Monday, November 23, 2015

मौका मिल्यो भने कांग्रेसले सरकार ढाल्छ

नेपालको अहिलेको स्थिति साच्चै नै खतरनाक मोडमा पुगेको छ । समस्या अब समाधान होला, तब समाधान होला भन्दाभन्दै राजनीति जटिल अवस्थामा पुगिसकेको छ । यस्तो अवस्था कतिसम्म रहन्छ त्यो पनि भन्न सकिने अवस्थामा छैन ।

ओलीको अडान मात्रै
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको मामिलामा अडान लिइरहनु भएको छ । यो एक अवस्थामा मात्रै ठीक हुन्छ, त्यो हो अडानसँगसँगै काम पनि । अडान मात्रै लिने तर चुप लागेर बस्ने काम प्रधानमन्त्रीबाट भएको छ । जनताले जस्तो सास्ती व्यहोरिरहेका छन् त्यो समस्या समाधानका लागि काम पनि र राष्ट्रियताको सवालमा अडान भएको भए ठीक हुन्थ्यो । तर प्रधानमन्त्री काम नगरी अडान मात्रै लिएर कोठामा बस्नु भएको छ ।

-पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक

-पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक

चीनले सहयोग गरेन
चीनले इन्धनमा कर छुट दिने कुरा पहिले गरेको थियो । तर भारतीय गृहमन्त्रीले चीन भ्रमण गरेपछि उनीहरुले इन्धनमा कर छुट नदिने भएका छन् । कर छुट नदिने हो भने त्यो इन्धन किन्न सकिदैन । त्यस्तो इन्धन सरकारले चीनबाट किनेर नेपालमा बिक्री गर्न सक्दैन । भारतसँग खर्बौको व्यापार छाडेर चीनले नेपाललाई सहयोग गर्दैन । भारतले चीनसँग आफ्नो सरकारको कुरा राखिसक्यो । भारतले नेपालको मामिलामा बेलायतलाई समेत आफ्नो पक्षमा राखिसक्यो । संयुक्त विज्ञप्तिमा नेपालको विषय आउनु त्यसको स्पष्ट संकेत हो । ठूला राष्ट्रहरुको आर्थिक स्वार्थ पनि ठूला हुन्छन् । आफ्ना त्यस्ता आर्थिक स्वार्थ छाडेर नेपालजस्तो मुलुकलाई सहयोग गर्दैनन् । चीनले नेपाललाई सहयोग गर्छु भन्न छाड्दैन । त्यसलाई सोझो अर्थमा बुझ्नु कुटनीतिक दूर्बलता हो । किनभने कुटनीतिमा भनिएका कतिपय कुराहरु गरिदैनन् ।
आत्मसम्मानको लडाईँ
यसपटक विराटनगरबाट काठमाण्डु बसबाटै आएँ । तराईका केही जिल्ला घुमे पनि । प्रहरी स्कर्टिङमा आउँदा कुनै युद्धभूमिबाट यात्रा गरे झै भयो । मधेसी युवाहरुसँग कुनै राजनीतिक माग छैन । उनीहरुलाई त्यो थाह पनि छैन । मतलव पनि छैन । तर आक्रोश उच्चविन्दुमा छ । मधेसी पूराना पुस्तामा त्यस्तो खास वास्ता छैन । युवा पुस्तामा भने आफूहरुले पहिचान नपाएको ठूलो आक्रोश छ । काठमाण्डुमा डेरा गरेर बस्ने गैरमधेसीले त घरबेटीहरुले डेरामा बस्नेलाई मान्छे गन्दैनन् भन्ने पीडा छ भने मधेसीलाई त ‘मन मखु मस्र्या खः’ अर्थात मान्छे हैन मधेसी हो भन्ने गरिन्थ्यो । मधेसीलाई भारतीय ठान्ने र सम्मान नपाएको पीडा उनीहरुमा छ । जुन पीडा गम्भीर विषय पनि हो । आत्मसम्मान जसले पनि खोज्छ । त्यो ठीकै हो ।
आन्दोलनका राम्रा पक्ष
अहिलेको आन्दोलनका दुईवटा राम्रा पक्ष छन् अहिलेसम्म । एउटा, यति हुँदा पनि विखण्डनको कुरा आएको छैन । विखण्डनको कुरा गर्ने सिके राउतहरु बिलाएका छन् । सप्तरी सिरहा लगायत केही जिल्लामा अल्पसंख्यामा पहाडी मुलका मानिसहरु छन् । तर कुनै पनि पहाडीलाई निसाना बनाइएको छैन । पहाडे मधेसीको भावना पलाएको छैन । आन्दोलनको यो राम्रो पक्ष हो । तीन महिनादेखि मधेसीहरु आन्दोलनमा हुँदा पनि पहाडीप्रति आक्रोश छैन । आक्रोश सरकारसँगै छ ।
नेताहरुको मति हेरौं
भूकम्पपीडितहरु चिसामा कठ्यांग्रिन थालेका छन् । सात लाख मानिससँग घर छैन । पूनर्निर्माण प्राधिकरण गठनका लागि दलहरुबीच झगडा छ । लाखौं जनतासँग जोडिएको विषयमा समेत दलहरुको हानाथाप छ । पुनर्निर्माण प्राधिकरण गठनमा त भारतको कुनै चासो छैन । भारतले यो मान्छेलाई राख त्यसलाई नराख पनि भनेको छैन । आफैले मिलाउन सक्ने कुरा पनि दलहरुले मिलाउन सकेका छैनन् । यसले के देखाउँछ भने दलहरु आफ्नो स्वार्थलाई नै केन्द्रमा राख्छन् । जनताको दुःखमा यीनीहरुलाई मतलव छैन ।
मौका मिल्यो भने कांग्रेसले सरकार ढाल्छ
मुलुक यस्तो गम्भीर अवस्थामा पुगेको छ । सिमांकनको विषयमा यत्रो ठूलो आन्दोलन भइरहेको छ । तर नेताहरु आफ्नो पार्टीको धारणा विपरीत बोल्दै हिँडेका छन् । अस्ति भर्खरमात्रै कृष्ण सिटौलाले विराटनगरमा पुगेर सिमांकनमा अलिकति पनि फेरबदल हुँदैन भनिदिए । यस्तो संवेदनशिल विषयमा यसरी जे मन लाग्यो त्यही बोल्दा विषय झन जटिल बन्छ । सत्ताबाट कांग्रेस बाहिरीएको कति नै भयो र ? मौका मिल्यो भने कांग्रेसले नै सरकार ढाल्छ ।
भारतको खराब व्यवहार
नेपालमा भारतले जे गरिरहेको छ त्यो अत्यन्त खराब छ । मधेसीलाई भारतले जसरी उचालेको छ यो गलत छ । नेपालको राजनीतिमा खेल्ने भारतको पुरानै बानी हो । मधेसीको आवरणमा भारतले नेपालमाथि खेलिरहेको छ । अहिले आन्दोलनकारीका खास माग पनि छैनन् । तर पनि अनियन्त्रित ढंगबाट आन्दोलन चर्केको छ । नाकाबन्दीले मुलुक चौपट भएको छ ।
(विश्लेषक आचार्यसँग भएको कुराकानीमा आधारित)
kathmandutoday.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts