काठमाडौं,जेठ १० । गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका राजनीतिक दलबीच दूरी बढेसँगै उत्साहित भएका पूर्वराजा ज्ञानेन्द्र शाहले जनतासँगको घेटघाटलाई तीव्र बनाउने बताएका छन् । उनले जतिसँग भेट गर्छन्, सबैबाट प्रायः एउटै सल्लाह पाउने गरेका छन् । त्यो सल्लाह हो– ‘दलहरूले डेलिभरी दिन नसकेका कारण जनताहरू राजसंस्था पुनर्बहालीको पक्षमा देखिन थालेका छन्, तर उनीहरू संगठित छैनन्, संगठित गराउन सकियो भने राजसंस्था पुर्नबहालीको दिन धेरै टाढा छैन ।’ तरुण साप्ताहिकले समाचार छापेको छ ।
यही मा्रकामा जनतालाई संगठित गरी पुनर्बहालीका लागि प्रयास गर्ने अभियानमा पूर्वराजा शाह रहेको बताइन्छ । विगतमा जस्तै पूजापाठ तथा मन्दिरको दर्शन गर्नेसहितको कार्यक्रम बनाएर देश दौडाहको अभियानमा पूर्वराजा शाहले सुरु गरिसकेका छन् ।
दरबार हत्याकाण्डको १६औँ वर्षको पूर्वसन्ध्या पारेर गत साता नुवाकोट दरबार तथा भैरवी मन्दिरमा पूजा गर्न पुगेका पूर्वराजा शाहले सर्वसाधारण जनतासँग भेटघाट गरेका थिए ।
पूर्वी तराईको भ्रमणमा निस्कनुअघि पूर्वराजा शाहले राप्रपा, राप्रपा नेपाका नेता तथा पञ्चायतमा काम गरेका केही नेताहरूलाई भेटेका थिए । साथै, मधेसी तथा जनजाति आन्दोलनमा संलग्न नेताहरूसँग पनि उनले गोप्य भेटघाट गरेका थिए ।
पूर्व राजा शाहको यो सक्रियताबाट ग्रासरुट तहका राजावादीहरू उत्साहित भए पनि राजनीतिक बुझेका राजावादीहरूले भने खासै पत्याएका छैनन् , ‘आफ्नो पारिवारिक झमेलासमेत मिलाउन नसकिरहेका पूर्वराजा शाहले दलहरूप्रतिको जनताको असन्तुष्टिलाई आफ्नो पक्षमा ल्याउन सक्छन् जस्तो लाग्दैन’, दरबारबारे बुझेका एक राजावादीले भने । उनका अनुसार पूर्व युवराज पारस शाह लामो निर्वासनबाट स्वदेश फर्केपछि पूर्व युवराज्ञी हिमानी शाहको सामाजिक तथा सार्वजनिक गतिविधिमाथि ब्रेक लागेको छ ।
हिमानी निर्मल निवासमै बस्छिन् । पारस धीरेन्द्रकी छोरी शीताष्माकहाँ बस्छन् । लागूपदार्थका दुर्व्यसनी पारसले गत साता आफ्नै एकजना नातेदारलाई पैसाको निहूँमा हातपात गरेपछि पूर्वराजा शाह थप तनावमा परेका छन् ।
No comments:
Post a Comment