Friday, January 15, 2016

संस्थापन र देउवा पक्षमा नअटाएका गगन, प्रदीप र विश्वप्रकाशहरू अब कता ?

काठमाडौं,माघ २ । नेपाली कांग्रेसलाई १३ औं महाधिवेशनले छपक्कै छोपिसक्दा भविष्ययका आशालाग्दा नेताका रुपमा गगन थापा, प्रदीप पौडेल र विश्वकर्माको नाम अगाडि आउँछन् । तीनै नेताको राजनीतिक पृष्ठभूमि नेपाल विद्यार्थी संघ हो । यी तीन मध्ये गगन थापा अघिल्लो महाधिवेशनमा सबैभन्दा बढी मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, प्रदीप पौडेल सुशील कोइरालाको कार्यकाल सकिने अन्तिमतिर केन्द्रीय सदस्यमा मनोनित भए । अर्का नेता विश्वप्रकाश शर्मा केन्द्रीय सदस्यमा मनोनित पनि हुन सकेनन् । दोस्रो संविधानसभा झापाबाट टिकट त पाए तर, पराजि हुन पुगे ।

महाधिवेशन नजिकै आउँदै गर्दा अब यी तीनसहितका युवा नेताको स्थान कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा कस्तो हुन्छ भन्ने आम चासो देखिएको छ । किनकी यी तीन नेता भाषणकलामा निक्कै माहिर मानिन्छन् । तर, भाषणकलाजस्तै कुनै पदमा बसेर यी नेताहरुले प्रभावकारी काम गर्न सकेको र गरेको परिस्थिति अहिलेसम्म बनेको छैन । ६० वर्षसम्म पनि युवा नेता नै हुने कांग्रेसमा ४० नाघेका यी नेताले पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाउछन् की पाउँदैनन् भन्नेमा निक्कै चासो र आँकलन गर्न थालिएको खबर डबलीमा समाचार छ ।
कांग्रेसको प्रमुख प्रतिपस्पर्धी पार्टी एमालेले योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसालजस्ता युवा नेतालाई पदाधिकारीसम्म बनाउँदा कांग्रेसमा पनि युवा नेतालाई पदाधिकारी बनाउनुपर्ने विचार उठेको छ । तर, कांग्रेस सत्ताको डाडू र पन्यू लिएर बसेका बुढा नेताहरु, शक्ति हत्याउन तयारीमा रहेका दोस्रो तहका नेताहरुका कारण यसपटक पनि उनीहरुले भूमिका पाउनेमा शंका गर्न थालिएको छ ।

केही दिन अघिको एक अन्तक्र्रिया कार्यक्रममा युवा नेता विश्वप्रकाश शर्माले अब नयाँ पुस्ताले पनि कांग्रेसमा हस्तक्षेपकारी तयारी गर्नुपर्ने आशय व्यक्त गरे । सबैभन्दा ठूलो पार्टीका रुपमा कांग्रेसले जिम्मेवार भएर मधेस आन्दोलनलाई सेफल्याण्डिङ गर्न नसकेको संकेत गर्दै तराई मधेसका ८ जिल्ला घुमेर आएका उनले भने, ‘हाम्रो नीतिमा मधेसवादी दलका नेताले मुद्दाको नेतृत्व गरेका छन् । यो हाम्रै नेतृत्वको कमजोरीका कारण भएको हो । अब हामीले यस्ता काममा खबरदारी नगरे कसले गर्ने ?’ सो अन्तक्र्रियामा सहभागीहरुले अब पुस्तैनी विरासत बोकेका नेताहरुले मात्र कांग्रेसलाई हाँक्न नसक्ने तर्क गर्दै युवा नेतालाई अवसर दिनुपर्ने मत राखेका थिए ।

अर्का दुई युवा नेताहरु गगन थापा र प्रदीप पौडेल पनि संविधान बुझाउने अभियान अनुरुप तराई झरेका थिए । कांग्रेसको कमजोर नेतृत्वको कारण तराई मधेसमा संविधानका मुद्दा बुझाउन नसक्दा मधेसमा कांग्रेस कमजोर बन्दै गइरहेको निष्कर्षकासाथ अब युवा नेताहरु पनि सक्रिय भएर अगाडि आउनुपर्ने गरी अभियान थाल्ने उनीहरुको निष्कर्ष थियो । ‘हाम्रा नेताहरु तराई झर्न सक्नुभएन तर, हामी आयौं संविधान बुझायौं नेतृत्वले समयमै यी काम गर्न सकेको भए तरार्ई मधेसमा यत्तिधेरै अविश्वास चुलिने थिएन’ नेता पौडेलले भने, ‘अब युवा नेताहरु पनि अगाडि बढ्नुपर्छ भन्ने जनमत छ ।’
यी युवा नेताहरु पछिल्लो समय राजधानीमा अन्तक्र्रिया, गोष्ठीसहितका कार्यकर्तामा पहुँच हुने कार्यक्रममा सक्रियतापूर्वक सहभागी भइरहेका छन् । तर, यी तिनै नेता संस्थापन र देउवा कुन गुटमा प्रष्ट भएको छैन । यी तीनै नेताले नेतृत्वको आलोचनात्मक समर्थन गरेको देखिन्छ तर, कुनै गुटमा प्रष्ट लागेको देखिंदैन ।

तर, महाधिवेशनको सम्मुख आएर यी नेताले अब मुख्य नेताको दौराको फेरो नसमाइकन कांग्रेसमा स्थापित हुन बल गर्छन् की फेरो नै समाउन पुग्छन् भन्ने चासोको विषय भएको छ । यी नेताहरु युवाको समूह बनाएर पार्टीलाई दबाब दिन्छन्, आफैंमा विभाजित भएर नेताको पछि लाग्छन् भन्ने दिन देख्न अब धेरै टाढा छैन । तर, यी नेतालाई भविष्यको सम्भावना भएका नेताको दर्जामा राखिएका कारण यिनीहरुबाट सकारात्मक र विवेकसम्मत निर्णय र पहलकदमीको अपेक्षा गर्नेको पनि कांग्रेसमा कमी छैन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts