काठमाडौं,मंसिर ४ । अघिल्लो सरकारको पालामा नियुक्त भएका विभिन्न सरकारी संस्थानमा जागिर खाएका कांग्रेसीहरूको जागिर धरापमा परेको छ । नयाँ सरकार गठन भएपछि नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्नेमा अटेर गरेर बसेका उनीहरूलाई सजिलै धपाउन पनि मुश्किल पर्ने भएकाले पहिलो चरणमा सम्झाई–बुझाई राजीनामा गराउने योजनामा एमाले र एमाओवादीका मन्त्रीहरू लागेका छन् ।
राम्रो मुखले लौ सर छाडिदिनुप¥यो भन्दा मानेनन् भने उनीहरूलाई हटाउनका लागि मन्त्रिपरिषद्बाट कार्यविधि ऐन ल्याउने तयारीमा सरकार रहेको छ । कार्यविधि ऐन ल्याउने गृहकार्य समेत भइरहेकाले कांग्रेसीहरूको जागिर धरापमा परेको छ । पछिल्लो पटक गोरखापत्र संस्थानमा रमेश तूफानले अध्यक्षको रूपमा ‘तर’ मारिरहेका छन् । रेडियो नेपालमा सुरेश कार्की रहेका छन् ।
१८ महिना भन्दा लामो समय मन्त्रालयमा हाजिर गराएर दुःख दिएका नारीप्रेमी कांग्रेसी मन्त्री मिनेन्द्र रिजालले सुशील कोइराला हटेको तीन दिनपछि घरमा नै सञ्चार सचिव सुनिलकुमार मल्ललाई बोलाएर पछिल्लो मिति राखेर पुनः रेडियो फर्काएका थिए । नेपाल टेलिभिजनको १० करोड हिनामिना गरेका लक्ष्मण हुमागाईंलाई पनि टेलिभिजन फर्काउन खोजिए पनि सफल भएका थिएनन् । बाबुराम दाहाल नामका टेलिभिजनको ट समेत नजानेका व्यक्तिलाई ल्याएर उनले अध्यक्ष बनाएका छन् । नीर शाहलाई अपमानपूर्वक हटाएका मिनेन्द्रको कहिल्यै भलो नहोस् भन्दै उनले सरापेका छन् । कर गरी गरी अध्यक्ष खान बोलाएर अपमानपूर्वक हटाएको भन्दै शाहले मिनेन्द्रको सत्तोसराप गर्ने गरेका छन् ।
यस्तै राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलाई हटाउन एमालेहरू लागे पनि उनले राजीनामा नदिने भन्दै अड्डी लिएको बुझिएको छ । उता, कांग्रेसले नियुक्त गरेका मान्छे हटाए पनि कसलाई नियुक्त गर्ने भन्नेमा एमाले भित्रै मारामार शुरु भएको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण आयोगका अध्यक्ष पोषण केसीलाई पनि हटाउने तयारीमा एमाले रहेको छ । तर सो पदमा पूर्व अध्यक्ष खेम भण्डारीले नै मुख मिट्याएपछि एमालेहरू नै भण्डारीले मात्रै आउनुपर्ने भन्दै आगो भएका छन् । विवादकै कारण सञ्चार मन्त्रीले प्रेस सल्लाहकार समेत नियुक्त गर्न सकेका छैनन् ।
प्रेस सल्लाहकारमा एमालेका सात जना भन्दा बढीले मुख मिठ्याएको बुझिन्छ । समाचारपत्रबाट सहसम्पादकको जागिर खोसिएका टंक पन्तदेखि मात्रिका पौडेलसम्म सञ्चार मन्त्री शेरधन राईको खातिरदारीमा लागेका छन् । यस्तै बुटबलमा बसेर कमाउ धन्दा चलाएका बालकृष्ण चापागाईं पनि कुनै न कुनै पद पाउनुपर्ने भन्दै विष्णु पौडेलको चाकडीमा लागेका छन् । मन्त्रिपरिषदले नै पूर्णता नपाएको भन्दै प्रधानमन्त्री खड्ग ओलीले अहिल्यै नियुक्तिमा हतारो नगर्न भनेको बुझिएको छ । त्यसो त आफ्ना मन्त्रालयमा एकलौटी रुपमा नियुक्ति गर्ने तयारी गरेका एमालेहरू एमाओवादीको मन्त्रालयमा भने आफ्नो समेत भाग चाहिने भन्दै निहुँ खोज्न थालेको बुझिएको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
No comments:
Post a Comment