लक्ष्मणसिंह खड्का जहाँ पनि भेटिन सक्छन् । गत सोमबार उनी दशरथ रंगशालामा भेटिएका थिए, कांग्रेसले विजयादशमीका अवसरमा आयोजना गरेको चियापानको शोभा बढाइरहेको अवस्थामा । उक्त चियापानका प्रमुख आकर्षण उनै थिए भन्नु अतिसयोक्ति हुन्छ । तर, केही व्यक्तिहरु पक्कै उनीतिर आकषिर्त भएका थिए ।
‘व्यस्तता’का बाबजुद चियापानका लागि आफ्नो ‘अमूल्य समय’ दिएका खड्काजीले चिया भने पान गरेनन् । चिया खाउँ भनेर उनलाई कसैले आग्रह पनि गरेनन् ।
किन चिया पिउनुभएन भनी पंक्तिकारले सोध्दा खड्काजी पड्किए, ‘म यिनीहरुको चिया खान आएको होइन । भारु गन्हाउने चिया म खान्न । म त यी डाकाहरुको झाँको झार्न आको हुम् ।’
खड्काजी एक्लै आएका थिएनन् । उनले हात समातेर लतार्दै ल्याएका बालक उनका नाति (छोरीका छोरा) रहेछन् । ‘यो मेरो नाति । यसकी आमा सुसाइड गरेर मरी’ पटक्कै भावुक नभई उनले सुनाउँदा बालक ट्वाल्ल परेर हजुरबाको मुखमा हेर्छन् । हजुरबा भन्दैछन्, ‘अब हामी हजुरबा-नातिले देश चलाउने हुम् ।’
हजुरबाले देश चलाउने भनिरहँदा नाति भन्छन्, ‘म त कम्प्युटर चलाउँछु । मलाई कम्प्युटर किन्देउ हजुरबा ।’
हजुरबाको जवाफ दिन्छन्, ‘तेरा बाजे, लुटेको पैसा छ र कम्प्युटर किन्न ? ठूलो भएर आफैं किन्नु ।’ नाति कहिले ठूलो हुने भन्ने विषयमा चिन्ताग्रस्त हुन्छन् ।
यसैबीच, वरिपरी केही मानिसहरु भेला भएको देखेपछि खड्काजी ‘सारगर्भित’ मन्तव्य दिन थाल्छन् । ‘ल है साथी हो ! यी डाकाहरुले देश चलाउन सकेनन् । मोराहरुले पैसा मात्रै चलाए । अब देश हामी चलाउने हुम् ।’
साथीहरुले खासै वास्ता गरिरहेका छैनन् । बरु एकजना प्रहरी नजिकै आएर मुख बन्द गर्न चेतावनी दिए । तर, उनको मन्तव्य सकिएको थिएन । प्रहरी हिँडेपछि उनी भूईंतर्फ निहुरिए ।
फिल्मी स्टाइलमा भूईंको माटो टिपेर निधारमा टाँस्दै भने, ‘यो नेपाल आमालाई खुशी पार्ने जिम्मा मेरो काँधमा आएको छ, ल है साथी हो ।’
बल्ल दुई-तीनजना साथीहरुले उनीसित हात मिलाए । ‘खड्काजी अझै जाओस् न’ भनेर हौस्याए । उनी पनि हौसिएर थप बर्बराउन थाले ।
‘भएभरको सम्पत्ति विदेशीलाई बेचेर खाए । १८ घन्टा लोडसेडिङ गराए । अनि नयाँ नेपाल रे । यत्रोको नयाँ नेपाल ! ज्ञानेन्द्रले पठाइदिएको गणतन्त्रमा लुछालुछ गरेर भोज खानेले नयाँ नेपालको गफ गर्न लाज लाग्दैन ?’
खड्काजी त्यसपछि केहीबेर चुप लागे । नाति डोर्याएर अलि अघि बढे । नयाँ मानिसहरुका बीच फेरि अघिकै डाइलग दोर्याए :
‘ल है साथी हो… यी डाकाहरुले… भएभरको सम्पत्ति… १८ घन्टा लोडसेडिङ… नयाँ नेपाल…. मेरो काँधमा… यत्रोको नयाँ नेपाल ?’
केही नयाँ डाइलगहरु पनि थपे, ‘प्रचण्डे अब राष्ट्रपति बनाउने भो होइन ? यसलाई पछारेर लुटेको पैसा सबै खोस्नुपर्छ । यो देशमा लुट्ने मात्रै ? जति लुटे नि पाइने ? सधैं लुट्न पाइने ? ३० वर्ष अगाडि बन्न लागेको अरुण तेस्रो क्यान्सिल गरेर खाने ? अनि १८ घन्टा लोडसेडिङ ? केको नयाँ नेपाल ?’
‘नेपालमा काम नपाएर विदेशमा गोबर सोहोर्न गएकाले पठाएको पैसाले देश चलिरहेको छ । क्या आनन्द । तैपनि धाक लाउँछन् । सैनिक र प्रहरीले निधारमा गोली ठाक्नुपर्ने डाकाहरुलाई । पर्खी न, कसरी हान्छ सैनिक प्रहरीले ….मा लात… आउँदैछ बेला…’ ‘ल है साथी हो । कैले इन्डियाको पैसा खाने, कैले यूरोपको पैसा खाने… सैनिक र प्रहरीले बुट बजाएर सलाम गर्नुपर्ने बजियाहरुलाई… बुटैबुटले गोद्नुपर्ने, यत्राको नयाँ नेपाल ?’
केही मानिसहरुले उनीसित हात मिलाए । हात मिलाउँदा उनको अनुहारमा होइन, कुर्तामा आँखा हुन्थ्यो सबैको । खड्काले लगाएको सेतो कुर्तामा, मानौं उनले जानेजति सबै कुरा लेखेका थिए । विजयादशमीको शुभकामनादेखि नाकाबन्दीको भत्र्सनासम्म । के थिएन यसमा ?
यी हुन् लक्ष्मण सिंह खड्का
धेरै काठमाडौंवासीका लागि चिरपरिचित अनुहार हुन् उनी । नेपालको राजनीतिमा उनको ‘छुट्टै नाम’ छ ।
उनकोे राजनीतिक इतिहासको चर्चा गरौं । ‘आजको अवस्थामा आइपुग्न’ उनले गरेका संघर्षको लामो फेहरीस्त छ । जून अरु कुनै भेटमा उनले बताउलान् । अहिललाई यति जानिराखौं संसदको चुनावमा आठ-आठ पटक लडेर हारेको कीर्तिमान कसैले राखेको छ भने यिनै खड्काजीले राखेका छन् ।
उनी ०४३ सालमा पहिलोपटक चुनावमा उठेका थिए । राष्ट्रिय पञ्चायतको सदस्यमा उठेका उनले दुई सय २६ भोट ल्याए । प्रजातन्त्र आएपछि थप सातपटक चुनाव लडे । ०४८ सालको चुनावमा काठमाडौंबाट आठ सय ७० भोट ल्याएको उनी कहिल्यै भूल्न सक्दैनन् । अरु चुनाबको कुरा नगरौं भन्ने उनको आग्रह छ ।
राजनीतितर्फ आकषिर्त हुनुको कारण उनी यसरी खोल्छन्, ‘म पनि तपाईंहरु जस्तै किसानको बच्चा नै थिएँ । केही समय गाडी पनि चलाएँ । त्यही क्रममा देश किन बिग्रेको रहेछ भनेर यसो विचार गरी हेर्दा त छक्क परेँ । नेताहरुले देश चलाउने भनेर पैसा मात्रै चलाएका रहेछन् । भएभरका सम्पदा बेचेर खाइसके छन् । जनताले जिम्दो लास बन्नुपरेको छ । त्यसपछि मैले राजनीतिमा होमिने निश्चय गरेँ ।’
‘नेता देखाउनुस, हगेको-मुतेको खान्छु’
दाइ अन्तरवार्ता दिनुपरो !
– के अरे ?
अन्तरवार्ता दिनुपरो क्या
– (घडी हेरेजस्तो गर्दै) मेरो अर्को कार्यक्रममा पनि जानु छ …
नभ्याउने हो त ?
– होइन, होइन । किन नभ्याउनु ? बरु गरिहालम् ।
(खड्काजी ‘बल्लतल्ल’ अन्तरवार्ताका निम्ति ‘कन्भिन्स’ भए । ३२ वर्षदेखि पालेको दाह्री सुम्सुम्याउँदै सोचे, ‘फोटो पनि खिच्ने हो ?’ सकारात्मक जवाफपछि अनुहार उज्यालो बनाए । अन्तरवार्ता यसरी सुरु भयो ।)
तपाईंले लगाएको कुर्ता हो कि अखबार हो ? अक्षरै अक्षर छन् त ?
– अखबारमा लेख्यो भने आज आउँछ भोलि हराउँछ । त्यही भएर कुर्तामै लेखेको हुम् ।
तपाईं सधैं किन यसरी बरालिएर हिड्नु हुन्छ ? घरबार छैन तपाईंको ?
– कसले भन्यो मेरो घर छैन । ढुंगेअड्डामा पक्की घर छ मेरो । त्यो पनि एकतल्ले दुई तल्ले होइन, अढाइ तल्ले । १४ रोपनी जग्गा पनि थियो । त्यो सारा त्यागेर हिँडेको छु । रामचन्द्रले पनि त श्रीलङ्का सवारी हुँदा अनेक आपत्विपत झेलेकै हुन् । सीता मातालाई रावणेले हरण गरेर लगेकै हो । अन्तिममा त रामचन्द्रकै जित भयो नि । म पनि देश र जनताको खातिर घरबार त्यागेर हिँडेको छु ।
देश र जनताको खातिर के-के गर्नुभयो र अहिलेसम्म ? देश त उस्तै छ ।
जनता जगाउँदै हिँडेको देख्नुभएको छैन ? शालिकहरुमा रंग लगाएको, तुल टाँगेको देख्नुभएको छैन ? मेरो हातमा पनि जादूको छडी छैन ।
तपाईंको गुजाराचाहिँ कसरी चल्छ ? घरमा जहान परिवार होलान् कसरी पालिन्छन् ?
– मलाई गुजाराको कुनै चिन्ता छैन । दुई छाक खान जसले पनि दिन्छ । केटी बेच्दिँन, बलात्कार गर्दिँन । चोरी गर्दिँन । अरु सबै गर्छु । यो एउटा नाति छ, यो पनि अब ठुलीआमासित डेनमार्क जान्छ । त्यसपछि ढुक्कले राजनीतिमा लाग्छु ।
अहिलेचाहिँ कहाँ बसिरहनुभएको छ ?
– सुन्धाराको गेष्ट हाउसमा बस्छु ।
गेस्ट हाउसमा तिर्ने पैसा कहाँबाट आउँछ ?
– कहिँबाट पनि आउँदैन । कुनैमा ६ महिनाको कुनैमा एक वर्षको तिर्न बाँकी छ । एउटामा बस्यो, पैसा नतिरेपछि लखेट्छन् फेरि अर्कोमा बस्यो । यसरी नै चल्छ ।
नेताहरुलाई गाली गर्ने तपाईंको सौख हो कि बिमारी ?
– विदेशीको पैसा खाएर देशमाथि गद्दारी गर्नेहरुलाई गाली नगरेर के फूलमाला पहिर्याउनु त ?
विदेशीको पैसा खाएको कसरी थाहा पाउनुभो ? तपाईंलाई आकाशवाणी आउँछ कि क्या हो ?
– सुशील प्रधानमन्त्रीमा उठ्दा इन्डियासित पैसा खाएको तपाईलाई थाहा छैन ?’ गिरिजाले बाटो बनाएर गएको होइन र ? पैसा खाएर धर्मनिरपेक्ष बनाएको होइन गिरिजाले ? हिन्दूराज्यले यिनीहरुलाई के पिरेको थियो ? के दुख दिएको थियो ? गिरिजाले त्यहीबेलामा यूरोपबाट पैसा खाएर बनाएको बाटोमा सुशीले हिँडेको होइन ? पत्रपत्रिकाले बैंकको खाता नम्बर पनि दिएको छ । शेरे, रामचन्द्र सबले पैसा खाए । यो कांग्रेस भन्ने पार्टी त विदेशीको नोकरै रहेछ ।
कांग्रेसमा गगन थापा जस्ता नेताहरु पनि त छन् नि ?
– गगने पनि चिलिम फर्किसक्यो । घैंटेलाई शहिद घोषणा गर्नुपर्छ भनेर हिँड्ने यही होइन ?
उसोभए एमालेका नेताचाहिँ ठीक छन् त ?
– केको ठीक हुनु ? अर्काको स्वास्नीमाथि….. खोज्नेहरुलाई के नेता भन्ने ? मदन भण्डारीलाई कसले मारेको ? अमेरिका र इन्डियाको सिग्नलमा यहीँका एमालेकै मान्छेले मारेका होइनन् ? मदन भण्डारी नमरेको भए विद्या भण्डारीको केही काम थियो ? महासचिवमा १५ वर्ष कसरी खायो मादेले ?
नेपालमा एउटा इमान्दार नेता देखाउनुस् नेपालमा, त्यसले हगेको मुतेको सबै म खान्छु ।
तपाईंको चाहिँ रोडम्याप के छ त देश बनाउने ?
– मैले श्रुतीकी छोरीलाई महारानी बनाउने विचार गरेको छु । यसका लागि मैले आफ्नो तर्फबाट प्रयास पनि अघि बढाइरहेको छु । कहिले हुन्छ, भन्न सक्दिँन । तर, ढीलो-चाँडो बनाएरै छोड्छु ।
http://ift.tt/1nDNv8h
No comments:
Post a Comment