कांग्रेस महाधिवेशनलगत्तै सरकार बदलिने अनुमान गरिँदै आएको भए पनि केपी ओली नेतृत्वको वर्तमान सरकारले आगामी वैशाख (२०७३) सम्म निरन्तरता पाउने सम्भावना बढेको छ । कांग्रेस स्वयम्को आन्तरिक व्यवस्थापन र सरकार ढाल्न अपनाउनुपर्ने संवैधानिक एवम् राजनीतिक प्रक्रिया पूरा गर्न समय लाग्ने भएका कारण ओली नेतृत्वले अझै दुई महिनाजति निरन्तरता पाउने स्थिति बनेको हो । नेपाली कांग्रेस संसदीय दलको नेता चयन भइसकेपछि भावी प्रधानमन्त्रीको तस्बिर स्पष्ट हुने र त्यसपछि सरकार परिवर्तनको प्रक्रियाले गति पाउने विश्वास गरिएको छ ।
सुशील कोइरालाको निधनपछि रिक्त हुन पुगेको संसदीय दलको नेता चयन गर्न अझै दुई साता लाग्ने सम्भावना छ । कांग्रेस केन्द्रीय कार्यसमितिको पदाधिकारी चयन (मनोनयन) गरेपछि मात्र दलको नेता चयन गरिने हो या पहिले नै नेताको निर्वाचन हुने हो निश्चित भइसकेको छैन । तर, दलको नेता तत्काल चयन गर्न सभापति शेरबहादुर देउवामाथि दबाब पर्न थालेको छ । पार्टीका पूर्वउपसभापति रामचन्द्र पौडेलले संसदीय दलको नेतामा आफूलाई समर्थन गर्न आग्रह गरेका छन् । संसदीय दलको नेता आफूलाई बनाइदिन देउवासँग कृष्णप्रसाद सिटौलाले पनि अनुरोध गरेका छन् । तर, सिटौलाको इच्छा र प्रस्तावलाई कसैले पनि गम्भीरतापूर्वक लिएका छैनन् । सभापति देउवा सिटौलालाई अन्य कुनै कामको जिम्मेवारी दिने पक्षमा
रहेको बुझिएको छ ।
पौडेलले सभापति देउवालाई भेटी दलको नेता सर्वसम्मत ढङ्गले चयन गरी एकताको सन्देश दिनुपर्ने बताउँदै आफूलाई ‘नेता’ बनाइदिन प्रस्ताव गर्दै देउवाले पनि सहमतिमा नै दलको नेता तय गर्नु उपयुक्त हुने बताएका छन् । सहमति बन्न नसकेमा भने निर्वाचनका माध्यमबाट नेता चुन्नुपर्ने जवाफ देउवाले पौडेललाई दिएका छन् । तर, पौडेललाई संसदीय दलको नेता चयन गर्ने मामिलामा देउवाको एकल निर्णय कामयावी नहुने देखिएको छ । पार्टीका सांसद तथा अन्य कतिपय नेता र कार्यकर्ताहरूले समेत दलको नेता बन्न देउवामाथि दबाब दिइरहेका छन् । महामन्त्री डा. शशाङ्क कोइराला पनि सहमतिमै दलको नेता छान्नुपर्ने धारणा राख्छन । उनले पार्टीका केही प्रभावशाली नेताहरूसँग भेटी यस सम्बन्धमा छलफल पनि प्रारम्भ गरिसकेका छन् । प्रभावी नेताहरूले महामन्त्री कोइरालालाई सुझाव दिँदै देउवालाई संसदीय दलको सर्वसम्मत नेता र रामचन्द्र पौडेललाई नयाँ सरकारमा उपप्रधानमन्त्री बनाउनु उपयुक्त हुने बताएका छन् ।
तर, प्राप्त एक जानकारीअनुसार रामचन्द्र पौडेल निर्वाचनमा प्रतिस्पर्धा नै गरेर भए पनि संसदीय दलको नेता आफैँ बन्न चाहन्छन् । त्यसनिम्ति उनले आन्तरिक तयारीसमेत गर्न थालिसकेका छन् । यसै साताको सोमबार (चैत १ गते) पौडेलले आफूसमर्थक सांसदहरूको अनौपचारिक भेला राखी दलको नेता चयन सम्बन्धमा बृहत् छलफल गरेको बुझिएको छ । समर्थक सांसदहरूले पौडेललाई दलको नेता पद कुनै हालतमा छोड्न नहुने भन्दै सकेसम्म सहमतिमा र नभए प्रतिस्पर्धा गरेर भए पनि अगाडि जानुपर्ने सुझाव दिएका छन् । निर्वाचनमा प्रतिस्पर्धा गर्दा पौडेल विजयी बन्ने विश्लेषणात्मक निष्कर्ष उनका समर्थकहरूले निकालेका छन् । सभापति शेरबहादुर देउवालाई दलको नेता र प्रधानमन्त्री बनाउने ‘मुड’ कांग्रेसका अधिकांश नेताहरूले बनाइसकेका छन् । वामपन्थी चुनौतीसँग मुकाबिला गर्दै अघि बढ्नुपर्ने सरकारको नेतृत्व देउवाबाट हुनु उपयुक्त हुने उनीहरूको धारणा छ । त्यसैले सर्वसम्मत नभए प्रतिस्पर्धाबाट भए पनि देउवालाई नै दलको नेता बनाइने प्रबल सम्भावना छ । आगामी दुई साताभित्रै दलको नेता चयन गरिने बुझिएको छ । पौडेल उपनेता र उपप्रधानमन्त्री बन्न राजी भएमा सर्वसम्मत र नभएमा निर्वाचनका माध्यमबाट भए पनि देउवा नै दलको नेता बन्ने विश्वास गरिएको छ ।
यसरी कांग्रेस संसदीय दलको नेता चयन भइसकेपछि कांग्रेसले सरकार परिवर्तनको निम्ति परिपक्व ढङ्गले पहल गर्ने भएको छ । सीधै अविश्वासको प्रस्ताव राखेर तत्काल (दुई वर्षसम्म) प्रधानमन्त्री हटाउन नसकिने संवैधानिक प्रावधान भएकोले सरकार बदल्न घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यतामा कांग्रेस छ । केपी ओली नेतृत्वको वर्तमान सरकार नहटेसम्म नेपाली जनताको दैनिक जीवन सामान्य नहुने र छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धमा पनि सुधार हुने स्थिति नभएकोले कांग्रेस सरकार बदल्ने निष्कर्षमा पुगेको हो । ०६३ देखि कुनै न कुनै रूपले निरन्तर सत्तामा रहँदै आएको नेकपा एमाले संसद्को दोस्रो ठूलो दलका रूपमा रहेकोले रचनात्मक प्रतिपक्षको भूमिकामा एमाले रहोस् भन्न चाहना कांग्रेसको छ ।
त्यसैले कांग्रेसले नयाँ सरकार गठनका निम्ति एमालेबाहेकका दलहरूसँगको छलफललाई घनीभूत रूपमा अगाडि बढाउने भएको छ । मधेसी मोर्चासँगै सकेसम्म एमाओवादीलाई पनि सरकारमा सहभागी गराउने सोच कांग्रेस नेतृत्वले बनाएको छ । कदाचित एमाओवादी एमालेसँगै ‘सती जाने’ भयो भने दुई प्रमुख वामपन्थी समूहलाई प्रतिपक्ष भूमिकाका लागि छोडेर बाँकी सबै दलहरूलाई नयाँ सरकारमा सामेल गर्ने सोच कांग्रेस नेतृत्वको छ । केपी ओलीलाई हटाउन प्रधानमन्त्री पद प्रचण्डलाई सुम्पने पक्षमा भने कांग्रेस देखिएको छैन । सकेसम्म एमाओवादीलाई सत्ता साझेदार बनाउन कांग्रेस तयार भएको छ । एमाओवादीले एमालेलाई नछोड्ने या नछोडेको स्थितिमा मात्र कांग्रेसले बाँकी सबै शक्ति र व्यक्तिलाई समेटेर सरकार गठन गर्ने सोच बनाएको हो, घटना र विचारमा खबर छ ।
आगामी वैशाखभित्र सरकार बदल्ने कार्य सम्पादन भइसक्ने विश्वास सम्बन्धित पक्षले गरेको छ । त्यसैले अब ओली सरकारको दिनगन्ती सुरु भइसकेको छ र वैशाख मसान्त काट्न ओली सरकारलाई मुस्किल पर्ने देखिएको छ । शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै दैनिक जनजीवन सहज हुने र भारतसँगको सम्बन्ध पनि हार्दिकतापूर्ण बन्ने अपेक्षा गरिएको छ । तर, त्यसपछि मुलुकमा वामपन्थी कम्युनिस्टहरूले बेग्लै सकसको स्थिति पैदा गर्न सक्ने सम्भावनालाई भने इन्कार गर्न सकिँदैन ।
Sourse:Nepalese.org
No comments:
Post a Comment