चैत्र ५, २०७२- सौराहास्थित प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र परिसरमा शुक्रवार युवतीको भीड थियो । सबै एउटै पोशाकमा सजिएका थिए । केही भने समूहमा बसेर छलफलमा ब्यस्त थिए ।
पहिलोपटक सौराहा आएका उनीहरु दंग देखिन्थे । वन्यजन्तु तथा प्रकृति संरक्षण बारेमा जानकारी दिने उद्देश्यले ‘फ्यान्टा द हिडन ट्रेजर मिस नेपाल २०१६’ का सहभागी काठमाडौंदेखि यहाँसम्म आएका हुन् ।
प्रकृति संरक्षण कोषले उनीहरुलाई यहाँ ल्याएको हो ।
नौलो ठाउँमा घुम्न र संरक्षणबारे जानकारी लिन पाउँदा सहभागीहरु प्रफुल्ल थिए । सहभागीमध्ये केही हात्ती सफारीमा रमाए । प्रतिस्पर्धामा यसपटक १९ जना सहभागी छन् ।
‘संरक्षण र सुन्दरीसँग नाता जोडिएजस्तो लाग्छ,’ आत्मबल उच्च पार्दै प्रतिस्पर्धी सिर्जना रेग्मीले भनिन्, ‘त्यही भएर चितवनको बसाई फलदायी हुने अपेक्षा गरेको छु ।’ बीबीएस सकेकी उनी काठमाडौं बालाजु बस्छिन् । उनको आडैमा रहेकी काठमाडौं कीर्तिपुरकी २१ बर्षिया आश्मा केसीले मिस नेपालमा सहभागिता जनाएको ३ हप्तामै आफूमा धेरै परिवर्तन आएको बताइन् ।
पहिलोपटक सौराहा आएकी पोखराकी २२ बर्षिया प्रतिभा दवाडी हर्षित देखिन्थिन् । ‘सौराहाका बारेमा धेरै कुरा सुनेको थिएँ,’ उनले भनिन्, ‘सोचेभन्दा राम्रो ठाउँ रैछ ।’
Source: ekantipur.com
No comments:
Post a Comment