चलचित्रमा अभिनय जीवन्त भयो भने राम्रो सन्देश जान्छ । अभिनयले कुनै खास प्रतिनिधि चरित्रलाई प्रतिविम्बित गरेको हुन्छ । समाजका विकृति, कुरीति हटाउन, समाज सुधार्न चलचित्रको ठूलो भूमिका हुन्छ । चलचित्र हेरिसकेपछि दर्शकले समाज देख्छ, देख्नुपर्छ ।
मेरा फिल्ममा खासगरी समाजमा दबिएका महिलाका आवाज हुन्छन् । जीवनलाई नै हामीले चलचित्रमा उतारेका हुन्छौँ । हाम्रो गाउँ-समाजको जीवन चलचित्रमा आउँछ । समाजमा पुरुषको तुलनामा महिला पछाडि छन्, दबिएका छन् । त्यसैले मेरा फिल्ममा महिलाको आवाज हुन्छ । दबिएको, अप्ठेरो र असमान ठाउँबाट उठ्न नारीले गर्ने संघर्षलाई मैले फिल्मको मूल कथा बनाएकी हुन्छु ।
बुवाको दाहसंस्कार हुँदा सोधियो- कुन फिल्मको सुटिङ हो ?
नारायणघाटको बगरमा नाचिरहेकी थिएँ, फोन आयो- बुवालाई हस्पिटल भर्ना गरिएको भनेर । तर, बुवालाई केही हुँदैन भन्नेमा ढुक्क थिएँ । राति १० बजे मलाई ठूलो दाइले फोन गर्नुभयो । दाइले अलि अस्वाभाविक पारामा भन्नुभयो, ‘बहिनी भए पनि हामीले तँलाई जान्ने-बुझ्ने ठानेका छौँ । तँ बुझ्ने छस्, हुनेहुनामीसँग दुःखमनाउ गर्दिनस् ।’
दाइले भन्न खोजेको मैले बुझिसकेकी थिएँ । अँ, अँ भन्दै म एकोहोरिन पुगेँछु । हेयर ड्रेसरले मेरो हातबाट मोबाइल खोसे ।
फिल्ममा लोग्ने खसेको दृश्यमा, बुवा खसेको दृश्यमा डाँको छोडेर रोइन्छ । तर, वास्तविकता पत्याउनै गाह्रो हुँदो रैछ । म एकछिन टोलाएपछि मात्रै रोएँ । त्यसपछि हामी काठमाडौं आयौँ । त्यस रात कस्तो राम्रो चन्द्रमा लागेको थियो ।
रातमा चन्द्रमा देख्दा म सधैँ रोमाञ्चित हुन्थेँ, संसारै रंगी-विरंगी देख्थेँ । चन्द्रमा मेरो पि्रय थियो । चन्द्रमा सधैँ मसँगै भइरहोस् भन्ने लाग्थ्यो । गुडिरहेको गाडीबाट चन्द्रमा पनि म सँगसँगै हिँडिरहेको थियो । तर, त्यस दिन चन्द्रमा मलाई अपि्रय लाग्यो, आँखालाई बिझाइरहेको थियो । म रुँदै-रुँदै काठमाडौं आएँ ।
भीड थियो, कताकताबाट दर्शक आएर दुई-तीनपटक नै सोधे, ‘दिदी, कुन फिल्मको सुटिङ हो ?’ मलाई रिस उठ्यो, स्वाभाविक रुपले झर्किएँ
बुवाको दाहसंस्कार आर्यघाटमा हुँदै थियो । झट्ट हिम्मतवाली देखिए पनि, अन्य कुरामा साहसी भए पनि मैले मान्छे जलाएको हेर्नै सक्दिनँ । तर, जीवन न हो, मैले बुवाको पार्थिव शरीरलाई चितामा घुमाउँदै थिएँ, दागबत्ती दिँदै थिएँ । म गहिरो शोकमा थिएँ । जीवनका महत्त्वाकांक्षा, रिस, द्वैष, सम्पत्ति, सफलताको मोहलाई निरर्थक महसुस गर्दै थिएँ । तर, कतिपय दर्शकलाई त्यो अभिनय लागेछ । भीड थियो, कताकताबाट दर्शक आएर दुई-तीनपटक नै सोधे, ‘दिदी, कुन फिल्मको सुटिङ हो ?’ मलाई रिस उठ्यो, स्वाभाविक रुपले झर्किएँ ।
नाच्न खोज्दा खुट्टै चल्दैनथ्यो
मेरा बुवाको पाँचजना दाजुभाइ । हाम्रा बुवाहरू ओखलढुंगाका मानिएका थापा खान्दान । पछि मोरङ सर्नुभएको ।
मोरङको झुर्कियामा म जन्मे । म पाँच वर्षकी हुँदा झुर्कियाबाट नजिकै सलकपुर भन्ने ठाउँमा सर्यौँ । हामी पाँच सन्तान हौँ । मेरा दुई दिदी, दुई दाइ हुनुहुन्छ, म कान्छी हुँ । हाम्रो जग्गा-जमिन राम्रै थियो । घरमा काम गर्नेहरू पनि हुनुहुन्थ्यो । कान्छी छोरी भएकीले सबैको प्यारले हुर्किएँं ।
मेरी जेठीदिदी र ठुल्दाइ असाध्यै राम्रो नाच्ने । स्थानीय क्लबले विभिन्न अवसरमा सांस्कृतिक कार्यक्रम गरिरहन्थ्यो । मेरा दाइदिदीहरू नाच्नुहुन्थ्यो । म सात-आठ वर्षकी हुँदी हुँ, उहाँहरूलाई पछ्याएर जान्थेँ । तर, उहाँहरूले मलाई सँगै लैजान मान्नुहुन्नथ्यो । एक दिन दिदीले भन्नुभयो, ‘तँलाई नाच्नै आउँदैन, किन आउँछेस् ? तँभन्दा सानासाना कति राम्रो नाच्छन्, जा तँलाई त बहिनी भन्न पनि लाज लाग्छ ।’
Source: Onlinekhabar.com
No comments:
Post a Comment