रौतहट,पुष २८ । पाँच महिनादेखिको मधेस आन्दोलन र चार महिनादेखिको भारतीय नाकाबन्दीले थलिएका जनता मधेसी मोर्चाको आन्दोलनमा सहभागी हुन छाडेका छन्। सुरुका दिनमा सक्रिय सहभागी हुने स्थानीय अहिले आन्दोलनमा सहभागी हुनै छोडेका छन्। लामो समयसम्मको आन्दोलनप्रति जनताको समर्थन नरहेको नेताहरुले बताएका छन्।
अधिकार प्राप्तिको आन्दोलनमा जनताको समर्थन भएपनि त्यो लामोसमय जाँदा जनसमर्थन घटेको एक नेताले जनाए। पछिल्लो समय बढी प्रदर्शन हुने वीरगंज, सर्लाही र रौतहटमा आन्दोलन सेलाएको छ। मंगलबार एकहप्तापछि मोर्चाले प्रदर्शन गरेका थिए, जसमा जनता भन्दा पनि जिल्लामा सक्रिय मोर्चाका नेतामात्रै सहभागी थिए।
रौतहटको गैरमा मोर्चाको प्रदर्शनमा २० जनाको सहभागीता थियो। सो प्रदर्शनमा जिल्लाका सक्रिय मोर्चाका नेतामात्र थिए। लामो आन्दोलनका कारण कालोबजारी मौलाएको र कतिपय तस्करीमा संलग्न भएको र मोर्चाका नेतालाई बद्नाम गर्ने काम भएकाले आन्दोलनमा जनसमर्थन घटेको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका रौतहत अध्यक्ष हाजी जिकरुलाले बताए। ‘मोर्चाको सुरुको आन्दोलनमा जनता हातमा लाठी र भाटा बोकेर आउँथे,’ उनले भने,’आन्दोलन लम्बिदै जानु र केही व्यक्ति तस्करीमा लागेका कारण पनि आन्दोलनमा जनसमर्थन घटेको छ।’
सद्भावना पार्टीका केन्द्रीय सदस्य एवं मोर्चाका नेता योगेन्द्र यादवले चिसो बढेको र अहिले तराइमा कमाइ लगाउने सिजन भएकाले आन्दोलनमा जनसहभागीता कम भएको बताए। ‘आन्दोलनमा जनताको समर्थन छ,’ उनले भने,’अहिले कमाइ लगाउने सिजन हो र आन्दोलन लम्बिएका कारण पनि जनसहभागीता कम भएको हो।’
मंगलबार वीरगंजमा मोर्चाका प्रदर्शन गरेको थियो। घण्टाघरदेखि सुरु भएको र्याली माइस्थानसम्म पुग्दा मोर्चाका जिल्लास्तरीय नेतामात्र विरोध र्यालीमा सहभागी भएका थिए। अहिले वीरगज बजार पूर्ण रुपमा खुला रहेको पर्सा प्रहरी प्रमुख राजुबाबु श्रेष्ठले जानकारी दिए। मोर्चाका शीर्ष नेताको गृहजिल्ला सर्लाहीमा भने मोर्चाको उपस्थिति नै देखिएको छैन।
-nagariknews.com
No comments:
Post a Comment