काठमाडौं,पुष ३० । मन्त्रीपरिषद्ले सहमतिका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई गरेको तीन बुँदे प्रस्तावलाई भारतले स्वागत गरेपछि मधेसी नेताहरुको दिल्ली दौड बाक्लिएको छ । दिल्लीमै रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो फर्किन लाग्दा भोली तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर दिल्ली जान लागेका हुन् ।
भारतको चाहना
भारतको निमन्त्रणामा मसिर २० गते दिल्ली गएर मधेसी मोर्चाका नेताहरु २३ गते फर्केका थिए । नेपाल सरकारले मधेसी मोर्चालाई सहमतिमा ल्याउन दिल्ली सरकारलाई दिएको चार बुँदे प्रस्तावको बारेमा छलफल गर्न मधेसी मोर्चाका नेताहरुलाई दिल्लीले डाकेको थियो । सरकारले गरेको प्रस्तावमा छलफल गर्न भारत सरकारले मोर्चाका नेताहरुलाई सुझाव दिएको थियो ।
नेपाल सरकारले त्यही प्रस्तावलाई मन्त्रीपरिषद्बाट पारित गरेपछि भारतले त्यसलाई औपचारिक रुपमै स्वागत गर्दै मधेसी मोर्चाका नेताहरुलाई त्यसमा छलफल गर्न दबाब दिएको भारतीय दूतावास स्रोत बताउँछ । त्यति मात्र होइन, संसदमा पेस भएका संशोधन विधेयक पनि पास गराउनमा सहयोग गर्न मधेसी मोर्चालाई दिवाव दिएको बुझिएको छ । र त्यही भएर संसदमा पेस भएको संशोधन विधेयक पास भएपछि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सुनिश्चित हुने बताइएको छ ।
भारतले मन्त्रीपरिषद्को निर्णयलाई स्वागत गरेसँगै मधेस आन्दोलन कमजोर हुनुको साथै वीरगञ्ज–रक्सौल बाहेक अरु सबै नाका खुले सरह भएको छ । नेपालस्थित भारतीय दूतावासले पनि मधेसी मोर्चाका नेताहरुलाई बोलाएर सरकारले गरेको प्रस्तावमा सहमति गर्न दबाब दिएका छन् ।
पछिल्लो भेटघाटमा पनि भारतीय गृहमन्त्री राजनाथ सिंह तथा विदेश मन्त्री सुष्मा स्वराजले सीमांकनकै विषयमा मात्र अडान लिएर आन्दोलन नलब्म्याउन र सरकारले गरेको तीन बुँदे प्रस्तावमा एकपटक छलफल गर्न आग्रह गरेको मोर्चाका एक नेताले बताए । छलफल गरेपछि कहाँ कुरा मिल्दैन त्यहाँबाट पुनः अर्को ढंगको छलफल अगाडि बढाउन दिल्लीले सुझाव दिएको ती नेता बताउँछन् ।
भारतीय दूतावास स्रोतका अनुसार भारत आन्दोलन लम्ब्याउने पक्षमा छैन । कसरी हुन्छ, यसलाई समाधान गरेर अगाडि बढ्ने पक्षमा रहेको छ । त्यसैले मधेसी नेताहरुलाई मनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमण गराउन लागेका हुन् । भारत भ्रमणमा जानुअघि केही न केही सहमतिको वातावरण तयार गर्ने भारतको चाहना रहेको छ – चाहे ११ बुँदामै सहमति होस् वा संसदमा पेस भएको संशोधन विधेयक नै पारित होस् तर देखिने गरि प्रधानमन्त्रीले केही गरेपछि मात्र भारतको भ्रमण हुने बताइएको छ ।
मधेसी नेताको चाहना
सरकारले प्रस्ताव गरेको बुँदामाथि छलफल गर्न भारतले दवाव दिन थालेपछि भारत भ्रमणको एक महिना नपुग्दै मधेसी नेताहरुको दौडाधुप बाक्लिएको छ । भारत भ्रमणबाट फर्केको २० दिन नपुग्दै राजेन्द्र महतो पुनः दिल्ली पुगे र राजनीतिक भेटवार्तालाई तीब्रता दिए । उनका एकजना सहयोगीले रातोपाटीसँग भने, ‘राजेन्द्र महतो र भारतका नेताहरुसँग राजनीतिक भेटघाट मात्र नभएर महतोको स्वास्थ्यलाभको कामनासहितको भेटघाट थियो ।’
दिल्लीबाट केही पहिले फर्केका एकजना तमलोपाका विद्यार्थी नेताले सो कुरालाई खण्डन गर्दै भने, ‘विरामीलाई स्वास्थ्यलाभको कामना गर्न अन्य व्यक्ति विरामीको घरमा पुग्छ, न विरामीले स्वास्थ्यलाभको कामना लिन नेताहरुको घरघर पुग्छन् । यसैबाट बुझ्न सकिन्छ कि भेटघाटको उद्देश्य के हो ।’
बिराटनगरमा प्रहरीको कुटाइबाट घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो उपचारका लागि पुस १७ गते दिल्ली गएका थिए । मेदान्त अस्पतालबाट डिस्चार्ज भएका महतोले भारत सबै प्रमुख नेतालाई भेटीसकेका छन् ।
आजै उनले भारतीय काँग्रेसका अध्यक्ष सोनिया गान्धी उपाध्यक्ष राहुल गाँधीलाई भेटेका छन् । जब कि औपचारिक भारत भ्रमणको बेलामा पनि मोर्चाका नेताहरुले गाँधीलाई भेट्न सकेका थिएनन् । उनले विजय जोलीदेखि लिएर डा. करण सिंहसम्म तथा विदेश मन्त्री सुष्मा स्वराजदेखि पूर्व जर्नल अशोक मेहतासम्मलाई समेत भेटिसकेका छन् । फलोअपका लागि दिल्लीमा बसेका अध्यक्ष महतो नेताहरुको घरघरमा गएर नै भेटेका छन् ।
उपचारका दिल्लीमा भएर त्यहाँका विभिन्न नेताहरुलाई भेटघाटलाई तीब्रता दिएपछि संघीय समाजवादी फोरम नेपालले पनि आफ्नो पार्टीको तर्फबाट पर्सा अध्यक्ष प्रदीप यादवलाई दिल्ली पठाएको छ । भारतसँग राम्रो सम्बन्ध बनाएका प्रदीप यादव उपेन्द्र यादवको सबभन्दा विश्वास पात्र मानिन्छन् । प्रदीप यादवले पनि राजेन्द्र महतोजस्तै भारतीय नेताहरुलाई भेट्दै हिँडेका छन् । उनले पनि आजै काँग्रेस पार्टीका उपाध्यक्ष राहुल गाँधीलाई भेटेका छन् ।
स्रोतका अनुसार भारतीय नेतासमक्ष उनीहरुको एउटै गुनासो छ – ‘मधेसी नेताहरुको भारत भ्रमणपछि किन आन्दोलन खुकुलो भयो ? जुन प्रकारको सहयोग पहिला थियो त्यसमा किन कमी देखिएको छ ?’
यसरी पटक पटक भारतीय नेताहरुलाई किन भेटिएको जिज्ञासामा उनीहरु भन्छन्, ‘मधेस आन्दोलनको बारेमा बुझाउन गएका हौं ।’ मंसिरमा गरेको भारत भ्रमण पनि मधेस आन्दोलनकै बारेमा बुझाउन गएको भनिएको थियो । त्यति मात्र होइन, अध्यक्ष महतो दिल्लीमा भारतीय नेताहरुलाई भेटिरहँदा उनकै पार्टीका नेता योगेन्द्र राय यादवले विहार भ्रमण गरेका छन् । उनले विहारका नेताहरुलाई भेटेका छन् । उनले पनि मधेस आन्दोलनको बारेमा जानकारी गराउन नेताहरुलाई भेटेको बताउँछन् ।
योगेन्द्र राय यादवहरुको टोली फर्किसकेपछि संघीय समावेशी गठबन्धनका युवा नेताहरु पनि विहारका विभिन्न नेताहरुलाई भेट्दै हिँडेका छन् । जेपी गुप्ता संयोजक रहेको तराई मधेस राष्ट्रिय अभियानका नेता आत्मराम प्रसाद शाह पनि भारत भ्रमणमा निस्किएका छन् ।
भ्रमण अर्थपूर्ण
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि मधेसी नेताहरुको दिल्ली दौडलाई अर्थपूर्ण रुपमा लिइएको छ । एक वर्षभन्दा बढी समयदेखि बोलचाल समेत बन्द रहेको बेला प्रधानमन्त्री ओलीले मंसिर २७ गते राजेन्द्र महतोलाई फोन गरेका थिए । दिल्लीमा रहेका महतोले नेपाल सरकार खासगरि केपी शर्मा ओलीको आलोचना धेरै गर्न थालेपछि त्यसले आफ्नो भ्रमणमा असर पर्छ कि भन्दै उनले महतोलाई फोन गरेका थिए ।
पाँच महिनादेखि जारी मधेस आन्दोलनमा सहमति हुन नसकिरहेको अवस्थामा सहमतिको वतावरण कसरी तयार गर्ने र भारत भ्रमणमै रहेको बेला सहमतीको सुत्रहरु दिन सकिक्छ भनि भारतले मधेसी मोर्चाका सबभन्दा विश्वासपात्र अध्यक्ष ठाकुरलाई दिल्ली बोलाइएको छ । तर, उनको पार्टी स्रोत भन्छ, ‘अध्यक्षजीलाई भारतले बोलाएको होइन, उहाँ नियमित चेकजाँचका लागि दिल्ली जाँदै हुनुहुन्छ ।’
प्रधानमन्त्री ओलीको भारत भ्रमण आउँदो फेब्रुवरी महिनाको मध्यतिर गर्ने प्रस्ताव नेपालको तर्फबाट गरिएको छ । तर भ्रमणको तिथि तय गर्नु भन्दा पहिले संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयक पारित गर्ने शर्त राखेपछि त्यस तर्फ सरकारले आवश्यक कदम चालेको छ ।
साभार: राटोपाटी
Thursday, January 14, 2016
मधेसी नेताको दिल्ली दौड : महतोपछि ठाकुर बिरामी ?
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment