Saturday, July 9, 2016

कोइलाबाट तेल निकाल्ने सरकारको योजना, अध्ययन गर्न नेपाली टोली आज चीन जाँदै

काठमाडौं,असार २६ । कोइलाबाट तेल निकाल्ने विषयमा अध्ययन गर्न नेपाली टोली चीन जाँदै छ । आज (आइतबार) बिहान ११ बजे प्रस्थान गर्ने टोलीको नेतृत्व आपूर्तिसचिव श्रीधर सापकोटाले गर्दै छन् । उनीसँग मन्त्रालयका उपसचिव अर्जुनराज पन्त, आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का, पेट्रोलियम इन्जिनियर विजय सत्याल र एकजना पेट्रोलियम प्रयोगशाला इन्जिनियर पनि जाँदै छन् । भ्रमण टोलीमा उद्योग मन्त्रालयका प्रतिनिधि पनि छन् ।

नेपालले कोइलाबाट तेल निकाल्ने इच्छा देखाए चीनले सहुलियतपूर्ण ऋण लगानी गर्ने प्रतिबद्धता जनाइसकेको स्रोतले बतायो । ‘कोइलाबाट तेल निकाल्ने प्रविधि पनि चीनमा मात्रै रहेछ, प्रविधिमा पनि सहयोग गर्छु भनेर चीनले आश्वस्त पारेको छ,’ स्रोतले भन्यो । सचिव सापकोटाको टोलीले सबै प्रविधि हेरेर नेपालमा कोइलाबाट तेल निकाल्न सकिने/नसकिने निष्कर्ष चिनियाँ पक्षलाई दिएर आउने स्रोतले बतायो ।

नेपालमा कोइला खानी उत्खनन भइसकेको छैन । त्यसैले कोइलाबाट तेल निकाल्न गाह्रो हुने विषयमा नेपालस्थित चिनियाँ राजदूतावासलाई जानकारी गराइएको थियो । त्यसपछि नेपालले इच्छा देखाए कोइला पनि चीनले नै दिने सम्भावना रहेको स्रोतले बतायो । ‘हामीसँग कोइला छैन भनेर जानकारी गराएका थियौँ । त्यसपछि चीन आफैँले कोइला दिन्छु भनेको छ,’ स्रोतले भन्यो । प्रारम्भिक अध्ययनमा कोइलाबाट निकालेको तेलको मूल्य सस्तो पर्ने देखिएको स्रोतको भनाइ छ ।

कोइलाबाट तेल उत्पादन गर्न सरकार आफैँले उद्योग स्थापना गर्नुपर्ने चीनको सर्त छ । ‘नेपाल सरकारले व्यवस्थापन पक्ष हेरिदिए पुग्छ, हामी सहुलितदरमा ऋण र प्रविधि दिन्छौँ भन्ने चिनियाा पक्षको भनाइ छ,’ स्रोतले भन्यो । पहिला चीनले कोइलाबाट तेल उत्पादन गरेको प्रविधि हेरेर मात्रै सरकारले यसबारे धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts