कार्तिक २२, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी खुल्ने संकेतहरु आएको बताएका छन् ।
सरकारी निवास बालुवाटारमा आइतबार साँझ सचिवहरुलाई बोलाएर प्रधानमन्त्रीले नाकाबन्दी खुल्ने संकेत पाएको बताएका छन् । ‘नाकाबन्दी खुल्ने सकारात्मक संकेतहरु देखिएका छन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सचिवले भने, ‘एक दुई दिनमा केही प्रगति हुने सम्भावना छ ।’
नाकाबन्दीले नेपाललाईमात्र नभई स्वयं भारतलाई पनि घाटा हुने बताउँदै प्रधानमन्त्रीले अविलम्ब खोल्नुपर्ने दोहोर्याए ।
प्रधानमन्त्री ओलीले आयात ठप्प हुँदा जनताको दैनिकी कष्टकर भएको भन्दै सरकारी तयारीमा कुनै कमी आउन नदिन पनि निर्देशन दिए । ‘नाका खोल्ने/नखोल्ने भारतको कुरा हो,’ उनले सचिवहरुलाई निर्देशन दिए, ‘तपाईंहरुले उपलब्ध स्रोत साधनलाई सही सदुपयोग गर्दै जनताको हातसम्म पुर्याउनुहोला ।’
यसैबीच नाकाबन्दीविरुद्ध भारतको कडा आलोचना गर्दै आएका प्रधानमन्त्रीले आइतबार भने त्यसविषयमा प्रवेश चाहेका थिएनन् । ललितपुरमा आइतबार नै भएको कार्यक्रममा प्रधानमन्त्री र परराष्ट्रमन्त्री कमल थापाले कुनै राजनीतिक विषयवस्तु नै प्रवेश गर्न चाहेनन् ।
प्रधानमन्त्री ओलीले शनिबार साँझमात्रै भारतले अकारण गरेको नाकाबन्दी नखुले चीनतिरका सबै नाका खोल्ने स्पष्ट पारेका थिए ।
नाकाबन्दीविरुद्ध भारतका बुद्धिजीवी र सञ्चारमाध्यमले नरेन्द्र मोदीको कदमको भर्त्सना गर्दै आएका छन् ।
भारतीय राजदूत रणजीत रायले आइतबार नै कांग्रेस उपसभापति रामचन्द्र पौडेलसँगको भेटमा पनि नाकाबन्दी खुलाउने संकेत गरेका थिए ।
-ईकान्तिपुर
No comments:
Post a Comment