रुकुम, माघ ३ । स्थानीय मगर समुदायले मृत्यु संस्कारमा राँगो र भेडा काटेर मलामीलाई भोज खुवाउने परम्परा थियो । मैकोट गाविसका युवाहरुको पहलमा अगुवाहरुको भेलाले यो रीति खर्चिलो भएको भन्दै निर्णय ग¥यो–अब राँगो नढाल्ने । मलामीलाई राँगाको मासुसहितको भोज खुवाएर विदा गरेपछि मात्र किरियापुत्री शुद्ध हुने जनविश्वास थियो । मलामीलाई राँगो काटेर भोजभत्तेर गर्दा कम्तीमा डेढ लाख रुपैंया खर्च हुने गरेको थियो ।अगुवाहरुको सर्वपक्षीय भेलाले अब भेडा मात्र काटेर सामान्य सगुन बाँडेपछि किरिया उतार्ने चलन सुरु गरेको हो ।
‘यसले खर्चिलो परम्परा र तडकभडकलाई नियन्त्रण गरेको छ’, मगर समुदायाका अगुवा लजिम पुनले भने,‘परम्पराको चर्को मारमा परेका विपन्नलाई समेत मृत्यु संस्कार गर्न सजिलो भएको छ ।’
अब हुनेखानेले पनि राँगो ढाल्ने परम्परा अन्त्य भएको स्थानीय पुपाल युवा क्लबका उपाध्यक्ष कर्मसही घर्तीले बताए । मगर समुदायमा परिवारको सदस्यको मृत्यु भएको दिन शव चिहान भएको स्थान (विस्गा)मा गाडेर फर्किएपछि उसै दिन वा नभ्याए भोलिपल्ट भोजभतेर गर्ने चलन थियो ।
ढिँडो र भातसँगै मृतकका परिवारले राँगाको बलि दिएर किरियापुत्री र आफन्तको शुद्धि गराउने मान्यता थियो । ‘परम्परालाई समेत कम खर्चिलो बनाउँदै मृत्यु संस्कारलाई निरन्तरता दिइनेछ,’ घर्तीले भने,‘पुरानो संस्कारको संरक्षणसहित यसलाई व्यवहारिक बनाएका छौं ।’ यसअघि परिवारका सदस्यको मृत्यु संस्कार उतार्दा गरिबहरु ऋणमा चुर्लुम्म डुब्ने गर्थे ।
-कान्तिपुर दैनिकबाट
No comments:
Post a Comment