Tuesday, July 5, 2016

बिजयको बिदाईमा बर्सिएका बिलौना (रिर्पोटरको डायरी)

आदर्श के.सी. ।
बिहानी प्रहर ! बाहिर सिमसिम पानी परिरहेको थियो, दुलिको मौराखारा अनि सल्लेबाट सर्लक्क जन्तिबसे सम्मको लेकलाई बादलले अंगालोमा बेरेझै म ब्याङकेट भित्र आफूलाई लुकाएको थिए । मौसमले बाहिर प्रतिकुलता जनाए पनि भित्र मन चंखा थियो, उत्साह भरिएको थियो । खैर, कर्म गर्न जानु थियो, हाजिर लगाउनु थियो र असारको धोपडिमा हराउनु थियो । कार्यालय जाने सुरसारमा थिए, फोनको घण्टिसँगै जिल्ला बालकल्याण अधिकृत मानवीर ओलीले एउटा महत्वपूर्ण कार्यक्रम छ भन्दै निमन्त्रणा गरे । एकजना बेसहारा बालकलाई बालगृहमा पठाउने कार्यक्रममा सहभागि हुनलाई म न्यु मुनलाईट बोर्डिङ स्कुल सेरीगाँउ तिर लागे । तारन्तारको फोनले म हतार हतार हिडेको थिए ।

न्यु मुनलाईट बोर्डिङको फराकिलो चौरमा एक हजार चार बिद्यार्थी परेडको तयारीमा थिए । कार्यक्रममा महिला तथा बालबाबालिका कार्यालय रुकुमका प्रमुख सुनिता केसी, रुकुमेली समाज बिकास केन्द्रका शिक्षा कार्यक्रम संयोजक केशव कुमार बिसी र सोही संस्थाका कुवेर केसी पनि पुगे । बुटवल बालगृहमा बालकलाई पठाउने विषयमा छलफल हुँदै गर्दा बिद्यालयका प्रिन्सीपल खड्ग कुँवर अलि आक्रोशित बने । जिल्लामा बालबालिकाको नाममा काम गर्ने धेरै निकाय छन्, तर एउटा अवोध बाकलको रेखदेखमा कसैको वास्ता भएन, सहयोग भएन, यति लामो समय सम्म बिद्यालयले मात्र उसको हेरचाह गरिदियो । किन कोही पनि एकपटक उसको अवस्था बुझन आएनन ? बैठकमा उनको जिज्ञासा पछि शून्यता छायो । मलाई ती बालकबारे जिज्ञासा जाग्यो, र मनमा अनेक कुरा खेल्न थाले । बिद्यालय प्राङगणमा कार्यक्रम पृथक बन्दै थियो, मेरा आँखा बिद्यालयको एउटा कोठामा गए ।

4
स साना बालबालिकासँग लक्ष्मी राय मिसले भावुक बन्दै कुरा गरिरहेको चाल पाएर नजिक गए । निन्याउरो तर निचोरमा दुध आउलान् जस्तो लाग्ने गाला, कलेटि परेको ओठ लगाएका एक बालक आफ्ना कपडा हातमा बेरेर सुक्क सुक्क गर्दै थिए । बालप्रेमी मेरो मनले हेरिरहन सकिन, अनि लक्ष्मी मिसलाई सोधे । सानैमा आमाबुवाबाट बिहिन भएका, सहारा र अभिभावक बिहिन उनै बालक रहेछन्, बिजय परियार ।
अन्दाजी १० बर्षका ति बालक गत चैत्र महिनाको एक साँझ उक्त बिद्यालयमा बास माग्न आएका रहेछन् । बास मागेको बिद्यालय उनको घर जस्तै बनेको रहेछ अहिले । मलाई पढ्न मन छ भनेर प्रिन्सीपल खड्ग कुँवर सामु आफ्नो ईच्छा जाहेर गरेका बिजयले बिद्यालय परिवारको मन जिते अनि प्रिन्सिपल कुँवरले मानवियताको उत्कृष्ट नमूना देखाए । त्यतिबेलै उनलाई बिद्यालयमै बस्ने र पढ्ने निर्णय गरिदिएछन्, जसको कारण बिद्यालय मात्र हैन बिजयलाई मन्दिर लागेको थियो न्यू मुनलाई । सानै छँदा बुवा भारत गएछन् र उतै बेपत्ता भएछन्, आमा पनि सम्पर्कमा आईन्न । उनी सानै देखि बेसाहारा बनेछन्, आफन्त रहेनछन् उनका । बेवारिसे अवस्थामा काठमाडौमा पुगेका उनलाई केही समय अगाडी रुकुम आउने गाडीमै रुकुम फिर्ता गरिएछ र विद्यालयको सम्पर्कमा पुगेछन् ।

जिल्ला बाल कल्याण समिति रुकुमको पहलमा बुटवलको बालगृहमा पठाउनको लागी सोमबार विद्यालयको प्राङगनमा गरिएको बिदाई कार्यक्रममा उनले सयौ साथी र शिक्षकलाई डाँको छोडेर रुने बनाए । तिष्ण दिमागका विजय विद्यालयको होस्टेलमा बस्दा त्यहाका विद्यार्थी उनका दाजुभाइ र सर मिसहरु, आमा बुवा जस्तै बनेका थिए । फुर्सदको समयमा गित, गजल, सायरी जस्ता साहित्यका विधाहरुको रचना सुनाउने बिजयको बिदाइले उनका साथी र बिद्यालय परिवारलाई पीडा भयो । बिद्यालयका प्रिन्सीपल कुँवरले बिदाईमा बोल्दै गर्दा “बिजय तिमी भाग्यमानी हौ, तिमी यो स्कुलमा आएर बुटवल जान पायौ” भन्दै गर्दा आफै रोए । सामान राख्ने एउटा झोला समेत नभएका उनले लगाउने कपडाहरु बिद्यालयले ब्यवस्था गरिदिएको रहेछ । बिद्यार्थीको लाइनमा गरिएको उनको आकस्मिक बिदाइले सारा विद्यार्थीका आँखा रसाए, बाइ बाइ बिजय भन्दै रोए । मेरो हात समाएर उनी सुक्क सुक्क रुँदा, म भावुक बने, आँशु थाम्न सकिन । पेशा र मेरो मन कठोर हो तर बिजयले पगालिदिए ।

बिजयको हात समाउँदै गन्तब्य तिर लाग्दा, गेटबाट विस्तारै ओरालो झर्दा बिद्यालय भवनका हरेक झ्यालको ढोकाबाट रुन्चे स्वरमा विजय बाई बाई भन्दै हात हल्लिरहँदा वातावरण भावुक बनेको थियो, शून्य बनेको थियो । बिजयलाई बिदाई गर्नुपुर्व खानेकुरा, कपडा र झोला किनिदिए । करिव साढे दशमा कार्यालय पुग्दा मन बेचैन भयो । गला अबरुद्ध भयो । मित्र फत्ते रिजालले एउटा कलमको प्याक बिजयको झोलामा राखिदिए । उसले लक्ष्मी, सुस्मीता मिसलाई निकै सम्झदै मलाई माया गर्ने मिस भनेर कागजमा टिपेको मोवाइल नम्बर हेदै थिए । मेरो नम्बर पनि टिपे ।

छोटो समयमा उनी र म विच निकै आत्मीयता बढिसकेको रहेछ । बिदाईको बखत हात हल्लाउँदै निकै रोए, उनी गएको बाटोलाई हेर्दै म भावुक भए । गरिव, बालबालिका र महिलाका पीडाले मलाई निकै पोल्ने गर्छ । उनीहरुका पीडा र समस्यासँग मितेरी गाँस्न मन लाग्छ । म उनीहरुका पिडाहरु अनुभुत गर्छु । कामको शिलशिलामा धेरै पटक बालबालिकाका समस्याहरु महिलाका समस्याहरुसँग नजिकै छु । बिजय त एउटा प्रतिनिधी पात्र मात्र हुन्, यस्ता धेरै आमाबुवा नभएका बच्चाहरु हाम्रो समाजमा यत्रतत्र छरिएर रहेकाछन् । उनीहरुको संरक्षणको लागी कहि कतैबाट सहयोगको ब्यवस्था नहुनु बिडम्बना मात्र होइन राज्यको चरम उदासिनता पनि हो ।

(के.सी. नेपाल पत्रकार महासंघ रुकुमका उपाध्यक्ष हुन्, उनी द हिमालयन दैनिकमा आबद्ध छन् । )

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts