काठमाडौं,मंसिर २१ । आर्थिक रुपमा कुनै पनि विवादमा नमुछिएका गृहमन्त्री शक्ति बस्नेतलाई घरकी गृहमन्त्री र भतिजाले हुने नहुने काम लगाएर छिट्टै बद्नाम गर्ने भए भन्ने रिपोर्ट लाजिम्पाट पुगको छ । गृहमन्त्रीले पत्नी सत्या पहाडी र भतिजा मुक्ति बस्नेतलाई व्यापारी, बदनाम व्यवसायी, माफियालाई नभेट्नु भने पनि भतिजा बस्नेत र पहाडीको उठबस भने साँझ बिहान नै बद्नाम व्यापारीसँग हुने गरेको उजुरी परेको छ ।
पत्नी पहाडीले ठूलाठूला व्यापारीलाई निवासमै बोलाएर भेट्ने र सीधै आइजिपी र मन्त्रालयका सचिवलाई फोन गरेर आफूले भनेको काम गर्न आदेश दिने गरेकी छन् । पार्टीले दिएका कामलाई गर्छु भन्ने तर, माखो नमार्ने भएपछि एमाओवादी अध्यक्ष प्रचण्ड पनि गृहमन्त्री बस्नेतसँग सन्तुष्ट नभएको स्रोत बताउँछ । प्रचण्डले आफूनिकटकालाई शक्ति बस्नेतलाई गृहमन्त्रीभन्दा अरु नै मन्त्रालय दिएको भए हुने थियो कि भन्दै उनको भूमिकाप्रति असन्तुष्टि जनाउने गरेका छन् । मन्त्री बस्नेतका व्यक्तिगत सबै कुरा थाहा भएका बिए पाससमेत हुन नसकेका आलाकाँचा भतिजा मुक्तिले त्यही कमजोरी पत्ता लगाएर मन्त्रीलाई घुमाएको चर्चा पनि यतिबेला पेरिस डाँडामा छ ।
यस्तै, मन्त्री बस्नेतका भतिज मुक्ति बस्नेतको आजभोलि बास नै आइजिपी वन्तकोमा हुने गरेको सशस्त्र प्रहरी स्रोत बताउँछ । मुक्तिले हिजो माओवादी कमजोर हुँदा सहयोग गर्ने वन्त नै भएको र वन्त जस्तो राम्रो मान्छे कोही नभएको भन्दै पार्टीका नेता र मन्त्रीलाई सुनाउने गरेको माओवादी वृत्तमा चर्चा छ । आरआरमा पढिरहेका मन्त्री बस्नेतका भतिज मुक्ति गृहमन्त्रीमा शक्ति बस्नेतको नियुक्तिसँगै उनको आर्थिक हेसियत बलियो भएको चर्चा लाजिमपाटमा गर्न थालिएको छ । मुक्ति आजभोलि भाटभटेनी सुपरमार्केटतिर बजार गर्नमा व्यस्त हुने गरेको चर्चा पनि छ । उनी महँगा मोबाइल सेटहरु बोकेर हिँड्ने गर्छन् । मुक्ति बस्नेतले दाइलगायतलाई उपहार पाएको मोबाइल बाँड्न थालेको चर्चा पनि छ । गृहमन्त्रीमा शक्ति बस्नेत हुन भन्दा अगाडि दैनिक खर्च धान्न धौ धौ हुने मुक्तिको फुर्तिफार्ती देखेर साथीभाइहरु समेत जिब्रो टोक्न थालेका छन् ।
मुक्ति जाजरकोटमा आफन्तले चुनावमा सहयोग नगरेको भन्दै उनीहरुका काम नगर्न पनि मन्त्री बस्नेतलाई कुरा लगाउने गरेपछि शक्तिका आफन्त पनि उनीसँग चिढिएको बताइन्छ । यति एयर लाइन्सका मालिक आङछिरिङलाई सूर्य गुरुङले मन्त्री र मन्त्री पत्नीनिकट पुर्याएर कमिसनको खेतीपातीमा हात बढाएको रिपोर्ट पनि लाजिम्पाटमा पुगेको बताइन्छ । एमाओवादीमा राम्रो भविष्य भएका नेताका रुपमा हेरिएका बस्नेतलाई आफ्नै आफन्तले बदनाम बनाउने काम गरिरहेका छन्, आजको साँघु साप्ताहिकमा खबर छ ।
No comments:
Post a Comment