Thursday, November 19, 2015

डेढ अर्बको औषधि ५ महिनादेखि विमानस्थलमै

काठमाडौं, मंसिर ४  । भूकम्पका घाइतेको उपचारमा सहयोग पुर्‍याउन भन्दै विभिन्न संघ–संस्थाले हवाई कार्गो गरी पठाएका करिब डेढ अर्ब मूल्यबराबरको औषधि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा थन्किएको छ । एक प्रतिशत भन्सार महसुल तिर्न नसक्दा ठूलो परिमाणको औषधि भन्सारमा थन्किएको हो ।

त्यसमध्ये करिब १० प्रतिशत औषधिको म्याद गुज्रिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतको नाकाबन्दीले बजार र अस्पतालमा अभाव हुन थालेपछि मन्त्रालयले औषधिको मौज्दात खोजी गर्ने क्रममा विमानस्थलमा रोकिएको औषधिबारे पुन: चासो देखाएको छ ।

रोकिएको औषधि शून्य भन्सार दरमा छुटाउने वा शुल्क तिर्ने भन्नेबारेमा अर्थ मन्त्रालयसँग छलफल गर्न लागेको उसले जनाएको छ । गत असार तेस्रो सातापछि भूकम्पपीडितलाई सहयोग पुर्‍याउन भन्दै अमेरिकी गैरसकारी संस्था होप प्रोजेक्ट युएसए र अन्य चारवटा संस्थाका नामबाट डेढ अर्बबराबरका महँगा औषधि नेपाल भित्रिएको थियो ।

त्यतिवेला भूकम्पकै लागि भनिए पनि २० असारपछि प्राप्त औषधिलाई सरकारले एक प्रतिशत भन्सार लिने निर्णय गरेको थियो । ढिलोगरी प्राप्त ती औषधि महसुल एक प्रतिशतको दरले डेढ करोड बढी तिर्नुपर्ने भएपछि मन्त्रालयको आपूर्ति महाशाखाले औषधि ल्याएको थिएन ।

बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित बैठकमा विमानस्थलमा ठूलो परिमाणमा औषधि रहेको पुनर्चर्चा चलेपछि उपसचिव राजीव पोखरेलसहित दुईजनालाई अवस्था बुझ्न पठाइएको थियो । स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठले विमानस्थलमा ठूलो परिमाणमा औषधि रहेको बुझिएपछि अवस्थाबारे जानकारी लिन प्रतिनिधि पठाएको बताए ।

उनले औषधिको अवस्था बुझेपछि त्यसलाई कसरी भन्सार छुटाउने भन्नेबारेमा छलफल हुने जानकारी दिए । उपसचिव पोखरेलले भन्सारको गोदाममा महँगो दरका औषधि तथा उपकरण भएको र त्यहाँ अहिले अभाव भएको भनिएका कतिपय औषधि पनि रहेको जानकारी दिए ।

उनका अनुसार भूकम्पमा तत्काल प्रयोगमा आउने भन्दै पठाइएका कतिपय औषधि तथा मल्हम भने म्याद गुज्रिसकेको छ । ‘हामीसँग भएको औषधिको विवरण हेर्दा करिब १० प्रतिशत औषधिको म्याद गुज्रिसकेको होजस्तो लाग्छ । अब बाँकी औषधिलाई कसरी प्रयोगमा ल्याउने भन्ने तयारी हुँदै छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts