Monday, January 18, 2016

यू-१९ क्रिकेटरलार्इ प्रधानमन्त्रीको सुझावः सगरमाथा सम्झेर छक्का–चौका हान्नुहोस, विकेट ढाल्नुहोस्’

काठमाडौं,माघ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप खेल्ने तयारीमा रहेका उन्नाइस वर्षमुनि (यु–१९)को राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई देशको नाम जपेर मैदानमा उत्रन आग्रह गरेका छन्। आगामी हप्ता बङ्गलादेशमा हुने विश्वकप खेल्न जानुअघि आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका टोलीका सदस्य र पदाधिकारीलाई सफलताको शुभकामना दिँदै उनले भने, “खेलेका बेला नेपाल सम्झनुहोस्, सगरमाथा सम्झनुहोस् ताकि तपार्इंको ब्याटले छक्का–चौका हानोस्, तपाईंको बलले विकेट ढालोस् ।”

प्रधानमन्त्री ओलीले खेलमा सफलता हासिल गर्न दक्षतासँगै आत्मविश्वास र अनुशासन पनि उत्तिकै जरुरी रहेको बताउँदै भने, “अहिले क्रिकेटमा आकर्षण छ, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले ढिलो पाइला चालेको भए पनि यसले राष्ट्रिय गौरव बढाएको छ।” क्रिकेट विकासका लागि सरकार संवेदनशील रहेको बताउँदै उनले भने, “सरकारका तर्फबाट के गर्नुपर्छ, प्रस्ताव लिएर आउनुहोस्, गर्न सक्ने म गर्न तयार छु ।”

सो अवसरमा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल क्रिकेट सङ्घ तदर्थ समितिका अध्यक्ष रमेश सिलवाललगायतले नेपाली युवा खेलाडीबाट नेपालले राम्रो परिणामको आशा राखेको बताए।

मुख्य प्रशिक्षक जगतबहादुर टमाटा र कप्तान राजु रिजालले टोलीले भारतमा गएर धेरै अभ्यास खेल खेलेका कारण राम्रो तयारी भएको बताउँदै शतप्रतिशत प्रदर्शन गर्दै सुखद् परिणाम ल्याएर देशवासीलाई खुसी बनाउने प्रतिबद्धता व्यक्त गरे । खेलाडी, प्रशिक्षक र पदाधिकारीसहितको २० सदस्यीय नेपाली टोली बुधबार बङ्गलादेश प्रस्थान गर्दैछ । टोलीमा कप्तान रिजाल, उपकप्तान आरिफ शेख, सुनिल धमला, सन्दीप सुनार, शङ्कर राना, योगेन्द्रसिंह कार्की, दीपेन्द्रसिंह ऐरी, राजवीर सिंह, प्रेम तामाङ, इशान पाण्डे, दीपेश श्रेष्ठ, सन्दीप लामिछाने, सुशील कँडेल, हिमांशु दत्त र कुशल भुर्तेल छन् ।

त्यस्तै मुख्य प्रशिक्षकमा टमाटा, बलिङ प्रशिक्षकमा विनोद दास, व्यवस्थापकमा सुदीप शर्मा, प्राविधिक विश्लेषकमा रमण सिवाकोटी तथा चिकित्सकमा दिनेश भट्ट छन् । नेपालले पहिलो खेल यही माघ १४ गते न्युजिल्यान्डविरुद्ध खेल्दैछ भने भारत र आयरल्यान्ड पनि सोही समूहमा छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts