरन्तरता पाएको देखिएको छ । जतिबेला यो पङितकार पनि सोही युनियनको सदस्य थियो । त्यतिबेला युनियनको ५९ हजार रुपैया उनले एकैचोटि झिकेर बेपत्ता बनाएको कुरा अहिले पनि लापत्ता खातामा छ । त्यही मुद्रा अपचलनको विषयमा योपङ्तिकार र अर्का सदस्य हरिकुमार रार्इले धरानबाट निस्कने आरसी साप्ताहिकमा प्रेस विज्ञप्ति निकालेर विरोध गर्नुपरेको थियो ।
हामीलार्इ सहयोग गर्ने तत्कालीन मार्क्सवादीका केन्द्रीय सदस्य एवम् साहित्यकार कृष्ण पाख्रिनलार्इ पछि माले-मार्क्सवादी एकता हुँदा यही विषय उनको राजनैतिक जीवन समाप्त पार्ने कारोबार भैदियो । त्यहीँदेखि पाख्रीनको जीवन तीनपानेसंगै पलायन भयो । यो पङ्तिकारले माले हुँदै त्योसंगको हाडनाता तोडिदियो ।
यतिमात्र होइन, गोल्छा घरानाकी राज्यलक्ष्मीले दिएको बयानले विद्याको‘द्रब्य मोह’लार्इ अझै पुष्टि गर्छ । गोल्छाको बयानले उनको प्रवृत्तिलार्इ पृष्ठपोषण गर्छ ।
रह्यो विद्याको नारीवादी आन्दोलनमा खेलेको भूमिका, जसको कुनै उल्लेख्य घटनासंग गोरु बेचेको साइनो पनि छैन । उनको पार्टीको महिला संघको अध्यक्ष विशौं वर्ष हुनुमात्रले महिला मुक्तिको जुक्ति झिकेको अर्थ लाग्दैन । यो सन्दर्भमा त उनकै पार्टीकी पूर्वसदस्य उर्मिला अर्यालसंग भएको उनको भुत्लाभुत्लीले नै खुट्याएकै छ । उर्मिलालगायतका महिलाहरु भुक्तभोगी छन्,विद्याकृत महिला आन्दोलनमा ।
विद्या रक्षामन्त्री हुँदा बर्दिया राष्ट्रिय निकुञ्जमा मारिएकी दलित महिलाको विषयमा छानबीन गर्न आदेश दिनुको साटो तस्करलार्इ मार्नु ठीक हो भनी दिएको बयानले उनको महिलावादी आन्दोलन, मुक्तिको कार्यदिशालार्इ हास्यास्पद बनाइदिएको छ ।
रहलपहल
यसरी बिरालाकोटीमा पर्ने महिला मुक्तिका योद्धा भनेर विद्यालार्इ देवत्वकरणगर्नेहरुको भदौमै चर्म चक्षु फुलो परेको हुनुपर्छ । उनै कुनै योगमाया, साहना प्रधानको जत्तिको पादुका हैसियत भएकी महिला हुँदै होइनन् । उनलार्इमहिला मुक्तिको महान मसिहा ठान्नु इतिहासमै भद्धा मजाक हुनेछ । उनी हुन त केबल क्यालिगुलाका घोडा, फरुखकी भान्से । विश्व इतिहासका खलनायक क्यालिगुला, फरुख र महेन्द्रका औतारी चैं श्री ३ केपी ओली हुन् ।
(बिजयपुर डटकम, धरानबाट)

मधेशी मोर्चाको मागमा लचिलो भएर प्रस्तुत राजनीतिक संयन्त्रको निर्णय

काठमाडौं, कातिक १५ । सत्तारुढ दलहरुले आन्दोलनरत दलहरुको मागका विषयमा लचिलो भएर प्रस्तुत हुने निर्णय गरेका छन् । आईतरबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मागका विषयमा लचिलो भएर प्रस्तुत हुने निर्णय गरेको हो । मधेसी मोर्चासँगको वार्ता अघि एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको राजनीतिक संयन्त्रको बैठक बसेको थियो  । साथै बैठहकले राष्ट्रियहित विपरीतका विषयमा सम्झौता हुने नसक्ने पनि निष्कर्ष निकालेको छ ।

नवनिर्वाचित उपराष्ट्रपति पुनको सपथ दिउँसो २ बजे

काठमाडौं,कातिक १५ । नवनिर्वाचित उपराष्ट्रपति नन्दकिशोर (नन्दबहादुर) पुनले आइतबार पदत तथा गोपनीयताको सपथ लिँदैछन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा परिसरमा आइतबार दिउँसो २ बजे हुने एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनिर्वाचित उपराष्ट्रपति पुनले पद तथा गोपनीयताको सपथ ग्रहण गर्न लागेका हुन् ।

व्यवस्थापिका संसदमा उपराष्ट्रपति चयनका लागि शनिबार भएको निवार्चनमा सत्तारुढ दलका तर्फबाट उम्मेद्वार बनेका पुनले आफ्नो प्रतिद्वन्द्वी कांग्रेसका उम्मेद्वार अमियकुमार यादवलाई एक सय १३ मतले पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । पुनले तीन सय २५ मत ल्याउँदा यादवले दुई सय १२ मत प्राप्त गरेका थिए ।

नेइमार र स्वारेज चम्किदाँ बार्सिलोना विजयी

काठमाडौं, कातिक १५ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । गेटाफेलाई २(० ले पराजित गर्दै बार्सिलोनाले रियल मड्रिडसँग अंक बराबरी गरेको छ । बार्सिलोनाले ३७ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । स्वरेजको यो करियरको ३०० औं गोल समेत हो ।

५८ औं मिनेटमा नेइमारले गोल गरेपछि बार्सिलोनाको अग्रता २–० मा पुग्यो । थप गोल हुन नसकेपछि बार्सिलोना २–० ले विजयी भयो । दोस्रो स्थानमा रहेको बार्सिलोनाको जितपछि शीर्ष स्थानमा रहेको रियल मड्रिडको जस्तै १० खेलबाट समान २४ अंक नै भएको छ । अरु खेलमा भिल्लारियलले सेभिल्लालाई २–१ तथा भ्यालेन्सियाले लेभान्टेलाई ३–० ले हरायो ।

ग्यास ल्याउन एसएसबीलाई पैसा

महोत्तरी,कातिक १५ । तराई-मधेसमा जारी ७७ दिनदेखिएको बन्द-हड्ताल र ३८ दिनदेखिको नाकाबन्दीले सास्ती झेलिरहेका जिल्लाबासी सीमावर्ती बजारबाट खाना पकाउने ग्यास ल्याउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई अतिरिक्त रकम तिर्नुपर्दा मारमा छन् ।
भिट्टामोड, सम्सी र मटिहानी नाकालगायत सीमावर्ती क्षेत्रबाट ग्यास सिलिन्डर बोकेर आउने नेपालीसँग एसएसबीले रकम उठाउने गरेको नागरिक दैनिकमा खबर छ ।
खाली सिलिन्डर लिएरु भारतीय बजार पुग्ने नेपाली साढे सात सय रुपैयाँमा ग्यास किन्छन् । कालोबजारी गर्नेहरुलाई हजार रुपैयाँभन्दा बढी तिर्नुपर्छ । यसरी खरिद गरिएको ग्यास आफ्नो सिलिन्डरमा पल्टाएर भर्न लगाउनुपर्छ । बोरामा सिलिन्डर बेरेर सीमामा आएपछि एसएसबीलाई प्रतिसिलिन्डर दुई सयदेखि पाँचसय भारु लिर्नुपर्ने उनीहरुको भनाइ छ ।

मलाई छेक्न खोज्दा सबै गुम्योः रामचन्द्र पौडेल

काठमाडौं,कातिक १५ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टी भित्र आफूलाई छेक्न खोज्दा सबै गुमाउनु परेको बताएका छन् । नागरिक दैनिकसँगको कुराकानीमा पौडेलले आफ्ना सभापतिलाई केहीले प्रभाव पारेकी कारण विग्रिएको बताए । पार्टी सभापति सुशील कोइरालालाई केहीले तपाईँले संविधान बनाएपछि संशोधनसहितका काम आफैले पूरा गरेर छाड्नुपर्छ भनेर लालायित बनाएको पौडेलले बताए ।

पार्टी बरिष्ठ नेता शेरबहादुर देउवाले पनि पार्टीको आगामी महाधिवेशनलाई ध्यानमा राखेर रामचन्द्र हुनुभन्दा बरु सुशील नै भए होस् भन्ने मानसिकतामा गएको बताए ।

उच्च शिक्षा पढ्न ऋण

काठमाडौं,कातिक १५ । आर्थिक अभावले प्लस टु भन्दा माथिल्लो तह अध्ययन गर्न नसक्ने विद्यार्थीलाई सरकारले सहुलियत ऋण प्रदान गर्ने नीति ल्याएको छ । अघिल्लो सरकारले पारित गरेको उच्च शिक्षा नीतिमा आर्थिक रुपले पिछडिएका जेहेनदार विद्यार्थीलाई आर्थिक सहायता उपलब्ध गराउने उल्लेख छ ।यो सुविधा सीमान्तकृत, दलित, अपाङ्ग, लोपोन्मुख जाति, जनजाति, महिला विद्यार्थीलाई प्रदान गरेर उच्च शिक्षाको पहुँच बढाउन लागिएको हो । विश्वविद्यालय अनुदान आयोगका अनुसार उच्च शिक्षा अध्ययन गर्नेको भर्ना दर १७ दशमलव एक प्रतिशत मात्रै छ । कान्तिपुर दैनिकमा समाचार छ ।

राज्यबाट कस्तो सुविधा पाउँदैछन् पूर्वराष्ट्रपति,उपराष्ट्रपति र सभामुख ?

काठमाडौं,कातिक १५ । निवर्तमान राष्ट्रपति डा. रामवरण यादवसहित अवकाशप्राप्त विशिष्ट व्यक्तिलाई सरकारले विशेष निर्णय गरी सुविधा दिने तयारी गरेको छ । गृह मन्त्रालयको छलफलमा पूर्वराष्ट्रपतिलाई मात्र निवास सुविधा दिने तय भएको छ ।

पूर्वराष्ट्रपति डा. यादव, उपराष्ट्रपति परमानन्द झा, पूर्वसभामुख सुवास नेम्वाङलाई विशेष निर्णय गरी सुविधा दिन लागिएको हो । गृहको प्रस्तावमा पूर्वराष्ट्रपति डा. यादवलाई निवास निर्माण नभएसम्म घरभाडा, एउटा गाडी, मासिक दुई सय लिटर इन्धन, गाडी मर्मत खर्च, मसलन्द तथा अतिथि सत्कार खर्च दिने उल्लेख छ ।

त्यस्तै, निजामती कर्मचारीबाट एक अधिकृत, एक नासु र दुई कार्यालय सहयोगी पूर्वराष्ट्रपतिको निवासमा खटाइनेछ । अतिथि सत्कार खर्च कति दिने भन्ने निश्चित भइसकेको छैन । डा. यादव बिहीबार नै शीतलनिवासबाट बागडोल सरिसकेका छन् । निवर्तमान उपराष्ट्रपति परमानन्द झालाई अवकाशपछि घर मर्मत खर्च, गाडी, मसलन्द खर्च, मासिक एक सय ७५ लिटर इन्धन सुविधा दिने प्रस्ताव गृहको छ ।

त्यस्तै, एक अधिकृत र एक कार्यालय सहयोगी खटाइनेछ । पूर्वसभामुख सुवास नेम्वाङलाई पनि एउटा गाडी, मासिक एक सय ७५ लिटर इन्धन, केही अतिथि सत्कार खर्च, गाडी मर्मत खर्च दिने प्रस्ताव गरिएको छ । पूर्वसभामुखका लागि पनि एक नासु र एक श्रेणीविहीन कर्मचारी खटाइनेछ । नेम्वाङलाई मात्र यो सुविधा दिने प्रस्ताव गृहले अघि बढाउन लागेको छ ।

पूर्व विशिष्ट व्यक्तिको सुविधासम्बन्धी कानुन नभएकाले तीनजनाको सुविधाका लागि विशेष प्रस्ताव मन्त्रिपरिषद् लैजान लागिएको गृहका एक अधिकारीले बताए । निवर्तमान राष्ट्रपति डा. यादव बिहीबार नै शीतलनिवासबाट बागडोल सरिसकेका छन् । बागडोलमा भाडाको घरमा उनी बस्नेछन् । सरकारले गत वर्ष विशिष्ट व्यक्तिको सुरक्षा तथा सुविधासम्बन्धी अध्यादेश पारित गरी कार्यान्वयन गरेको थियो ।

तर, पछि संसद्बाट अनुमोदन पनि भएन । अनुमोदनका लागि सरकारले संसद्मा दर्ता गरे पनि धेरै सुविधा दिन लागिएको भन्दै विवादमा परेपछि गृहमा फर्काइएको थियो । सोही अध्यादेशमै भएको प्रावधानअनुसार अहिले विशेष प्रस्ताव मन्त्रिपरिषद्मा लैजान लागिएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

आज मन्त्रिपरिषद् विस्तार, को–को हुँदैछन् मन्त्री ?

काठमाडौं,कातिक १५ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको २१ औं दिनपछि आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । विस्तारका क्रममा एमालेका तर्फबाट उपप्रधानमन्त्रीसहित ठूलै संख्यामा मन्त्रीहरु सहभागी हुने भएका छन् ।

असोज २४ गते प्रधानमन्त्री भएका ओलीले मन्त्रिपरिषद्मा आफ्नै पार्टीको प्रतिनिधित्व गराउन सकेका छैनन् । एमाले स्थायी समितिको कात्तिक १ गतेको बैठकले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्र आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री पठाउने निर्णय गरेको थियो ।

उपराष्ट्रपति निर्वाचनको परिणामा घोषणा भएलगत्तै शनिबार साँझ प्रधानमन्त्री निवासमा बसेको एमालेका शीर्ष नेताहरुको बैठकमा पार्टीका तर्फबाट सरकारमा पठाउने नेताका विषयमा गम्भीर परामर्श भए पनि ठोस निर्णय ननिस्केको एमाले सचिव प्रदिप ज्ञवालीले बताए ।
आइतबार बिस्तार हुने मन्त्रिपरिषद्मा एमालेका तर्फबाट उपाध्यक्ष भीम रावल उपप्रधान एवं रक्षा, विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन् । त्यस्तै श्रीमाया थकाली, पशुपति चौलागाई, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल, आनन्द पोखरेल, प्रेम आले, शत्रुधन महतो लगायत मन्त्री नियुक्त हुने स्रोतले बतायो , आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

आवश्यक इन्धन खरिद गरेर लैजान चीनको प्रस्ताव

काठमाडौं, कातिक १५ । चीनले अनुदानमा उपलब्ध गराएको हजार टन (१३ लाख लिटर) पेट्रोल बजारमा पठाइसकेपछि थप आवश्यक इन्धन खरिद गरेर लैजान नेपाललाई प्रस्ताव गरेको छ । अनुदानको पेट्रोल प्रयोगपछि सर्वसाधारणको प्रतिक्रिया बुझेर निर्णय लिन उसले नेपाली टोलीलाई सुझाएको छ ।

सिगात्सेबाट पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यास खरिद गरेर लैजान चीनले प्रस्ताव गरेको हो । नेपालले पेट्रोल ल्याइरहेको सरकार स्वामित्वको चिनियाँ नेसनल पेट्रोलियम कर्पोरेसन (सिएनपिसी)को सिगात्सेमा ५० लाख लिटर क्षमताको डिपो छ । सोही डिपोबाट इन्धन उपलब्ध गराउने जानकारी चिनियाँ अधिकारीहरूले नेपाली टोलीलाई गराएको थियो ।

केही दिनअघि बेइजिङमा इन्धन आयातबारे समझदारी भएका वेला नेपाली सरकारी टोलीसँग चिनियाँ पक्षले अनुदानको तेल पठाइसकेपछि खरिद गरेर लैजान सुझाएको टोलीका एक सदस्यले जानकारी दिए । ‘अनुदानमा दिने हजार टन पेट्रोल सकिएपछि तपाईं–हाम्रो व्यापारिक सम्बन्ध त्यत्तिकै रोकिनुहुन्न,’ चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै ती अधिकारीले भने, ‘अनुदानको तेल सकिएसँगै आवश्यक मात्रामा खरिद गरेर लैजान सक्नुहुन्छ ।’

सिएनपिसी र नेपाली टोलीबीच नेपालले तेल खरिद गर्ने र चीनले तेल बेच्न सक्ने गरी समझदारीमा भएको छ । ‘सिएनपिसी र आयल निगमबीच तेल खरिद गर्ने र चीनले बेच्ने भन्ने कुरालाई सम्बोधन गरिएको छ,’ ती अधिकारीले भने, ‘बेइजिङमा भएको समझदारीले नेपाललाई चीनबाट व्यापारिक रूपमै तेल किन्ने बाटो खुलाइदिएको छ ।

नेपालले चाहेमा अनुदानको तेल सकिएको भोलिपल्टै चीनबाट व्यापारिक हिसाबले नै पेट्रोल, डिजेल, ग्यास ल्याउन सक्छ ।’ आजको नया पत्रिकामा खबर छ ।

सेतो पोशाकमा मध्यरातकी सुन्दरी !

जमुना वर्षा शर्मा – अंकल ! यो गाडीमा चुरा र धागो किन झुण्डाउनु भएको ? तीजको समयमा मुस्किलले क्याविनमा सिट पाएकी छोरी प्राप्तिले बस चालकलाई सोधिन् । चालकले मुस्कुराउँदै जवाफ दिए ‘राति हिँड्दा राम्री महिलाले सताउँदिनन् भनेर ।’ १० वर्षीया छोरीको मन के शान्त हुन्थ्यो । उनले थप जिज्ञासु हुँदै फेरी सोधिन् ‘राम्री महिला भन्नाले ?’ ड्राइभरले भने ‘किच्कन्नी’ जो अति राम्री हुन्छिन्, तर व्यवहार डरलाग्दो हुन्छ ।’ हजुरले देख्नु भएको छ उनी निकै आश्चर्य भावमा प्रस्तुत भइन् । ड्राइभरले देखेको संकेत गर्दै टाउको हल्लाए । प्राप्ति थप जिज्ञासु हुँदै प्रश्न गर्दै थिइन् तर, मैले छोरीलाई बढी नबोल्न संकेत गरें । गाडी चलाइरहेका चालक त्यसमाथि यात्रुले खचाखच भएको बस घुम्ति र दोहोरो गाडीको रफ्तार बेला । चालकलाई विविध प्रश्न गर्दा दुर्घटना हुन सक्ने भन्दै, मैले छोरीलाई रोकें । ‘तिमीले बुझ्दिनौ यस्ता कुरा’ उनलाई जबरजस्ति शान्त पार्दै हातमा चाउचाउ थमाइदिएँ । निधार खुम्च्याउँदै छोरी चुप लागिन् । वास्तवमा छोरीले सोधेको प्रश्न र चालकको उत्तरले मलाई पनि जिज्ञासु बनायो । सोच्न र कल्पना गर्न थाले मध्यरातकी सुन्दरीका बारेमा । ‘राम्री महिला’ जसले पुरुषको सातो लिन्छे । आजसम्म राम्री महिलासँग पुरुष डराएको मैले सुनेकी छैन, त्यो पनि सातो जाने गरी । तर ‘ति महिला जो राम्री भएर पनि पुरुषलाई तर्साउँछिन्, त्यो पनि मध्यरातमा’ ति को हुन् ? महिला भएको नाताले कता कता गर्व गर्न मन लाग्यो, मध्यरातमा अप्रत्याशित उपस्थितीले आफूलाई बेजोड शक्तिशाली ठान्ने पुरुषको सातो लिएर आफ्नो अजंगको शक्ति प्रर्दशन गरेकोमा । भेटेर दिन मिल्ने भए साँच्चै अंगालोमै हालेर बधाई दिन्थे होला । तर, मेरा लागि यो एउटा पत्याउन नसक्ने बिषय थियो । अधिकांश सार्वजनिक र प्राइभेट गाडीमा चुरा, धागो, पोते झुण्डाएको हामी सबैले देखेका छौँ । रात्रीकालिन सवारी साधनमा त अनिवार्य जस्तै राखिएको हुन्छ । यसलाई सामान्य रुपमा लिने गरिन्छ । यसो किन गरेको भनियो भने आउने उत्तर भनेको ‘किच्कन्नी’ बाट बच्न भन्ने पाइन्छ । कतिले वाहियात, बकम्फुसे भन्लान त कतिले हो भन्दै टाउको हल्लाउलान पनि । को हो किच्कन्नी र कस्ता हुन्छन् भनेर बुझ्न खोज्यो भने रात्रीकालिन गाडी चलाउने केही चालकले लामो व्याख्या समेत गर्ने गर्छन् । कहिलेकाही प्रसंग उठाउँदा धेरैजसो ड्राइभरहरूले किच्कन्याको हुलिया पनि दिने गरेका छन् । ‘अग्ली सेतो पहिरन लगाएकी, लामो कपाल भएकी, खुट्टा उल्टो भएकी’ आदि आदि । मध्यरातमा गाडी रोकेको, लिफ्ट मागेको र केही पर गएपछि विलिन भएको घटना बडो गजबले सुन्न पाइन्छ । विभिन्न साइनो र आफन्तको नाम पुकारेर बोलाएको पनि भन्न भ्याउँछन् चालकहरू । विश्वस्त हुने आधार र चित्त बुझ्दो जवाफ नआएसम्म यसलाई पत्याउन जरुरी छैन । यद्यपी रातको समय कहि कतै एक्लै जाँदा ‘भुत प्रेत र किच्कन्या’ बाट मात्रै होइन कि जिउँदो मान्छेबाट डराउनु पर्ने अवस्था नै अझै हटिसकेको छैन । प्राइभेट गाडीको गेयरमा चुरा राखेका एक जना गाडी मालिकको तर्क केहि फरक पाइयो । एकसुरमा गाडी चलाइरहँदा गियर चेन्ज गर्नुपर्ने अवस्थामा विर्सियोे भने गाडी थर थर गर्छ अनि चुरा बढी बज्छ । यसले गेयर चेन्ज गर्ने याद दिलाउँछ । कहिलेकाँही निदाउन लागेको अवस्थामा पनि चुराको आवाजले झसंग गराउँछ । यसर्थ आफूले गाडीमा चुरा राखेको उनको तर्क थियो । कहि कतै छोरी एक्लै हिड्न थाले आफू भन्दा १० वर्ष कान्छो नै भए पनि भाइको साथ पठाएर सुरक्षित ठान्ने समाजमा पनि केही पुरुष राती ‘राम्री महिला’ देख्दा डराउँदा रहेछन् । गजबै लाग्यो । पुरुषलाई कमजोर र अपमान अथवा उसको नालायकी प्रस्तुत गर्नका लागि सामाजिक संजाललगायतका माध्यमहरूमा चुरा पोते साडी पहिराइदिएर मजाक गरिरहेका दृश्य हाम्रा लागि सामान्य लाग्छन् । भारतले गरेको अघोषित नाकाबन्दीका विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई त्यस्तै पहिरहनबाट नालायक सावित गर्न खोजियो । नेपालका पनि मधेशवादी दलका नेताका तस्विरमा महिलाका पहिरन पहिराएर नालायक प्रमाणित गर्न खोजियो । राजनीतिक घटनाक्रम होस् वा सामाजिक बहिष्कारको बिषय, कसैको घोर अपमान गर्नु छ चरम आक्रोश पोख्नु छ भने महिलाका पहिरनमा सजाइन्छ । यस्ता हर्कत गरेर महिलालाई कमजोर सावित गर्न आजपर्यन्त हाम्रो समाज क्रियाशील छ । महिलाको सुन्दरता र सौभाग्यसँग जोडिएका चुरा टिका पोते जस्ता साधनलाई नालायक र अक्षम देखाउन व्यग्यांत्मक प्रयोगमा ल्याउनेहरूले मध्यरातको डर भगाउन फेरी यसैको सहारा लिने गरेको देख्दा र सुन्दा मान्छेको विवेक र बुद्धिले कसरी काम गर्दो रहेछ जस्तो लाग्छ । यसर्थ पनि यो समाजमा मध्यरातकी शक्तिशाली सुन्दर युवतीको कहानी बास्तवमै गजब र रोचकको छ । अब मध्यरातमा कहिँ कतै जान परे सेतो पहिरन, लामो कपाल सहित हिँडे पक्कै पनि सुरक्षित भइन्छ कि ? लामो कपाल, सेतो पहिरनमा सजिएकी ‘किचकन्या’ बाट जोगिन पुरुष गाडीमा चुरा पोते बाँधेर बोकेर हिड्छन् । जबकी अरु बेला कुनै पुरुषलाई सार्वजनिक रुपमा अपमानित गर्नुपर्यो भने त्यहि चुरा पोते लगाइ दिने वा उपहार पठाइदिने गर्छन । कस्तो बिडम्बना ? Source:mahilakhabar.com (लेखक सञ्चारिका समूह पश्चिमाञ्चलको अध्यक्ष हुनुहुन्छ ।)

दुर्घटनाग्रस्त रुसी विमानमा सवार २ सय २४ जनाको मृत्यु (अपडेट)

एजेन्सी, कातिक १४ । इजिप्टको मध्य सिनाइमा शनिबार दुर्घटना भएको रसियन एअरलाइन्सको ‘ए–३२१’ एअरबस विमानमा सवार सबै २ सय २४ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका ७ सदस्यसहित र २ सय १७ जना यात्रु सवार थिए । विमानमा १ सय ३८ महिला, २ देखि १७ वर्ष उमेरसम्मका १७ जना बालबालिका गरी २ सय १७ यात्रु थिए ।

इजिप्टबाट रुसका लागि उडेको उक्त जहाँजमा बेपत्ता भएको एक घण्टपछि नै दुर्घटनाग्रस्त फेला परेको र अधिकारीहरुले दुर्घटनास्थल हसाना क्षेत्रबाट यात्रुका सबै शवहरु र विमानको ‘ब्ल्याक बक्स’ पनि निकालिएको जनाएका छन् । रुसी पर्यटक बोकेर इजिप्टबाट रुसतर्फ गईरहेको सो जहाज सम्पर्कबिहिन भएपछि दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको थियो । बिमान ईजिप्टको सिनाईमा दुर्घटनाग्रस्त फेला परेको हो । बिमान ईजिप्टको सर्म अल सेखबाट रसियाको सेन पिटर्सवर्गका लागि उडेको थियो । बिमानमा १७ जना बालबालिका रहेको बताइएको छ । उडानमा रहेको बिमान राडारबाट सम्पर्क बिहिन भएको २३ मिनेटपछि दुर्घटनामा परेको बताइएको छ । विमान दुर्घटनाको कारण पत्ता लाग्न नसकेको ईजिप्टका अधिकारीहरुले जानकारी दिएका छन् । बिमान ईजिप्टको समय अनुसार विहान ६ बजेर २० मिनेटमा सम्पर्कबाट हराएको थियो ।

सम्पर्कबाट टुटेको २३ मिनेटपछि बिमान दुर्घटनामा परेको हो । बिमान दूर्घटना हुँद बिमान पूर्ण रुपमा क्षतिग्रस्त भएको । बिमानमा आगलागी भएको र तत्काल आगो निभाउन नसकिएका कारण बिमान पूर्ण रुपमा जल्न पुगेको र बिमानमा रहेकाहरु जिवित भेटिने कुनै सम्भावना नरहेको ईजिप्टका अधिकारीहरुले बताएको एसोसिएट प्रेसले उल्लेख गरेको छ ।
बिमान लण्डनबाट ईजिप्ट र ईजिप्टबाट रसियाको सेन्ट पिटर्सवर्गका लागि उडेको थियो । बिमान पिटर्सवर्गमा बिहमन १० बजेर ३६ मिनेटमा अवतरण हुने समय रहेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विमान दुर्घटना प्रति दुःख व्यक्त गर्र्दै आइतबार एकदिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । उनले दुर्घटनाको अनुसन्धानका लागि आदेशसमेत दिएका छन् ।

यात्रुहरुको शव विमानको सीटमा च्यापिएको अवस्थामा भेटिएका थिए । विमानमा रहेका २ सय १४ यात्रु रुसी र तीन युक्रेनी नागरिक हुन् । दुईओटा टुक्रामा उछिट्टिएर दुर्घटनाग्रस्त भएको विमानको एक भागमा आगो लागेको र अर्को चट्टानमा ठोक्किएको थियो । रुसी अधिकारीहरुले उडान भरेको २३ मिनेटमा साइप्रस एअर ट्राफिक कन्ट्रोलसँग विमानको सम्पर्कविच्छेद भएको जनाएका छन् ।

उपराष्ट्रपति पासाङको यात्रा: ब्यारेक आक्रमणदेखि सेनाको सलामीसम्म !

काठमाडौं,कातिक १४ । पूर्वलडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ नेपालको दोस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । सशस्त्र द्वन्द्वका बेला लडाकू कमाण्डरको भूमिमा रहेर सेनाका ब्यारेकहरुमा आक्रमणको नेतृत्व गरेका पासाङलाई अब नेपाली सेनाका जर्नेलहरुले सलामी ठोक्नुपर्ने भएको छ ।
उपराष्ट्रपति पासाङ १० वर्ष सशस्त्र द्वन्द्वमा माओवादीले बनाएको जनमुक्ति सेनाका कमाण्डर थिए । एक समय लडाकूको कमाण्डर रहेका ५० वर्षका उनी मुलुकको सर्वोच्च मर्यादाक्रममा दोस्रो पद उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । सामान्य रुपमा हेर्दा एमाओवादीले पार्टीभित्रको व्यवस्थापन मिलाउन उनलाई उम्मेदवार बनाएको थियो । तर, उनले उपराष्ट्रपतिको चुनावै जितेर आफूलाई लडाकू कमाण्डरबाट संवैधानिक उच्च ओहोदाको पदाधिकारी बनाउन सफल भएका छन् ।
शान्ति प्रक्रियामा आएपछि कुनै पनि लाभको पदमा नबसेका पासाङलाई कुनै न कुनै जिम्मेवारी दिनु आवश्यक रहेको एमाओवादी नेताहरुले महसुस गरेका थिए । जुन शनिबारदेखि पूरा भएको छ ।

दोस्रो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नं ४ मा गगन थापासँग पराजय व्यहोरेका पासाङले यसअघि मन्त्री हुने चाहना पनि व्यक्त गरेका थिए । तर, गैरसांसद मन्त्री हुन नपाउने व्यवस्थाका कारण प्रचण्डले पासाङलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाएर व्यवस्थापन गरे ।
सामान्यतः एमाओवादीको अर्को कुनै नेता र पासाङ उपराष्ट्रपति हुँदा खास भिन्न नहोला । तर, सारमा हेर्ने हो भने यसको ठूलो अर्थ रहन्छ । पासाङलाई उपराष्ट्रपति बनाएर एमाओवादीले नबुझिने गरी छोटो योजनामै जनयुुद्धलाई अनुमोदन गराएको छ । किनकि पासाङ माओवादी युद्धका कमाण्डर हुन् । अब उनी उपराष्ट्रपति मात्र रहेनन्, । भोलिका दिनमा पूर्वउपराष्ट्रपति भएपछि पनि उनलाई नेपाली सेनाका प्रत्येक मानिसले सलाम गर्नुपर्छ । पूर्वजर्नेलहरुले पनि उनलाई सलाम गर्नेछन् ।
यद्यपि त्यो सलाम पूर्वलडाकू कमाण्डर पासाङलाई होइन, उपराष्ट्रपति पासाङलाई गरिएको हुनेछ । यसअघि माओवादीका सुपि्रम कमाण्डर प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् ।
राजनीति गर्नेहरुका लागि यसको ठूलो अर्थ पनि हुन्न । हिजो गाविस अध्यक्ष जितेको मान्छे, आज संसद हुन्छ र भोलि उच्च ओहदाहरुमा पुग्न सक्छ । तर, सैन्य संरचनामा यसको ठूलो अर्थ रहने जानकारहरु बताउँछन् ।
को हुन् पासाङ ?
रोल्पाको ग्रामीण इलाकामा जन्मेका पासाङको राजनीतिक जीवन ०३६ सालदेखि सुरु भएको थियो । उनी ०३७ सालमा राङसी विद्यालय इकाइ कमिटीका अध्यक्ष भए । ०३९ सालमा लिवाङमा पढ्दै गर्दा उनी अखिलको प्रथम उपकेन्ऽीय सम्मेलनको रोल्पा जिल्ला प्रतिनिधिका रुपमा चुनिए ।
विद्यार्थी भएर कम्युनिस्ट राजनीति गरेको आरोपमा स्कूल वा राजनीति छाड्नुपर्ने चेतावनीपछि उनी लिवाङ छोडेर पढाइका लागि थवाङ गए । ०४२ सालमा उनले थवाङबाट एसएलसी उत्तीर्ण गरे । दाङमा आइएसम्मको अध्ययन गरेपछि ०४३ सालमा आˆनै गाउँ राङसीमा शिक्षक बनेर फर्किई शिक्षक सङ्गठनमा आवद्ध भएका थिए ।
पासाङलाई ०४१ सालमा विद्यार्थी छँदै थवाङको पुलिसद्वारा उनलाई तीन दिन चौकीमा राखेर यातना दिइएको थियो । ०४८ सालमा १३ दिन लिवाङ पुलिस हिरासतमा बसेका पासाङलाई पछिल्लो चरणमा एकैचोटि २५/३० वटा मुद्दा लगाइएको थियो ।
दाङ क्याम्पसमा पढ्दै गर्दा ०४६ सालमा उनी विद्यार्थी क्याम्पस इकाइ अध्यक्ष भए । त्यही क्रममा उनीमाथि अनेक मुद्दा लग्यो ।०४६ सालमै पार्टी सदस्यता प्राप्त गरी उनी एकता महाधिवेशनपछि बनेको नेकपा एकता केन्ऽको पार्टी सदस्य र युवक संगठनको सदस्य भए । ०४८ मा उनी पार्टीको पूर्णकालीन सदस्यभई भूमिगत राजनीतिमा प्रवेश गरे । ०५१ मा उनलाई प्रहरीको गोली समेत प्रहार भएको थियो । देब्रे हातमा गोली लागेको थियो ।
नेकपा एकताकेन्द्र बनेपछि उनी रोल्पा जिल्लाको पहिलो जिल्ला कमिटी सदस्य भए । जनयुद्धको तयारीका क्रममा उनी रोल्पा जिल्ला सदस्य, वाइसीएलका अध्यक्ष तथा सैन्य प्रशिक्षक भए ।
त्यसपछि ०५२ सालमा जनयुद्धको थालनीदेखि लडाकु दलको कमाण्डर हुँदै उहाँ ०५५ मा टास्क-फोर्स कमाण्डर र ०५६ मा स्थापित छापामारहरूको पहिलो कम्पनीका कमाण्डर भए । त्यसपछि बटालियन कमिसार, बटालियन कमाण्डर, बि्रगेड कमाण्डर, डिभिजन कमाण्डर हुँदै डेपुटी कमाण्डर र प्रमुख कमाण्डरसम्म भए ।
तत्कालीन जनमुक्ति सेनासँग रहेका ८१ एमएम मोर्टार र त्यसका सेलहरू, टु इन्च मोर्टार र त्यसका सेलहरू, डिर्चाज कम र स्वचालित हतियारका पार्टपूर्जाहरू उनकै निर्देशनमा बनाइएको माओवादी पूर्वलडाकुहरुले दाबी गर्ने गरेका छन् ।
सैन्य ब्यारेकहरुमा आक्रमणको नेतृत्व
पासाङले जनयुद्धका क्रममा आफ्नै नेतृत्वमा भएका आक्रमणहरुबारे पुस्तक नै लेखेका छन् । ०५२ फागुन १ गते जनयुद्ध सुरु भएको उद्घोष गर्दै भएको चार आक्रमण मध्येको एक होलेरी आक्रमणमा उनी सह-कमाण्डर थिए ।
पश्चिम नेपालमा माओवादीले गरेको ठूल्ठूला आक्रमण उनै नेतृत्व, रेकी र योजनामा भएका थिए । प्रहरीमाथि भएको रोल्पाको होलेरी -दोस्रो, जेलबाङ, घर्तीगाउँ, सल्यानको झिम्पे, जाजरकोटको लाहाँ, पाँचकटिया, रुकुमको महत, तकसेरा, रुकुमकोट उहाँकै नेतृत्वमा भएका हुन् ।
पहिलो सदरमुकाम कब्जा डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कब्जा कणर्ालीको जुम्ला पासाङकै फौजी नेतृत्वमा भएका हुन् । दाङको घोराही, अछामको मंगलसेन, अर्घखाँचीको सन्धीखर्क, म्याग्दीको बेनी कब्जा उहाँकै नेतृत्वमा भएका हुन् ।
रोल्पाको गाम, लिस्नेमा तत्कालीन शाही सेनालाई पराजित गर्दा पासाङ नै कमाण्डर थिए । जनयुद्धका क्रममा उनले थुप्रैपटक भिडन्तहरुमा उनको मृत्युको खबर आएको थियो, जुन उनले समेत सुन्ने गरेका थिए ।
जनयुद्धमा लडाकूको कमाण्डर रहेका पासाङले शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा पार्टी नेतृत्वलाई पूर्ण साथ दिए । उनी शान्ति प्रक्रियामा सघाउन आएको राष्ट्र संघीय मिसन अन्तर्गतको जीएमसीसीको भाइस कमाण्डर थिए ।
पासाङलाई राष्ट्रवादी नेताका रुपमा समेत हेरिन्छ । १७ जेठ ०६९ मा उनको दुवै मृगौला काम नलाग्ने अवस्थामा पुगेको थियो । मृत्युको संघारमा पुगेपछि सरकार र पार्टीले विदेशमा लगेर उपचार गर्ने भन्दा उनले अस्वीकार गरे, र नेपालमै उपचार गर्छु भनेपछि उनलाई धेरैले राष्ट्रवादी नेताका रुपमा हेरेका थिए ।
– www.onlinekhabar.com

उपराष्ट्रपतिमा नन्दबहादुर पुन  निर्वाचित

काठमाडौं, कात्तिक १४ । नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्द बहादुर पुन बिजयी भएका छन् एमाओवादी नेता रहेका पुन ३ सय २५ मत सहित उपराष्ट्रपतिमा बिजयी भएका हुन् । संसदको केहीबेरमा बस्ने बैठकमा सभामुख ओनसरी घर्ती मगरले उपराष्ट्रपति चुनावको मत परिणाम घोषणा गर्दैछन् । कांग्रेसबाट उपराष्ट्रपति उम्मेदवार रहेका अमियकुमार यादव २१२ मत पाउँदै पराजित भएका छन् । शनिबार भएको मतदानमा ५४६ मत खसेको थियो जसमा १० मत बदर भएको छ ।

तथ्याङकमा सत्तारुढ गठवन्धन
प्रधानमन्त्री : केपी ओली ३३७ मत
राष्टपति विद्या भण्डारी ३२७ मत
उपराष्टपति नन्दकिशोर पुन ३२५ मत

सत्तारुढ गठवन्धनका उम्मेद्धवारहरुको एकपछि अर्काे निर्वाचनमा क्रमशः मत परिणाम घटदै जान थालेको प्रधानमन्त्री, राष्ट्रपति देखि उपराष्टपतिसम्मको नतिजाले देखाएको छ ।

उपराष्ट्रपतिको लागि भएको मतदानमा ५४६ मत खस्यो, ५१ जना अनुपस्थित

काठमाडौं, कातिक १४ । उपराष्ट्रपतिको लागि भएको मतदान सकिएको छ । शनिबार भएको निर्वाचनमा ५४६ मत खसेको छ। राष्ट्रपति चुनावमा ५४९ मत खसेको थियो । तर, यो पटक तीन मत कम परेको छ । बिहान ११ बजेदेखि सुरू भएको मतदानमा नेकपा एमालेकी सांसद सहित ५१ जना अनुपस्थित रहेका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि विद्या भण्डारीले सांसद पदबाट राजीनामा दिइसकेकी छन् ।

यसअघि राष्ट्रपतिमा मत हालेकी सद्भावनाकी माधवी रानी साह आज उपस्थित भइनन्।
सरकार समर्थित दलहरूबाट एनेकपा माओवादीका नन्दकिशोर पुन र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादव उपराष्ट्रपति उम्मेदवार बनाएका छन्।

रात्रि क्लबमा भएको आगलागीमा २७ जनाको मृत्यु, १८० घाइते

बुखारेष्ट,कात्तिक १४ । रोमानियाको बुखारेष्टमा अवस्थित एक रात्रि क्लबमा भएको आगलागीमा परी मारिनेको सङ्ख्या कम्तीमा पनि २७ पुगेको छ। गएराति खचाखच भरिएको एक रात्रि क्लबमा अकस्मात आगलागी भएको थियो। अधिकारीहरूले त्यसमा परेर मारिने व्यक्तिको सङ्ख्या २७ पुगेको बताएका छन् ।

सो क्लबमा शुक्रबार राति आगलागी भएको थियो । आगलागीमा परी १८० जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । जसका रकाण मृत्यु हुने व्यक्तिको सङ्ख्यामा पनि बृद्धि हुन सक्नेछ ।

रोमानियाको गृह मन्त्रालयले दिएको जानकारीअनुसार घाइतेहरलाई नजिकैका अस्पतालहरुमा भर्ना गरिएको छ । शुक्रबार राति एक नयाँ गिती एल्बम बिमोचन गर्ने कार्यक्रम रहेकोले सो कार्यक्रममा खचाखच मात्रामा सहभागी रहेका थिए ।

कतिपयले सो आगलागी अगाडि एक विस्फोट पनि भएको बताएका छन् । तर उद्वारको कार्यमा खटिरहेको प्रहरीले भने त्यस्तो विस्फोट नदेखिएको बताएको छ । प्रहरीले आफ्नै कारणले रात्रि क्लबमा आगलागी मात्र भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताएको छ ।

उक्त एल्बम एक लोकप्रिय ब्यान्डको रहेकोले सो समयमा उक्त क्लबमा ३०० देखि ४०० जनासम्मको उपस्थिति रहेको बताइएको छ । ती मध्ये केही व्यक्तिमात्र भाग्न सफल भएका थिए । क्लबमा नाचगान चलिरहेका बेला अकस्मात आगलागी सुरु भएको थियो । रासस/एपी

श्रुतीकी छोरीलाई महारानी बनाउँछु-लक्ष्मणसिंह खड्का

लक्ष्मणसिंह खड्का जहाँ पनि भेटिन सक्छन् । गत सोमबार उनी दशरथ रंगशालामा भेटिएका थिए, कांग्रेसले विजयादशमीका अवसरमा आयोजना गरेको चियापानको शोभा बढाइरहेको अवस्थामा । उक्त चियापानका प्रमुख आकर्षण उनै थिए भन्नु अतिसयोक्ति हुन्छ । तर, केही व्यक्तिहरु पक्कै उनीतिर आकषिर्त भएका थिए ।
‘व्यस्तता’का बाबजुद चियापानका लागि आफ्नो ‘अमूल्य समय’ दिएका खड्काजीले चिया भने पान गरेनन् । चिया खाउँ भनेर उनलाई कसैले आग्रह पनि गरेनन् ।
किन चिया पिउनुभएन भनी पंक्तिकारले सोध्दा खड्काजी पड्किए, ‘म यिनीहरुको चिया खान आएको होइन । भारु गन्हाउने चिया म खान्न । म त यी डाकाहरुको झाँको झार्न आको हुम् ।’
खड्काजी एक्लै आएका थिएनन् । उनले हात समातेर लतार्दै ल्याएका बालक उनका नाति (छोरीका छोरा) रहेछन् । ‘यो मेरो नाति । यसकी आमा सुसाइड गरेर मरी’ पटक्कै भावुक नभई उनले सुनाउँदा बालक ट्वाल्ल परेर हजुरबाको मुखमा हेर्छन् । हजुरबा भन्दैछन्, ‘अब हामी हजुरबा-नातिले देश चलाउने हुम् ।’
हजुरबाले देश चलाउने भनिरहँदा नाति भन्छन्, ‘म त कम्प्युटर चलाउँछु । मलाई कम्प्युटर किन्देउ हजुरबा ।’
हजुरबाको जवाफ दिन्छन्, ‘तेरा बाजे, लुटेको पैसा छ र कम्प्युटर किन्न ? ठूलो भएर आफैं किन्नु ।’ नाति कहिले ठूलो हुने भन्ने विषयमा चिन्ताग्रस्त हुन्छन् ।
यसैबीच, वरिपरी केही मानिसहरु भेला भएको देखेपछि खड्काजी ‘सारगर्भित’ मन्तव्य दिन थाल्छन् । ‘ल है साथी हो ! यी डाकाहरुले देश चलाउन सकेनन् । मोराहरुले पैसा मात्रै चलाए । अब देश हामी चलाउने हुम् ।’
साथीहरुले खासै वास्ता गरिरहेका छैनन् । बरु एकजना प्रहरी नजिकै आएर मुख बन्द गर्न चेतावनी दिए । तर, उनको मन्तव्य सकिएको थिएन । प्रहरी हिँडेपछि उनी भूईंतर्फ निहुरिए ।
फिल्मी स्टाइलमा भूईंको माटो टिपेर निधारमा टाँस्दै भने, ‘यो नेपाल आमालाई खुशी पार्ने जिम्मा मेरो काँधमा आएको छ, ल है साथी हो ।’
बल्ल दुई-तीनजना साथीहरुले उनीसित हात मिलाए । ‘खड्काजी अझै जाओस् न’ भनेर हौस्याए । उनी पनि हौसिएर थप बर्बराउन थाले ।
‘भएभरको सम्पत्ति विदेशीलाई बेचेर खाए । १८ घन्टा लोडसेडिङ गराए । अनि नयाँ नेपाल रे । यत्रोको नयाँ नेपाल ! ज्ञानेन्द्रले पठाइदिएको गणतन्त्रमा लुछालुछ गरेर भोज खानेले नयाँ नेपालको गफ गर्न लाज लाग्दैन ?’
खड्काजी त्यसपछि केहीबेर चुप लागे । नाति डोर्‍याएर अलि अघि बढे । नयाँ मानिसहरुका बीच फेरि अघिकै डाइलग दोर्‍याए :
‘ल है साथी हो… यी डाकाहरुले… भएभरको सम्पत्ति… १८ घन्टा लोडसेडिङ… नयाँ नेपाल…. मेरो काँधमा… यत्रोको नयाँ नेपाल ?’
केही नयाँ डाइलगहरु पनि थपे, ‘प्रचण्डे अब राष्ट्रपति बनाउने भो होइन ? यसलाई पछारेर लुटेको पैसा सबै खोस्नुपर्छ । यो देशमा लुट्ने मात्रै ? जति लुटे नि पाइने ? सधैं लुट्न पाइने ? ३० वर्ष अगाडि बन्न लागेको अरुण तेस्रो क्यान्सिल गरेर खाने ? अनि १८ घन्टा लोडसेडिङ ? केको नयाँ नेपाल ?’
‘नेपालमा काम नपाएर विदेशमा गोबर सोहोर्न गएकाले पठाएको पैसाले देश चलिरहेको छ । क्या आनन्द । तैपनि धाक लाउँछन् । सैनिक र प्रहरीले निधारमा गोली ठाक्नुपर्ने डाकाहरुलाई । पर्खी न, कसरी हान्छ सैनिक प्रहरीले ….मा लात… आउँदैछ बेला…’ ‘ल है साथी हो । कैले इन्डियाको पैसा खाने, कैले यूरोपको पैसा खाने… सैनिक र प्रहरीले बुट बजाएर सलाम गर्नुपर्ने बजियाहरुलाई… बुटैबुटले गोद्नुपर्ने, यत्राको नयाँ नेपाल ?’
केही मानिसहरुले उनीसित हात मिलाए । हात मिलाउँदा उनको अनुहारमा होइन, कुर्तामा आँखा हुन्थ्यो सबैको । खड्काले लगाएको सेतो कुर्तामा, मानौं उनले जानेजति सबै कुरा लेखेका थिए । विजयादशमीको शुभकामनादेखि नाकाबन्दीको भत्र्सनासम्म । के थिएन यसमा ?
यी हुन् लक्ष्मण सिंह खड्का

धेरै काठमाडौंवासीका लागि चिरपरिचित अनुहार हुन् उनी । नेपालको राजनीतिमा उनको ‘छुट्टै नाम’ छ ।
उनकोे राजनीतिक इतिहासको चर्चा गरौं । ‘आजको अवस्थामा आइपुग्न’ उनले गरेका संघर्षको लामो फेहरीस्त छ । जून अरु कुनै भेटमा उनले बताउलान् । अहिललाई यति जानिराखौं संसदको चुनावमा आठ-आठ पटक लडेर हारेको कीर्तिमान कसैले राखेको छ भने यिनै खड्काजीले राखेका छन् ।
उनी ०४३ सालमा पहिलोपटक चुनावमा उठेका थिए । राष्ट्रिय पञ्चायतको सदस्यमा उठेका उनले दुई सय २६ भोट ल्याए । प्रजातन्त्र आएपछि थप सातपटक चुनाव लडे । ०४८ सालको चुनावमा काठमाडौंबाट आठ सय ७० भोट ल्याएको उनी कहिल्यै भूल्न सक्दैनन् । अरु चुनाबको कुरा नगरौं भन्ने उनको आग्रह छ ।
राजनीतितर्फ आकषिर्त हुनुको कारण उनी यसरी खोल्छन्, ‘म पनि तपाईंहरु जस्तै किसानको बच्चा नै थिएँ । केही समय गाडी पनि चलाएँ । त्यही क्रममा देश किन बिग्रेको रहेछ भनेर यसो विचार गरी हेर्दा त छक्क परेँ । नेताहरुले देश चलाउने भनेर पैसा मात्रै चलाएका रहेछन् । भएभरका सम्पदा बेचेर खाइसके छन् । जनताले जिम्दो लास बन्नुपरेको छ । त्यसपछि मैले राजनीतिमा होमिने निश्चय गरेँ ।’
‘नेता देखाउनुस, हगेको-मुतेको खान्छु’

दाइ अन्तरवार्ता दिनुपरो !
– के अरे ?
अन्तरवार्ता दिनुपरो क्या
– (घडी हेरेजस्तो गर्दै) मेरो अर्को कार्यक्रममा पनि जानु छ …
नभ्याउने हो त ?
– होइन, होइन । किन नभ्याउनु ? बरु गरिहालम् ।
(खड्काजी ‘बल्लतल्ल’ अन्तरवार्ताका निम्ति ‘कन्भिन्स’ भए । ३२ वर्षदेखि पालेको दाह्री सुम्सुम्याउँदै सोचे, ‘फोटो पनि खिच्ने हो ?’ सकारात्मक जवाफपछि अनुहार उज्यालो बनाए । अन्तरवार्ता यसरी सुरु भयो ।)
तपाईंले लगाएको कुर्ता हो कि अखबार हो ? अक्षरै अक्षर छन् त ?

– अखबारमा लेख्यो भने आज आउँछ भोलि हराउँछ । त्यही भएर कुर्तामै लेखेको हुम् ।
तपाईं सधैं किन यसरी बरालिएर हिड्नु हुन्छ ? घरबार छैन तपाईंको ?

– कसले भन्यो मेरो घर छैन । ढुंगेअड्डामा पक्की घर छ मेरो । त्यो पनि एकतल्ले दुई तल्ले होइन, अढाइ तल्ले । १४ रोपनी जग्गा पनि थियो । त्यो सारा त्यागेर हिँडेको छु । रामचन्द्रले पनि त श्रीलङ्का सवारी हुँदा अनेक आपत्विपत झेलेकै हुन् । सीता मातालाई रावणेले हरण गरेर लगेकै हो । अन्तिममा त रामचन्द्रकै जित भयो नि । म पनि देश र जनताको खातिर घरबार त्यागेर हिँडेको छु ।
देश र जनताको खातिर के-के गर्नुभयो र अहिलेसम्म ? देश त उस्तै छ ।
जनता जगाउँदै हिँडेको देख्नुभएको छैन ? शालिकहरुमा रंग लगाएको, तुल टाँगेको देख्नुभएको छैन ? मेरो हातमा पनि जादूको छडी छैन ।
तपाईंको गुजाराचाहिँ कसरी चल्छ ? घरमा जहान परिवार होलान् कसरी पालिन्छन् ?
– मलाई गुजाराको कुनै चिन्ता छैन । दुई छाक खान जसले पनि दिन्छ । केटी बेच्दिँन, बलात्कार गर्दिँन । चोरी गर्दिँन । अरु सबै गर्छु । यो एउटा नाति छ, यो पनि अब ठुलीआमासित डेनमार्क जान्छ । त्यसपछि ढुक्कले राजनीतिमा लाग्छु ।
अहिलेचाहिँ कहाँ बसिरहनुभएको छ ?
– सुन्धाराको गेष्ट हाउसमा बस्छु ।
गेस्ट हाउसमा तिर्ने पैसा कहाँबाट आउँछ ?
– कहिँबाट पनि आउँदैन । कुनैमा ६ महिनाको कुनैमा एक वर्षको तिर्न बाँकी छ । एउटामा बस्यो, पैसा नतिरेपछि लखेट्छन् फेरि अर्कोमा बस्यो । यसरी नै चल्छ ।
नेताहरुलाई गाली गर्ने तपाईंको सौख हो कि बिमारी ?
– विदेशीको पैसा खाएर देशमाथि गद्दारी गर्नेहरुलाई गाली नगरेर के फूलमाला पहिर्‍याउनु त ?
विदेशीको पैसा खाएको कसरी थाहा पाउनुभो ? तपाईंलाई आकाशवाणी आउँछ कि क्या हो ?
– सुशील प्रधानमन्त्रीमा उठ्दा इन्डियासित पैसा खाएको तपाईलाई थाहा छैन ?’ गिरिजाले बाटो बनाएर गएको होइन र ? पैसा खाएर धर्मनिरपेक्ष बनाएको होइन गिरिजाले ? हिन्दूराज्यले यिनीहरुलाई के पिरेको थियो ? के दुख दिएको थियो ? गिरिजाले त्यहीबेलामा यूरोपबाट पैसा खाएर बनाएको बाटोमा सुशीले हिँडेको होइन ? पत्रपत्रिकाले बैंकको खाता नम्बर पनि दिएको छ । शेरे, रामचन्द्र सबले पैसा खाए । यो कांग्रेस भन्ने पार्टी त विदेशीको नोकरै रहेछ ।
कांग्रेसमा गगन थापा जस्ता नेताहरु पनि त छन् नि ?
– गगने पनि चिलिम फर्किसक्यो । घैंटेलाई शहिद घोषणा गर्नुपर्छ भनेर हिँड्ने यही होइन ?
उसोभए एमालेका नेताचाहिँ ठीक छन् त ?
– केको ठीक हुनु ? अर्काको स्वास्नीमाथि….. खोज्नेहरुलाई के नेता भन्ने ? मदन भण्डारीलाई कसले मारेको ? अमेरिका र इन्डियाको सिग्नलमा यहीँका एमालेकै मान्छेले मारेका होइनन् ? मदन भण्डारी नमरेको भए विद्या भण्डारीको केही काम थियो ? महासचिवमा १५ वर्ष कसरी खायो मादेले ?
नेपालमा एउटा इमान्दार नेता देखाउनुस् नेपालमा, त्यसले हगेको मुतेको सबै म खान्छु ।
तपाईंको चाहिँ रोडम्याप के छ त देश बनाउने ?
– मैले श्रुतीकी छोरीलाई महारानी बनाउने विचार गरेको छु । यसका लागि मैले आफ्नो तर्फबाट प्रयास पनि अघि बढाइरहेको छु । कहिले हुन्छ, भन्न सक्दिँन । तर, ढीलो-चाँडो बनाएरै छोड्छु ।

http://ift.tt/1nDNv8h

उपराष्ट्रपति चयनका लागि मतदान जारी, मत परिणाम ५ बजे

काठमाडौं, कातिक १४ । उपराष्ट्रपति चयनको लागि व्यवस्थापिका संसदमा मतदान जारी रहेको छ । संसद भवन नयाँबानेश्वर सुरु भएको मतदान दिउँसो दुई बजेसम्म चल्नेछ । बेलुका ५ बजे बस्ने संसद बैठकमा निर्वाचनको परिणाम घोषणा हुने संसद सचिवालयले जनाएको छ । उपराष्ट्रपतिको लागि सत्तारुढ दलको तर्फबाट एकीकृत नेकपा माओवादीका नन्दबहादुर पुन र नेपाली कांग्रेसबाट अमियकुमार यादवको उम्मेदवारी परेको छ ।
अहिलेको समीकरण अनुसार पुन निर्वाचित हुने झण्डै निश्चित छ । संसदमा अहिले कायम रहेको संख्या ५ सय ९७ अनुसार निर्वाचित हुन कम्तीमा २ सय ९९ मत आवश्यक पर्छ ।

Friday, October 30, 2015

बार्यन म्युनिकको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं,कातिक १४ । जर्मन बुन्डेस लिगा फुटबलमा बार्यन म्युनिकको अपराजित यात्रामा पूर्णविराम लागेको छ । शुक्रबार राति भएको खेलमा फ्रर्‍यांकफर्टसँग गोलरहित बराबरीमा रोकिएपछि बार्यनको विजयी यात्रा टुंगिएको हो । लिग लिडर बार्यनले लिगको १० खेलसम्म सबै खेलमा जित निकालेको थियो ।

११ औं खेलमा आएर बार्यनले विजय यात्रालाई कायम गर्न सकेन । बराबरीपछि शीर्ष स्थानमा रहेका बार्यनको ११ खेलबाट ३१ अंक भएको छ । बार्यन दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुण्ड भन्दा ८ अंकले अघि छ ।

झन्झन् टाढिए कांग्रेस–एमाले

काठमाडौं,कातिक १४ । प्रधानमन्त्री निर्वाचनसँगै रूपान्तरित संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सुरु मतभेद राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ। तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी भएलगत्तै नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै दुई दलबीचको विवाद बाहिर आएको थियो । त्यसो त सत्ता साझेदारीका २० महिनाबीच पनि दुई दलबीच मतभेद नभएको होइन तर संविधान जारी भएयता भने त्यो सतहमै पोखिएको छ ।

संविधानका विवादित विषयलाई निष्कर्षमा पु-याउने गरी जेठ अन्तिम साता प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिसँगै नयाँ सरकारको नेतृत्व एमालेलाई दिने समझदारी भएको एमालेको दाबी थियो । तर, कांग्रेस त्यसलाई मान्न तयार भएन । संविधान जारी भएपछि नयाँ प्रधानमन्त्रीका लागि संसदमा भएको निर्वाचनमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति सुशील कोइरालाले त्यस्तो कुनै सहमति र समझदारी नभएको दाबी गरे । औपचारिक सहमति त कार्यान्वयन भएन, केको अनौपचारिक सहमति भन्ने प्रश्न गर्दै कोइरालाले भनेका थिए, ‘सहमतिको अवज्ञा कांग्रेसले होइन, एमालेले गरेको छ ।’

वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि गठन भएको प्राधिकरण अघि बढाउन एमालेले असहयोग गरेको कोइरालाले संसदमै बताएका थिए । अध्यादेशमार्फत गठन भएको उक्त प्राधिकरण निष्क्रिय बनिसकेको छ । मुलुकसामु आइपरेको महाविपत्तिमा समेत गृहप्रशासन र निजामती प्रशासनको नेतृत्व लिएको एमालेले असहयोग गरेको कांग्रेस बुझाइ छ । आजको नागरिकमा खबर छ ।

उपत्यकामा आजदेखि सात सयमा ग्यास वितरण, कुन ग्यास कति बाँडिदैछ ?

काठमाडौं,कातिक १४ । काठमाडौं उपत्यकामा शनिबारका लागि ८० हजार सिलिन्डरमा आधा परिमाण (७.१ किलो) भर्न पुग्ने ग्यास आएको छ । यो सामान्य अवस्थाको दैनिक खपतको तुलनामा दोब्बर परिमाण हो । उद्योगीका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक पूरै भरिएका ४० हजार सिलिन्डर (१४.२ किलो) ग्यास खपत हुने गरेको छ । ग्यास उद्योग संघका अनुसार सामान्य अवस्थामा दैनिक मुलुकभर ६६ बुलेट ग्यास खपत हुने गरेको छ ।

यसबाट ८२ हजार ५ सय सिलिन्डरमा पूरा ग्यास भर्न पुग्छ । आधा मात्रै ग्यास राख्ने हो ६६ बुलेटबाट १ लाख ६५ हजार सिलिन्डर भर्न सकिन्छ । उपत्यकामा सरदर दैनिक ३० बुलेट ग्यास खपत हुने गर्छ । ३० बुलेटबाट ४१ हजार २ सय ५० सिलिन्डरमा पूरा ग्यास भर्न पुग्छ । संघका अनुसार शुक्रबार साँझ र शनिबार रातिसम्म उपत्यकाका लागि ३२ बुलेट ग्यास आइपुग्नेछन् । भैरहवा नाकाबाट शुक्रबार दिउँसो २४ बुलेट ग्यास काठमाडौंका लागि हिँडेका छन् । ‘ती बुलेट साँझसम्म उपत्यका भित्रिसक्छन्,’ संघ अध्यक्ष शिवप्रसाद घिमिरेले भने, ‘थप ८ बुलेट ग्यास पनि साँझ विभिन्न भन्सार नाका पार गरी काठमाडौंका लागि आउँछन् । ती बुलेट रातिसम्म उद्योगमा आइपुग्छन् ।’

उपत्यकालाई ग्यास आपूर्ति गर्न धादिङमा १२ र काभ्रेमा ३ उद्योग छन् । चितवन, नवलपरासी, बारा, पर्सालगायत तराईमा रहेका थप ११ उद्योगले समेत काठमाडौंको ग्यास आपूर्ति थेग्दै आएका छन् । धादिङ र काभ्ेरमा रहेका उद्योगले राति र बिहानसम्म सिलिन्डरमा आधा ग्यास भरे पनि शनिबार १० बजेपछि उपभोक्ताले ग्यास पाउन सक्ने संघको भनाइ छ ।

तर, उद्योग परिसरमै उपभोक्ता लाइन बढिरहेकाले उद्योग गेटबाटै सर्वसाधारणलाई ग्यास वितरण गर्नुपर्ने अवस्था रहेको उद्योगी बताउँछन् । सोही कारण उद्योगबाट समयमै विक्रेता (पसल) कहाँ ग्यास पुर्‍याउन नसक्ने अवस्था आउन सक्ने उनीहरूको भनाइ छ । सरकारले आधा ग्यास भरिएका सिलिन्डर उद्योगबाट नभई विक्रेताका माध्यमबाट मात्रै बिक्री गर्ने निर्णय गरे पनि उद्योगमा भरिएका ग्यास सिलिन्डर सीधै बिक्रेताकहाँ पुर्‍याउन समस्या छ । ‘आधा भरिएका (७.१ केजी) ग्यास सिलिन्डर विक्रेतामार्फत उपभोक्तालाई वितरण गर्ने निर्णय भइसकेको छ, त्यसैले उपभाक्ताले नजिकको विक्रेताकहाँ सम्पर्क राख्दा राम्रो हुन्छ,’ घिमिरेले भने । काठमाडौंको बजारमा उपलब्ध २६ ब्रान्डकै सिलिन्डरमा शनिबार ग्यास भरिँदै छ । तर, शुक्रबारदेखि ग्यास उद्योगी र विक्रेताकहाँ पुगेर नेता, व्यवसायी, होटेल–रेस्टुरेन्ट सञ्चालकलगायतले ठूलो मात्रामा लैजान थालेकाले सर्वसाधारणले सहजै नपाउने अवस्था छ । सरकारले पनि ग्यास उद्योग र डिपोमा अनुगमनमा चासो देखाएको छैन ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

१८ वर्षकी किशोरी तीन सन्तानकी आमा

संखुवासभा,कातिक १४ । १८ वर्षीया किशोरी निमछिकी शेर्पा तीन सन्तानकी आमा बनेकी छिन्। अशिक्षा र अज्ञानताले गर्दा उनले १४ वर्षमै बिहे गरिन् र लगातार तीन बच्चा जन्माइन् । स्याबुन-५ देउराली चित्रेका फुर्तेम्बा शेर्पासँग २०६८ सालमा विवाह गरेकी उनका तीन वर्षीया जेठी छोरी निमलमु, दुई वर्षीय छोरा तेन्जी र एक महिनाका छोरा लाक्पा शेर्पा छन्। २०५३ चैत २० गते जन्मिएकी उनी आमा बनेकोमा आफैं छक्क मान्छिन्।
तीन सन्तानकी आमा भए पनि उनी छोराछोरीसँगै खेल्ने गर्छिन्।उनमा बच्चालाई स्तनपान गराउने तरिका, पोषकतत्व र सरसफाइबारे कुनै ज्ञान छैन। उनी आफैं सानो उमेरकी भएकीले आफ्ना सन्तानलाई कसरी पालनपोषण गर्ने र हुर्काउने भन्ने ज्ञान पनि नभएको अन्नपूर्ण पोस्टमा खबर छ ।
कसरी हुर्काउँछौ यी सन्तान भन्ने जिज्ञासामा उनले ‘आफैं हुर्किन्छन्’ भन्ने जबाफ दिइन्।गाउँमा दुई वर्षमुनिका बालबालिकालाई खुवाउनुपर्ने खानेकुराका विषयमा अभिभावक नै जानकार हुँदैनन्। त्यस कारण बालबालिका कुपोषित हुने गर्छन्।

भारतले नेपाललाई गत वर्षभन्दा सस्तोमा बिजुली दिने

काठमाडौं,कातिक १४ । भारतले यस वर्षको हिउँदमा नेपाललाई गत वर्षभन्दा सस्तोमा बिजुली दिने भएको छ । भारतीय उर्जा दलाल कम्पनी पीटीसीले यस वर्षको हिउँदका ६ महिना प्रतियुनिट पाँच रुपैयाँ ६० पैसा(भारु ३.५०) मा बिजुली दिन लागेको हो । गत वर्ष भारतले प्रतियुनिट ६ रुपैयाँ (भारु ३.७५) मा बिजुली दिएको थियो ।

नेपाल विद्युत प्राधिकरणले टनकपुरबाट प्रतियुनिट पाँच रुपैयाँ ६० पैसामा ३५ मेगावाटसम्म बिजुली खरिद गरी आयात गर्नेछ । प्राधिकरणका विद्युत व्यापार विभागका निर्देशक अनिल राजभण्डारीसहितको टोली बिहीबार पीटीसीसँग व्यापार सम्भौता गर्न भारत गएको नयाँ पत्रिकामा खबर छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले यस वर्ष भारतमा बिजुलीको मूल्य घटेकाले नेपालमा आयात हुने मूल्य पनि सस्तो भएको जानकारी दिए ।

गोल्छाको चन्दा प्रकरणमा अख्तियारको छानबिन सुरु

काठमाडौं,कातिक १४ । विभिन्न नेता तथा व्यक्तिलाई करोडौं रुपैयाँ दिएको अभिब्यक्ति दिने एमाले सांसद राज्इलक्ष्मी गोल्छामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । अख्तियारले करोडौं रुपैयाँ दिने गोल्छाको सम्पत्तिको स्रोतमाथि गम्भीर छानबिन गर्ने भएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।  गोल्छा अर्गनाइजेसनकी सदस्यसमेत रहेकी एमाले सांसद गोल्छाले केही दिनअघि पत्रकार सम्मेलन गरी एमालेका विभिन्न नेता तथा कार्यकर्तालाई करोडौं रुपैयाँ दिएको तथ्य सार्वजनिक गरेकी थिइन ।
अख्तियारले गोल्छासँग रकम लिएका भनिएका नेता तथा कार्यकर्तामाथि पनि छानबिन गर्देछ ।

राष्ट्रपति चुनावमा भोट हालेकी ​माधवीलाई सद्भावनाद्धारा निलम्बन

काठमाडौं,कातिक १३ । तराईका जिल्लामा जारी बन्द हडतालमा उग्र भाषण र भारतमा आश्रय लिंदै पूर्व भारतीयका मागलाई बढी उचाल्दै आएका राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले सांसद माधवी रानी साहलाई सांसदबाट निलम्बनको घोषणा गरेको छ । साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको बताएको सद्भावनाले राष्ट्रपति निर्वाचनमा पार्टी र मधेशी मोर्चाको निर्णय विपरित भोट हाल्न गएकाले हटाएको बताएको छ । सद्भावना पार्टीको विधान बमोजिम निलम्बन गरी अनुशासनको कारबाही अघि बढाइएको महासचिव मनिषकुमार सुमनद्वारा जारी विज्ञप्तीमा उनलाई मोर्चा र पार्टीको निर्णय अनुसार कारवाही गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

भारतले फेरी ढाँट्यो-‘नाकाबन्दी नगरको प्रष्टोक्ती’

काठमाडौं,कातिक १३ ।एक महिनादेखी अघोषीत रुपमा नाकाबन्दी गर्दै आएको भारतले फेरी ढाँट्दै नाकाबन्दी नगरेको प्रष्टिकरण दिएको छ । तराईका जिल्लामा जारी बन्द हडताललाई बहाना बनाएर भारतबाटै ईन्धन बोकेका गाडी सहित अन्य सवारी साधन आउन नदिएर दुख दिंदै आएको भारतले त्यसलाई ढाँट्दै नेपालकै कारण आपुर्तिमा समस्या भएको तर्क गरेको छ । दशगजा क्षेत्रमा अवैध रुपमा बसेर भारतीय भोज खाँदै नेपालपट्टी ढुंगामुढा गर्नेलाई बास दिंदै आएको भारतले त्यसको समेत बचाउ गर्दै वीरगञ्ज रक्शौल नाका नखुल्दासम्म इन्धन आपूर्ति सहज नहुने बताएको छ।

चीनसँग इन्धन खरिदको सम्झौता भएको दुई दिनपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले इन्धन आपूर्ति सहज हुन नसक्नुमा भारत जिम्मेवार नरहेको भन्दै भारतीय नाकाबन्दीको बचाउ गरेका हुन् । ‘वीरगञ्ज नाकामा नेपाली पक्षबाट भइरहेको आन्दोलन र धर्ना अन्त्य नहुन्जेलसम्म इन्धनको आपूर्ति हुनसक्दैन’ उनले भनेका छन्-‘किनभने नेपालमा जाने सत्तरी प्रतिशत भन्दा बढी इन्धन त्यही नाकाबाट आपूर्ति हुन्छ।’

नेपालले चीनसँग इन्धन आपूर्तिका लागि भएको सम्झौताबारे भारत जानकार रहेको बताएका उनले चीनसँग सम्झौता गर्दैमा अवरुद्ध वीरगञ्ज नाका नखुल्ने जिकिर गरेको छ । विरजगञ्ज बाहेकका नाकाबाट ईन्धन आपुर्ति गर्न तयार रहेको भन्दै यसअघिकै जस्तै भारतीय आश्वासन दिएका उनले आपुर्तिमा भारतीय अवरोध नरहेको भन्दै ढाँटेर भारतीय नाकाबन्दीको बचाउ गरे ।

उपराष्ट्रपतिमा सत्तारूढ र प्रतिपक्षकै भिडन्त, दुई जनाको उम्मेद्वारी फिर्ता

काठमाडौं,कातिक १३ । उपराष्ट्रपति निर्वाचनमा सत्तारूढ गठबन्धनको तर्फबाट एमाओवादीका उम्मेद्वार नन्दकिशोर पुन पासाङ र कांग्रेसका समानुपातिक सांसद् अमियकुमार यादव एक आपसमा भिड्ने भएका छन् । नेपाल परिवार दलका दयाराम कँडेल र स्वतन्त्र सांसद अतहर कमाल मुसलमान उपराष्ट्रपति पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएसँगै यी दुईको भिडन्त हुन लागेको हो ।

यसअघि चार जनाले उम्मेद्वारी दिएका थिए । तत्कालीन माओवादीका लडाकु कमाण्डर रहेका पुनलाई उपराष्ट्रपति पदमा जिताउन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल प्रस्तावक बसेका छन् भने राप्रपा नेपालका सचेतक दिलनाथ गिरी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद् योगेन्द्र चौधरी समर्थक बसेका छन्। सांसद्हरुले शनिबार विहान ११ बजेदेखि २ बजेसम्म गोप्य मतदान गरेर उपराष्ट्रपति चयन गर्नेछन् । अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्काका अनुसार अब साना ५ दलसहितका ७ भोट कांग्रेसले पाउनेछ ।

काठमाडौंको ८ वटा रुटमा सेनाको निःशुल्क बस सेवा,यस्तो छ रुट

काठमाडौं,कार्तिक १३ । नेपाली सेनाले उपत्यकामा निःशुल्क बस सेवा सुरु गरेको छ । पेट्रोलियम पदार्थको अभावपछि काठमाडौं उपत्यकामा यातायात सेवा अस्तव्यस्त भएपछि सेनाले बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म चारवटा बसमार्फत विभिन्न ८ वटा रुटमा बस सेवा दिन थालेको हो ।

सेनाको बसमा सर्वसाधारणले भाडा रकम बुझाउनु पर्दैन भने अन्य सवारीमा भन्दा केही सहज यात्रा समेत हुनेछ। बिहान र दिउँसो दुई समयमा काठमाडौंमा बस सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ।
प्रति बसमा ३५ सिट संख्या क्षमता रहेको र आवश्यक परे उभिएर जान चाहनेलाई पनि सेवा दिने उहाँले बताउनुभयो । नेपाली सेनाले नयाँ वानेश्वर, कोटेश्वर, थापाथली, चक्रपथ लगायात काठमाण्डू उपत्यकाका विभिन्न ठाउँमा गएको बुधबारदेखि निःशुल्क बस सेवा दिन थालेको हो ।
यस्तो छ रुट
१ – भद्रकाली, लैनचौर, टिचिङ अस्पताल, चक्रपथ, बसुन्धरा, गोंगबु हुँदै बालाजु
२ – माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी हुँदै स्वयम्भू
३ – माइतीघर नयाँ बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशाला, चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ हुँदै भद्रकाली
४ – माइतीघर, पुरानोबानेश्वर, मैतीदेवी, पुतलीसडक, बागबजार हुँदै सिंहदरबार
५ – नयाँबानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु हुँदै रत्नपार्क
६ – सहिदगेट, त्रिपुरेश्वर, कालीमाटी, ताहाचल, छाउनी, स्वयम्भू, गोंगबुचोक हुँदै सामाखुशी
७ – थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, बानेश्वर हुँदै सहिदगेट
८ – थापाथली, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर हुँदै रत्नपार्क

जोगबनी नाकाबाट ठूलो परिमाणमा पेट्रोलियम पदार्थ भित्रियो

काठमाडौं, कातिक १३ । चीनसँग इन्धन खरिद गर्ने संझौता भएलगत्तै भारतले नेपालमा धमाधम इन्धन पठाएको छ । तराइको आन्दोलनलाई कारण देखाउदै अघोषित नाकाबन्दी गरेको भारत चीनसँगको संझौतापछि तर्सिदै इन्धन आपूर्ति बढाएको हो । विराटनगर भन्सार नाकाबाट शुक्रबार ठूलो परिमाणमा पेट्रोलियम पदार्थ भित्रिएको छ । विहिवार भने १४ वटा मात्रै इन्धनका गाडि भित्रिए थियो ।

बिराटनगर भन्सार नाकाबाट आज बिहानै ६८ वटा इन्धनका गाडी भित्रिएका छन् । जसमा ५६ डिजेल, ८ पेट्रोल र ४ वटा ग्यासका बुलेट रहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । दसैं सकिएपछि नेपाल भित्रिएको यो इन्धनले तिहार अगाडिसम्मका लागि सहजता मिल्ने अनुमान गरिएको छ । ‘ तर मालबहाक सवारी भने २० वटा मात्रै भित्रिएका छन् । पूर्वी नाका काकडभिट्टाबाट आज बिहान १८ वटा गाडी भित्रदा इन्धनका दुइवटा गाडी आएका छन् ।

उपराष्ट्रपतिमा चारजनाको उम्‍मेदवारी दर्ता

काठमाडौं,कातिक १३ । उपराष्ट्रपति पदमा चारजनाको उम्‍मेदवारी परेको छ । शनिवारमतदानको कार्यक्रमरहेको उपराष्ट्रपतिको पदमा नेपाली कांग्रेसका तर्फबाट अमियकुमार यादव,एमाओवादीसहित सत्तारुढ गठबन्धनको तर्फबाट एमाओवादीका नन्दकिशोर पुन पासाङ,यसैगरी स्वतन्त्र सांसद अतहर कमाल मुसलमान र परिवार दलका दयाराम कँडेललेले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उक्त पदको लागि शनिबार बिहान ११ बजेदेखि मतदान सुरु हुने भएको छ।

सचिवालयले आज प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार उपराष्ट्रपति पदमा राजनीतिक सहमति कायम नभएमा १३ गते १० देखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, १:३० बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, २ बजे उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने, २:३० बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय निर्धारण गरिएको छ ।
त्यसैगरी उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली सोही दिन ३ बजे प्रकाशन गर्ने, १४ गते शनिबार बिहान ११ देखि २ बजेसम्म गोप्य मतदान हुने, २:३० बजे मतगणना, ४:४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष पेस गर्ने र अपराह्न ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसद्मा घोषणा गर्ने निर्वाचन तालिकामा उल्लेख छ ।

Thursday, October 29, 2015

निगमका १२ ट्याङ्कर पेट्रोल लिन केरूङ हिँडे

काठमाडौं, कातिक १३ । चीनले अनुदानमा दिन लागेको पेट्रोल लिन शुक्रवार १२ वटा ट्यांकर केरुङतर्फ लागेका छन्। नेपाल आयल निगमको थानकोटस्थित भण्डारण केन्द्रमा रहेका १२ हजार लिटर क्षमता भएका १२ वटा ट्यांकर शुक्रबार बिहान त्यसतर्फ पठाएको हो । अन्य ट्यांकर भने शनिबार पठाइने आयल निगमले जनाएको छ । बिहान निगमको थानकोटस्थित भण्डारण केन्द्र पूजा आजा गरी त्यस तर्फ लागेका हुन् । चीनले दिने अनुदानको पेट्रोल पहिलो लटमा १ लाख ४० हजार लिटर अर्थात १ सय टन पेट्रोल आउने भएको हो।

टेष्ट देशसहितको इमर्जिङ नेशन्स’ क्रिकेट नेपालले पनि खेल्ने

काठमाडौं,कातिक १३ । एसियाली क्रिकेट परिषद् एसीसीले सन् २०१७ मा ईमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । उदयमान एशोसियट राष्ट्रहरुलाई लक्षित गर्दै ‘इमर्जिङ नेशन्स कप’ आयोजना गर्न लागेको हो । एसीसीको सिंगापुरमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । प्रतियोगितामा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका ‘ए साइड’ टोली पनि सहभागी हुनेछ ।

टेष्ट मान्य प्राप्त एसियाली राष्ट्रलाई समेत सहभागी गराएर २०१७ देखि इमर्जिङ कप गर्ने निर्णय गरेको हो । प्रतियोगिता एक दिवसीय फम्र्याटको हुनेछ । यसअघि सन् २०१३ मा पछिल्लो पटक आयोजना भएपछि ईमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिता बन्द गरिएको थियो । एसीसीले चार वर्षपछि पुनः यो प्रतियोगिता सञ्चालन गर्ने भएको हो । यसैबीच एसीसीले यस पटकको एसिया कप क्रिकेट प्रतियोगिता बंगलादेशमा आयोजना गर्ने निर्णय गरेको छ ।

उडान भर्न लागेको विमानमा आगो लाग्दा १५ जना घाइते

एजेन्सी, कातिक १३ । अमेरिकाको फ्लोरिडामा उडान भर्न लागेको विमानमा आगो लाग्दा अमेरिकामा १५ जना घाइते भएका छन् । विमानको इन्जिनमा इन्धन चुहिएर आगो लागेको बिबिसीले जनाएको छ ।  हलिउड इन्टरनेसनल एयरपोर्टमा भेनेजुयलाका लागि उडान भर्न लागेको डाइनामिङ एयरलाइन्सको बोइङ ७६७ विमानको बायाँ इन्जिनमा आगो लागेको एयरलाइन्सले जनाएको छ ।

विमानमा आगो लागेपनि यात्रुलाई सकुशल उद्दार गरिएको थियो । आगलागीपछि विमानमा रहेका यात्रुहरुलाई सकुसल बाहिर निकालिएको थियो । चालक दलका सदस्यहरुले सावधानीपूर्वक जहाजलाई ठूलो दुर्घटना हुनबाट बचाएका थिए ।

चीनद्वारा नेपालसँग विद्युत व्यापार प्रस्ताव

काठमाडौं, कातिक १३ । जलविद्युत आयोजना र प्रसारण सहकार्य गर्न चीले नेपालसँग विद्युत व्यापार सम्झौता (पीटीए) का लागि समझदारी पत्रमा हस्ताक्ष गर्ने प्रस्ताव अघि सारेको छ । भारतले अघोषित नाकाबन्दी सुरु गरेसँगै चीनले दुई देशबीच सुरुमा समझदारीपत्रमा हस्ताक्षर गरी सम्झौता प्रक्रिया अघि बढाउने मनशाय व्यक्त गर्दै असोज ११ गते नै लिखित पत्रचार गरेको खुलेको नागरिक दैनिकमा खबर छ ।
चिनियाँ जलस्रोत मन्त्रालयअन्तर्गतको ‘हान्जाउ रिजनल सेन्टर’ले आयोजना निर्माणदेखि प्रविधि हस्तान्तरणसम्मको समझदारी नेपालसँग गर्न इच्छा देखाउँदै विद्युत प्राधिकरणलाई पत्र पठाएको छ । प्राधिकरण ऐन अनुसार यस्तो समझदारी कानुनी रुपमा उसले गर्न नमिल्ने हुँदा त्यो पत्र उर्जा मन्त्रालयमा पठाएर त्यहीबाट थप प्रक्रिया सुरु गरिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

देउवा पक्षले सुशील कोइरालालाई हटाउने !

काठमाडौं,कातिक १३ । राज्यका कुनै पनि पद हात नपरेपछि कांग्रेसमा नेता शेरबहादुर देउवा पक्षधर नेताहरुले सभापति सुशील कोइरालालाई संसदीय दलको नेताबाट हटाउने गृहकार्य थालेका छन् । आजको राजधानी दैनिकमा खबर छ कोइराला आफ्नै कारणले प्रधानमन्त्रीमा पराजित भएका कारण उनी पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै सधैंको असन्तुष्ट देउवा पक्षले दलको नेताबाट सुशीललाई हटाउने गृहकार्य अघि बढाएको हो ।

सुशीलको असफल र अव्यवहारिक नेतृत्वकै कारण मुलुकको परिस्थिति कांग्रेस अनुकूल नभएको देउवा पक्षको बुझाई छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायत सबै पद गुमाउनुपर्नाको कारण कोइराला नै रहेको देउवा पक्षको ठहर छ ।

सबैतिर असफल भएपछि देउवा पक्षीय नेताहरुले तत्काल संसदीय दलमा निर्वाचन गर्नुपर्ने पक्षमा यो पक्ष छ । नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको उम्मेवदार चयनकै बेला संसदीय दलको उम्मेदवार चयन गर्नका लागि चुनावको माग गरे पनि सुशील आफैं प्रधानमन्त्रीको उम्मेदवार बनेका थिए । अब १३ औं महाधिवेशन केन्द्रित हुँदै कांग्रेसमा नेताहरुले आ आफ्नो तयारी गर्ने भएका छन् ।

बाबुरामका पिएद्धारा सशस्त्रका भान्छेलाइ ढोका थुनेर कुटपिट

काठमाडौं,कातिक १३ । ‘लक्ष्मी र सरस्वती एकै ठाउँमा बस्न सक्दैनन् ती दुवैलाई एकै स्थानमा बस्ने घर बनाउँदैछु’ भनेर नयाँ शक्तिको डंका पिटेर हिंडेका डा। बाबुराम भट्टराईका पिए भने भान्छेलाई मरणासन्न हुने गरी पिट्ने धन्दामा लागेका छन् । नयाँ शक्तिको नाममा एमाओवादी फुटाएर क्षेत्रीय राजनीतिको बिंडो थाम्ने योजनामा रहेका भट्टराईका पिए सनिप बुढाले सशस्त्र प्रहरीका परिचर ९भान्छे० लाई मरणासन्न हुने गरी पिटेका छन् ।
आजको जनआह्वान साप्ताहिकमा खबर छ–भट्टराईको सुरक्षामा रहेका सशस्त्र प्रहरी बलका परिचर विष्णु श्रेष्ठलाई गत कात्तिक ६ गते शुक्रबार अपराह्न तीन बजे सानेपा निवासमा ढोका थुनेर पिटेका थिए । नयाँ शक्तिको गफ दिएर दिउँसै मापसे गरेर आएका सनिपले खाना नमीठो पकाएको भन्दै श्रेष्ठको टाउकोमा प्रेसर कुकरको बिर्कोले हिर्काएका थिए ।

सशस्त्र प्रहरीका जवानहरू सानेपा निवासमा टिटी खेलेर बसेको वेला भान्छा कोठाको ढोका थुनेर मरणासन्न हुने गरी पिटेका थिए । मादक पदार्थ सेवन गरेका सनिपले श्रेष्ठको मुख थुनेर पिटेपछि रक्तमुच्छेल भएर लडेका थिए । बाहिर हल्ला गरे मारेर फालिदिने भन्दै धम्की समेत दिएका थिए । सञ्चारमाध्यममा खबर सार्वजनिक भए नयाँ शक्तिको बद्नाम हुने भन्दै हुलिया र परिचय समेत ढाँटेर श्रेष्ठको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ ।

उनको टाउकोमा गम्भीर चोट लागेको छ । श्रेष्ठको सिटी स्क्यान गरिएको छ । भान्छा कोठादेखि भट्टराईको निवासको गेटसम्म रगतको धारो लागेको थियो । भान्छे भान्छाकोठामा ढलेपछि हल्लीखल्ली भए पनि चुपचाप स्टार हस्पिटल पु¥याइएको थियो । सनिपले आतंक मच्चाए पनि सो कुराको जानकारी नयाँ शक्तिका रणनीतिकार डा। भट्टराईलाई भने दिइएको वा नदिइएको भन्ने बारेमा जानकारी हुनसकेको छैन । यद्यपि विष्णु श्रेष्ठकी श्रीमती राममायाले भने आफ्ना श्रीमान्लाई हत्या गर्ने नियतले आक्रमण भएको बताइन् । श्रीमान्को उपचार गर्ने खर्च समेत नभएको भन्दै गुनासो गरेकी छिन् । सनिपको आतंक बाहिर ल्याउन नहुने भन्दै बाबुराम पत्नी हिसिला यमीले तानाबाना बुनेकी छिन् । बाबुरामको बेइज्जत हुन्छ भन्दै यमीले सनिपलाई कुनै पनि कुरा बाहिर नलान र सशस्त्र प्रहरीलाई समेत सो कुरा नभन्न भनेकी छिन् ।

भीआईपीलाई जानकारी दिइएको छ जस्तो लाग्दैन, म बडो समस्यामा परें श्रेष्ठकी श्रीमती राममायाले भनिन् । उनले आफ्ना श्रीमान्को जीवन रक्षा गरिदिन र उपचार खर्च मिलाइदिन सञ्चारकर्मीलाई आग्रह गरेकी छिन् । तर डा। भट्टराईले भने सनिपलाई आफूसँगै लिएर हिंड्ने गरेका छन् । उद्दण्ड स्वभावका सनिपलाई कारबाही गर्ने आँट डा. भट्टराईसँग छ कि छैन हेर्न बाँकी छ ।

किन सरेनन् पूर्वराष्ट्रपति आफ्नो घरमा ? छोरी भन्छिन्, ‘त्यो घर उनको होइन, मेरो हो’

काठमाडौं,कातिक १३ । नव निर्वाचित राष्ट्रपतिले पदभार सम्हालेसँगै पूर्वराष्ट्रपति डा. रामवरण यादवले शीतलनिवास छाडेका छन् । सरकारले व्यवस्था गरेको भाडाको घरमा बिहिबार नै सरिसकेका छन् । सबैभन्दा रोचक कुरा, उनको लागि सरकारले व्यवस्था गरेको बागडोलस्थित नयाँ घर उनी राष्ट्रपछि हुन अघि बस्दै आएको घर नजिकै रहेको छ ।
आखिर आफ्नो घर हुँदाहुँदै पनि किन राष्ट्रपछि भाडाको घरमा बस्न पुगे ? धेरैले यसलाई चासोको रुपमा हेरेका छन् । सामाजिक सञ्जालमा यस विषयमा टिकाटिप्पणी समेत शुरु भएपछि डा. यादवकी छोरी अनिता यादवले यस विषयमा स्पष्टिकरण दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै अनिताले राष्ट्रपछि हुन अघि बस्दै आएको घर डा. यादवको नभएर उनको रहेको बताएकी छिन् ।

उनका अनुसार राष्ट्रपति यादव पूरानो घरमा नसर्नुको कारण उक्त घरमा एउटा गाडी पनि पार्किङ गर्ने स्थान पनि छैन । त्यस्तै ३.७ आनामा बनेको उक्त घरमा मात्र दुईवटा कोठा रहेका छन् जुन सानो परिवारको लागि मात्र उपयुक्त छ । यसैगरी गत वैशाख १२ को भूकम्पले घरमा क्षति पुगेकाले त्यहाँ मर्मत सम्हारबिना बस्न अनुपयुक्त रहेको उनले बताएकी छिन् ।
उनले आफूहरु तडकभडक गर्न नरुचाउने बताउँदै बाध्यतावस भाडाको घरमा बस्न परेको बताएकी छिन् । अनिताले आफ्नो पिताको स्वच्छ छविलाई धमिल्याउन खोजिएको भन्दै आक्रोशसमेत व्यक्त गरेकी छिन् ।

चीनसँग इन्धन ल्याउने सम्झौता गरलगत्तै यसो भनेछ आइओसीले

काठमाडौं,कातिक १३ । चीनसँग इन्धन खरिद समझदारी भएको भोलिपल्टै भारतीय आयल निगम (आइओसी) ले नेपालतर्फ इन्धन आपूर्ति बढाउने बताएको छ । भारतय नाकाबन्दीसँगै आइओसीले नेपालतर्फ इन्धन आपूर्ति डेढ महिनायता रोकेको छ ।

‘हाम्रो नेपालसँग चार दशक लामो इन्धन अपूर्ति सम्झौता छ । अहिले सीमानाका बन् रहेका कारण इन्धन पठाउन सकेका छैनौं । तर अबका दिनमा हामी नेपालतर्फ इन्धन बढाउन सकिनेमा आशावादी छौं,’ भारतीय आयल निगमका अध्यक्ष बी अशोकको भनाइ उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बिहीबार लेखेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

राज्यका सबै पद गुमेपछि कांग्रेसभित्र खैलाबैला,कोइराला शासनको अन्त्य

काठमाडौं,कातिक १३ । अघिल्लो पटक आफ्नो क्षमताको मूल्यांकन गर्न नसक्दा एकीकृत नेकपा (माओवादी) ले राज्यका प्रमुख पदहरू गुमाएजस्तै यसपटक नेपाली कांग्रेसले पनि सबै पद गुमाएपछि सो पार्टीभित्र खैलाबैला शुरु भएको छ । भारतीयको योजनामा प्रधानमन्त्रीमा उम्मेदवारी दिएका सुशील कोइराला नेकपा (एमाले) र एमाओवादीको संयुक्त गठबन्धनका उम्मेदवार खड्ग ओलीसँग पराजित भए । सभामुखमा उम्मेदवार नै नपाएपछि उम्मेदवारी दिन नसकेको कांग्रेसले उपसभामुख समेत गुमाउन बाध्य भयो । हुँदा–हुँदा अहम्को राजनीति गर्दै आएको कांग्रेसले राष्ट्राध्यक्षको पद समेत गुमाएको छ ।

प्रमुख दलहरूबीच गत जेठ २५ गते भएको १६ बुँदे सहमति र सो सहमतिको अन्तर्यमा रहेको भद्र सहमतिलाई लत्याएर भारतको गोटी बनेपछि कांग्रेस इतिहासको कर्नरमा नराम्ररी धकेलिएको छ । भक्तपुरमा मात्रै राजनीतिक अस्तित्व रहेको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले त कांग्रेस सभापति कोइरालालाई पेस्तोल देखाएर प्रधानमन्त्रीको उम्मेदवार बन्न लगाइएको सार्वजनिक अभिव्यक्ति नै दिएका छन् । राष्ट्रपति डा. रामवरण यादवको निवास शीतलनिवासमा भारतीय संस्थापन पक्षका उच्च अधिकारीले कोइरालालाई पेस्तोल देखाएर प्रधानमन्त्रीको उम्मेदवार बनाएको उनको दाबी छ । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, भारतीय राजदूत रणजित राय र नाम नखुलेका एक भारतीय दूत समेतको बैठकमा भारतीय पक्षको खुला दलाली गर्ने अमरेश सिंहले कोइरालालाई शीतलनिवासमा पेस्तोल ताकेको बताइन्छ ।

यस्तो सनसनीपूर्ण खुलासा हुँदा समेत कोइराला चूँसम्म बोलेका छैनन् । कमल थापाको राप्रपा नेपाल फुटाउने, राप्रपाको भोट पनि आफूतिर तान्ने र एकीकृत नेकपा (माओवादी) बाट बाहिरिएर क्षेत्रीय दल खोल्ने ध्याउन्नमा लागेका डा. बाबुराम भट्टराई पक्षमा रहेका २० जना सांसद्लाई कोइरालाको पक्षमा मतदान गराउने आश्वासन रणजित राय, केभी राजन र भारतीय खुफिया एजेन्सी ‘रअ’का पूर्व प्रमुखले दिएका थिए । तर राष्ट्रियताको पक्षमा उभिएको एमाओवादी नेतृत्वको एमाले गठबन्धनले भारतीय योजनालाई धुलिसात् पारिदिएपछि कांग्रेसले प्रधानमन्त्री त गुमायो नै, त्योभन्दा बढी राष्ट्रपति र उपराष्ट्रपति समेत गुमाउने अवस्थामा पुगेको छ ।
भारतीय पक्षले कांग्रेस उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालाई समेत विभिन्न आश्वासन दिएर प्रभावित पारेको थियो । राष्ट्रपति रहेका डा. यादवले त पौडेललाई बोलाएर सभापति बनाइदिने भन्दै तत्कालका लागि कोइरालालाई प्रधानमन्त्री बनाउन अर्ती दिएका थिए । तराई मधेशका भनेर चिनिएका र विगतदेखि नै भारतीय योजनामा चल्ने डा. यादवको कुरा पौडेललाई पनि मनासिब लाग्यो र उनी शीतलनिवासबाट हान्निंदै आएर कोइरालाको प्रस्तावक बने ।

देउवाको भने अर्कै दाउ थियो, आगामी महाधिवेशनमा सभापति बन्न कोइरालालाई जसरी भए पनि हराउनै पर्ने अवस्था देखिएको थियो । भारतीय संस्थापन पक्ष र खुफिया एजेन्सीको योजनामा कोइरालालाई मोहोरा बनाउन देउवा लागिपरे र समर्थक बनिदिए । कांग्रेसमा यसपटक कसैले बाजी मारेको छ भने त्यो देउवाले नै हो । उनी आगामी महाधिवेशनमा विना रोकतोक कांग्रेस सभापति बन्दैछन् । संविधानसभाको दोस्रो निर्वाचनपछि राज्यका सबै निकायमा कांग्रेसीकरण गरेको कांग्रेस एमाले, माओवादी गठबन्धनपछि कर्नरमा धकेलिएको मात्रै छैन, राजनीतिक परिदृश्यमा ठूलो पार्टी भएर पनि नराम्ररी पछारिएको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

गृहमन्त्रीलाई स्वागत

गृह मन्त्री शक्ति बहादुर बस्नेतज्यूलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्नुहुँदै प्र.म.नि. उपेन्द्र कान्त अर्याल । तस्विर सौजन्य : नेपाल प्रहरी

राष्ट्रपति भण्डारीद्वारा पद तथा गोपनीयताको सपथग्रहण

काठमाडौं, कातिक १२ । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिको रुपमा पद तथा गोपनानियताको सपथ ग्रहण गरेकी छिन् । राष्ट्रपति निवाश शितल नवासमा आयोजित एक विशेष समारोहमा भण्डारीले ईश्वरको र जनताको नाममा सपथ लिएकी हुन् । राष्ट्रपति भण्डारीलाई सर्वोच्च अदालतका प्रधानन्यायधीश कल्याण श्रेष्ठले सपथ दिलाएका हुन् । विशेष रुपले सजाइएको मञ्चमा राष्ट्रपतिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

सपथग्रहण कार्यक्रममा निवर्तमान राष्ट्रपति डा.रामवरण यादव,प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान मन्त्री तथा मन्त्रीहरु,पूर्व प्रधानमन्त्रीहरु नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुखहरु,संवैधानिक अंगका पदाधिकारीहरु,नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरु,सुरक्षा निकायका प्रमुख सहित उच्च अधिकारी लगायत लगायतको उपस्थिति थियो ।

एक मात्र आँखा भएको बच्चा जन्मियो

एजेन्सी । इजिप्टमा निधारमा एउटा मात्र आँखा भएको एक बच्चा जन्मिएका छन् । गर्भावस्थामा आमामा विकिरणको प्रभावका कारण ती शिशु शारीरिक रुपमा दुर्लभ अवस्थामा जन्मिएको चिकित्सकहरुले बताएका छन् । चिकित्सकीय भाषामा उनमा साइक्लोपिअ भएको हो । ग्रीस पुराणमा एक आँखे राक्षसको नाममा यो अवस्थाको नामारकण गरिएको बताइन्छ । मानिसमा यस्तो समस्या भएका शिशुहरु निकै नै दुर्लभ मात्रामा जन्मिने गरेको चिकित्सकहरु बताउँछन् ।

तथापी, जनावारहरुमा भने यसलाई सामान्य रुपमा लिइन्छ । ती शिशु कायरोको इल सेनबेलाविन अस्पतालमा जन्मिएका हुन् । उनका अन्य विकलांगता पनि भएको प्राप्त समाचारमा जनाइएको छ । उनी केही दिन भन्दा बाँच्न नसक्ने चिकित्सकहरुले जनाएका छन् ।

आमाको कोखमा हुँदा सकेटको राम्रोसँग विकास नभएका कारण उनको एक मात्र आँखा र नाक नभएको जनाइएको छ । बालक गर्भमा रहँदा आमाले केही औषधी खाएको वा रेडियसनको प्रभावका कारण बच्चा सो अवस्थामा जन्मिएको बताइएको छ । बच्चाको उपचारमा संलग्न चिकित्सक अहमेद बद्रुदिनका अनुसार बच्चामा अन्य शारीरिक विकलांगता पनि देखिएकोले उनी धेरै दिन बाँच्न सक्दैनन् ।

धरानबासीले भोली देखी चलचित्र ‘परदेशी’ हेर्न पाउने

काठमाडौं । नेपाली चलचित्र ‘परदेशी’ धरानमा भोली शुक्रबार देखी प्रर्दशन हुने भएको छ । काठमाडौं लगायत अन्य जिल्लामा दसैंको फूलपातीदेखि प्रदर्शन भईरहेको ‘परदेशी’ चलचित्र प्राविधिक समस्याले धरानमा ढिलो प्रदर्शन गर्नु परेको हो ।
निर्माता राजेश बंशलका अनुसार चलचित्र ‘परदेशी’ शुक्रबारबाट धरानको गणेश टाकिजमा प्रदर्शन गरिने छ । तराईमा जारी हड्तालका कारण विराटनगरसहित तराईका २० हलमा प्रदर्शन हुन पाएको छैन । देशभरका ६० भन्दा बढि हलमा प्रदर्शन भईरहेको ‘परदेशी’ले एक सातामा ग्रस २ करोडको कारोबार गरेको निर्माता बंशलले बताए । चलचित्रमा प्रसान्त तामाङ, रजनी केसी, सुशील पोख्रेल, केशव भट्टराई, शेरबहादुर गुरुङ, तारा शर्मा लगायतको अभिनय रहेको छ ।

सुनसान स्तुपा

पर्यटकको आकर्षणको केन्द्र पोखराको शान्ति स्तुपा । पेट्रोलियम पदार्थको अभावका कारण स्थानीय तथा आन्तरीक पर्यटकको कमीले गर्दा हाल प्रायः सुनसान रहेको छ । तस्वीर : रासस

पासाङलाई उपराष्ट्रपति हु्न नदिन दिल्लीदेखि कटवालसम्म सक्रिय

काठमाडौं, कार्तिक १२ । एकीकृत माओवादी नेतृत्वमाथि पूर्वलडाकु कमाण्डर तथा पार्टी स्थायी समिति सदस्य नन्दकिशोर पुन ‘पासाङ’ लाई उपराष्ट्रपति उम्मेदवार नबनाउन व्यापक दबाब परेको छ । सरकार नेतृत्वकर्ता दल एमालेले समेत पासाङलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णयमा पुनर्विचार गर्न एमाओवादी नेतृत्वलाई आग्रह गरेको श्रोतले बतायो । उपराष्ट्रपति आफ्नो भगमा परेपछि एमाओवादीले केही दिनअघि पासाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियोे ।

पासाङलाई उपराष्ट्रपति हुन नदिन को–को सक्रिय ?

पासाङलाई उपराष्ट्रपति बनाउन नहुन राष्ट्रिय–अन्तर्राष्ट्रिय लविङसमेत तीव्र भएको छ । दक्षिण छिमेकी भारतदेखि पूर्वप्रधानसेनापति रुक्मांगद कटवालसम्म पासाङलाई रोक्न सक्रिय भएका छन् । दुई वर्षअघि दुवै मृगौलामा गम्भीर समस्या देखिएपछि पासाङलाई चिकित्सकले उपचारका लागि दिल्ली जान स्झाएका थिए । पासाङले ‘बरु आफू स्वदेशमै मर्न तयार रहेको तर विदेशी भूमिमा गएर उपचार नगर्ने’ अडान लिएका थिए । उनको सो कदमको धेरैले स्वागत गरेका थिए । त्यही अडानका कारण पासाङले ‘राष्ट्रवादी’ छवि बनाएका छन् ।

उक्त घटनाका कारण भारतले पासाङलाई रोक्न चाहेको एकीकृत माओवादीका एक नेताले काठमाण्डु टुडेलाई बताए । नेपालस्थित भारतीय दूतावासले पासाङलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णयमा पुनर्विचार गर्न प्रत्यक्ष र अप्रत्यक्ष सन्देश पठाएको ती नेताले जानकारी दिए ।पासाङलाई उपराष्ट्रपति बनाउन नहुने पक्षमा खुलेरै लागेका अर्का व्यक्ति हुन् पूर्वप्रधानसेनापति कटवाल । विगतमा सेनामाथि भएका ठूला आक्रमणको नेतृत्व गरेका व्यक्तिलाई उपराष्ट्रपति जस्तो गरिमामय जिम्मेवारी दिँदा नेपाली सेनाको मनोबल गिर्ने दाबी कटवालको छ । कटवाल एमालेसहित सबै सत्तारुढ घटक, छिमेकी भारत तथा भारतीय सेनामार्फत समेत पासाङलाई रोक्न सक्रिय छन् ।

स्रोतका अनुसार ‘बन्दुकको नालबाट राज्य सत्ता कक्जा गर्न हिंडेको व्यक्ति’ कुनै दिन कार्यबाहक राष्ट्राध्यक्ष भएको खण्डमा जटिलता आउन सक्ने तर्क कटवालको छ । कटवालले आफ्नो तर्कमा सेनाका केही पूर्व र केही बहालवाला जनरलहरुलाई समेत सहमत गराएका छन् ।
यद्यपि मुल नेतृत्वसहित सेनाभित्रको ठूलो पंक्ति ‘सैनिक पृष्ठभूमिको राष्ट्रवादी’ उपराष्ट्रपति हुन लागेको भन्दै पासाङको पक्षमा देखिएको छ । पासाङ उपराष्ट्रपति भएको अवस्थामा कटवालले उनलाई सलाम गर्नुपर्छ । स्रोतका अनुसार त्यस्तो अवस्था नआओस् भन्नका लागि उनी अहिल्यैदेखि रोक्न सक्रिय भएका हुन् ।

सत्ता गठबन्धनभित्रै किचलो

प्रधानमन्त्री निर्वाचनसँगै काँग्रेससँगको १६ बुँदे सहमति भंग भएको भन्दै प्रमुख दुई दल एमाले र एकीकृत माओवादीले मुख्य पदमा भागबण्डा मिलाए । १६ बँदे अनुसार प्रधानमन्त्री निर्वाचनमा सुशील कोइरालाले उम्मेदवारी नदिएको भए काँग्रेसले राष्ट्रपति पाउने पक्का थियो ।

काँग्रेसले सहमति तोडे पनि आफूलाई प्रधानमन्त्री बनाउन लगाएको गुण तिर्न एमाले अध्यक्ष केपी ओली एमाओवादीलाई राष्ट्रपति दिन तयार भएका थिए । तर एमाओवादीले राष्ट्रपति एमालेलाई दिएर आफूले सभामुख र उपराष्ट्रपति रोज्यो ।

एमाले–एमाओवादीबीचको भागबण्डा सत्ता गठबन्धनभित्रैका केही दललाई मन परेको छैन । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, राप्रपा र नेकपा संयुक्तले समेत राष्ट्रपतिमा दाबी गरेका छन् । सकेसम्म मधेसी र नभए सत्ता गठबन्धनका साना दलले उपराष्ट्रपति पाउनुपर्ने माग उनीहरुको छ ।

पासाङको उम्मेदवारीबारे पुनािर्वचार हुँदैनः एमाओवादी

यसैबीच एकीकृत माओवादीले भने पासाङलाई उपराष्ट्रपति उम्मेदवार बनाउने पार्टी निर्णयमा पुनर्विचार गर्न नसकिने प्रष्ट्याएको छ । प्रवक्ता दीनानाथ शर्माले पार्टी निर्णय कुनै पनि हालतमा पुनर्विचार नहुने बताए । ‘हामीले उपराष्ट्रपतिमा पासाङजीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छौं’, शर्माले काठमाण्डु टुडेसँग भने, ‘कसैले भन्दैमा निर्णयमा पुनर्विचार हुन सक्दैन ।’

शर्माले पासाङलाई उपराष्ट्रपति बनाउन नहुने दबाब आएको स्वीकार गरे । ‘मानिसहरुले विगतको आग्रह–पूर्वाग्रहका आधारमा उहाँका बारेमा धारणा बनाएका होलान्’, शर्माले भने, ‘कसका बारेमा कसले के सोचाइ बनाएको छ, हामीलाई त्यसमा सरोकार छैन ।’पासाङलाई उपराष्ट्रपति नबनाउन लविङ गरिरहेका संस्था र व्यक्तिबारेमा आफूले कुनै टिप्पणी नगर्ने उनको भनाइ थियो ।
– काठमाडौँटुडेबाट

माउथ पब्लिसिटीले उकासिदैछ ‘सुश्री’को ब्यापार

काठमाण्डौ । हिन्दुहरुको महान पर्ब बिजया दशमीको मौका छोप्दै फुलपातिका दिन सार्बजनिक प्रदर्शनमा आएको चलचित्र ‘सुश्री’को ब्यापार दिन प्रतिदिन उकालो लाग्दैछ । अन्य तीन बलिया फिल्म संग जुध्न पछि नपरेको ‘सुश्री’को कमजोर प्रचार र हल संख्या अत्यन्त न्युन हुदाहुदै पनि पछिल्लो समयमा भने माउथ पब्लिसिटीकै कारण ब्यापार बढ्न थालेको यसका निर्माता तथा बितरक बताउछन् ।

रिलिजको समयमा राजधानीका ४ एकल र केही मल्टिप्लेक्स पर्दा पाएको चलचित्रको मोफसलका सिनेमा घर थपिएका छन् भने राजधानीकै सिदार्थ सिनेमा पनि थपिएको बितरकले जानकारी गराएको छ । साथै राजधानीका सबै सिनेमा घरमा संतोषजनक रुपमा चलचित्रको प्रदर्शन भईरहेको पनि जानकारी गराएको छ ।

रिलिजको दोस्रो साता प्रबेश संगै मोफसलका घोराई,जितपुर,सुर्खेत,नेपालगंज,दमकका सिनेमा घर थप भएको बितरक रोहित‍-रत्नले बताए । साथै फुलपातिको दिनमा भन्दा मंगलबारको कलेक्सन राम्रो रहेको पनि बताए ।

चलचित्र लेखक शिबम अधिकारीको डेब्यु निर्देशन रहेको यस चलचित्रमा आर्यन सिग्देल र डेब्यु हिरोईन आशिका तामाङ मुख्य भुमिकामा छन् । चलचित्रमा सुरबिना कार्की,राजाराम पौडेल,बिकास चापागाँई,मिश्री थापा लगायतका कलाकारको अभिनय रहेको छ । आशिका फिल्मसको ब्यानरमा आत्मराम थापाले चलचित्र ‘सुश्री’निर्माण गरेका हुन् ।

भारतको सन्देश लिएर विद्याको निवाशमा पुगे भारतीय राजदुत

काठमाडौं, कातिक १२ । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनकै निवासमा पुगेर बधाई र शुभकामना दिएका छन्। रायले राष्ट्रपतिको निजी निवास बानेश्वर पुगेर बधाई तथा शुभकामना दिएका हुन् । राष्ट्रपतिले औपचारिक रुपमा शपथ लिनुअघि नै दुई छिमेकी राष्ट्रका राजदूतले निवासमै पुगेर बधाई दिएका हुन्। नेपालका लागि चीनका राजदुत उ छुन्ताईले बुधबार नै राष्ट्रपति भण्डारीलाई बधाई दिएका थिए ।

विद्यादेवी भण्डारी राष्ट्रपति भएको खुसीयालीमा प्रधानमन्त्रीको दिवाभोज !

काठमाडौं,कार्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माण भएको तथा देशका प्रमुख पदको निर्वाचन सम्पन्न भएको खुसियालीमा बालुवाटारमा आज विशेष लञ्चको आयोजना गरेका छन् । आलीले दिएको लञ्चमा मन्त्री, सांसद् र उच्च राजनीतिक नेतृत्वसहित ७ सय जना सहभागी छन् । प्रधानमन्त्रीले आयोजना गरेको भोजमा पूर्व प्रधानमन्त्री सुशील कोइराला सहितका कांग्रेस शीर्ष नेताहरु, संसद्मा प्रनिधित्व गर्ने दलका नेता र सबै सभासद आमन्त्रित छन् ।

आमन्त्रित पाहुनाहरुलाई प्रधानमन्त्रीका तर्फबाट एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्वागत गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले प्रमुख तीन पदको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याएको भन्दै सभासद् तथा दलका नेताहरुलाई बधाई दिएका थिए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति कोइराला, एमाओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतले मन्तब्य राखेका थिए । दिवाभोज चलिरहेको छ । लञ्चमा दाल, भात, मासु र दही छन् ।

Wednesday, October 28, 2015

कस्तो रहृयो प्रथम राष्ट्रपतिको २ हजार ६ सय ५६ दिन

काठमाडौं, कातिक १२ । संविधान सभाद्वारा निर्मित नेपालको संविधानको प्रावधानअनुसार मुलुकको दोस्रो राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएपछि प्रथम राष्ट्रपति डा.रामवरण यादव राष्ट्रप्रमुखको भूमिकाबाट निवृत्त हुँदैछन् । २०६५ साल साउन ८ गते राष्ट्रपतिमा निर्वाचित भएयता बुधबारसम्म यादव २ हजार ६ सय ५६ दिन राष्ट्रप्रमुखको भूमिकामा रहे ।
यो अवधिमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र नयाँ संविधान निर्माणको महत्वपूर्ण कार्यभार पूरा गर्न यादवले सुझबुझपूर्ण र परिपक्व भूमिका निर्वाह गरे । अबका दिनमा पूर्वराष्ट्रपतिका रूपमा यादवले निर्वाह गर्ने भूमिका स्वाभाविकरूपमा मुलुकका लागि अर्थपूर्ण रहनेछ । बितेको ७ वर्ष ३ महिनामा यादवले निर्वाह गरेको भूमिका र हासिल गरेको अनुभव भावी राजनीतिज्ञका लागि प्रेरणाको विषय हुनेछ इहिमालयन टाइम्स डटकममा समाचार छ ।

राष्ट्रपति बन्दाको पृष्ठभूमि

२०६५ साल जेठ १५ गते पहिलो संविaधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरेपछि पहिलो राष्ट्रपतिको निर्वाचनको तयारी सुरु भयो । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला राष्ट्रपतिका स्वाभाविक दाबेदार थिए । सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीले असहयोग गरेपछि राष्ट्रपति निर्वाचन रोमाञ्चक मोडमा पुग्यो ।

संविधानसभामा मधेसकेन्द्रित दलहरूको उपस्थिति बलियो भएको सन्दर्भमा एमाओवादी उम्मेदवार रामराजाप्रसाद सिंहको विकल्पमा मधेसी अनुहारको खोजी कांग्रेसले ग-यो । त्यतिबेला कांग्रेस महामन्त्री रहेका यादवलाई अन्ततः राष्ट्रपति पदको उम्मेदवार बनायो । संसदीय अंकगणितका हिसाबले निकै कठिन मानिए पनि अन्तिम अवस्थामा यादवको पल्ला भारी रहृयो ।

विशेष गरेर मधेसमा हिंसात्मक आन्दोलन चलिरहँदा यादवले मधेस र पहाडबीचको सद्भाव जोगाउन देखाएको राजनीतिक क्रियाशिलता प्रशंसनीय थियो । सोही पृष्ठभूमिका कारण पनि मधेसकेन्द्रित दलहरू र नेकपा एमालेसमेतको समर्थन पाएर उनी गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्न सफल भएका थिए ।

सहमतिका लागि सक्रियता

राजनीतिक भूमिकाका हिसाबले राष्ट्रपति पद संवैधानिक मात्रै छ । यद्यपि संक्रमणकालको अन्त्य गर्न शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंगोमा पु¥याउनु अत्यन्तै आवश्यक थियो । बेमेलको राजनीति मौलाउँदा र दलहरूबीच तीव्र ध्रुवीकरण हुँदा यादवले सधैँ समन्वयकारी भूमिका निर्वाह गरे ।

आफ्ना औपचारिक वक्तव्यहरूमा मात्रै होइन अनौपचारिक सक्रियतामा पनि उनले सहमति र सहकार्यको राजनीतिका लागि दलहरूलाई निरन्तर प्रेरित गर्दै आए । वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल यादवले सही भूमिका निर्वाह नगरेको भए शान्ति प्रक्रिया र संविधान संकटमा फस्ने स्थिति भएको बताउँछन् ।

‘दलहरू आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार थिए तर राष्ट्रपतिको रूपमा उहाँले एउटै मात्रै कुरालाई केन्द्रमा राख्नुभयो । त्यो हो सहमति,’ दाहालले हिमालय टाइम्ससँग भने । लामो राजनीतिक अभ्यासबाट आए पनि पदको गरिमा उचो राख्न निष्पक्ष भूमिका निर्वाह गर्न र सहमति निर्माण गर्न उनको भूमिका स्मरणीय रहने दाहाल बताउँछन् ।

नयाँ संविधानका उद्घोषक

आफ्नो कार्यकाल सकाएर निवृत्त हुँदै गर्दा यादवमा सबैभन्दा बढी कुनै कुराको खुसी छ भने त्यो नयाँ संविधान नै हो । गत असोज ३ गते संविधानसभा भवन नयाँ बानेश्वरबाट राष्ट्रप्रमुखका हैसियतमा यादवले जारी गरेको संविधानले नै अब मुलुक सञ्चालन हुनेछ । सामान्य किसानको छोरादेखि राष्ट्रप्रमुखको ओहोदासम्म पुगेका यादव युगौँसम्म नयाँ संविधानकै कारण स्मरणमा रहने पनि छन् ।

संविधानलाई बढीभन्दा बढी लोकतान्त्रिक, समावेशी र शासन उपयोगी बनाउन आफ्नो स्थानबाट उनले क्रियाशील भूमिका निर्वाह गरे । सातवर्षे कार्यकालको अवधिमा सधैँ प्रमुख राजनीतिक दलहरूलाई सहमति र सहकार्यको राजनीतिका लागि यादवले दिएको हौसला आफैँमा नयाँ संविधान निर्माणका लागि महŒवपूर्ण आधार बनेको थियो ।

सामाजिक सद्भाव र राष्ट्रिय एकता

अधिकांश औपचारिक समारोहहरूमा पुग्दा सबै जातजाति, भाषा, धर्म र वर्गका नेपालीको मनोभावना व्यक्त गर्दै यादवले आफूलाई सबैको एकताको केन्द्रका रूपमा उभ्याएका थिए । ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने अभिव्यक्ति बारम्बार दोहो¥याएर यादवले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउन प्रयत्न गरिरहे ।

आफ्नो कार्यकालमा यादव समाजिक सद्भाव र राष्ट्रिय एकताका सन्दर्भमा अत्यन्तै सफल देखिएको वरिष्ठ पत्रकार हरिहर विरहीको बुझाइ छ । ‘मधेस आन्दोलनको समयमा पहाडे समुदायमा उहाँबारे सकारात्मक धारणा बढेको थियो । राष्ट्रपति भएपछि उहाँले सबै समुदायलाई सम्मान गर्दै आफू एकता र सामाजिक सद्भावको पक्षमा रहेको प्रमाणितसमेत गर्नुभयो’, विरहीले हिमालय टाइम्ससँग भने ।

विवादको एक झल्को

गणतन्त्र नेपालको पहिलो सरकारले तत्कालीन प्रधानसेनापति रुक्मांगत कटुवाललाई अपदस्थ गर्ने निर्णय ग¥यो । प्रधानसेनापति बर्खास्त गरेपछि खेलाबैला मच्चियो । दाहाल नेतृत्वको सरकारमा रहेका नेकपा एमाले, मालेलगायतका दलले सरकारकै निर्णयको आलोचना गरे । प्रतिपक्षमा रहेको नेपाली कांग्रेस सरकारको निर्णयको विरुद्धमा उभियो ।

यस्तो सन्दर्भमा आफू सेनाको परमाधिपतिसमेत रहेको तर्कसाथ यादवले सरकारद्वारा अपदस्थ गरिएका कटुवाललाई नै प्रधानसेनापतिको रूपमा काम गर्न पत्र दिए । यो प्रकरणमा यादवले निकै आलोचना खेपे । कतिपयले यादवको निर्णयको स्वागत पनि गरे । यद्यपि कार्यकालभरि नै यो घटना यादवका लागि सबैभन्दा विवादित घटनाको रूपमा रहृयो ।

अबको बाटो

राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि पनि यादवको भूमिका नेपाली राजनीतिमा स्वाभाविकरूपले रहने नै छ । यादवका निकटस्थहरूका अनुसार उनी सामाजिक संस्थामार्फत समाज सेवामा सक्रिय रहेर बाँकी जीवन व्यतित गर्न चाहन्छन् । सरकारले प्रथम राष्ट्रपतिका रूपमा यादवलाई आजीवन आवाससहितको सुविधा उपलब्ध गराउने निर्णय गरिसकेको छ । राष्ट्रप्रमुखका रूपमा देखिएको निर्विवाद छवि र सामाजिक सद्भावको पक्षपाती चरित्र भोलिका दिनमा पनि यादवबाट अपेक्षित छन् ।

जलविद्युत कम्पनीको १ अर्ब ९० करोडको साधारण सेयर खुल्यो

काठमाडौं, कातिक १२ । नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसीएल)ले १ अर्ब ९० करोड रुपैयाँ बराबरका साधारण सेयरका लागि अाजदेखि अावेदन खुल्ला गरेको छ । एचआइडिसीएलको सेयरमा सर्वसाधारण लगानीकर्ताले कात्तिक २९ गतेसम्म आबेदन दिन सक्नेछन् । तर, मागभन्दा बढी अावेदन परेको खण्डमा भने कात्तिक २० गते आबेदन लिन बन्द गर्ने कम्पनीले जनाएको छ ।

यसअघि कात्तिक १६ गते नै अावेदन बन्द गर्न सक्ने जनाएको थियो । तर बुधबार विज्ञप्ती जारी गरी कात्तिक २० गतेसम्मका लागि समय थप गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नागरिक लगानी कोषलाई दिएको छ । एनएमबी क्यापिटल र एनसीएम मर्चेण्ट बैंकिंगभने सहायक बिक्री प्रबन्धक छन् । कम्पनीले सामुहिक लगानी कोषहरुका लागि यसअघि नै १० लाख कित्ता बाँडफाँट गरिसकेको छ ।

प्रतिकित्ता सय रुपैंयाका दरले न्युनतम ५० कित्ता अर्थात् ५ हजार रुपैंयादेखि अधिकतम ५० लाख कित्ता अर्थात ५० करोड रुपैंयासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । लगानी कोषका कार्यालयलगायत २० वटा कम्पनीका कार्यालयहरुमा आबेदन फारम लिएर आइपिओ भर्न सकिनेछ ।

यो कम्पनीको सेयर जलविद्युत क्षेत्रको हालसम्मकै ठूलो हो । इक्रा नेपालले जलविद्युत यो कम्पनीको शेयरलाई ग्रेड ३ रेटिंग दिएको छ । नियामक धितोपत्र बोर्डले भदौ २८ गते कम्पनीलाई साधारण शेयर निष्काशनको अनुमती दिएको थियो ।

जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्यले २०६८ साउनमा स्थापना भएको कम्पनीको अधिकृत पुँजी ५० अर्ब, चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले कुल पुँजीको २५ प्रतिशत सर्वसाधारणमा सेयर जारी गरि उठाउन लागेको हो । कम्पनीले २० देखि ८२ मेगावाटसम्मका गरी २ सय ७१ मेगावाट बराबरका विभिन्न ८ वटा जलविद्युत आयोजनाहरुमा ४३ अर्ब रुपैयाँ लगानी गरिसकेको छ ।
-www.onlinekhabar.com

यसरी हुँदैछ राष्ट्रपतिको पद हस्तान्तरण

काठमाडौं, कातिक १२ । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले बिहीबार दिउँसो तीन बजे शपथग्रहण गर्ने कार्यक्रम छ । शपथग्रहण समारोह शीतल निवास अगाडिको प्रांगणमा हुनेछ । शपथग्रहण समारोहमा पहिला नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारी पुग्नेछिन् । त्यसलगत्तै निवर्तमान राष्ट्रपति रामवरण यादव आउनेछन् ।
यादवको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पन गर्नेछन् ।

त्यसपछि शपथ ग्रहण सुरु हुनेछ । भण्डारीले प्रधानन्यायाधीश कल्याण श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिनेछन् । शपथ ग्रहणपछि नेपाली सेनाले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई सम्मान गारथ अर्पण गर्नेछ । लगतै यादवले भण्डारीलाई राष्ट्रपतिको कुर्सी हस्तान्तरण गर्नेछन् ।

भण्डारीले निवर्तमान राष्ट्रपति यादवलाई उठेर विदाई गर्नेछिन् । विदाइपछि भण्डारीलाई शुभकामना र बधाइ दिने कार्यक्रम सुरु हुनेछ । त्यसको केही समयपछि शीलत निवासकै दक्षिणतर्फको बगैंचामा सरकारले पहिलो राष्ट्रपति यादवको बिदाइमा आयोजना गरेको कार्यक्रममा यादव सहभागी हुनेछन् । त्यहाँ उनले सम्बोधन गर्नेछन् ।
सम्बोधनपछि यादवलाई लैजचौर रिसल्लामा लगिनेछ । त्यहाँबाट भने यादव गाडीमा चढेर भीभीआईपी सुरक्षासहित बागडोल नयाँ निवासतर्फ जानेछन् । यादवका लागि बागडोलमा सरकारले लनै सुविधासम्पन्न घर व्यवस्था गरेको छ । नव निर्वाचित राष्ट्रपति भण्डारी भने केही दिनको तयारीपछि मात्रै शीतल निवास जाने उनी निकट स्रोतले जनाएको छ ।
-www.onlinekhabar.com

नवनिर्वाचित राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे सपथ लिने

काठमाडौं, कातिक १२ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार आफ्नो पद तथा गोपनियताको शपथ लिँदैछिन् । संविधान अनुसार नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठले दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा सपथ लिनेछिन । नवनिर्वाचित राष्ट्रपतिले पदको सपथ लिएलगत्तै निवर्तमान भएका मुलुकको पहिलो राष्ट्रपति डा.रामवरण यादवलाई शितल निवासमै बिदाई समारोह गरिने छ ।

बिदाईलगत्तै उनी राज्यका तर्फबाट अतिविशिष्ट व्यक्तित्वका लागि उपलब्ध गराइएको आवासमा जानेछन् । उनको आवासकालागि ललितपुरको भैसेपाटीमा सुबिधासम्पन्न घर बन्दोबस्त गरिएको छ । राष्ट्रपति डा। यादव २०६५ साउन ८ गते मुलुकको पहिलो राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए । दुई वर्षका लागि निर्वाचित उनी सात वर्ष तीन महिनापछि उनी निवर्तमान हुँदै भीभीआईपी सुरक्षासहित शितल निवासबाट बाहिरिने छन् ।

को होलान् ती ८ ‘हुस्सु’ सांसद् ? जसलाई भोट हाल्न समेत आएन

काठमाडौं, कातिक १२ । बुधबार भएको राष्ट्रपति निर्वाचनमा खसेको थियो ५४९ मत। तर मत परिणाममा विद्या भण्डारीले ३२७ मत र कुलबहादुर गुरुङले २१४ मत पाएको भनियो। बाँकी ८ मत कता गयो त? ८ मत त बदर भएछ। यो त अझै कम भयो। पहिलो राष्ट्रपति निर्वाचनको पहिलो चरणमा त २४ मत बदर भएको थियो। गोप्य मतदान भएको हुनाले बदर हुने गरी मत हाल्ने ती ८ हुस्सु सभासद् को हुन् थाहा हुँदैन होला भनेर तपाईँले सोच्नुभएको होला। तर होइन, थाहा हुने रहेछ। किनभने ती मध्ये चार जनाले त मतपत्रमा हस्ताक्षर गरेका रहेछन्।

खासमा मतदान गर्न मतपत्रमा उम्मेदवारको नाम सँगै रहेको खाली बाकसमा ठीक चिह्न लगाउनु पर्ने हो। तर विद्या भण्डारीको नामसँगै दुई जनाले र कुलबहादुर गुरुङको नामसँगै दुई जनाले हस्ताक्षर गरेका रहेछन्।

खासमा ती सभासद्हरु झुक्किएका हुन्। प्रधानमन्त्री निर्वाचनमा सभासद्को नामसँगै हस्ताक्षर गरी मत जाहेर गरिन्थ्यो। यस पटक पनि त्यस्तै गर्ने होला भन्ठानेछन्। फलतः उनीहरुको मत बदर भयो। नत्र विद्या भण्डारीले ३२९ र कुलबहादुर गुरुङले २१६ मत ल्याउने रहेछन्।

यो भयो चार मतको कहानी। बाँकी ४ मत नि ?

उनीहरु चाहिँ बढी जान्ने भएका हुन्।

दुई वटा मत पत्रमा भने दुई वटै उम्मेदवारलाई चिह्न लगाइएको थियो। भन्नुको अर्थ उनीहरुले जानाजानी मत बदर गरेका हुन्। अनि बाँकी २ मतपत्र चाहिँ कसैलाई पनि चिह्न नलगाई खाली खसाइएको थियो। यो पनि जानाजानी नै गरिएको हुनुपर्छ। उनीहरु चाहिँ को हुन् भनी पत्ता लाग्न सक्दैन किनभने यो गोप्य मतदान हो।

हस्ताक्षर भएको मतपत्रका बारेमा पनि व्यवस्थापिका संसद सचिवालयले केही पनि बताएको छैन। बताउन मिल्दैन पनि। तर तपाईँ अनुमान लगाउन सक्नुहुन्छ कि को होलान् ती आठ सांसद् जसले हस्ताक्षर गरेर, दुवै उम्मेदवारलाई मत दिएर वा खाली मत खसालेर मत बदर गरे?

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts