Thursday, March 17, 2016

संस्थापनलाई जिल्लाउँदै ट्रम्पको अर्को महत्त्वपूर्ण जित

दिनेशजंग शाह, न्युयोर्क

चैत्र ३, २०७२- आगामी नोभेम्बरको राष्ट्रपति निर्वाचनका लागि जारी पार्टी मनोनयनको प्रतिस्पर्धामा रिपब्लिकन पार्टीका तर्फबाट ‘रियल स्टेल बिलिनियर’ डोनाल्ड जोन ट्रम्पले मंगलबार राति महत्त्वपूर्ण जित हासिल गरेका छन् ।

डेमोक्रयाट पार्टीतर्फ भने हिलारी क्लिन्टनले मंगलबारको सम्पन्न पाँचमध्ये चार राज्य आफ्नो पक्षमा पारेकी छिन् जसले उनलाई मनोनयनको निकट पुर्‍याएको छ । पार्टीको संस्थापन पक्षको मनोनयन हुन नदिने रणनीति बाबजुद ट्रम्प फ्लोरिडाको प्रारम्भिक प्रतिस्पर्धामा घरेलु राज्यका सिनेटर मार्को रुबियोलाई हराउँदै सबै उन्नासौं (९९) डेलिगेट आफ्नो पक्षमा पारेका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा फ्लोरिडा राज्य महत्त्वपूर्ण मानिन्छ । फ्लोरिडाको अतिरिक्त इलोनोई र नर्थ क्लारोलिनामा समेत ट्रम्प हाबी भएका छन् । ९९ प्रतिशत मत गणनापछि पनि झिनो अन्तरले प्रतिस्पर्धी टेड क्रुजमाथि अग्रता हासिल गरेका ट्रम्पलाई मिजोरी राज्यमा भने विजयी घोषणा भने गरिएको छैन । त्यहाँको निर्वाचन कमिटीले त्यसको निर्णय गर्नेछ ।

मंगलबारसम्म ट्रम्पले बीसवटा राज्यमा जित हासिल गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एवं टेक्सास सिनेटर क्रुजले आठ राज्यलाई आफ्नो पक्षमा पारेका छन् ।  रिपब्लिकन पार्टी मनोनयनका लागि एक हजार दुई सय ३७ डेलिगेटको जरुरी पर्छ । ट्रम्पले अहिलेसम्म ६ सय ४० डेलिगेट अर्थात् मनोनयनका लागि चाहिने डेलिगेटको झन्डै ५५ प्रतिशत मत जितेका छन् । पार्टी संस्थापन पक्षबाट नरुचाइएका ट्रम्पको जितसँगै रुबियो राष्ट्रपतिको दौडबाट बाहिरिन बाध्य भएका छन् । क्युबाली मूलका युवा सिनेटर रुबियोलाई पछिल्लो समयमा संस्थापन पक्षको समर्थन रहेको थियो । रुबियोको बर्हिगमनलाई विश्लेषकहरुले ट्रम्पलाई रोक्ने रिपब्लिकन पार्टीको पछिल्लो रणनीति पनि धराशायी भएको टिप्पणी गरेका छन् । गत महिना साउथ क्लारोलिनामा हारसँगै संस्थापन पक्ष उम्मेदवार जेब बुस बाहिरिएलगत्तै रुबियोलाई संस्थापन पक्षको उम्मेदवारको रूपमा हेरिएको थियो ।

तेस्रो ‘सुपर टुज्जडे’ अन्तर्गत मंगलबारको प्रतिस्पर्धामा ट्रम्पलाई मनोनयन रोक्ने अभियानमा संस्थापन पक्षलाई केही राहत भने मिलेको छ । फ्लोरिडापछि धेरै डेलिगेट भएको ओहायोमा भने जोन केसिकले जित हासिल गरेका छन् ।

ओहायो राज्यका गभर्नरसमेत रहेका केसिकको राष्ट्रपति निर्वाचन अभियानकै यो पहिलो जित हो । रुबियो प्रतिस्पर्धाबाट बाहिरिएपछि केसिक अब एक मात्र संस्थापन पक्षीय उम्मेदवार हुन् । ट्रम्पलाई जुनसुकै हालतमा रोक्न सक्रिय रिपब्लिकन संस्थापन पक्षका लागि अर्को उम्मेदवार एवं टेक्सास सिनेटर टेड क्रुज पनि नरुचाइएका व्यक्ति हुन् । अमेरिकी संघीय सरकारविरुद्व सन् २००९ देखि सुरु भएको अनुदारवादी अभियानको नेतृत्व गरेको ‘टी पार्टी’ पक्षधर क्रुज धारलाई पार्टी संस्थापन पक्षले अतिवादको पक्षपोषकको रूपमा चित्रण गर्दै आएको छ ।

मंगलबारको जितसँगै क्लिन्टनले प्रतिस्पर्धी बर्नी सेन्र्डससँगको दूरीलाई उल्लेखीय रूपमा वृद्वि गरेकी छन् । उदारवादी पार्टी मानिने डेमोक्रयाटतर्फ मनोनयनका लागि २ हजार ३ सय ८३ डेलिगेट चाहिन्छ ।
यता दुई उम्मेदवारबीचको प्रतिस्पर्धा रहेको डेमोक्रयाट पार्टीको मनोनयन दौडमा मंगलबार हिलारीका लागि निकै उपलब्धि रह्यो ।

मनोनयनको निकट रहेकी पूर्वविदेशमन्त्री क्लिन्टनले फ्लोरिडा, ओहायो, इलोनोई र नर्थ क्लारोलिनामा जित हासिल गरेकी छन् भने आफूलाई समाजवादी उम्मेदवारको रूपमा परिचित गराएका सिनेटर बर्नी सेन्डर्सले भने मिजोरीमा जित हात पारे । डेमोक्रयाट मनोनयनका लागि चाहिने २ हजार ३ सय ८३ डेलिगेटमध्ये क्लिन्टनले अहिलेसम्म १ हजार ५ सय ६१ डेलिगेट आफ्नो पक्षमा पारेकी छन् भने सेन्डर्सले ८ सय डेलिगेट जितेका छन् । दुवै पार्टीतर्फ मध्य, पश्चिम र उत्तर अमेरिकी क्षेत्रका बाँकी रहेका राज्यले मनोनयनको छिनोफानो गर्नेछ ।
–ekantipur

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts