काठमाण्डु, २४ असोज– काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्रीमा पराजित भएपछि पत्रकारसँग नराम्ररी जंगिएका छन् ।
आइतबार संसदमा भएको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्रीमा पराजित भएपछि संसद् भवन नयाँबानेश्वरबाट बाहिरिने क्रममा उनी सञ्चारकर्मीमाझ आक्रोशित रुपमा पेश भए ।
कोइरालालाई रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले प्रधामनन्त्री निर्वाचन हार्नु भयो नि सभापतिज्यू ? भन्ने प्रश्न गरेका थिए । जवाफमा कोइरालाले भने, ‘के हो हारेको भनेको ? यो हारेको भन्ने मलाई थाहा छैन ।लोकतन्त्रमा कोही हार्दैन ।’
धमलातिर फर्किएर कड्किएका कोइरालाको अनुहार रातोपिरो देखिन्थ्यो । धमलाको उनलाई दोश्रो प्रश्न थियो, अब के गर्नुहुन्छ ? दोश्रो प्रश्नको जवाफ पनि उनले कडै रुपमा दिए, ‘के गर्ने भन्ने, केन्द्रीय समितिको बैठक हुन्छ, पार्टीमा सल्लाह गरेर के गर्ने भन्ने कुरा हुन्छ’, उनले भने ।
आफूसँग कोइराला क्रुद्ध भएको चाल पाएपछि धमला पुच पाले । त्यहीबीचमा पत्रकार टंक पन्तले सोधिहाले, ‘सभापतिज्यू, तपाईंमाथि १६ बुँदे सम्झौता गर्दादेखि भएको ‘भद्र सहमति उल्लंघन गर्नुभयो भन्ने आरोप छ नि ?’
धमलासँग भन्दा पन्तसँग थप आक्रोश पोखे कोइरालाले । औंला ठड्याएर उनले पन्तको प्रश्नलाई प्रतिप्रश्न गरे, ‘कहिले भएको छ भद्र सहमति ? मलाई त थाहा छैन । लिखित चाहियो नि लिखित मुखले भनेर हुन्छ ?’
उनले एमाले र एमाओवादीले हुँदै नभएको सहमति भएको भन्ने झुठ प्रचार गरेको जिकिर गरे ।
हारको पीडा सहन नसकेर जाइलागेः पन्त
पत्रकार पन्तले प्रधानमन्त्री निर्वाचनमा भएको पराजयको पीडा कोइरालाले पत्रकारमाथि पोखेको बताए ।
उनले देशको प्रधानमन्त्री भइसकेका र संविधानसभाको सबैभन्दा ठूलो दलका सभापतिले पत्रकारको प्रश्नमा आक्रोश पोख्नु अशोभनीय विषय भएको उल्लेख गरे ।
‘प्रधमनमन्त्रीजस्तो पदमा बसिकेको, पार्टी सभापतिजस्तो व्यक्तिले संसदभित्र र बाहिरसमेत उठिरहेको विषयमा प्रश्न गर्दा औंला ठड्याएर बोल्नु किमार्थ राम्रो होइन’, पन्तले भने, ‘मेरो विचारमा प्रजातन्त्र र लोकतन्त्रका कुरा गर्ने व्यक्तिले त्यसरी हारको पीडा पोख्न पाइँदैन, पत्रकारसँग रिस पोखेर के हुन्छ र ?’
– kathmandutoday.com
No comments:
Post a Comment