राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेपछि वी.पी. कोइरालालले एउटा प्रसंगमा सम्राट क्यालिगुला र इजिप्टका राजा फरुखको बारेमा कतै उल्लेख गरेको कुरा राजैतिक इतिहासमा चाखलाग्दो छ । सम्राट क्यालीगुलाले आफ्नो प्यारो घोडालार्इ ‘सिनेटर’मा नियुक्त गरेका थिए । यस्तै इजिप्टका राजा फरुखले आफ्नो भान्सेलाइ मन्त्री बनाएका थिए । तत्कालीन राजा महेन्द्रले पनि आफ्ना ससुरा हरि शमसेरलार्इ ‘फिल्ड मार्सल’(प्रधान सेनापति) बनाएको प्रसंग क्यालिगुला र फरुखसंग वी.पी.ले तुलना गरेका छन् । समानता यति हो, दुबैजनाले आज्ञा पालकलाई पद बाँडे । फरक यतिमात्र हो, क्यालिगुलाले जनावरलार्इ सिनेटर र फरुकले मान्छेलार्इ मन्त्री बनाए । महेन्द्रले ससुरालार्इ जंगी अड्डाको दर्ज्यानी दिए ।
सम्राट, राजा, महाराजाहरुको निर्लज्जताको पराकाष्ठा इतिहासमा हामीले भोग्दै,खेप्दै आएका छौं । तर, आधुनिक युगमा विचारसम्बद्ध भनिएको पार्टीले गरेको नियुक्ति पनि क्यालिगुला, फरुख र महेन्द्रको जस्तै देखिनु र त्यसैको वाहवाहीमा भजनमण्डली झैं झुम्मिने प्रबृत्तिले यो युगलार्इ गिज्याइरहेको भान हुन्छ ।
प्रसंग विद्या भण्डारीको राष्ट्रपतिमा चयन गरिएको विषयसंग सम्बन्धित छ । उनी एमालेको तर्फबाट एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकलयायत साना दलको समर्थनमा राष्ट्रपतिमा निर्वाचित भइन । उनको नियुक्तिमा अनेक चर्चा परिचर्चाहरु भए । नेपालको इतिहासमै पहिलो महिला राष्ट्रपति भएकाले गर्व गर्नुपर्ने आदि इत्यादि फूलझडी जोडिए ।
कुनै अलौकिक ‘देवी’नै नेपालको कायापलट गर्न आएको जसरी उनको बखान भयो । तर, यी सबै बखान केबल र फगत उनको पार्टी, केही ‘टाइकुन’ मिडिया र सामाजिक सञ्जालमा औंलामा गन्न सकिने उनका भजन मण्डली फ्यानलार्इ बाहेक यो बिषयले तरङ्ग ल्याउन सकेन । उनको विजय जसरी प्रचारित थियो, त्योबमोजिमको हर्षोल्लास छँदै थिएन । कारण, देश जलिरहेको छ, उनले गर्न सक्ने हैसियत उनमा थिएन, छैन र अब पनि हुन्न ।
विद्याले राजनैतिक विरासत मदन भण्डारीको मृत्युपछि प्राप्त गरेकी हुन् । अविकसित मुलुकमा अक्सर यो फेसनजस्तै भएको छ । दूर्घटनाबस लोग्ने मरेपछि ‘श्रीमतीजी’हरुको अवसर र पालो आएको धेरै घटनाहरु प्रस्तुत गर्न सकिन्छ । निम्न चेतनास्तर, अविकसित मुलुक, पारिवारिक राजनीतिक व्यवस्था, कुलिनतन्त्र भएका दक्षीण एसीयाली मुलुकहरुमा यस्ता प्रशस्त उदाहरण भेटिन्छन् ।
तर, पारिवारिक विरासतमा पाइने यस्ता अवसरहरुले सम्बन्धितहरुका लागि जीवन विमा हुन्छ । आम जनताका लागि यो बिडम्बना मात्रै हो ।
विद्या अहिले जहाँ पुगेकी छिन, त्यसको पहिलो पृष्ठभूमि त्यही पारिवारिक विरासतको वियोगान्त नाटक हो । दोस्रो, उनलार्इ यो ठाउँमा पुर्याउने अर्को भर्याङ क्यालीगुला, फरुख र महेन्द्रीय प्रबृत्ति हो । त्यो प्रबृत्तिका औतारी चैं केपी शर्मा ओली हुन् ।
विद्याको भन्दा बढी हैसियत र गुण भएका भेट्रानहरु हुँदाहुँदै ओली प्रबृत्तिका आगे तिनले मुख मिठ्याउँदै गम खानु परेको वियोग त छँदैछ । तर,ओलीलार्इ त क्यालीगुला र फरुकवादलार्इ निरन्तरता दिनु थियो । यसै मेसोमा विद्यालार्इ ढुङ्गा खोज्दा शालिग्राम भेट्टाएसरह भएको मात्र हो । नचिताएको बेला अपुताली आइलागेको जस्तो ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा ०४० सालमा विद्यार्थी युनियनको कोषाध्यक्ष हुँदादेखिको विद्याको ‘द्रब्य मोह’ले अहिले पनि निरन्तरता पाएको देखिएको छ
नत्र विद्याको हैसियत गुणस्तर त्यो पदमा पुग्ने नै होइन । महेन्द्र मोरङग आदर्श बहुमुखी क्याम्पसमा ०४० सालमा विद्यार्थी युनियनको कोषाध्यक्ष हुँदादेखिको विद्याको ‘द्रब्य मोह’ले अहिले पनि निरन्तरता पाएको देखिएको छ । जतिबेला यो पङितकार पनि सोही युनियनको सदस्य थियो । त्यतिबेला युनियनको ५९ हजार रुपैया उनले एकैचोटि झिकेर बेपत्ता बनाएको कुरा अहिले पनि लापत्ता खातामा छ । त्यही मुद्रा अपचलनको विषयमा योपङ्तिकार र अर्का सदस्य हरिकुमार रार्इले धरानबाट निस्कने आरसी साप्ताहिकमा प्रेस विज्ञप्ति निकालेर विरोध गर्नुपरेको थियो ।
हामीलार्इ सहयोग गर्ने तत्कालीन मार्क्सवादीका केन्द्रीय सदस्य एवम् साहित्यकार कृष्ण पाख्रिनलार्इ पछि माले-मार्क्सवादी एकता हुँदा यही विषय उनको राजनैतिक जीवन समाप्त पार्ने कारोबार भैदियो । त्यहीँदेखि पाख्रीनको जीवन तीनपानेसंगै पलायन भयो । यो पङ्तिकारले माले हुँदै त्योसंगको हाडनाता तोडिदियो ।
यतिमात्र होइन, गोल्छा घरानाकी राज्यलक्ष्मीले दिएको बयानले विद्याको‘द्रब्य मोह’लार्इ अझै पुष्टि गर्छ । गोल्छाको बयानले उनको प्रवृत्तिलार्इ पृष्ठपोषण गर्छ ।
रह्यो विद्याको नारीवादी आन्दोलनमा खेलेको भूमिका, जसको कुनै उल्लेख्य घटनासंग गोरु बेचेको साइनो पनि छैन । उनको पार्टीको महिला संघको अध्यक्ष विशौं वर्ष हुनुमात्रले महिला मुक्तिको जुक्ति झिकेको अर्थ लाग्दैन । यो सन्दर्भमा त उनकै पार्टीकी पूर्वसदस्य उर्मिला अर्यालसंग भएको उनको भुत्लाभुत्लीले नै खुट्याएकै छ । उर्मिलालगायतका महिलाहरु भुक्तभोगी छन्,विद्याकृत महिला आन्दोलनमा ।
विद्या रक्षामन्त्री हुँदा बर्दिया राष्ट्रिय निकुञ्जमा मारिएकी दलित महिलाको विषयमा छानबीन गर्न आदेश दिनुको साटो तस्करलार्इ मार्नु ठीक हो भनी दिएको बयानले उनको महिलावादी आन्दोलन, मुक्तिको कार्यदिशालार्इ हास्यास्पद बनाइदिएको छ ।
रहलपहल
यसरी बिरालाकोटीमा पर्ने महिला मुक्तिका योद्धा भनेर विद्यालार्इ देवत्वकरणगर्नेहरुको भदौमै चर्म चक्षु फुलो परेको हुनुपर्छ । उनै कुनै योगमाया, साहना प्रधानको जत्तिको पादुका हैसियत भएकी महिला हुँदै होइनन् । उनलार्इमहिला मुक्तिको महान मसिहा ठान्नु इतिहासमै भद्धा मजाक हुनेछ । उनी हुन त केबल क्यालिगुलाका घोडा, फरुखकी भान्से । विश्व इतिहासका खलनायक क्यालिगुला, फरुख र महेन्द्रका औतारी चैं श्री ३ केपी ओली हुन् ।
(बिजयपुर डटकम, धरानबाट)
No comments:
Post a Comment