Friday, March 18, 2016

‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ किन ?

गंगा श्रेष्ठ

एउटा प्रचलित कथा छ, गौतम बुद्धका एक शिष्य जो सरसफाई गर्न अति नै अल्छी गर्दथे, सायद उनलाई यो काम सानो वा अपि्रय लाग्दथ्यो । यो कुरा चाल पाएर एक दिन बुद्धले शिष्यलाई भने, ‘अबदेखि तिमी सरसफाई गर्दा मनमा यो विचार राख्दै सफाईको काम गर कि तिमीभित्र भएको विकार, अहं तथा क्रोधको पनि सफाई गर्दै छौँ । यसबाट तिम्रो घरको मात्र सफाई हुने छैन कि तिम्रो मन पनि सफा हुनेछ- निर्मल पानीजस्तै । अर्थात् सफाई बाहिर पनि जरुरी छ र भित्र पनि, जो स्वास्थ्यका दृष्टिकोणले अनिवार्य छ ।

Ganga-shresthaयसै प्रसंगमा, आजकाल धेरै मानिसहरू भन्छन्, ‘यो काठमाडौंमा कति फोहोर बढेको, प्रदूषण पनि कति कति बस्नै गाह्रो भो ?’ कोही महानगरपालिकालाई धिक्कार्छन् त कोही सरकारलाई । आखिर, समस्या त हामी सबैले भोगेकै छौं । अझ पर्यटकले यसलाई के भन्दा हुन् ? यहाँबाट फर्केपछि कसरी यहाँको वर्णन गर्दा हुन् ? राम्रो देश, मानिस गतिला, तर सारै फोहोर भन्दा हुन् कि ? नेपाली सभ्यतामाथि कस्ता खाले टिप्पणी गर्दा हुन् ? आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन व्यवसायलाई यसले कस्तो असर पारिरहेको होला ? यो समस्या सबैको हो भने समाधान पनि सबै मिलेर गर्ने कि वा सरकारलाई जिम्मा दिने ? सबैले गम्भीर भएर सोच्ने बेला आएन र ?

भनाई छ, कुनै चिज गलत ठाउँमा राख्नु नै फोहोर हो । फोहोर अव्यवस्थित हुनुमा सहरबासीको जति दोष छ, सरकारी निकायको त्योभन्दा बढी अर्कमण्यता । यहाँसम्म कि, सरकारी निकायहरूको आपसमा समन्वय समेत देखिँदैन । सडक बन्दै जान्छ, खाने पानी खन्दै जान्छ, विद्युत्का पोल र तार जथाभावी यस्तै-यस्तै । व्यवस्थित सहरी योजना र सहरबासीमा सहर सफा राख्ने दृढ चाहना भयो भने मात्र फोहोरको व्यवस्थापन राम्रोसँग गर्न सकिने छ । फोहोरको प्रयोग, पुनः प्रयोग र रिसाइकल गर्न सकिने छ परिणामतः जमिन, हावा र पानी सबै शुद्ध हुनेछन् ।

त्यस्तै हरियोको बारेमा त झनै उराठलाग्दो अवस्था छ । घरमाथि घर थपिएका छन्, जुन व्यवस्थित सहरीकरणको अवधारणा अनुरुप छैनन् । न्यूनतम दमकल छिर्न सक्ने बाटो हुनुपर्दथ्यो जुन धेरै ठाउँमा छैन । मानवीय र भौतिक सुरक्षाका दृष्टिले जोखिमपूर्ण छ । रुख-बिरुवाको त झन् के कुरा, सहरै उजाड जस्तो । बाटो, घर, सरकारी कार्यालयहरू, पाटी, पौवा, सार्वजनिक स्थलहरू सबैतिर हरियाली हुनुपर्ने हो, तर छैन ।

धुलो, धँुवा, फोहोर नै काठमाडौंको चिनारी बनिरहेको छ । मानिसहरू बिहान मर्निङवाक गर्दा पनि अक्सिजन नपाएजस्तो, निसासिएजस्तो, स्वास्थ्यको झन् के कुरा । यस्तोमा बिमारी, बालबालिका, बूढाबूढीको अवस्था झनै चिन्ताजनक । हुनतः विगतका सरकारले धेरै पहिलेदेखि नै व्यवस्थित सहर बनाउन काम गर्नुपर्ने हो, अब सबै सचेत हुन जरुरी छ, गएको विनाशकारी भूकम्पले पनि हामीलाई ठूलो पाठ सिकाएको छ ।

गि्रनका बारेमा अन्तर्राष्ट्रिय राजनीति सुरु भएको पनि केही दशक भइसक्यो । खासगरी जलवायु परिवर्तन सम्बन्धमा । यसमा मुख्यतः दुई पक्षहरू छन्- धनी, औद्योगिक राष्ट्रहरू जलवायु परिवर्तनका लागि मुख्य कारक मानिएको ‘कार्बन उत्सर्जन’ मा बढी योगदान गर्छन्, वायुमण्डललाई प्रदूषित र तापमान बढाउँदै छन्- खासगरी अमेरिका, चीन, जापान, पश्चिमी युरोपका प्रायः देशहरू ।

उनीहरू गरिब देशलाई केही सहयोग गर्दछन् प्रकृति संरक्षणका नाममा । गरिब देशलाई रुख रोप्न, संरक्षण गर्न लगाई हरितगृह प्रभावलाई कम गर्न तथा कार्बन ट्रेडिङ गर्न चाहन्छन् तर आफू कार्बन उत्र्सजन कम गर्न चाहँदैनन् । अर्कोतर्फ अति कम विकसित राष्ट्र छन् जो जलवायु परिवर्तनको असरका कारण धेरै समस्या भोग्दै छन् जस्तै बाढी, पहिरो, हिउँ स्खलन, समुद्री सतह बढ्नु, अल्प वृष्टि, अति वृष्टि, सुक्खा आदि र यसले पार्ने असर । यी देशहरूमा यी समस्याहरूसँग जुध्ने क्षमता धेरै कम छ, त्यसैले यी देशहरू विकसित तथा औद्योगिक राष्ट्रहरूसँग सामान्य सहयोगभन्दा क्षतिपूर्तिको समेत माग गर्दै छन् ।

युएन स्रोतका अनुसार, जलवायु परिवर्तनका कारण सन् १८८० देखि २०१२ सम्म विश्व तापक्रम ०.८५ डिग्री सेन्टिग्रेटले बढेको छ । सन् १९९० देखि विश्व वातावरणमा कार्बनडाइअक्साइड ५० प्रतिशतले बढेको छ । यस्तो अवस्थामा सबैको प्रयास जरुरी छ । संयुक्त राष्ट्र संघमार्फत आगामी २०३० सम्म तय गरिएको दिगो विकासका लक्ष्यमध्ये ‘जलवायु परिवर्तन’ को विषय प्रमुख एक हो । नेपालले पनि अनुकूलन क्षमता बढाउन र जलवायु परिवर्तनका असरहरू कम गर्न वातावरण संरक्षण ऐन २०५३ र नियम २०५४, नीति २०६७ ल्ाागू गरिसकेको छ तर प्रभावकारी काम अझसम्म देखिएको छैन । यसलाई प्रभावकारी रुपले अगाडि बढाउन सानातिना परियोजनाभन्दा पनि राष्ट्रव्यापी जागरण र अभियान जरुरी देखिन्छ ।

‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ किन ?

देशले प्राप्त गरेको राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्दै, अब विकासको पथमा लम्किनुपर्ने आमनेपालीको चाहना हो । यो अभियान, विश्वास गर्दछ कि, दिगो विकास (सामाजिक, आर्थिक अनि पर्यावरण) नै आजको आवश्यकता हो । त्यसका लागि प्रत्येक व्यक्तिको, गाउँ, सहरको अनि देशको विकास हुन जरुरी छ । आ-आफ्नो घर, गाउँ, टोल, सहरलाई सफा हराभरा गराउनु प्रत्येक नेपालीको साझा कर्तव्य पनि हो । राजनीतिक दलहरूको अबको कार्यभार भनेको विरोधका लागि विरोध र हिंसात्मक राजनीतिभन्दा जनहितका पक्षमा र देशको उन्नतिका लागि कार्य गर्नु हो । यही आवश्यकता महसुस गर्दै ‘क्लिन काठमाडौं, गि्रन काठमाडौं’ अभियान सञ्चालन गर्न लागिएको हो ।

अभियानका उद्देश्य

१. जनमानसमा सफा र हराभरा सहर निर्माण गर्न उत्प्रेरित गर्नु ।

२. नीति, निर्माता, कार्यान्वयन गर्ने सरकारी निकायहरू, सम्बन्धित संघ-संस्थालाई व्यवस्थित सहरी योजना निर्माण र कार्यान्वयनमा रचनात्मक सहयोग गर्ने । साथै अव्यवस्थित फोहोर व्यवस्थापनका लागि सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु ।

३. देशको विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक धरोहर, नदीनाला, सार्वजनिक स्थलहरूको संरक्षण गर्दै आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन विकासमा सहयोग पुर्याउनु ।

४. यो अभियान देशभरिका सहरहरूमा क्रमशः विस्तार गर्न प्रयास गर्नु ।

अभियानको स्वरुप र सहभागिता

यो अभियान हाललाई केवल २४ हप्ता (१२ हप्ता क्लिन र १२ हप्ता ग्रिरन) सम्म चल्ने छ । यो प्रतीकात्मक प्रयास र नगरलाई सफा हराभरा बनाउने प्रक्रियाको आरम्भ मात्र हो । हामीलाई थाहा छ, ६ महिने अभियानले सहर सफा हुने होइन, तर बहसको सुरुवात हुन सक्छ, मानिसमा जागरण पैदा गर्न सक्छ, नीति निर्मातामा रचनात्मक दबाब सिर्जना गर्न सक्दछ । त्यसैले यसका् लागि पत्रकार, युवा, विद्यार्थीहरू, व्यवसायी, राजनीतिक दलहरू, सम्बन्धित संघ-संस्थाहरू तथा महानगरपालिका र अन्य सम्बन्धित सरकारी निकायहरूसँग समन्वय, छलफल, अन्तक्रिर्या कार्यक्रमहरू विगत केही समयदेखि गर्दै आएका छौँ । २४ हप्तापछि अभियानको बृहत् समीक्षा गर्ने छौं र थप अभियान सञ्चालनका लागि नयाँ कार्ययोजना बनाउने छौं ।

यसका साथै, अभियानले ‘प्रतीकात्मक’ रुपमा विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक धरोहरहरूको प्रत्येक शनिबार बिहान ७-९ बजेसम्म दुई घन्टा सरसफाई गर्ने योजना बनाएको छ । यसकोे शुभारम्भ २०७२ चैत्र ६ गते शनिबार पशुपति क्षेत्रबाट हुनेछ । ‘क्लिन काठमाडौं, गि्रन काठमाडौं’ आजको आवश्यकता हो । त्यसैले हामी यो अभियानलाई सबैको साझा अभियानका रुपमा मान्दछौं न कि कुनै संस्था या दल विशेषको । त्यसैले यस अभियानलाई प्रत्येक जनसम्म पुर्याउन र राज्यलाई दबाब दिन सञ्चारकर्मी, देशको मेरुदण्डको रुपमा रहेको विकासको संवाहक युवाशक्ति, सम्बन्धित सरकारी तथा गैरसरकारी क्षेत्र, उद्योग व्यवसायी, पर्यटन व्यवसायी, राजनीतिक दलहरू तथा आमनगरवासीहरूको रचनात्मक एवं सक्रिय सहभागिताको हामी अपेक्षा गर्दछांै ।

अन्तमा, आउनुहोस् सबै मिलेर, हाम्रा गाउँ, सहर सफा राखाैं, हराभरा बनाऔं, आखिर हामीले नगरे कसले गर्ने ?

(लेखक ‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ अभियानका संयोजक हुन्)

 Source: onlinekhabar.com

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts