Thursday, November 5, 2015

बचन दिएकाले धोका दिएपछि बाबुराम तनावमा ‘नयाँ शक्ति’ परित्याग गर्दै !

काठमाडौं,कातिक २० । नेपालको संविधान जारी भएपछि त्यसको सहज कार्यान्वयनका लागि अगाडि बढ्नुपर्ने बेलामा एकीकृत नेकपा (माओवादी) परित्याग गरेर नयाँ शक्ति स्थापनाको बहस गर्दै हिंडेका डा. बाबुराम भट्टराई सोचेजस्तो सफलता नपाएपछि पूर्व पार्टीबाट मान्छे चोर्ने दाउमा लागेका छन् । उनले अँगालेको बाटो र समय गलत भएको भन्दै धेरैले आलोचना गरेपछि उनको नयाँ शक्ति हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हुने भएको छ । नयाँ शक्ति बनाउनुस् सहयोग गर्छौं भन्दै डा. भट्टराईलाई उचालेका मेगा बैंकका सिइओ अनिल शाह, पूर्व मुख्य सचिव लीलामणि पौडेल र बीबीसीका पत्रकार रवीन्द्र मिश्रले आफूहरू सहभागी हुन नसक्ने भएपछि उनी रन्थनिएका हुन् । सानेपा निवासमा बसेर पटक पटक फोन सम्पर्क गर्दा समेत उनीहरूले टेरपुच्छर नलाएपछि डा. भट्टराईको नयाँ शक्ति पानीको फोका भन्दा फरक देखिएको छैन ।

महादेव र पार्वती दुःखमा

नयाँ शक्ति निर्माणको बहसमा लागेका डा. भट्टराई सोचेजस्तो रूपमा सफल नभएपछि दुःखमा परेका छन् । एमाओवादीका नेता तथा कार्यकर्ताहरूले जनयुद्धकालदेखि नै डा. भट्टराई र हिसिला यमीलाई महादेव र पार्वतीको संज्ञा दिने गरेका थिए । त्यसो त यमीको पार्टीको नाम समेत पार्वती नै हो । नयाँ शक्तिको बहस र सार्थकता समय सान्दर्भिक नभएको र साथ दिन्छु भनेकाले समेत साथ नदिने भएपछि उनीहरू दुखमा परेका हुन् । नागरिक समाज, स्वतन्त्र बुद्धिजीवीले साथ नदिने, एमाओवादीका पनि उनका समर्थक बाहेक अरू कोही पनि सहभागी नहुने अवस्था देखिएको छ । बाबुरामका मुख्य समर्थक मानिएका टोपबहादुर रायमाझीले बाबुरामले पार्टी चलाउन नसक्ने र उनले गलत गरेको भन्दै सहभागी नभएर सरकारमा एमाओवादीको तर्फबाट नेतृत्व गरेर गएका छन् । देवेन्द्र पौडेलको विगत राम्रो छैन । जनयुद्धकालमा सुन लुकाएको र आर्थिक भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ । त्यसो त बाग्लुङका लिलबहादुर थापा र नवराज सुवेदीले पौडेल भन्दा माथिल्लो पद दिने भए मात्र हामी सहभागी हुन्छौं भन्दै डा. भट्टराईसँग बार्गेनिङ गरेका छन् । पौडेल र थापाबीच तँ तँ र म म नै भएको छ । होक्ले कान्छोलाई कम आँक्ने त्यो बाहुनले भन्दै थापाले उजुरी गरेपछि पौडेल र उनीबीचको झगडा सतहमा आएको छ । नवराज सुवेदीले पनि पौडेलको गतिविधि गलत र शंकास्पद रहेको भन्दै डा. भट्टराईको कान फुकिसकेका छन् । एमाले, कांग्रेसबाट समेत मान्छे ल्याउने डंका पिटाएका डा. भट्टराईले एमाओवादीमा नै रहेका आफ्ना भनिएकाले समेत साथ नदिने र आफ्नै भनिएकाबीचमा समेत गाँड कोराकोर भएपछि दुःखमा परेका छन् ।
एमाओवादी केन्द्रीय कार्यालयमा यही कात्तिक १७ गते ४५ जनाको हस्ताक्षर गरेर बुझाइएको भनिएको पत्रमा समेत केन्द्रीय नेता २० भन्दा बढी छैनन् । पूर्व राज्य समिति सदस्य र केही सल्लाहकारको नाम राखेर किर्ते हस्ताक्षर गरेर निवेदन बुझाइए पनि त्यसमा सांसद् र केन्द्रीय सदस्यको संख्या न्यून रहेको छ । उनीहरूले पनि अन्तिम समयसम्म साथ दिन नसक्ने देखिएको छ ।

प्रभु साहको बार्गेनिङ जारी
बाबुराम पक्षका भनेर चिनिएका मधेशी नेता प्रभु साहले पनि आफूले भने अनुसार नगरेको भन्दै साथ नदिने बताएका छन् । साह एमाओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । साह र तराईका अर्का नेता महेन्द्र पासवानबीच रहेको व्यक्तिगत इगोका कारण डा. भट्टराई समस्यामा परेका छन् । उनी भुईंको टिप्न खोज्दा पोल्टाको खस्ने अवस्थामा पुगेका छन् । संसद्को अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति समेत रहेका साहले एमाओवादी छोड्न नसक्ने बताएका छन् । बाबुरामको सती जान सकिंदैन, उनको कदम गलत रहेको छ भन्दै साहले उनलाई साथ नदिने बताउँदै आएका छन् । त्यसो त नयाँ माओवादीका रूपमा चिनिएका रामचन्द्र झा, रामरिझन यादवबीच पनि कुरा मिल्न सकेको छैन । आफूलाई नेता बनाउनुपर्ने नत्र मानिंदैन भन्ने उनीहरूले समेत बाबुरामसँग बार्गेनिङ गरिरहेका छन् । झाको दुई वटा नागरिकता रहेको भन्दै एमाले, एमाओवादीमा रहँदा समेत आलोचना हुँदै आएको थियो । एमालेले त भारतीय नागरिक भन्दै कारबाहीको तयारी गरेपछि सुरक्षाको लागि झा एमाओवादी प्रवेश गरेका थिए । मधेशीको प्रतिनिधित्व ४० प्रतिशत भन्दा बढी नयाँ शक्तिमा हुनुपर्ने भन्दै मधेशी नेताले चर्को बार्गेनिङ गरेपछि बाबुरामलाई हैरानी र बेचैनीले सताएको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts