Friday, January 15, 2016

बिजुली २४ सै घन्टा, महसुल १ रुपैयाँ!

पोखरा, माघ २ । मादी नदीको किनारै किनार सोंधा पुग्दा एउटा दृश्यले अतिथिहरुको ध्यान खिच्यो। चिया खान पसल छिरेका पाहुनाहरुले दिउँसोको उज्यालोमा बिजुलीको बल्ब बलिरहेको देख्दा सोधिहाले, ‘बत्ती त निभाउनै बिर्सनुभएछ नि?’ उत्तर उनीहरुले अपेक्षा गरेजस्तो आएन। पसले गोमा खत्रीले भनिन्, ‘२४ सै घन्टा बल्छ, निभाए पनि उही पैसा, बाले पनि उही।’

त्यत्ति जवाफले पाहुनाको चित्त बुझेन। गाउँ साक्षर घोषणा कार्यक्रमका लागि पुगेका ती अतिथिलाई थाहा भयो— गाउँमा २४ सै घन्टा बिजुली आइरहँदोरैछ र जति बाले पनि महसुल घटीबढी लाग्दोरहेनछ। देशका प्रमुख सहरका बासिन्दा बिजुली नआएर हैरान परिरहँदा पनि कास्कीको पार्चे गाविसका गाउँटोल त्यस्तो खबरबाट बेखबरै छन्। सिक्लेस गाउँकी रसमाया गुरुङ भन्छिन्, ‘हाम्रो गाउँमा त पोखरामा जस्तो लोडसेडिङ हुँदैन।’ उनका छोराछोरी टुकीको उज्यालोमा पढ्नुपर्ने बाध्यता छैन।

गुरुङ जातिको बस्ती सिक्लेसमा २४ सै घन्टा बिजुली हुन थालेको पनि २४ सै वर्ष पुग्न लाग्यो। २०५१ सालमा सिक्लेस लघुजलविद्युत आयोजना बनेदेखि गाउँलेलाई बिजुलीको पिरचिन्ता छैन। झन्डै ६ सय घरमा बिजुलीको उज्यालो पुगेको मात्रै छैन, कुटानीपिसानीका मिलहरु पनि चलेका छन्। फर्निचरका ससाना उद्योगलाई पनि गाउँकै बिजुलीको भर छ।

संरक्षणकर्मी चन्द्र गुरुङको अगुवाइमा सिक्लेसमा बिजुलीको योजना बनेको हो। उनले बेलायती दाताको सहयोग जुटाए भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पनि हातेमालो गर्योह। ऊ बेलै १ करोड रुपैयाँ खर्चेर बिजुली निकालिएको बताउँछन् व्यवस्थापक कुमबहादुर गुरुङ। उनका अनुसार गाउँकै गज खोलाको पानीले टर्बाइन घुमाएर बिजुली निकालिएको छ। बिजुली बल्ने भयो भनेपछि दाताको सहयोग पाउँदा गाउँलेले श्रमदान गरेका थिए। नागरिक दैनिकमा समाचार छ ।

रातदिन आइरहनु त गज्जब भइहाल्यो नै त्यसमाथि पैसा पनि सस्तो हुनु सिक्लेसे बिजुलीको अर्काे सुखद पक्ष हो। घरमा बिजुलीका जति वाटका बल्ब छन्, तिनकै आधारमा पैसा बुझाउनुपर्छ। एक वाटको १ रुपैयाँ बिजुलीको शुल्क छ। एउटा घरमा जति वाटका जति वटा बल्छ हुन्छन्, त्यसकै आधारमा हिसाब गरेर पैसा उठाउने गरिएको कुमबहादुरले बताए। कतिपयले ५० वाट बालेर महिनाको ५० रुपैयाँ तिरिरहेका छन् भने कतिपयले २ सय वाट बालेर २ सय।

५ वर्षअघिसम्म त अझ त्यो शुल्क पनि ५० पैसा थियो। पछि ७५ पैसा हुँदै अहिले आएर १ रुपैयाँ बनाइएको जानकारी कुमबहादुरले दिए। ‘मर्मतसम्भार खर्च पनि बढ्न थाल्यो, भोलिपर्सि के पर्छ पर्छ भनेर मूल्य बढायौं,’ उनले भने, ‘पैसा बचत भइरह्यो भने भोलिपर्सि फेरि बिजुलीकै लागि प्रयोग हुन्छ वा गाउँको विकासमा।’

टिभी पनि हेर्ने घरका लागि २ सय वाटको हिसाब लगाइन्छ भने फ्रिज र राइस कुकर लगायत उपकरण भए त्यहीअनुसार पैसा लिने गरिएको उनले सुनाए। भन्छन्, ‘फ्रिज त सबैकहाँ छैन, यसो होटलतिरचाहिँ छ।’ होटलहरुले १ हजार वाटसम्मको बिजुली सुविधा लिएका छन्। तिनीहरुले तिर्ने शुल्क महिनाको १ हजार रुपैयाँमात्रै हो। पार्चे गाविसमा कुटानीपिसानीका ४ वटा मिल, आधा दर्जनजति होटल र काठका २ मिल छन्।

तर, कुटानीपिसानी गर्ने मिलसँग अरुलाई भन्दा सस्तोमा बिजुली दिइएको छ। मिल आएपछि छोरीबुहारीलाई ढिकीजाँतो गर्नुपर्ने दुःख छैन, त्यसैले वाटको १० पैसाका दरले शुल्क लिने गरिएको छ। ‘गाउँको सेवा गरेका हुनाले थोरै पैसा लिने गरेको हो,’ उनले भने।

गाउँकै खोलाको पानी, गाउँकै आयोजना भएकाले गाउँलेहरुसँग बिजुलीको अर्काे विकल्प भने छैन, कहिले बाढी पैहिरो आएर खोलामा केही गडबढ गर्योन भने वा मेसिनरी उपकरणमा खराबी आयो भने कहिलेकाहिँ अँध्यारो हुन्छ। ‘तर, एकदुई दिनमै समस्या समाधान हुँदै आएको छ,’ स्थानीय गेहेन्द्र गुरुङ भन्छन्, ‘हप्तौं अँध्यारोमा बस्नुपरेको छैन।’ मेसिनरी उपकरण बेलाबेला मर्मत गर्नाले अहिलेसम्म ठूलो समस्या नआएको आयोजना व्यवस्थापक कुमबहादुर बताउँछन्।

४ जना कर्मचारी राखेर आयोजना सञ्चालन गरिएको छ। मासिक आम्दानी १ लाख रुपैयाँ जति हुन्छ। मर्मतसम्भार र कर्मचारी खर्च कटाएर अहिलेसम्म आयोजनाले ३८ लाख रुपैयाँ बचत गर्न सफल भइसकेको छ। त्यो पैसा अहिले बैंकमा जम्मा गरिराखिएको र भविष्यमा केही आइपरे बिजुलीकै लागि खर्च गर्ने योजना रहेको कुमबहादुरले सुनाए। बिजुली जोडिएका घरहरुमा मिटर बक्स नभए पनि फ्युज भने छ। थोरै शुल्क तिरेर धेरै बिजुली बाल्न खोजे त्यही फ्युज झर्छ र बिजुली बन्द हुन्छ।

अहिले बिजुली आयोजनाको क्षमता १ सय किलोवाट हो। गाउँले त्यसलाई बढाएर दोब्बर बनाउने योजनामा छन्। २ सय किलोवाट बनाउन सके बढेका घरधुरीलाई पनि चाहिने जति बिजुली दिन सकिने र अरु उद्योगधन्दा आइहाले पनि समस्या नपर्ने हुँदा क्षमता वृद्धिको योजना बनेको हो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts