Thursday, December 10, 2015

‘ए’ डिभिजन फुटबल छाडेको एनआरटी फुटबलमा फर्कने

काठमाडौं,मंसिर २५ । आर्थिक समस्या देखाउँदै ‘ए’ डिभिजन फुटबल छाडेको एनआरटी क्लब फेरि फुटबलमा फर्कने भएको छ। एनआरटी दुई वर्षको विश्रामपछि पुनः फुटबल खेल्ने निर्णयमा पुगेको हो। २०७० सालको ‘ए’ डिभिजन लिगमा पाँचौं भएको एनआरटीले त्यही बेला बैंकको ऋण तिर्न नसकेको भन्दै ‘ए’ डिभिजन नखेल्ने निर्णय गरेको थियो।
एनआरटीले ‘ए’ डिभिजन नखेल्ने निर्णय गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लबलाई ‘बी’ डिभिजनमा घटुवाको कारबाही गरेको थियो। ‘हामीले पहिला क्लबलाई लागेको एक करोड ७८ लाख रुपैयाँ ऋण तिर्नका लागि केही समय फुटबल खेल्दैनौं भनेका हौं।

दुई वर्षमा क्लबले सबै ऋण चुक्ता गरिसकेको छ। एन्फाको निर्णयअनुसार नै अब हामी ‘बी’ डिभिजनबाट फेरि फुटबल खेल्न जाँदैछौं’ एनआरटीका अध्यक्ष दीपकहर्ष वज्राचार्यले भने।

उनले फुटबल एनआरटीको ब्रान्ड भएकाले एन्फाले लिगको घोषणा गर्नासाथ खेलाडी अनुबन्ध गराएर तयारी सुरु गर्ने जानकारी दिए। ‘एनआरटीलाई अब ‘बी’ डिभिजन खेल्न कुनै समस्या छैन। हामी यसै वर्ष ‘बी’ बाट ‘ए’ डिभिजनमा उक्लने लक्ष्यका साथ खेलाडी अनुबन्ध गर्नेछौं’, वज्राचार्यले भने।

दुई वर्षअघि फुटबल खेल्ने वा नखेल्ने विषयलाई लिएर एनआरटीका पदाधिकारीबीच रस्साकस्सी नै परेको थियो। क्लबका तात्कालीन अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतका पदाधिकारी क्लबको साख जोगाउन ऋण काडेरै भए पनि फुटबल खेल्नुपर्ने पक्षमा थिए।

तात्कालीन समयमा उपाध्यक्ष रहेका दीपकहर्ष वज्राचार्यलगायत अधिकांश पदाधिकारी भने केही समय फुटबलबाट आराम लिन चाहन्थे। क्लबको विशेष साधारणसभामा अधिकांश सदस्यले फुटबल नखेल्ने निर्णय गरेपछि नरेन्द्रले नैतिकताको आधारमा अध्यक्ष पदबाट राजीनामा दिएका थिए। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

नरेन्द्रको राजीनामापछि वज्राचार्य क्लबको अध्यक्ष बनेका थिए। त्यतिबेला नरेन्द्र श्रेष्ठ एन्फाको उपाध्यक्ष थिए।१९९१ सालमा स्थापना भएको एनआरटी नेपाली फुटबलको सर्वाधिक धनी र पुरानो क्लब मानिन्छ।

एनआरटी क्लबको स्वामित्वमा त्रिपुरेश्वरमा चार रोपनी जग्गा र सुविधासम्पन्न व्यापारिक भवन छ। एनआरटीले मासिक लाखौं रुपैयाँ घरभाडाबाट मात्रै आयआर्जन गर्दै आएको छ। एनआरटी फुटबलबाट टाढिएकै वर्ष नेपालका अन्य दुई पुराना क्लब ब्वाइज युनियन र आरसीटी पनि रेलिगेसनमा परेका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts