काठमाडौं,मंसिर २४ । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको तीन दशक पुरानो एउटा जहाज मर्मत गर्न करिब ३ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ। यो खर्च भनेको निगमले हालै खरिद गरेको नयाँ जहाजको मूल्यको लगभग आधा हो।
आफूसँग रहेका दुईमध्ये कलसाइन ‘९एन–एसिबी’ भएको ‘बि७५७’ सिरिजको जहाजका लागि मात्र निगमले त्यति खर्च गर्न लागेको हो। यति खर्चमा यो जहाजका दुई इन्जिन मर्मत, नियमित मर्मत (सि–चेक), ल्यान्डिङ गियर फेर्ने, इन्धन (फ्युल) ट्यांकी फेर्ने र अन्य काम हुनेछन्।
‘एसिबी जहाज मर्मत गर्न करिब ३ अर्ब रुपैयाँ खर्च गर्ने तयारी व्यवस्थापनले सुरु गरेको छ,’ सम्बद्ध एक अधिकारीले बुधबार नागरिकसँग भने, ‘यो जहाजलाई आगामी मंगलबार (मंसिर २९) मा सि–चेकका लागि सिंगापुर पठाएर खर्चको सुरुआत हुँदैछ। बढीमा चार महिनाभित्र रकम खर्च गर्ने उद्देश्य छ।’
ती अधिकारीका अनुसार दुइटा इन्जिन मर्मत गर्न एउटाको ६० करोड रुपैयाँका दरले १ अर्ब २० करोड, सि–चेक गर्न करिब ३० करोड, ल्यान्डिङ गियर फेर्न करिब २५ करोड, इन्धन ट्यांकी फेर्न करिब ५० करोड तथा अन्य खर्चका लागि ४० करोड खर्च गर्न लागिएको हो। यो खर्चलाई महाप्रबन्धक सुगतरत्न कंसाकारले ‘ओके’ गरिसकेका छन्।
निगम व्यवस्थापनले दुई बि७५७ मध्ये एउटालाई सन् २०१६ मा विस्थापन गर्ने योजना यसअघि नै बनाएको थियो। तर, पछिल्लोपटक उक्त योजना रद्द गरिएपछि व्यवस्थापन अर्बौं खर्चेर मर्मततिर लागेको हो। सि–चेक गर्न सिंगापुर गएपछि एसिबी जहाज कम्तीमा ३५ दिन उतै बस्नेछ। उताबाट फर्केपछि करिब दुईदेखि तीन महिनाभित्र दुइटै इन्जिन मर्मत गरिसक्नुपर्ने तालिका छ। सँगसँगै ल्यान्डिङ गियर र इन्धन ट्यांकी पनि नयाँ जडान गर्नुपर्नेछ।
करिब तीन दशकदेखि उडाइरहेका दुईवटा बि७५७ जहाज मर्मतमा निगमले बर्सेनि ठूलो रकम खर्च गर्दै आएको छ। यो सिरिजका जहाज अमेरिकी जहाज निर्माता कम्पनी बोइङले उत्पादन गरेको हो। बोइङ आफैंले पनि यस्तो जहाज उत्पादन बन्द गरेको एक दशक नाघिसकेको छ। निगमसँग रहेका यस्ता जहाज १ सय ९० सिट क्षमतायुक्त हुन्।आजको नागरिक दैनिकमा खबर छ ।
No comments:
Post a Comment