Monday, November 16, 2015

काठमाडौंमा घडेरी किन्दाको ग्लानिबोध

२०४५ साल सुरुतिरको कुरा हुनुपर्छ । तत्कालीन नेकपा (माले) केन्द्रीय कमिटीको बैठक बसिरहेको थियो । बैठकमा हामी सबै गम्भीरताका साथ सहभागी थियौँ । बैठक अन्तिम दिनमा पुगेको थियो । हामी बैठक सकेर भोलिपल्ट बिहान झिसमिसेमै आ–आफ्ना क्षेत्रतिर लाग्ने योजनामा थियौँ । भूमिगत अवस्थाको अत्यन्त प्रतिकूल परिस्थितिमा पनि हामी कहिल्यै देशबाहिर बैठक बसेनौँ । जस्तोसुकै परिस्थितिमा पनि हामी देशभित्रै बैठक बस्थ्यौँ र आवश्यकताअनुसार निर्णय गथ्र्यौँ । हाम्रो संगठनात्मक सञ्जाल र संगठित शक्ति जनआधारित र भरोसालाग्दो भएकाले यो सम्भव भएको थियो । खालि विशेष खोजी गरिएका नेता–कार्यकर्ताका लागि हिँडडुल गर्ने कुरामा भने केही समस्या थियो । तर पनि, जसोतसो मिलाएकै हुन्थ्यौँ । त्यो बैठक नवलपरासीको भ्युरान भन्ने रमणीय गाउँमा विष्णु पाण्डेको घरमा भइरहेको थियो । त्यहाँ ईश्वरी पाण्डे र विष्णु पाण्डे पार्टीका असल साथी र स्थानीय कार्यकर्ता पनि हुनुहुन्थ्यो । ती दुई दाजुभाइको ओल्लो–पल्लो घर थियो । हामी तेस्रोपटक केन्द्रीय कमिटीको बैठक त्यहाँ गर्दै थियौँ । त्यसपछि त्यहाँ केन्द्रीय कमिटीको बैठक कहिल्यै भएको छैन । बैठकको अन्तिमतिर पार्टीभित्रका वैचारिक समस्याका सम्बन्धमा छलफल सुरु भयो । सुरुवात अमृत बोहोराले गर्नुभएको थियो । परम्परागत शैलीमा वैचारिक समस्याबारे कुराहरू उठ्न थाले, ‘हामी सर्वहारा वर्गका प्रतिनिधि, हाम्रो निजी स्वार्थ केही हुन्न । हामी निजी स्वार्थबाट परिचालित बन्नुहुन्न । धनसम्पत्तिमाथिको मोहले हामीलाई क्रान्तिकारी बाटोबाट विचलित बनाउँछ । सम्पत्ति जोड्ने कुरा उचित होइन । केका लागि हामीले सम्पत्ति जोड्ने ? तल–तल जनता–कार्यकर्ताले पनि यस्ता कुरा मन पराउँदैनन् । हाम्रा सबै नेता नि:स्वार्थ बनून्, धनसम्पत्तिप्रति मोह नदेखाऊन् भन्ने चाहन्छन् । झन् पार्टीकेन्द्रमै यस्तो स्थिति देखियो भने त त्यसलाई कदापि उचित मान्न सकिन्न, आदि ।’ अमृत बोहोराले विषयको सुरुवात गर्नुभए पनि केन्द्रीय कमिटीका अन्य सदस्यहरू यिनै र यस्तै भावनामा जोड दिँदै बीच–बीचमा अभिव्यक्ति दिइरहनुभएको थियो । छलफलमा यो विषयले यसरी प्रवेश पाएपछि बैठकको वातावरण केही गम्भीर बन्यो । केही नेता एक–आपसमा मुखामुख गरे पनि खास केही बोलिरहेका थिएनन् । ‘विषय के हो ? भन्न खोजिएको कुरा के हो ?’ सायद सबैलाई बुझ्न अप्ठ्यारो परिरहेको थियो । अमूर्त कुरा गर्ने र त्यसलाई वैचारिक समस्या भन्ने प्रवृत्ति कम्युनिस्ट पार्टीभित्रको एउटा परम्परावादी रोग हो । तत्कालको राजनीतिक समस्या समाधान गर्न प्रस्तुत गरिएको दृष्टिकोण वा मूल उद्देश्य पूरा गर्ने दृष्टिकोणलाई उजिल्याउने वा पाइन लगाउने हिसाबले वैचारिक समस्याको चर्चा भयो भने त्यो सुरुचिपूर्ण पनि हुन सक्छ । तर, यसो नगरी अमूर्त र उपदेशात्मक विषयको अनन्त चर्चालाई विचारधारात्मक विषय भनेर चर्चा गर्ने गरिन्छ । यस किसिमको प्रस्तुति निरस र वाक्कलाग्दो समेत हुन पुग्छ । त्यो बैठकमा पनि करिब यस्तो हुन खोज्दै थियो । यसरी धेरै बेर कुरा चलेपछि एकजना बोल्नुभयो, ‘ठोस कुरा के हो ? के समस्या आइलाग्यो ? त्यो विषय राख्नुस् न †’ अरू कतिपय साथीजस्तै म पनि कुरा नबुझेर वाल्ल परेर बसिरहेको थिएँ । अमृत बोहोराले सधैँझैँ अमूर्त किसिमले नै भन्नुभयो, ‘हामीमध्ये क–कसले काठमाडौंमा जमिन किन्दै छौँ रे † घडेरी जोड्दै छौँ रे †’ उहाँले अझ थप्नुभयो, ‘तल–तलबाट कत्रो विरोध आइरहेछ ?, नेताहरू नै काठमाडौंमा घडेरी किन्ने भन्दै छन् ?’ त्यहाँ बसेका हामी सबै मुखामुख गर्न थाल्यौँ । त्यसमध्ये कतिपयलाई केन्द्रका साथीबाट ठूलै अपराध पो भइसकेको रहेछ भन्ने लागेको बुझिन्थ्यो । अरू कतिपय साथीचाहिँ एक किसिमले त्यसै अलमलमा परेको, अझै गल्तीको गम्भीरता नबुझिसकेको जस्तो लाग्थ्यो । एकछिन त्यसरी नै बित्यो । कसैले ‘खै के गरेको हो, आफूलाई त थाहा पनि छैन’ भन्न थाले भने केहीचाहिँ ‘भित्रभित्रै सट्याक–सुटुक पो भइसकेको रहेछ, हत्तेरीका’ भन्न पनि पछि परेनन् । कोही–कोही साथीहरू ‘यो के विषय आइलाग्यो †’ भन्ने ‘मुड’ मा पनि देखिन्थे । तर, बोलिहालेका भने थिएनन् । ‘को हो त जग्गा किन्ने ? कुरा प्रस्ट आउनुपर्छ’ भन्ने जिकिर हुन थालेपछि अमृत बोहोराले मतिर देखाएर भन्नुभयो, ‘मिलन कमरेड यसबारेमा जान्नुहुन्छ ।’ । त्यसवेला मेरो भूमिगत नाम ‘मिलन पाण्डे’ थियो । हुन त कुरा उठ्दै जाँदा मेरो मनमा चिसो परिसकेको थियो । ‘कहीँ मेरै कुरा त होइन’ भनेर लागिसकेको थियो । ‘अब के आपत् आइलाग्यो ? चरित्र च्यूत हुने काम पो आफूबाट भएछ कि ?’ भन्ने लाग्न थालिसकेको थियो । मतिर त्यसरी संकेत गरेर देखाइसकेपछि सिंगो बैठकको आँखा मतिरै केन्द्रित हुनु स्वाभाविक थियो । म भने टाउको उठाएर, आँखा उठाएर हेर्न सकिरहेको थिइनँ । मेरो टाउको झुकिसकेको थियो । आँखा उठाएर अरू साथीलाई हेर्न पनि मलाई असजिलो लागिरहेको थियो । सबैका आँखाले मलाई एक टकसँग हेरिरहेका थिए । मदन भण्डारी यो प्रसंग उठेदेखि नै भित्तामा अडेस लागेर निदाएजस्तो गरेर बसिरहनुभएको थियो । छलफलमा उठेको यो विषय र उठाइएको तरिकाप्रति उहाँ त्यति सहमत हुनुहुन्न भन्ने अन्दाज गर्न सकिन्थ्यो । माधव नेपाल गम्भीर भएर अगाडि नै बस्नुभएको थियो । जीवराज आश्रितचाहिँ विषयको ‘वैचारिक गहिराइमा पुग्ने प्रयत्न गरिरहनुभएको थियो । सिपी मैनाली रुचिपूर्वक सुनिरहनुभएको थियो । त्यसवेलासम्म महासचिवका रूपमा रहनुभएका झलनाथ खनाल मुख ‘न्याम–न्याम’ गरेर बसे पनि खास केही कुरा बोलिरहनुभएको थिएन । बैठक उहाँले नै सञ्चालन गरिरहेकाले अन्त्यमा उहाँले नै मतिर संकेत गर्दै भन्नुभयो, ‘के हो त वास्तविकता ? मिलन कमरेड आफैँले अगाडि बढेर भन्नुपर्‍यो । आफूबाट गल्ती–कमजोरी भएका छन् भने पनि आत्मालोचना गर्नुपर्‍यो ।’ मैले पैतृक सम्पत्तिबाट अंशका रूपमा पाएको सुरुको एकमुस्ट ७४ हजार रुपैयाँ थियो । दुई वर्षअगाडिको दशैँमा भूमिगत अवस्थामै भए पनि मीरा र ठूलो छोरा सिर्जनसहित घर गएर त्यो अंश पाउने वातावरण बनाएको थिएँ । यसका लागि साहस र प्ेररणा प्रदान गर्नुहुने केशव बडाललाई म सधैँ सम्झने गर्छु । उहाँले नै मलाई ‘अंश नलिएर दाजु–भाइलाई सहयोग पुग्छ भन्ने कुरा गलत हो, त्यसले त उनीहरूका बीच झन् कलह बढाइदिन्छ, अहिले आदर्शवादी भएर नलिने सोचले पछि आफैँलाई अप्ठ्यारो पार्छ’ भन्ने कुरा पटक–पटक दोहोर्‍याउनुभएको थियो । वास्तवमा उहाँले नै मलाई ‘हिम्मतिलो’ बनाउनुभएको थियो । पछि, यसरी अनुकूल बनाएको वातावरणले मलाई त्यो ७४ हजार दिलाएको थियो । त्यसवेला लुम्बिनी अञ्चलमा कार्यरत रहेको हुँदा काठमाडौं आइपुगेको त्यो पैसा यताउतैमा नसकियोस् भनेर भिनाजुले आफ्नै सिमानामा मीराका नाममा १० आना घडेरी किनिदिनुभएको थियो । मलाई पनि त्यो पैसा सदुपयोग हुन सकेकोमा रामै्र भयो भन्ने लागेको थियो । त्यसवेला मीरा काभ्ेरमै एउटा माविमा पढाउने काम गर्थिन् र म आफू भने लुम्बिनीको पार्टी काममा थिएँ । झलनाथ खनालको यस किसिमको रुलिङपछि वास्तविकता जे भए पनि म भित्रभित्रै ठूलै गल्ती गरिएछ भन्ने पछुताउभावले लछप्पै भइसकेको थिएँ । तर, जे भए पनि महासचिवको रुलिङलाई सम्मान गर्दै माथिको वास्तविकता एकै सासमा बयानका रूपमा बैठकसमक्ष राखेँ । मेरो बयानपछि बैठकमा एकछिन सन्नाटा छायो । केही बेर अगाडिसम्म व्यंग्यात्मक ढंगले अभिव्यक्ति दिइरहेका साथीहरू मुखै खोलेर केही त भनिरहेका थिएनन् । तर, उनीहरूको भावभंगीमा हेर्दा भने मप्रतिको आशंका मेटिएजस्तो देखिन्थ्यो । बयानपछि भने मेरो टाउको अलिक ठाडो भएको थियो । साथीहरूको अनुहार हेरेर बयानका खासखास प्रसंगमा जोड दिएर थप प्रस्ट पार्न सक्ने भएको थिएँ । बयान त दिएँ । तर, त्यसपछि पनि बैठकमा कोही बोल्दैन । झलनाथ खनालतिर हेरेँ । ‘न्याम–न्याम’ गर्दै मुख मात्र चलाइरहनुभएको छ । एकछिनपछि अमृत बोहोराले भन्नुभयो, ‘जे भए पनि तल प्रभाव त नराम्रो पर्‍यो नि †’ उहाँको भनाइमा अरू केहीले स्वरमा स्वर मिलाए । सिपी मैनालीले बरु ‘आफ्नो पैतृक सम्पत्तिका सम्बन्धमा साहै्र धेरै टीका–टिप्पणी गर्न त्यति राम्रो हुन्छजस्तो लाग्दैन । अनियमितता, भ्रष्टाचार गरेको केही होइन भने आफ्नो यताको सम्पत्ति कसैले उता व्यवस्थित गर्छ भने किन आपत्ति गर्नु’ भन्नुभयो । सिपीले के उद्देश्य राखेर त्यसो भन्नुभयो थाहा छैन । तर, त्यो भनाइले एक किसिमले मेरो रक्षा गर्न खोजेको थियो । सिपीको भनाइ केहीलाई ठिकै लागेको उनीहरूको अनुहारमै झल्कन्थ्यो । यद्यपि, उनीहरू केही बोलेका भने थिएनन् । अरू कोही भने ‘कहाँ त्यसो भनेर हुन्छ र ?’ भन्दै प्रतिवाद गर्दै थिए । किन हो कुन्नि, त्यस दिनको यो विषय–बहसमा मदन भण्डारीले भने कुनै प्रतिक्रिया नै व्यक्त गर्नभएन । उहाँ, यो विषय उठ्दा जसरी बस्नुभएको थियो, त्यही ‘पोजिसन’मा नै रहिरहनुभयो । उहाँ प्रतिक्रियाविहीन रहनुभयो । यद्यपि, उहाँको अनुहारमा गम्भीरता भने झल्किरहेको थियो । अन्त्यमा ‘वैचारिक समस्या’ नामकरण गरिएको यो विषयलाई समाप्त पार्दै महासचिव झलनाथ खनालले भन्नुभयो, ‘हामीले कुनै पनि काम गर्दा त्यसले के असर पार्छ भनेर विचार पुर्‍याउनुपर्छ । हरेक वस्तुका दुई पक्षप्रति विचार पुर्‍याएर मात्र काम गर्नुपर्छ । कुनै पनि विषयका बारेमा हामीले द्वन्द्ववादी दृष्टिकोण राख्नैपर्छ । यस्तै पार्टी कमिटीका कुनै पनि कमरेडले कामपूर्वको परामर्श पनि त्यत्तिकै आवश्यक हुन्छ भन्ने कुरा बुझ्नैपर्छ ।’ उहाँले यस्तै केही लामै बोल्नुभएको थियो । झलनाथ खनालले प्रस्तुत गर्नुभएको निष्कर्षबाट अरूले के–के बुझे, मलाई थाहा छैन । उहाँले के निष्कर्ष दिनुभएको हो, मैले बुझ्न सकिनँ । ‘मेरो यो काम सही भयो कि गलत ? त्यसको निष्कर्ष चाहियो । तपाईंको यो अमूर्त कुरा मेरो जवाफका लागि भएन’ झलनाथ खनाललाई अलिक खरै किसिमले मैले त्यसवेला भनेको थिएँ । अरू सबै चुप लागेका थिए । यसरी त्यो बैठकमा उठेको वा उठाइएको ‘पार्टीभित्रको वैचारिक समस्या’ नाम दिएको छलफलको विषय टुंगिएको थियो । रातिको करिब १२ बज्न लागेको थियो । बैठक कोठामा बालिएका मधुरा लालटिनहरू निभाएर हामी सबै सुत्यौँ । भोलिपल्ट बिहान उज्यालो हुनुभन्दा अगाडि नै उठेर सबैले बाटो लाग्नुपर्ने थियो । केही साथी उज्यालो राम्ररी नहुँदै आरुङखोला पुगिसक्नुपर्ने थियो । म पनि १० बजेभित्र बुटवल पुग्नैपर्ने काम थियो । सबै सुते, तर मलाई निद्रा लागेन । आफूलाई केन्द्रित गरी उठेको यो विषयले मलाई एक किसिमले बेचैन बनाएको थियो । मलाई त्यसवेला कोटेश्वरमा मीराका नाममा लिइएको त्यो जमिन जल्न सक्ने भए जलाइदिन, फुट्ने भए फुटाइदिन, च्यातिने भए च्यातिदिन, कच्याककुचुक हुने भए कुच्याइदिन मन लागेको थियो । त्यसरी जग्गा लिनु उचित थियो कि थिएन, राम्रो भयो कि भएन † म आफँैले त्यसवेला ठ्याक्कै यसै हो भन्न सकिनँ । तर, जसरी छलफल भयो, त्यहाँ केही संकीर्णता, केही जडता, केही ईष्र्यासमेत थियो भन्नेचाहिँ मलाई कताकता लागिरह्यो । जे भए पनि त्यो विषय जसरी उठ्यो, जसरी छलफलमा दृष्टिकोणहरू आए र जसरी निष्कर्ष दिइयो, मलाई पटक्कै चित्त बुझेको थिएन । ममा एकैपटक निराशा, दिक्दारी, असन्तुष्टि, विरोधका भाव उर्लिरहे । म सुत्नै सकिनँ । ओछ्यानमा छटपटाइरहेका वेला सिपी मैनालीले अघि सार्नुभएको तर्क वेला–वेला सम्झन्थेँ । मलाई त्यसवेला चहर्‍याइरहेको घाउमा थोरै भए पनि आराम दिने मलमजस्तो लागेको थियो । त्यस घटनाबाट म आफू एक किसिमले कताकता हराएकोजस्तो बनेको थिएँ । धेरै वर्ष बितिसक्दा पनि जब–जब मलाई त्यो प्रसंगको सम्झना हुन्थ्यो, मन एकतमासको भएर आउँथ्यो । किनेको त्यो घडेरीप्रति मनै मरेर गएको थियो । त्यहाँ आफ्ना लागि घर बनाउने कुरा सोच्न पनि सकिरहेको थिइनँ । बहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो । पुरानो स्थिति, पुरानो कार्यशैली, पुराना सम्बन्धहरू फेरिए । हामी पूर्णकालीन भूमिगत रूपमा खटिरहेका नेता–कार्यकर्ताको स्थितिसमेत परिवर्तन भएको थियो । तर अचम्म, परिवर्तनको केही समय बित्न नपाउँदै हामै्र पार्टीका प्राय: सबै नाम चलेका नेताका रामै्र बिल्डिङ धमाधम बनिरहेका थिए । झलनाथ खनाल, प्रदीप नेपाल, सिपी मैनाली, माधव नेपाल, आरके मैनाली, अमृत बोहोरा, मोदनाथ प्रश्रित आदि सबैका एकसेएक सुन्दर घरहरू बनिरहेका थिए । काठमाडौंमै घर बनाउन नपाएकाहरूले पनि जिल्ला सदरमुकाममा निवास बनाइसकेका थिए । घडेरी किनेका कारण वैचारिक स्खलनको पात्र बनेर बैठकमा खप्की खाइसकेको र साथीहरूकै कटाक्ष सहेको मैले भने कुनै बास बनाएको थिइनँ । विवादित त्यही कोटेश्वरको जमिन र केशव बडालले उहाँको घरमा डेरा गरी बस्दा मीरालाई सञ्चयकोष आदि निकाल्न लगाएर भए पनि किनाइदिनुभएको चाबहिलको चार आना जमिन मात्र थियो । त्यही जमिनलाई पुन: व्यवस्थित नगरी मेरो बास बन्ने छाँट थिएन । यो सबै हेरिरहँदा मेरो मनमा भने लागिरहेको हुन्थ्यो, ‘यति चाँडो यति सुन्दर घर बनाउने यी साथीहरूले घडेरीको जोहो कहिले गरिसकेका थिए, कुन्नि ? अहिले पनि म भूमिगत रूपमा आयोजना गरिएको त्यही केन्द्रीय कमिटीको बैठक र त्यहाँ मलाई केन्द्रित गरी छलफल भएको ‘वैचारिक समस्या’को विषयलाई सम्झिरहेको हुन्छु । हामी कम्युनिस्ट वैचारिक समस्या भनेर कस्ता छुद्र विषयमा नुक्ताछिरी गरिरहेका हुन्छौँ, ‘वैचारिक छलफल’का नाममा आफूभित्र रहेका संकीर्णता, जडता, अव्यावहारिकता र आफैँभित्र लुकेर बसेको ईष्र्यालाई समेत कसरी पोखिरहेका हुन्छौँ, हगि

-Nayapatrika

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts