Monday, November 16, 2015

छठपर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

काठमाडौ मंसिर १ ।  सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि सेवन गर्दैनन् । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । यसै वर्षदेखि सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो ।

यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने संस्कृति सुरु भएको थियो । कात्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका शशीकान्त सेठ्ठीले बताए।

“षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवम् छठीमातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”–उनले भने । षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीन पटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि ने प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको दीपेन्द्र झा बताउछन् ।

“पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवम् सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो”–उनले भने।

कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले आफूले विसं २०१२ देखि यो पर्व मनाउन थालेको वरिष्ठ पत्रकार देवेन्द्र गौतम बताउँछन् ।

सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवम् अविवाहिताले सुयोग्य वरबधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यस पर्वमा मुसलमान, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताए ।

महाभारतकालमा द्रौपदीसहित पाण्डव अज्ञातवासमा रह“दा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव मिथिलाको विराट् राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको एकथरीको भनाइ छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको अर्काथरीको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts