Thursday, October 29, 2015

पासाङलाई उपराष्ट्रपति हु्न नदिन दिल्लीदेखि कटवालसम्म सक्रिय

काठमाडौं, कार्तिक १२ । एकीकृत माओवादी नेतृत्वमाथि पूर्वलडाकु कमाण्डर तथा पार्टी स्थायी समिति सदस्य नन्दकिशोर पुन ‘पासाङ’ लाई उपराष्ट्रपति उम्मेदवार नबनाउन व्यापक दबाब परेको छ । सरकार नेतृत्वकर्ता दल एमालेले समेत पासाङलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णयमा पुनर्विचार गर्न एमाओवादी नेतृत्वलाई आग्रह गरेको श्रोतले बतायो । उपराष्ट्रपति आफ्नो भगमा परेपछि एमाओवादीले केही दिनअघि पासाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियोे ।

पासाङलाई उपराष्ट्रपति हुन नदिन को–को सक्रिय ?

पासाङलाई उपराष्ट्रपति बनाउन नहुन राष्ट्रिय–अन्तर्राष्ट्रिय लविङसमेत तीव्र भएको छ । दक्षिण छिमेकी भारतदेखि पूर्वप्रधानसेनापति रुक्मांगद कटवालसम्म पासाङलाई रोक्न सक्रिय भएका छन् । दुई वर्षअघि दुवै मृगौलामा गम्भीर समस्या देखिएपछि पासाङलाई चिकित्सकले उपचारका लागि दिल्ली जान स्झाएका थिए । पासाङले ‘बरु आफू स्वदेशमै मर्न तयार रहेको तर विदेशी भूमिमा गएर उपचार नगर्ने’ अडान लिएका थिए । उनको सो कदमको धेरैले स्वागत गरेका थिए । त्यही अडानका कारण पासाङले ‘राष्ट्रवादी’ छवि बनाएका छन् ।

उक्त घटनाका कारण भारतले पासाङलाई रोक्न चाहेको एकीकृत माओवादीका एक नेताले काठमाण्डु टुडेलाई बताए । नेपालस्थित भारतीय दूतावासले पासाङलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णयमा पुनर्विचार गर्न प्रत्यक्ष र अप्रत्यक्ष सन्देश पठाएको ती नेताले जानकारी दिए ।पासाङलाई उपराष्ट्रपति बनाउन नहुने पक्षमा खुलेरै लागेका अर्का व्यक्ति हुन् पूर्वप्रधानसेनापति कटवाल । विगतमा सेनामाथि भएका ठूला आक्रमणको नेतृत्व गरेका व्यक्तिलाई उपराष्ट्रपति जस्तो गरिमामय जिम्मेवारी दिँदा नेपाली सेनाको मनोबल गिर्ने दाबी कटवालको छ । कटवाल एमालेसहित सबै सत्तारुढ घटक, छिमेकी भारत तथा भारतीय सेनामार्फत समेत पासाङलाई रोक्न सक्रिय छन् ।

स्रोतका अनुसार ‘बन्दुकको नालबाट राज्य सत्ता कक्जा गर्न हिंडेको व्यक्ति’ कुनै दिन कार्यबाहक राष्ट्राध्यक्ष भएको खण्डमा जटिलता आउन सक्ने तर्क कटवालको छ । कटवालले आफ्नो तर्कमा सेनाका केही पूर्व र केही बहालवाला जनरलहरुलाई समेत सहमत गराएका छन् ।
यद्यपि मुल नेतृत्वसहित सेनाभित्रको ठूलो पंक्ति ‘सैनिक पृष्ठभूमिको राष्ट्रवादी’ उपराष्ट्रपति हुन लागेको भन्दै पासाङको पक्षमा देखिएको छ । पासाङ उपराष्ट्रपति भएको अवस्थामा कटवालले उनलाई सलाम गर्नुपर्छ । स्रोतका अनुसार त्यस्तो अवस्था नआओस् भन्नका लागि उनी अहिल्यैदेखि रोक्न सक्रिय भएका हुन् ।

सत्ता गठबन्धनभित्रै किचलो

प्रधानमन्त्री निर्वाचनसँगै काँग्रेससँगको १६ बुँदे सहमति भंग भएको भन्दै प्रमुख दुई दल एमाले र एकीकृत माओवादीले मुख्य पदमा भागबण्डा मिलाए । १६ बँदे अनुसार प्रधानमन्त्री निर्वाचनमा सुशील कोइरालाले उम्मेदवारी नदिएको भए काँग्रेसले राष्ट्रपति पाउने पक्का थियो ।

काँग्रेसले सहमति तोडे पनि आफूलाई प्रधानमन्त्री बनाउन लगाएको गुण तिर्न एमाले अध्यक्ष केपी ओली एमाओवादीलाई राष्ट्रपति दिन तयार भएका थिए । तर एमाओवादीले राष्ट्रपति एमालेलाई दिएर आफूले सभामुख र उपराष्ट्रपति रोज्यो ।

एमाले–एमाओवादीबीचको भागबण्डा सत्ता गठबन्धनभित्रैका केही दललाई मन परेको छैन । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, राप्रपा र नेकपा संयुक्तले समेत राष्ट्रपतिमा दाबी गरेका छन् । सकेसम्म मधेसी र नभए सत्ता गठबन्धनका साना दलले उपराष्ट्रपति पाउनुपर्ने माग उनीहरुको छ ।

पासाङको उम्मेदवारीबारे पुनािर्वचार हुँदैनः एमाओवादी

यसैबीच एकीकृत माओवादीले भने पासाङलाई उपराष्ट्रपति उम्मेदवार बनाउने पार्टी निर्णयमा पुनर्विचार गर्न नसकिने प्रष्ट्याएको छ । प्रवक्ता दीनानाथ शर्माले पार्टी निर्णय कुनै पनि हालतमा पुनर्विचार नहुने बताए । ‘हामीले उपराष्ट्रपतिमा पासाङजीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छौं’, शर्माले काठमाण्डु टुडेसँग भने, ‘कसैले भन्दैमा निर्णयमा पुनर्विचार हुन सक्दैन ।’

शर्माले पासाङलाई उपराष्ट्रपति बनाउन नहुने दबाब आएको स्वीकार गरे । ‘मानिसहरुले विगतको आग्रह–पूर्वाग्रहका आधारमा उहाँका बारेमा धारणा बनाएका होलान्’, शर्माले भने, ‘कसका बारेमा कसले के सोचाइ बनाएको छ, हामीलाई त्यसमा सरोकार छैन ।’पासाङलाई उपराष्ट्रपति नबनाउन लविङ गरिरहेका संस्था र व्यक्तिबारेमा आफूले कुनै टिप्पणी नगर्ने उनको भनाइ थियो ।
– काठमाडौँटुडेबाट

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts