काठमाडौं,पुष २७ । केही दिनअघि मात्र सिरिया, इराकलगायतका देशका विभिन्न भूभाग कब्जा गरेर इस्लामिक राज्य बनाउन भन्दै आतंक खडा गरिरहेको मुस्लिम अतिवादी संगठन आईएसका २१ वर्षीय अलि सकरबाट इस्लामिक स्टेटसँगको आबद्धता छोड्न आग्रह गरेको भन्दै आफ्नै ४५ वर्षीया आमा लीना अल कसिमको सार्वजनिक भीडकै अगाडि नृशंस हत्या गरियो । यो घटना सिरियाको राक्वा (जसलाई आईएसले २०१३ को अगस्टमा कब्जा गरेको थियो)मा भएको हो । यो प्रसंग यहाँ किन पनि जोडिएको हो भने हामी नेपालीमा सबैको प्रातःस्मरणीया, सम्माननीयाको रुपमा जननी र जन्मभूमिलाई आदर गर्ने संस्कार छ ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भनेर हामी जन्मदात्री आमा र जन्मिएको देश या भूमिलाई पूज्य र गौरवपूर्ण सम्मान अर्पण गर्छौँ । आफ्नै आमाको हत्या गर्न त के यस्तो सोचाइ राख्न समेत हामी कसैलाई पनि अन्तरात्माले नै दिँदैन । तर विगत १० वर्षदेखि उल्लिखित नृशंस र आततायी घटनाकै पर्यायझैँ नेपालमा नेपालकै सर्जक राजा पृथ्वीनारायण शाहप्रति त्यसअघि गरिँदै आएको सम्मान खोसेर अपमानित गरिँदै आएको छ । जसले नेपालको परिकल्पनामा आफ्नो जीवन समर्पण गर्यो, हामी सारा नेपालीलाई एकताको सूत्रमा बाँध्न अथाह परिश्रम गर्यो आज उनीमाथि वर्तमान गणतान्त्रिक राज्य व्यवस्थाले १० वर्षदेखि अन्याय गर्दै आएको छ ।
यसकारण उनी सम्माननीय व्यक्तित्व हुन्
पृथ्वीनारायणकालीन समाज आजभन्दा दुई सय ९३ वर्षअघिको हो । त्यतिबेलाको अविकसित कालखण्डमा पनि एकताको आह्वान गर्दै आजको नेपालको परिकल्पना गरेर त्यसलाई कार्यान्वयन गर्ने सोच र व्यवहारकै उपज आज हामी आफूलाई नेपाली भनेर गर्व गरिरहेका छौँ । उनको उल्लेखनीय योगदानले नै आजको नेपालको सृजना भएको हो । भुरेटाकुरे राज्यलाई विस्तार गरेर अंग्रेजी साम्राज्यको अगाडि कहिल्यै घुँडा नटेकेका पृथ्वीनारायणको साहस नै आजको नेपाली राष्ट्रियता र विश्वमानचित्रमा कोरिएको नेपालको सगौरव नक्साको परिचायक हो । ढाल, तरबार र खुँडा बोकेर यति ठूलो नेपाल बनाउने सपना आजका प्रचण्डले नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछु भनेर देखाएको छली सपना थिएन । उनको सपनाको साकार रुप हामी हौँ, हामी अर्थात् सारा नेपाली । सारा नेपालीलाई विश्वमाझ पहिचान दिएका उनीजस्ता युगद्रष्टा राजालाई आफैँले दिएको सम्मान व्यवस्था परिवर्तन भयो भन्दैमा राज्यले खोस्न मिल्छ ? तत्कालीन समाज र आजको समाजको तुलना गरेर यसो किन भएन उसो किन भएन भनेर ठिँठिँ गर्नेहरुले आफैँबाट गरिएका १७/१८ हजार नेपालीका कत्लेआम हत्यालाई ‘वैध’ बनाएर उनै राजाले आर्जेको मुलुकमा गणतन्त्रको लेघ्रो तानिरहेका छन् । यसको मूल्यांकन अब नेपाली जनताबाटै हुनुपर्ने देखिन्छ । जर्मनीले विस्मार्कलाई सम्झिएजस्तै अमेरिकाले कोलम्बसलाई मानेको छ, सम्मान गरेको छ भने नेपालले पृथ्वीनारायण शाहको योगदानलाई कसरी भुल्न सक्छ ? विचारणीय पक्ष हो । आफ्नो देशमा कहिल्यै घाम नअस्ताउने घोषणा गरेर सारा युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न भूभाग कब्जा गर्दै साम्राज्य विस्तारमा लागेको बेलायती फौजलाई सीमाक्षेत्रबाटै धपाई विशाल नेपालको परिकल्पना र सिर्जना गर्ने पृथ्वीनारायण शाह नेपालको वर्तमान राज्यव्यवस्थाबाट अपमानित गरिनु सारा नेपालीको हुर्मत लिनु हो ।
अतुलनीय योगदान तर बिर्सिने कोसिस
जहिल्यै पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो देख्ने राज्यव्यवस्था मात्रै जनताको लागि उपयुक्त शासनपद्धति हुन्छ । पृथ्वीनारायण शाहले उठाएको भालातरबारलाई कांग्रेसले प्रजातन्त्रअघि उठाएको हतियार र तत्कालीन माओवादीले १० वर्षसम्म गणतन्त्रका लागि मच्चाएको नरसंहारसँग कुनै पनि हालतमा तुलना गर्नै मिल्दैन । मौजुदा सरकारका बहालवाला कम्युनिष्ट नेता एवं उपप्रधानमन्त्री सीपी मैनाली भन्छन्, ‘नेपाल र नेपालीका लागि पृथ्वीनारायण शाह र राजा महेन्द्रले जति योगदान दिएका छन्, त्यति योगदान अन्य कुनै पनि नेपाली शासकबाट देशले पाएको छैन ।’ उनले यसो भन्दै गर्दा देशको वर्तमान राज्यव्यवस्थाले भने उनको योगदानलाई बिर्सिएको १० वर्ष भइसकेको छ । उनको जन्मदिन अर्थात् पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाउन छोडिएको एक दशक नाघिसकेको छ ।
Prithvi_Narayan_Shah
उनले नेपाल र नेपालीलाई दिएको गुन कुनै पनि देशका शासकले ती देशमाथि लगाएको गुनभन्दा कम नभए पनि पछिल्लो समय पृथ्वीनारायणप्रति पूर्वाग्रह राखेर आफ्नो राजनीतिक जीविका चलाउने संस्कार नेपाली नेतामा विकसित हुँदा नेपाल र नेपालीका लागि आजीवन संघर्ष र बलिदान गर्ने राजा पृथ्वीनारायण शाहहरु ‘सतीले सरापेको देश’मा अपमानित बनाइएका छन् । विदेशी आईएनजीओ र पादरी कर्क प्याट्रिकहरुले लेखेका अनि लगाएका झूटा आरोपहरुलाई तथ्य मानेर पृथ्वीनारायण शाहले कीर्तिपुरका जनताको धार्नीका धार्नी नाक कान काट्यो रे भन्नेहरु आज देशका सत्तामा रहेका छन् । जबकि त्यतिका धार्नी नाक कान हुन पुग्नुपर्ने जनताको संख्या नै त्यतिबेला कीर्तिपुरमा नभएको विद्वान्हरुको भनाइ छ । विद्वान् एवं प्राचीन संस्कृति र इतिहासका अध्येता डा. रामेश ढुंगेल भन्छन्, ‘पृथ्वीनारायण शाहको राष्ट्र निर्माण अभियानलाई साम्राज्यवादी राज्यविस्तारका रुपमा एकात्मक ढोल पिट्नु र चित्रण गर्नु अन्यायपूर्ण हुन्छ ।’ उनका अनुसार तात्कालिक परिवेश, उनका नीति तथा क्रियाकलापले गर्दा पृथ्वीनारायण शाह एउटा राजा मात्र नभई राष्ट्र निर्माता तथा भविष्यद्रष्टा युग पुरुषका रुपमा देखिन्छन् । उनको दिव्योपदेशले पनि नेपाल र नेपालीको यथार्थतालाई अंगीकार गरेको छ भने भविष्यको खाका समेत कोरिदिएको छ तर त्यसलाई आत्मसात् गर्न भने हामी सदैव चुक्दै गएका छौँ ।
राज्यले बिर्सिए पनि जनता सम्झिँदै छन्
यद्यपि केही समयदेखि पृथ्वीनारायण शाहलाई राज्यले बिर्सिएको छ तर यो होइन कि जनस्तरमा पनि उनलाई बिर्सिने काम भएको छ । कथित जनयुद्धको १० वर्षे कालखण्डमा तत्कालीन माओवादीले नुवाकोटको देवीघाटमा रहेको पृथ्वीनारायण शाहको शालिकमाथि तोडफोड र बम हान्ने समेत काम ग¥यो, गोरखामा पनि यस्तै काम भए तर ती भत्काइएका शालिकहरु आज पुनः ठडिएका छन् । राज्यले पुनर्निर्माण नगरे पनि जनस्तरबाटै उनीप्रति भावपूर्ण आस्था राख्नेहरुको कमी छैन । गोरखामा भत्किएको उनको शालिक पुनः ठडिइसकेको छ भने सिंहदरबारअगाडि उनको शालिक ठडिएकै छ । यस्तै राजनीतिक स्तरमा एउटा तत्वले बिर्सिए पनि अन्य धेरै पक्षले सम्झिरहेकै छन् । यसैको नमूना हो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गत वर्षबाट एक होनहार नेपाली खेलाडीलाई उनकै सम्झनाका खातिर दुई लाख नगदसहितको पृथ्वी पुरस्कारबाट राजा पृथ्वीनारायण शाहकै नाममा सम्मान गर्नथालेको छ भने उक्त पार्टीले राष्ट्रिय एकता दिवसलाई आजसम्म पनि मनाउनछोडेको छैन ।
यस्तै, यसै वर्षबाट नेपाल प्रज्ञा प्रतिष्ठानले पनि राज्यले नमनाएको राष्ट्रिय एकता दिवसलाई औपचारिक रुपमा मनाउनथालेको छ । त्यस्तै केही पाखण्डहरुले उनको योगदान बिर्साउने षड्यन्त्र गरे पनि राज्यकै तहमा रहेका मन्त्रीहरु नै उनको बारम्बार नाम लिएर बहस गर्नअघि सर्नु केही सकारात्मक देखिएको छ । त्यस्तै उनको योगदानबारे तथ्यतथ्यांक संकलन गरेर अध्ययन गर्ने विद्वान् प्राध्यापकहरुको लेख रचना राष्ट्रिय दैनिकहरुमा यथेष्ट पढ्न पाइनथालेको छ ।
राष्ट्रिय एकता दिवस मनाउन राज्यलाई दबाब
पछिल्लो समय जनस्तरबाटै खुलेर पृथ्वीनारायण शाहको सम्मान हुनथालेपछि यसले राज्यलाई समेत झस्काएको छ । ०६२/०६३ को आन्दोलनपछि विदेशीहरुको दबाबमा तत्कालीन सरकारका गृहमन्त्री एवं कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको पालामा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती नमनाउने भनेर अनपेक्षित निर्णय गर्ने काम भए पनि वर्तमान कम्युनिष्ट सरकारका कम्युनिष्ट मन्त्रीहरुबाटै पनि खुलेर उनको योगदानको कदर हुनुपर्ने आवाज उठिरहँदा आफ्नो खुट्टामा आफैँले बञ्चरो हान्नुपरेकोमा पक्कै पनि यस्तो गलत निर्णय लिने नेता नै पछुताउनुपर्ने स्थिति सिर्जना भएको छ ।
जब कि तत्कालीन समयमा उनको शालिक तोडफोड गरेका प्रचण्ड, बाबुरामहरु पनि आजको नेपाल पृथ्वीनारायणकै योगदान मान्न बाध्य छन् भने राज्यले एक दिन सार्वजनिक विदा दिएर नेपालका प्रणेताप्रति श्रद्धासुमन व्यक्ति गर्दा के नै गुमाउनुपर्छ र ? जनस्तरमा व्यापक दबाब सिर्जना हुँदै जाँदा राज्यले यसप्रति ‘बोल्ड’ निर्णय लिन खुट्टा कमाउनुपर्ने कुनै आवश्यकता नै छैन ।
-kharibot.com
No comments:
Post a Comment