काठमाडौं,जेठ १० । सर्वोच्च अदालतले गरेको फैसलालाई बेवास्ता गर्दै अख्तियार दुरुपयोग अनुसन्धानले मन्दिरको जग्गा व्यक्तिको नाममा लैजाने बाटो खुला गरिदिएको छ । पोखरा–३ नदिपुरस्थित नारायणथान मन्दिरको साबिक छिनेडाँडा–१ हाल पोखरा १४ को कित्ता नम्बर ९७५ को ८ रोपनी ७ आना २ पैसा जग्गा रैकर (निजी) देखिएको भन्दै अख्तियारले गत वैशाख ९ मा गुठी संस्थानलाई पत्राचार गरेको छ । अख्तियारको उक्त निर्णयलाई आधार बनाई गुठी संस्थान र मालपोत कार्यालयले नारायणथानको उक्त जग्गा पुजारी पुष्पराज लामिछानेको नाममा गरिदिएका छन् । उक्त जग्गलाई हाल चलनचल्तीमा १४ करोड रुपैयाँको हाराहारी पर्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
कास्की मालपोतले दाबी प्रमाणअनुसार नै पुष्पराजको नाममा जमिन गएको दाबी गरेको छ । उक्त जग्गामा विवाद भएपछि संस्थानले रोक्का राखेकामा अख्तियारले फुकुवा गरिदिन पत्राचार गरेको थियो । अख्तियारको चलानी नम्बर २१८२ को पत्रमा भनिएको छ उक्त जग्गा रैकर भएकाले फुक्का गर्न भनिएको छ ।
अख्तियार र संस्थानको निर्णयले सार्वजनिक सम्पत्ति भूमाफियाको चलखेलका लागि खुला भएको भन्दै धार्मिक क्षेत्र विकास समिति असन्तुष्ट छ । ‘निजी जग्गा हो भनेर नामसारी गरिदिनुअघि सरकारी संस्थानले सार्वजनिक सम्पत्ति संरक्षण हो होइन राम्ररी अनुसन्धान नै गरिदिएनन्,’ समितिका अध्यक्ष महेश पराजुलीले भने, ‘निजी भनेर प्रमाण पुग्छ भने कुनै फरक पर्दैन तर, नारायणथानको सार्वजनिक सम्पत्तिलाई लिखतका सामान्य कमजोरी केलाएर निजीमा जान दिइयो । यो नजिरले यहाँ मात्रै होइन देशका अरू ठाउँमा पनि असर पर्छ ।’
कुनै पनि ठाउँमा मठमन्दिर र सार्वजनिक सम्पत्ति संरक्षणमा बसेकालाई खानबस्न सुविधा दिइनु उचित भए पनि संस्थाको सम्पत्ति नै उसैको हो भन्ने नजिर बनाइदिनु कानुनको खेलबाड भएको उनले बताए । कास्कीका मालपोत प्रमुख चिरञ्जीवी सापकोटाले भने लामिछानेका नाममा गएको जमिन निजी भएको प्रमाण पुगेकैले कानुनअनुसार भएको दाबी गरे । उनले भने ‘स्रेस्तापुर्जा, फिल्डबुक, धनीको बकसपत्र आदि सबै आधार केलाएर निर्णय भएको हो ।’ क्षेत्रीय प्रशासक शंकर कोइरालाले समितिले उक्त जग्गाबारे आफूकहाँ निवेदन दिए पनि आधिकारिक भनाइ राख्ने निकाय मालपोतमात्रै भएको बताए ।
No comments:
Post a Comment