माघ ११ गते दिल्लीबाट काठमाडौं उड्ने तयारीमा रहेको एअर इन्डियामा बम रहेको हल्ला फिँजाइयो । उक्त विमान खोजतलास गर्दा त्यसमा बम नरहेको पुष्टि भयो ।
-दुइदिनपछि नै माघ १३ गते नै दिल्लीबाट काठमाडौंका लागि उड्न तयार रहेको जेट एअरको विमानमा बम रहेको हल्ला फिँजाइयो । उक्त जहाज पनि खोजतलास गर्दा बम नरहेको पुष्टि भयो ।
-चैत ४ गते इन्दिरा गान्धी विमानस्थल दिल्लीबाट काठमाडौं उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा बम रहेको हल्ला चल्यो । दिल्ली विमानस्थलको रन वे मा रहेको जहाजलाई ट्याक्सी वे हुँदै विमानस्थलको छेउमा लगियो । दमकल र कुकुरसहितका सुरक्षाकर्मीले जहाज घेरा हालेर छानविन प्रक्रिया अघि बढाए । त्यही दिनमा दिल्ली विमानस्थलमै एयर इन्डियाको विमानमा पनि बम रहेको हल्ला केहीबेर चल्यो । तर बम एअर इन्डियामा होइन, नेपाल एअरलाइन्समा हो भन्ने अर्को हल्ला चलेपछि कडा रुपमा चेकजाँच गरिएको थियो । मधेसवादी दलका शीर्ष नेताहरु समेत रहेको उक्त जहाजमा बम रहेको हल्लापछि उडान भोलिपल्टसम्मका लागि स्थगित गरियो ।
-आइतबार चैत्र १४ गते दिल्लीबाट काठमाडौं उडेको जहाजमा बम रहेको भनी दिल्ली विमानस्थलमा अज्ञातस्थलबाट फोन आयो । त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि जेट एअरको जहाजलाई छेउ लगाइ खोजतलास गरियो । नेपाली सेनाको बम डिस्पोजल टोली र प्रहरीले बम नरहेको पुष्टि ग¥यो ।
भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको जहाजमा बारम्बार बम छ भनेर कसले र किन हल्ला फिजाउँदै छ ?
नेपाल आउँदै गरेको विमानमा बम छ भनेर बारम्बार हल्ला फैलिँदा नेपालको सुरक्षा व्यवस्था अत्यन्त कमजोर छ भनेर अन्तर्राष्ट्रिय रुपमा नेपालको बेइज्जत हुन्छ । बम नभेटिएको समाचारलाई कसैले वास्ता गर्दैन तर बम भएको समाचारले ठूलो त्रास फैलाउँछ, त्यसैले पनि यो हल्ला फैलाईएको हुनसक्छ ।
भारत लगायत कतिपय देशले नेपालको अन्तर्राष्ट्रिय उडानको सुरक्षामा बढी भूमिका खोजिरहेको हुनाले पनि त्यस्तो हल्ला गराउन खोजिएको हुनसक्ने विज्ञ तथा सुरक्षाविद्हरूको भनाई छ । साथै सुरक्षा एजेन्सीको ध्यान भंग गरेर अर्को स्थानमा आतंककारीले आक्रमण गर्न खोजेको पनि हुनसक्ने अनुमान छ ।
नेपालमा सुरक्षा कमजोर रहेको सोचका कारण काठमाडौं उडने विमानमा बम भएको हल्ला सहजै पत्याउने कारणले पनि सो हल्ला चलाइएको हुनसक्ने विज्ञको भनाई छ । सबैभन्दा महत्वपूर्ण कारण, जसले जे कारणले हल्ला चलाएको भएतापनि नेपाललाई जोडेर चलाउँदा नेपालका सुरक्षा संयन्त्रले धेरै खोजी नगर्ने कारणले पनि हल्ला चलाईएको हुनसक्दछ ।
सुरक्षाविद डा. दीपक भट्टले यसरी पटक पटक विमानमा बम छ भनेर त्रसित बनाइनुको असर नेपाल र भारतलाई मात्रै नभइ अन्तर्राष्ट्रिय सुरक्षासँग पनि जोडिएको बताउँछन् ।
“नेपाल आफैं आन्तरिक सुरक्षामा वलियो हुनुपर्छ,” भट्टले बाह्रखरीसँग भने, “भारतको कुरा मात्रै नभएर अन्तराष्ट्रिय सुरक्षाको विषय जोडिएको हुनाले नेपालको सुरक्षा संवदेनशील हुनुपर्छ ।”
उनले हल्ला फैलिएको केहीदिनमै सेलाउने गरेकाले गहिराइमा नपुगे नेपाललाई दिगो रुपमा असर पर्न सक्ने बताए ।
“भारतले नेपालको विमानस्थल असुरक्षित छ भनेर यस्तो हल्ला गरेको रहेछ भनेपनि नेपालको पर्यटनमा असर पर्न जान्छ,” उनले भने, त्यसैले नेपालले यो विषयमा गम्भीर हुनु पर्दछ ।
उनका अनुसार भारतले नेपालको विमानस्थलमा सुरक्षा कमजोर रहेको औंल्याउँदै यसअघि पनि एअरमार्सल राख्न पाउनुपर्ने माग गरेको थियो ।
क्षेत्रीय विमानस्थल निर्माणमा पनि भारतले बेला बेला चासो देखाएको उल्लेख गर्दै विमानमा बम रहेको हल्लाप्रति निकै सचेत रहेर नेपालले आफ्नो सुरक्षा व्यवस्था मजबुद बनाउनुपर्ने बताए ।
नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलले अन्तर्राष्ट्रिय आतंकवादी संगठनले भारतलाई निशाना बनाएको बताउँदै यस्ता हल्लाहरु अहिले भारतबाटै आउने गरेको बताए । यसलाई चुनौती सम्झेर नेपालको सुरक्षालाई मजबुद बनाइनुपर्ने उनको भनाई छ ।
“समयसापेक्ष स्रोत साधनले भरिपूर्ण बनाएर सुरक्षा परिचालन गर्नुपर्छ,” उनले भने, “यसमा सरकारको ध्यान पहिले पनि थिएन र अहिले पनि जान सकेको छैन ।”
आतंककारीको काम नै यसरी हल्ला फैलाउने भएको बताउँदै एकातिर हल्ला फैलाएर अर्को ठाउँको खोजीगरिरहने हुनाले पनि थप चनाखो हुनुपर्ने बताए ।
“बेल्जियम जस्तो कडा सुरक्षा व्यवस्था रहेको ठाउँमा पनि आतंकवादीले बम विस्फोट गराए भने नेपालजस्तो मुलुकमा धेरै सचेतना अपनाउनुपर्छ,” उनले भने, “हल्लाबाट पाठ सिकेर अघि बढ्नुपर्छ ।”
त्यसैगरी नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकालले पनि विमानमा बम रहेको हल्ला पहिलेदेखि नै भारतबाट आउने गरेको सुनाए ।
उनले नेपालले यसबाट पाठ सिकेर सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने धारणा राखे ।
“सबैभन्दा धेरै अफवाह भारतबाटै आउँछ,” उनले भने, “यसले नेपालको सुरक्षालाई चुनौती दिएको छ । अपराधीले भोलीको दिनमा कसरी अघि बढ्ने भनेर सिक्नको लागि यस्ता हल्ला फैलाइएको हुन सक्छ ।”
उनले पनि हल्ला आफैं विस्तारै सेलाउँदै जाने परिपाटी रहेकाले गहिराइमा पुगेर अनुसन्धान जरुरी रहेको बताए ।
“हल्ला चल्छ तर यहि बेलामा मात्रै सुरक्षा कडा बनाइन्छ तर पछि त्यो आफैं सेलाउँदै जान्छ,” उनले भने, “यसको गहिराइमा पुग्न जरुरी छ । अहिले सामान्य रुपमा गरेको हल्लाले भोली असर पुर्याउन सक्छ । विमानस्थल सुरक्षाका लागि पर्याप्त स्रोत साधनसहित गुप्तचर निकायलाई सक्रिय बनाउनुपर्छ ।”
source:baahrakhari.com
No comments:
Post a Comment