Tuesday, November 10, 2015

त्यसै छाडेका हैनन् बाबुरामले एमाओवादी

असोज ३ गतेको आतिसवाजी र ४ गतेको पुष्पवृष्टिबाट नेपालको संविधान २०७२ ले जमीन उज्यालो र आकाश सुवासिलो बनाएको छ । संविधान घोषणा गरिएको कंक्रिटको शहर पटाकाले झंकारमय भएपछि प्रचण्ड संगीत अहिले सबैको गायनको विषय भएको छ । नयाँ संविधान निर्माण, प्रचण्ड अर्थात् माओवादी सुप्रिमोको सगरमाथा चढाइको क्लाइमेक्स हो वा झराइको ! उनी अब नयाँ संविधानको हिमपहिरो र कुइरोमा अल्मलिन्छन् वा कुहिरो हटाएर अर्को नयाँ उडान भर्छन् यो समीक्षा सुरु भएको छ । यसबीच नयाँ संविधान जारी हुँदा आधा देशले खुशीयाली नमनाएको भन्दै दीपावलीमा सरिक नभएका बाबुराम भट्टराईले संविधान जारी भएको एक सातामै पार्टी र सांसद पद परित्याग गरेका छन् । बाबुरामको यात्राबारे पनि अब बहस सुरु भएको छ । उनी पनि ओरालो लागेका हुन् वा उकालो उक्लेका हुन् ।

इतिहासको पाना पल्टाउँदा २०४६ सालको जनआन्दोलन लगत्तै तत्कालीन क. विश्वासले चिनिने प्रचण्डलाई संविधान सभाको नारा सुधारवादी लागेको थियो । “माक्र्सवादको पक्ष र सुधारवादको विरोधमा” भन्ने उनको बुकलेटबाट साभार गर्दै नेपाली क्रान्तिका समस्याहरु भाग १ मा समेटिएको “संविधानसभाः क्रान्तिकारी वा सुधारवादी ?” भन्ने रचना लेख्न उनले सातवटा फूटनोटको प्रयोग गरेका छन् । उनले लेनिनको रुसी सामाजिक जनवादका दुई कार्यनीतिबाट चारवटा, माक्र्स–एंगेल्सको पत्राचारबाट एउटा र माओका संकलित रचनाहरु भाग–२ बाट दुईवटा फूटनोटको सहारा लिई २०४७ सालमा संविधानसभाको नारा लगाउनेहरुलाई उनले जवाफ दिएका थिए, “आज संविधानसभाको कुरा गर्नु सुधारवादी गल्ती हुन्छ, जसले जनतालाई क्रान्तिकारी दिशामा शिक्षित र दिक्षित तुल्याउने होइन, वर्ग संघर्षको धारालाई स्पष्ट पार्ने होइन कि जनतामा राजनीतिक भ्रम, वर्ग समन्वय र कानुनी प्रकृयाप्रति मोह पैदा गर्नेछ ।”

प्रचण्डलाई उनी आफैले नै ‘मोह पैदा’ गर्ने भनिएको स्थानमा आइपुग्न दश वर्ष लाग्यो । जबकि उनका तीसवर्ष यताका अभिन्न मित्र बाबुराम भट्टराईले उनीहरुको मित्रताको पाँचौ वर्षमै संविधानसभाबाट नै राजनीतिक निकास निकाल्नुपर्ने बहस गर्न थालिसकेका थिए । २०४७ सालमा नै संविधानसभाको आवश्यकता महसुश गर्ने बाबुराम भट्टराई र २०४७ मा संविधानसभा सुधारवादी नारा देख्ने प्रचण्ड २०५७ सालमा उनीहरुको साझा पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनमा संविधानसभाको नारामा एक ठाउँमा आए । दुवैको अन्तरहृदयले पारित गरी २०५२ फागुनमा संचालित जनयुद्धको आधार दस्तावेज संयुक्त जनमोर्चा नेपालको चालिस बुँदे मागपत्रमा संविधानसभा महामन्त्रीको भाषामा ‘सुधारवादी’ शब्दावली भएकोले जनताका चुनिएका प्रतिनिधिले देशको विधान बनाउनुपर्ने कुरा राखियो । पाँचवर्षपछि २०५७ मा संविधानसभा माग गर्दा जनयुद्धले तत्कालिन संसदीय व्यवस्थासँग शक्तिसन्तुलनको अवस्था सृजना गरिसकेको विश्लेषण गरिएको थियो ।

manarishi-Dhital

तर संविधानसभाबारे प्रचण्डको पुरानो विश्लेषण अनुसार “जसरी बहुदलको निम्ति मात्र भनेर संघर्ष गर्दा अहिले कांग्रेस नै मूल रुपमा हावी भएको छ, त्यसरी नै संविधानसभाको कुरा यो पृष्ठभूमिमा (२०४७ सालमा) उठाउँदा त्यसका आयोजकहरु राजा र कांग्रेस नै हावी रहने कुरामा कुनै शंङ्का छैन” भनियो । जनयुद्धमा उत्पीडित वर्ग, जाति, क्षेत्रको उपस्थिति भएकाले त्यसलाई मौलिक क्रान्ति भनिएको थियो र २०५७ देखि विशेषगरी बाबुराम प्रस्तावमा पार्टीभित्र पुनः अगाडि सारिएको र प्रचण्डद्वारा संश्लेषित गरिएको संविधानसभाको नयाँ परिभाषाले देशलाई माओवादी ध्रुवमा एकत्रित ग¥यो । संविधानसभा नमान्ने र जनदमन रोज्नेहरुलाई जनताबाट पाखा लगायो । संविधानसभा सर्वस्वीकार्य बनाउने राजनीतिक बहश भइरहँदा दरबार हत्याकाण्डबाट ढलेको राजतन्त्र कांग्रेस एमालेको बलबाट फेरि संगठित र संस्थागत हुँदै थियो । प्रचण्डले कांगे्रस–एमाले राष्ट्रघाती र दरबार राष्ट्रवादी भन्ने उनको आफ्नो मान्यता फेरेका थिएनन् । प्रचण्डको त्यही मान्यता दरबारसँग ढोरपाटन वार्ता गरी झण्डै सत्तारोहण गर्ने विन्दुमा पुग्दा बाबुरामको ‘व्यक्तिवादी अराजकता’ ले रोकी दियो । आन्तरिक रुपमा प्रचण्डले बाबुरामलाई बन्धक बनाइरहँदा दरबारले संसदवादी नेताहरुलाई बन्धक बनायो । पूरानो सत्ताको दरवारको मती सकिएर संसदवादीहरुलाई बन्धक नबनाएको भए र बाबुरामबलमा माओवादी पार्टीभित्र संविधानसभाको नारा जिउँदो नभएको भए प्रचण्ड, गिरिजाबाबु र माधव नेपालको भेट कुन नारामा वा कुन धारामा हुन्थ्यो होला ? प्रचण्डले तीसवर्षसम्म बाबुरामलाई बुझ्न नसके जस्तै नेपाली जनताले प्रचण्डलाई बुझ्न कति वर्ष कुर्नुपथ्र्यो होला ?

संविधानसभा मार्फत संविधान निर्माण भएको छ । हिजो संविधानसभाको नारा नै सुन्न नरुचाउने प्रचण्ड, शुशील कोइराला र केपी ओलीको मजबुत ध्रुवीकरण भएको छ । नेपाली राजनीतिमा वीपीले छाडेको र पुष्पलालले कार्यान्वयन नै गर्न नपाएको संविधानसभाको नाराका समर्थक भएका एक्ला वृहस्पति बाबुराम भट्टराई भने अहिले प्रचण्ड, केपी ओली र शुशील कोइरालाको बानेश्वर र टुडीखेलका भीडहरुबाट अलग उभिन खोजेका छन् । जनयुद्धमा प्रचण्डलाई प्रचण्ड बनाउँन त्याग र बलिदान गर्ने योद्धाहरु उनीहरुसँग भएपनि नभएपनि जनजाति, मधेस र थारु माथि दमन गर्ने शर्तमा प्रचण्डको नयाँ ‘राष्ट्रवादी’ छवि निर्माण भएको छ । उनको नयाँ मौलिक नेतृत्व नै अघि बढ्ला वा मधेशी, जनजाति, दलित, महिला, थारु र उत्पीडित समुदायलाई अधिकार दिन केही समय धैर्य गरौं भन्दा राष्ट्रघाती र जनविरोधी आरोप खेपेका बाबुरामको नेतृत्व ? त्यो भने अझै इतिहासकै गर्भमा छ ।

यता बाबुरामले पार्टी र सांसद पद दुवै छाडेर जोखिमको यात्रा तय गरेका छन् । उनले संविधानको अन्तिम तयारी हुँदै गर्दा विजय गच्छदारलाई प्रचण्ड, सुशील र केपीको हारमा राखेर हस्ताक्षर गराए । त्यही संयुक्त हस्ताक्षर नै संविधानको मस्यौदा हुन्छ, हुन्नको थपडी बजाउने चरणमा पुग्ने अन्तिम दस्तावेज बन्यो । पश्चिममा शेरबहादुर र भीम रावल, पूर्वमा केपी ओली र कृष्ण सिटौला अनि बीचमा कुम हल्लाउँदै प्रचण्ड बसेपछि विजय गच्छदारलाई बानेश्वरबाट रुँदै सडकतर्फ लखेटियो । थारु समुदायबाट प्रतिनिधित्व गर्ने विजय गच्छदारको थरुहट मोर्चाले नै एक मधेस, एक प्रदेश भन्ने नारालाई पश्चिम तराईमा अर्को प्रदेशको आवश्यकता बोध गराएको थियो । बाबुरामले अन्तिम सम्म विजय गच्छदार सहितको मोर्चालाई हुन्छ, हुन्नको थपडीमा उपस्थित गराउने कोशिस गरे, तर निकट भविष्यको सत्ता बाँडफाँडसमेतको हिसावकिताव बाँडिसकेको अहंकारी प्रचण्ड मोर्चाले थारु र मधेसीलाई संविधानसभा भित्र पुनः प्रवेश गराउने कोशिस नै गरेन ।

एकीकृत नेकपा (माओवादी) अब पूर्ण रुपमा संसदीय पार्टी भैसकेको छ । उक्त पार्टीका पहिलो तथा अन्तिम अध्यक्ष पुष्पकमल दाहाल समग्र संसदीय मोर्चाको एकध्रुवीय नेता भैसकेका छन् । उनले संसदवादी आरोप लगाउने बाबुराम भट्टराईले सांसद पदबाट समेत राजीनामा दिइसकेका छन् । बाबुरामलाई पुष्पकमलले पार्टी निर्माणको जस कहिल्यै दिएनन् र बाबुरामले पार्टी फुटको कलंक पनि लिएर गएनन् । प्रचण्डका लागि मोहन वैद्य (किरण) चस्मा थिए भने बाबुराम भट्टराई समयसूचक घडी । प्रचण्डले चस्मा पहिल्यै मिल्काइसकेका थिए भने अब आफूसँग घडी पनि सुरक्षित राख्न सकेनन् । माओवादी नामक पार्टीका प्रचण्डलाई ड्राइभर मान्ने हो भने आँखाको चमक र समयको भेउ नहुने ड्राइभरले नजिक टाढा सही स्थान देखाउने चस्मा र पलपलको समय बताउने घडी नहुँदा त्यो गाडी सुरक्षित साथ समयमै गन्तव्यमा कसरी पुर्‍याउलान ? प्रतीक्षाको विषय बनेको छ ।

लेखक जनादेश साप्ताहिकका सम्पादक हुन् । 

-dainiknepal.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts