मंसिर २८, २०७२- बेलहरीबाट युवाहरूको एक समूह नेपालगन्ज–रुपैडिहा नाकामा धर्ना दिन दैनिक आउँथे । घरको सबै काम छोडेर उनीहरू दुई महिनासम्म आन्दोलनमा होमिए । सातायता भने उनीहरू दशगजा आउन छाडेका छन् । त्यहाँका युवाको नेतृत्व गर्दै आएका हरिराम बर्मा पनि पुरानै दैनिकीमा फर्किसके ।
खजुराखुर्दबाट पनि अर्को समूह त्यसैगरी नाकामा धर्ना दिन आउँथ्यो । उक्त समूह पनि अहिले आउन छाडेको छ । बेलहरी र खजुराखुर्दका युवाजस्तै अन्य गाउँबाट कार्यकर्ता नाकामा आउन छाडेपछि मोर्चाका जिल्ला नेता अन्योलमा परेका छन् ।
कार्यकर्तासँगै स्थानीयको सहयोग नहुँदा दशगजा आन्दोलन निष्क्रियजस्तै बनेको छ । आन्दोलनलाई निरन्तरता दिन मोर्चाका नेतालाई समस्या भएको छ । तर, आन्दोलन जारी रहेको उनीहरूको दाबी छ । करिब चार महिनादेखि जारी आन्दोलनले निकास नपाउँदा नेतामा निराशा थपेको छ ।
‘लामो समयदेखि निरन्तर आन्दोलनमा लाग्दा धेरै कार्यकर्ता बिरामी परेका छन् । निकास नआउँदा केही निराश भएका छन्,’ नाका केन्द्रित आन्दोलन कमजोर भएको स्विकार्दै मोर्चा बाँके संयोजक विजयकुमार गुप्ताले भने, ‘जसका लागि आन्दोलन गर्यो, उसैले नबुझिदिँदा केही समस्या आएको छ । तर, हाम्रो आन्दोलन जारी छ ।’
नाकाको आन्दोलन कमजोर भएपछि मोर्चा कार्यकर्ता छलफलमा व्यस्त छन् । उनीहरूले आन्दोलनको स्वरूप बदल्नबारे छलफल थालेका हुन् ।
त्यससँगै आन्दोलनलाई कसरी निरन्तरता दिनेबारे बहस भइरहेको छ । तर, तीन दिनदेखि जिल्लामा दैनिक भइरहेको बैठकले कुनै ठोस निर्णय गर्न सकेको छैन । केही नेताले नाकाको आन्दोलनलाई निरन्तरता दिनुपर्ने मत राखेका छन् ।
नाका बन्द गर्दा चौतर्फी प्रहार हुने खतरा रहेको अर्का थरीको तर्क छ । ‘नाकाबन्द गर्दा प्रशासनले दमन गर्दै आएको छ । स्थानीयले पनि सहयोग गरेको देखिएन,’ गुप्ताले भने, ‘त्यसैले मधेस आन्दोलनबारे बुझाउन गाउँमा छलफल र अन्तक्र्रिया कार्यक्रम गर्ने भनेका छौँ ।’ कार्यकर्ताले पनि चिसो बढेपछि दशगजामा २४ घण्टे धर्ना दिन नसक्ने बताएका छन् ।
यसअघि गाडिएको टेन्ट प्रहरीले नियन्त्रणमा लिएपछि कार्यकर्ताहरू बस्ने स्थान छैन । टेन्ट फिर्ता मागे पनि प्रहरीले नदिएको गुनासो उनीहरूको छ ।
मोर्चा प्रवक्ता पशुपतिदयाल मिश्राले आन्दोलनलाई निरन्तरता दिन गाउँ केन्द्रित छलफल सुरु गरेको बताए ।
मोर्चाको नाका केन्द्रित आन्दोलन निष्क्रिय बन्दै गएपछि नेपालगन्ज–रुपैडिहा नाका पूर्ण रूपमा सहजजस्तै बनेको छ । चार दिनयता दैनिक इन्धन र मालवाहक गाडी भित्रिन थालेका छन् । पश्चिमको प्रमुख नाकामा पहिलेकै जस्तो चहलपहल बढेको छ ।
-ekantipur
No comments:
Post a Comment