काठमाडौं, माघ ११ । शरीर उनको न दुब्लो न मोटो अर्थात तटस्थ नै छ । उमेरलाई आफ्नो सुन्दरताले लुकाउँदै आएकी छन् । सौन्दर्यको मामलामा नामजस्तै करिश्मा लाग्छिन् उनी । तर आइतबार काठमाडौंमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्तिमा प्रकट भएपछि अभिनेत्री करिश्मा मानन्धरको वैचारिक तटस्थता भंग भएको छ भने राजनीतिक आस्था उदांगिएको छ ।
उनको तन छोटै कपडाले छोपिएला, मनचाहिँ जतिसुकै लामो कपडाले पनि ढाकिन मुश्किल छ । बाबुरामको नयाँ शक्तिमा लागेको खबर सार्वजनिक हुनासाथ करिश्माले साथीभाईबाट वेष्ट अफ लक पाइरहेकी छन् । साथसाथै सामाजिक सञ्जालमा आफू र नयाँ शक्तिलाई धेरैले व्यंगको विषय बनाएको पनि उनलाई थाहा छ ।
उनी साथीभाईको अपेक्षा र आलोचकहरुको टिप्पणीदेखि आत्तिने वा पन्छिने पक्षमा छैनन्, ‘म सबैखाले प्रतिक्रिया र अपेक्षाहरुलाई सामना गर्न तयार छु ।’ माओवादीप्रति कुनै लगाव नभएपनि प्रधानमन्त्री छँदा बाबुरामले गरेका दुईओटा राम्रा कामदेखि प्रभावित थिइन्, करिश्मा । देशमा विभिन्न कालखण्डमा विभिन्न राजनीतिक परिवर्तन आए । नेताहरुले अनेकन सपना देखाए । तर पूरा गरेनन् । त्यसैले निराश थिइन् करिश्मा ।
पार्टीमा प्रवेश गरेपनि कलाकारितालाई निरन्तरता दिने उनको योजना छ । तर, फिल्म ग्ल्यामर दुनियाँमा फैलिएको उनको ‘करिश्मा’ राजनीतिमा छाउँछ कि छाउँदैन त्यो भविष्यले नै बताउला । तर के निश्चित छ भने, आफ्नो फिल्म हेरिदिन आग्रह गर्दै दर्शकसामु हात जोड्दै आएकी उनलाई चाँडै भोट माग्दै गरेको अवस्थामा देख्न पाइने छ भन्दै नागरिक दैनिकमा दीपेन्द्र लामाले खबर लेखेका छन् ।
No comments:
Post a Comment