Friday, December 18, 2015

भूकम्पपीडितका लागि बाँडिने १० हजारमा पनि नक्कलीकै हालीमुहाली

सिन्धुपाल्चोक,पुष ४ । ‘पुस महिनाको ठण्डिले निकै सताएको छ । जस्ताको टहरोमा रातभीर शीत परेर सुत्नै सकिँदैन । आगो बालेर रात कटाउनु पर्छ । भएका सिरक/डस्ना पनि सबै भूकम्पमा पुरिए । सरकारले न्यानो कपडा खरिदका लागि १० हजार दिन्छ रे भन्ने सुनेको छु । यो पैसा चैत लागेपछि मात्रै हामीले पाउने हो सचिवज्यू ?’ फुल्पिङडाँडा–७ की तेजकुमारी कार्कीले प्रश्न गरिन् । उनले पीडा मिश्रित स्वरमा सरकारले प्रदान गर्ने भनेको १० हजारबारे यस्तो व्यंग्य गरिरहँदा गाविस सचिव जयप्रसाद गजुरेल नाजवाफ भए । ‘सकेसम्म हामी छिट्टै दिन्छांै आमा’ भन्दै सचिव गजुरेलले थामथुम गरे पनि सरकारको यो १० हजार चाडै पाउनेमा उनी विश्वस्त हुन सकिनन् ।
सरकारले मंसिर मसान्तभित्र भूकम्पपीडितका लागि चिसोबाट बच्न सिरक/डस्ना किन्न १० हजार दिने निर्णय गरेको थियो । ‘टेबुल ठोक्ने र ठुलो स्वर गर्नेले जस्तापाता खरिदका लागि आएको १५ हजार सहजै पाए तर हामीले घर भत्केको सबै प्रमाण पूरा गरेर जग्गाको लालपुर्जा देखाउँदा पनि १५ हजार पाएनौं,’ पांग्रेटारका श्याम तिमिल्सिनाले भने, ‘अब पहिलेकै जस्तो गरी यो १० हजार पनि वितरण गर्ने हो भने हामी मर्न तयार छौं तर रकम वितरण गर्न दिँदैनौं ।’
गाविस कार्यालयमा आएका स्थानीयले पहिलेको १५ हजार आफूहरूले नपाएसम्म १० हजार वितरण गर्न नदिने बताएपछि जाडो छल्न सरकारले दिने भनेको सिरक खर्च १० हजार वितरणमा नै समस्या भएको छ । १० हजारमा समस्या भएपछि पांग्रेटार गाविस सचिव हरिगोपाल गैडाले सर्वदलीय सयन्त्रसहित जिल्ला प्रशासन कार्यालय पुगी समस्याबारे जानकारी गराएको राजधानी दैनिकमा खबर छ ।
भूकम्पपीडितहरूका लागि सरकारले न्यानो कपडा खरिदका लागि दिने भनेको १० हजार वितरणमा यतिबेला जिल्लाका सबै गाविसमा समस्या भएको छ । कतै पहिलेको १५ हजारकै उजुरीले गर्दा समस्या भएको छ त कतै सरकारले अपुग पैसा पठाएपछि समस्या भएको छ । भूकम्प प्रभावित सबै जिल्लामा यो समस्या देखिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts