Monday, March 21, 2016

चीनले नेपाललाई पारवाहन सुविधा दियाे

  • पारवहन तथा यातायात सम्झौता
  • हिल्सा यारीमा पुल निर्माण तथा मर्मत सम्भार सम्झौता
  • पोखरा विमानस्थ सम्वन्धी तीन सम्झौता (प्राविधिकपक्ष, निर्माणकार्य र २१ अर्ब सहुलियतपूर्ण ऋण )
  • चीनलाई उपहार, नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन समझदारी
  • नेपालको व्यापार प्रवद्र्धन सम्भाव्यता अध्ययन समझदारी
  • नेपालमा चिनियाँ बैंकको शाखा खुल्ने समझदारी
  • ४० करोड रुपैयाँ बराबरको ३२ हजार सोलार प्यानल प्रदान

 

 

नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौतालगायत १० सहमति तथा सम्झौता भएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच बेइजिङको जनबृहत् सभाभवनमा सोमबार भेटवार्ता भएपछि उनीहरूको उपस्थितिमा ती सम्झौता र सहमति भएका हुन् ।

  • लामो समयदेखि भारतसँग मात्र पारवहन सुविधा लिँदै आएको नेपालले भूपरिवेष्ठित मुलुकले पाउने अधिकारका रूपमा चीनसँग पनि पारवहन तथा यातायात सम्झौता गरेको हो । पारवहन तथा यातायात सम्झौता उपप्रधान तथा परराष्ट्रमन्त्री स्तरमा भएको हो । दुई मुलुकबीच हुम्लाको हिल्सा र तिब्बतको यारी जोड्ने पुल बनाउने र त्यसको मर्मत तथा सम्भार गर्ने सम्झौतासमेत भएको छ ।

    नेपालले चीनसँग पारवहन सम्झौता गरे पनि यसको प्रत्यक्ष लाभ तत्काल पाउने अवस्था भने छैन । नेपालले चीन भएर तेस्रो मुलुकबाट तत्काल कुनै व्यापार गर्ने अवस्था छैन । यो सम्झौताले भविष्यमा काजकिस्तान लगायत अन्य मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्दा नेपालले चीनको भूमि प्रयोग गर्न मार्ग प्रशस्त भएको छ । चिनियाँ विद्युत लाइन र रेलवे सेवा नेपाली सीमा क्षेत्रमा पुगेपछि नेपालले यसको केही अवसर सदुपयोग गर्न पाउनेछ । यही अधिकारमा नेपालले चिनियाँ बन्दरगाहको पनि प्रयोग गर्न पाउने निश्चित भएको छ ।

    बहु अपेक्षित पेट्रोलियम पदार्थ आयातबारे भने चीनसित कुनै सम्झौता वा सहमति हुन सकेन । पाँच महिना अगाडि पेट्रो चाइनासँग नेपाल आयल निगमले खपतको एक तिहाइ इन्धन आयात गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । तर त्यसपछिका बार्ता र अध्ययन अपुरो भएको भन्दै चीनले पूर्वाधार निर्माणपछि मात्र यसबारे सम्झौता हुने जनाएको भ्रमण टोलीमा सहभागी एमाले सांसद रवीन्द्र अधिकारीले कान्तिपुरलाई बताए ।


    यसको सट्टा नेपालमा पेट्रोलियम पदार्थको संभाव्यता अध्ययन गर्न चीनले सघाउने विषयमा पत्र आदानप्रदान भएको छ । चीनले लामो समयदेखि नेपालमा पेट्रोलियम पदार्थ अन्वेण गर्न खोजिरहेको थियो । ‘नेपालमा चीनबाट कसरी पेट्रोल आयात गर्ने भन्ने विषयसँगै चीनले नेपालमै पेट्रोल उत्खननको संभावनाबारे चासो राखेको छ’ एक नेपाली अधिकारीले भने, ‘नेपालले इन्धन आयातको प्रस्ताव गरेको भए पनि चीनले पूर्वाधार निर्माणपछि मात्र सम्झौता गर्दा राम्रो हुने सुझाव दिएकाले अहिले नेपालमा पेट्रोलियम उत्खनन संभाव्यता सम्बन्धी सम्झौता भएको हो ।’

    पोखरा एयरपोर्ट निर्माणका लागि नेपालले चीनसँग तीन सम्झौता गरेको छ । दुई सम्झौतामा अर्थमन्त्री विष्णु पौडेल र ऋण सम्झौतामा अर्थमन्त्रालयका प्रमुख बैदशिक महाशाखा प्रमुख बैकुण्ठ अर्यालले हस्ताक्षर गरेका छन् । पोखरा एयरपोर्टलाई क्षेत्रीय रुपमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भएको सम्झौतामा चीनले नेपाललाई २१ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्नेछ । यो रकममध्ये २५ प्रतिशतमा चीनले ब्याज मिनाहा गर्नेछ भन बाँकी ७५ प्रतिशतमा सहुलियतपूर्ण ब्याज तिर्नुपर्ने उल्लेख छ । पोखरा विमानस्थल बनाउन चीनले पहिलेदेखि नै सहयोग गर्ने चासो व्यक्त गर्दै आएको थियो । पोखरामा महावाणिज्य दूताबास खोल्न समेत उनले नेपालसामु प्रस्ताव गरिरहेको छ ।

    दुई मुलुकबीच चीनमा नेपालको व्यापार वृद्धि गर्ने संभाव्यता अध्ययन गर्न चिनियाँ सरकारले सहयोग गर्ने सझदारी पनि भएको छ ।  उक्त समझदारी बाणिज्य मन्त्री दिपक बोहोराको स्तरमा भएको हो । यस अन्तर्गत नेपाली उत्पादनलाई चीनमा प्रवद्र्धन गर्न तथा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय पहुँचमा पुर्‍याउन चीनले आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ ।

    नेपाल र चीनबीच बौद्धिक सम्पत्ति संरक्षण अधिकारको विषयमा सम्झौता भएको छ । विशेष गरी उत्पत्तिको अधिकार र कपिराइट सम्बन्धी अधिकारलाई यो विषयले सम्बोधन गरेको छ । यसले दुवै देशलाई हित गर्ने भनी चीनले नेपालसमक्ष प्रस्ताव गरेको थियो । चीनले नेपाललाई ३२ हजार सोलार प्यानल सहयोग स्वरुप दिने पनि सम्झौता भएको छ । लगभग ४० करोड रुपैयाँ बराबरका ती सोलार प्यानलहरू नेपालको तजबिजमा जडान गरिने गरी सम्झौता भएको दूतावास अधिकारीले जनाए ।

    नेपालमा चिनियाँ बैंकको शाखा खोल्ने अर्को समझदारी भएको छ । यसमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल र चिनिया जनबैंकका गभर्नर चौ स्याउ छ्वानले हस्ताक्षर गरेका छन् । यो सम्झौताले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता तथा अन्य चिनियाँ व्यवसायीलाई सजिलो हुनेछ । चिनियाँ बैंकको शाखा नेपालमा खोलेर विभिन्न क्षेत्रमा चिनियाँ लगानी प्रवद्र्धन गर्ने हेतुले यो समझदारी भएको हो । भविष्यमा नेपाली बैंकले पनि चीनमा आफ्नो शाखा खोल्न पाउने बाटो यो समझदारीले खोलेको छ ।

    संझौता तथा समझदारीहरूपछि नेपाली भ्रमण टोलीका अधिकारीहरू उत्साही छन् । यी उपलब्धिले नेपाल र चीनबीचको घनिष्ट सम्बन्ध उजागर भएको उनीहरूको भनाई छ ।

    प्रधानमन्त्री ओलीले सोमबार साँझ चिनियाँ राष्ट्रपति सी जिन पिङसँग शिष्टाचार भेट गरेका छन् । उनले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् । ओलीले समकक्षी लि खछ्याङाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

    चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका मन्त्री सोङ थावोले प्रधानमन्त्री ओली तथा नेपाली प्रतिनिधिमन्डलको सम्मानमा रात्रिभोज दिएका थिए । रात्री भोजमा पनि सबै जसो चिनिया नेताको उपस्थिती थियो । प्रधानमन्त्री ओलीले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिका अध्यक्ष यु चङ सङसँग पनि भेट गरे ।

    प्रधानमन्त्री ओली र चिनियाँ नेतृत्वबीचको भेटबारे मंगलबार संयुक्त विज्ञप्ति जारी हुनेछ । उक्त विज्ञप्तीमा इन्धन समझदारी र तातोपानी नाका खोल्ने विषयहरू उल्लेख हुने जनाइएको छ ।

    तस्बिरहरुः रोयटर्स

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts