Tuesday, July 5, 2016

ओली नेतृत्वको सरकार टिकाउँने र गिराउँदा माओवादी नै दोधारमा

काठमाडौं,असार २२ । माओवादी केन्द्र एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार टिकाउँदा र गिराउँदा हुनसक्ने जोखिमसहितको द्विविधामा अल्झिएको छ । केन्द्रको मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पोलिटब्युरो बैठकमा सरकारको समीक्षा गर्न एजेन्डा प्रवेश गराइए पनि टिकाउने र गिराउनेबारे नेता द्विविधामा देखिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – सरकारका बारेमा बुधबार बस्ने बैठकमा छलफल गरी निर्णय गर्ने समझदारी पार्टीका नेताहरूले बनाएका छन् ।

राष्ट्रिय सरकारका बारेमा कांग्रेस र एमालेको रणनीति बुझ्ने, एमालेसँग भएको नौबुँदे लिखित र तीनबुँदे मौखिक सहमति कार्यान्वयनका लागि दबाब दिने र राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफ्नो पहलकदमी बढाइराख्नेमा केन्द्रित भएर निर्णय गर्ने अधिकार अध्यक्ष दाहाललाई दिएर बैठक सकिने एक नेताले बताए ।

‘संविधान कार्यान्वयन, शान्तिप्रक्रियाको पूर्णता र पुनर्निर्माणलाई तीव्रता दिन सरकार छोड्न पनि भएको छैन । अहिलेकै तरिकाले सरकारमा बसिराख्न पनि भएको छैन । यही रूपमा बस्दा हामी झन् कमजोर हुन्छौं । सरकार र मन्त्रीका कार्यशैलीप्रति कोही नेता सन्तुष्ट पनि देखिँदैनन्,’ पोलिटब्युरो सदस्य नारायण दाहालले बैठकपछि अन्नपूर्णसँग भने, ‘अहिलेका राष्ट्रिय एजेन्डा कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार गठन गर्नु उपयुक्त हुन्छ तर त्यसका लागि कांग्रेस र एमालेले गर्ने निर्णयमा निर्भर गर्छ । कांग्रेस, एमाले, केन्द्र, मधेसवादी र राप्रपा नेपाल एक ठाउँमा उभिएको अवस्थामा राष्ट्रिय सरकार बन्ने हो ।’

उनका अनुसार सरकारका बारेमा पोलिटब्युरोमा छलफल भए पनि निर्णय गर्ने अधिकार केन्द्रीय कार्यालय वा अध्यक्ष दाहाललाई दिएर टुंग्याइन्छ । अहिलेको सत्ता गठबन्धनमा नेतृत्व परिवर्तन गराउने, कांग्रेससँग मिलेर बहुमतको सरकारमा माओवादी केन्द्र सहभागी हुने सम्भावना बढी देखिएको छ । ‘शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न जोसँग सहकार्य गर्दा सहज हुन्छ, त्यहीसँग सहकार्य गर्नुपर्छ । यही सरकारलाई टिकाइराख्न हामी जरुरी पनि ठान्दैनौं,’ उनले भने ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts