Monday, November 9, 2015

ठूलो देशको सानो चित्त

दिल निसानि मगर

नियतवश उखेलेर फ्याँकिएका हाम्रा जंगे पिल्लरहरू वर्षौंदेखि अशान्त थिए, तर काठमाडौं शान्त थियो। बिहानीपख आँखा मिच्न नपाउँदै अखबारका पानामा सीमा मिचिन्थे, फेरि पनि काठमाडौं एक अजिब संसारमा मस्त निदाइरहेको थियो। यसबखत हाम्रा ती दुखित, थकित पिल्लर र सीमाको छेउछाउ भूत जागेर खाजा खाँदैछन्। एकाएक काठमाडौंका आँखा च्यातिएका छन्। अनि यसको दृश्यशक्ति ग्यालिलियोको दुरबिनभन्दा धेरै पर–पर पुगेको छ।
आँखा च्यातिएकै कारण नेपाल–भारत सम्बन्धमा नदेखेका कुरा देख्ने भयौं, नसुनेका कुरा सुन्ने भयौं र नबुझेका कुरा बुझ्ने भयौं। अब काठमाडौं मात्र होइन, प्रत्येक नेपाली नागरिकको मन अशान्त भयो। मस्त निद्राबाट ब्युँझेर आफ्नो धरातलको ओछ्यानमा अनिँदो बस्ने भयौं। तैपनि कतिपय मानिस भन्छन्, नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ। सम्बन्धका आयाम अनेक होलान्, यद्यपि यी आँखाले सीमापारि मालिक र सीमावारि नोकरको जस्तोसम्बन्ध देख्यो।
यस्तो पनि देख्यो, संस्कृति र सीमाना नजिक हुँदैमा,  खानपिन र लुगाफाटो मिल्दोजुल्दो देखिँदैमा र बाहुल्य मानिसको समर्पण उस्तै भगवानको मन्दिरभित्र हुँदैमा दुई अलग–अलग राष्ट्रबीचको राष्ट्रियता एकै हुन सक्दैन रहेछ।
सीमानाका दृष्टिले भारतसँग नजिक देखिए पनि आफ्नो राष्ट्रिय स्वाभिमानका दृष्टिले हामी धेरै टाढा छांै। उनीहरूले हाम्रो मधेसलाई नेपाल कहिल्यै ठानेनन्, नेपाललाई अलग्गै देशजस्तो व्यवहारसम्म गरेनन्। यस्तो फासिस्ट व्यवहारको मन्चन अहिले मात्र होइन, उहिल्यैदेखि हुँदै आएको हो।
हामीले पनि विशाल भारतलाई कहिल्यै ‘इस्ट इन्डिया कम्पनी’ जस्तो ठानेनौं। तिमीहरू अंग्र्रेजका गुलाम हौ भनेर होच्याउने काम पनि गरेनौं। हामीले छिमेकी देश भारत नै भन्यौं, प्रजातान्त्रिक मुलुक नै ठान्यौं तर उनीहरूले सधैंभरि भाइ–भाइको उपमा थोपरिदिएर, रोटीबेटीको चक्मा दिएर हामीलाई जिल्लाइराखे। हामी जिल्लिँदै गयौं, जी जी हजुर भन्दै गयौं र यहाँसम्म आइपुग्दा हाम्रो चुह्लोको बटन उनीहरूको हातमा पुग्यो। स्कुल, कलकारखाना, होटल, रेस्टुरेन्ट, दोकान, सवारी साधन, भान्छा कोठासमेत हाम्रो हातमा रहेनन्।
एक हदसम्म सत्य हो, भारतसँग नेपालको प्राचीन–ऐतिहासिक सम्बन्ध अवश्य छ। त्यसको प्रभाव राजनीति, धर्म, साहित्य, व्यापार, भूगोल, सभ्यताको उत्पत्ति अनेक कोणबाट अभिव्यक्त हुन सक्छन्। हाम्रा जीवन, दर्शन र सिद्धान्तहरू पूर्वीय हुन सक्छन्। यी अनेकौं कोण जोडिएकै कारण अंग्रेजको पन्जाबाट भारतलाई एक गुलामविहीन स्वतन्त्र देश बनाउन हाम्रा पुर्खाहरूले हाँसी–हाँसी आँशु, पसिना र रगतको भेल बगाएका थिए। त्यसको निरन्तरता आजको २१ औं शताब्दिमा आइपुग्दा पनि अन्त्य हुन सकेको छैन।
भारतलाई अंग्रेजहरूबाट गुलाममुक्त बनाउन उनीहरूको भूमिमा हाम्रा पुर्खाले सहादत प्राप्त गर्नुको कारण खुद आफैं भारतको गुलाम बन्नलाई थिएन। स्वतन्त्रताका लागि निर्माण भएका यी गौरवपूर्ण इतिहासलाई बुटले कुल्चिँदै जुन हिटलर शैलीमा भारतले हामीमाथि नाकाबन्दी गरेर युद्धभन्दा भयानक मानवीय संकट थोपारेको छ, त्यो महात्मा गान्धीको मात्र होइन, हाम्रा महान पुर्खाप्रतिको ठाडो अपमान हो। जम्मु–काश्मिरका अखडामा आफ्नो छाति थाप्न तयार नेपाली सपुतहरूको परिवारमाथि गरेको ठूलो अन्याय हो।
यस्तो अन्याय र संसारको सबैभन्दा ठूलो प्रजातन्त्रको सानो चित्त वीरगन्ज–रक्सौलको सीमानाकामा देख्न सकिन्छ। उनीहरूले भन्ने गरेको सानो देश नेपालका ठूला छातिहरू जम्मु–काश्मिरका बंकरभित्र भेटिन्छन्। त्यसैले मूलभूत रूपमा यही नै फरक हो, नेपाल र भारतबीचको असमान मित्रताको सम्बन्धमा। हामी उनीहरूको माटोका लागि जीवन सुम्पिन तयार हुन्छौं, बदलामा उनीहरू हाम्रो शिरमा टेक्छन्। हामीले बगाएका रगत उनीहरूका लागि पानीजस्तो लाग्छ र हाम्रो भूमिमा बग्ने खोलानाला र नदीहरू सिंगो भारतको जीवनजस्तो लाग्छ।
त्यसैले, यो रगत र पानीको लडाइँ हो। यो स्वाभिमान र स्वाधिनताको लडाइँ हो। एक सार्वभौम मुलुकको मुलुकी ऐनप्रति अनावश्यक दख्खल दिन लैनचौरको भारतीय दूतावास नेपालको संविधानसभा भवन हुन सक्दैन। नेपालीले लोकतान्त्रिक विधि प्रयोग गरी आफ्नो संविधान आफ्नै देशको निम्ति बनाएका हुन्। संसारको कुनै पनि संविधान समस्याविहीन छैनन्, हाम्रोमा पनि समस्या छ। समस्या समाधान गर्ने कोशिस गर्दागर्दै जसरी आन्तरिक मामिलामा ठाडो हस्तक्षेपका प्रयास भए, ती खेदजनक छन्।
सीमापारि नरेश अग्रवालको गोदाममा भोजभतेर गरेर भारतीय आन्दोलनकारीले नेपालको सुरक्षा पोस्टमा ढुंगामुढा गरे। भावनाले हेर्दा त्यो सामान्य ढुंगामुढा मात्र हुन सक्छ, तर दिमागले हेर्दा त्यो आणबिक बमजस्तै हो। दुई छिमेकी मुलुकबीच यसरी तनाव बढ्दै गर्दा अब हामीले सोच्नुपर्ने बेला आएको छ। निश्चय पनि हामीले भारतका लागि गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने दिन आएको छ। अपमान र तिरस्कारका बाबजुद किन हामी उनीहरूको निम्ति रगत बगाउने ? किन हाम्रा सपुतले भारत माताको गीत गाइरहने ?
हाम्रो सिंगो युवाशक्तिको धेरै हिस्सा लाहुरे प्रवृत्तिबाट गुज्रेको छ। खासगरी जनजाति समुदायमा त यसको ठूलो सपना नै देखिन्छ। गल्लाहरू गाउँगाउँ घुमेर सक्षम र स्वस्थ युवालाई भर्ती गरेर लैजान्छन्। देशका प्रमुख सहरमा भर्ती केन्द्र स्थापना गरेर हाम्रा युवाको छाति नाप्ने काम गरिन्छ। एक हिसाबले यो स्विकार्य हुन सक्छ, जहाँ स्वाभिमान र स्वाधिनताको भाव समान झल्किन सक्छ। जहाँ दुई देशबीच मित्रताको सम्बन्ध दुश्मनको जस्तो हुँदैन, त्यो अवस्थामा गोर्खा भर्ती केन्द्र स्वाभाविक मान्न सकिन्छ। यहाँ त नेपालजस्तो स्वाधीन, स्वतन्त्र राष्ट्रको संविधानसभाभित्र पस्ने चलखेल भयो। सीमाका पिल्लर उखेलेर फ्याँकिदिने र सीमा मिच्ने काम झनझन् बढ्दै गयो। हामीलाई नाकाबन्दी गर्ने र पारवहन सुविधा खोस्ने काम भयो। पारवहन सुविधा हामीले भारतको दयामायाका कारण प्राप्त गरेका होइनौं, त्यो भूपरिवेष्ठित देशले पाउनुपर्ने, अन्तर्राष्ट्रिय सन्धि–सम्झौताले दिएको नैसर्गिक अधिकारको कुरा हो। कलकत्ता बन्दरगाहबाट लोड हुने सबै सामान भारतका हुँदैनन् भन्ने बुझेरै पनि हामीमाथि गम्भीर धोका भयो।
नेपालको प्रहरी चौकीमाथि ढुंगामुढा फ्याँक्ने भारतीय नागरिकका पुर्खा साँप र सपेरोका साथ खेल्थे, अहिले कम्युटरसँग खेल्ने कुरा गर्छन्। हाम्रा वीर पुर्खा बन्दुकसँग खेल्थे र अहिलेसम्म हामी बन्दुकसँग खेल्दैछौं। मानौं, हामीलाई कम्प्युटरसँग खेल्नु छैन, हामीलाई त केवल भारतको रक्षाका लागि जीवन–मरणको लडाइँ लड्न आउँछ जस्तो भयो। उता नेपाल आमाका छोराहरू भारत–पाकिस्तानको सीमानाकामा दिनरात खटिरहेका छन्, यता हाम्रो वीरगन्ज–रक्सौल नाका बन्द भएको छ। यसकारण नेपाल–भारतबीचको हालको सम्बन्ध स्वाभाविक छैन। विगतमा यस्ता धेरै हस्तक्षेप र अपमान हुँदै आएका छन्, जसको फेहरिस्त निकै लामो छ।
आफ्नो देशको मर्यादाका लागि गोर्खा भर्ती केन्द्र तत्काल खारेज गर्नुपर्ने समय आएको छ। हुन त माओवादी युद्धकालको समयमा भारत लगायत बेलायतसम्मका गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने माग नउठेको होइन, तर त्यो बीचमै सेलायो। भर्ती बन्द गरे रोजगार खोसिन्छ भन्ने समूह पनि निस्के। त्यो स्वाभाविक पनि थियो, तर अब स्वाभिमानका लागि अस्वाभाविक कदम चाल्नै पर्छ।
नेपाली माटोमा जन्मेका गोर्खाली सन्तानका फौजहरूले इस्ट इन्डिया कम्पनी (अंग्रेज) सँग वीरतापूर्वक लडेको इतिहास हरेक भारतीयहरूले अध्ययन गर्न जरुरी छ, तब तिनलाई महशुस हुनेछ कसैको गुलाम हुनुको पिडा र गुलामबाट फुत्किनुको खुसियाली। हाम्रो चाहना यति मात्रै हुन सक्छ, भारतीयहरू अंग्रेजको घोषित गुलामबाट मुक्त भए, अब हामी भारतको अघोषित गुलामबाट मुक्त हुन चाहन्छौं, किनकि हामी पनि खुसी हुनु छ। नेपालीको दीर्घकालीन महत्व राख्ने विषयहरूमा ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोज्ने भारतले हाम्रा सपुतबिना जम्मु–काश्मिर को सिमाना ‘म्यानेजमेन्ट’ गरेर देखाउन सक्नुपर्छ।
सन् १८१५ देखिको गोर्खा भर्तीको फन्दा आज दुई सय वर्ष पुगिसकेको छ। दुई सय वर्षदेखि नै भारतको भूमिमा नेपाली सपुतहरू लडिरहेकै छन् उनीहरूको माटोको रक्षा गर्न। युद्धस्थलमा लाखौं सपुतको निधन भएको छ। लाखौं घाइते र अपांग बनेका छन्। लाखौं विधवा र टुहुरा–टुहुरी बनेका छन्, भारतीय माटोको रक्षाका लागि र भारतीय स्वतन्त्रता र स्वाधीनताका लागि। त्यसको बदलामा हामीले के पायौं ? लाहुरेको पेन्सनपट्टा मात्र योगदानको कदर हुन सक्दैन। त्यो एक जना लाहुरेको रगत मात्र होइन, एक नेपाली सपुतको रगत हो।
विसं १९१० को भारतीय सिपाही विद्रोह दमन हुँदै १९९७–२००१ को हैदरवाद लडाइँसम्म आइपुग्दा गोर्खा सैनिकले भारतीय माटोमा कति रगत बगाए, त्यसको मूल्य भारतले कहिल्यै चुकाउन सक्दैन। गोर्खा फौज स्थापनाको दुई सय वर्षभन्दा बढी समयमा आइपुग्दा अहिले करिब ६५ हजारभन्दा बढी गोर्खाली सैनिक सातवटा रेजिमेन्टमा कार्यरत छन्। यिनै ६० हजार गोर्खाली सैनिक भारतका सबैभन्दा साहसी सैन्यशक्ति हुन्। पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा संसदलाई सम्बोधन गर्दै मोदीले गर्वसाथ भनेका थिए, भारतले त्यस्तो एउटा स्वतन्त्रताको लडाइँ लडेको छैन जहाँ नेपालीको रगत बगेको नहोस्। के आज हामीले रगतको बदला अपमान पाउँदैछौं ?
रगतको बदला र मानसम्मानको सम्झना गर्नुपर्दा सन् १९१८ को प्रथम विश्वयुद्ध सकिएपछि जर्मन सम्राट कैजार विलियम द्वितीयले भनेका थिए रे, ‘म मेरा प्यारा फौजलाई संसारको कुनै देशका फौजसँग लडाउन किञ्चित डर मान्दिनँ तर गोर्खाली सैनिकको नाम सुन्दा मेरो मुटु काँप्छ।’  भारतकै सैनिक जनरलले ‘कसैले म मर्न डराउँदिन भन्यो भने कि त्यो झुट बोलिरहेछ, कि त्यो गोर्खाली हुनुपर्छ’ भनेका थिए।
यिनीहरूले किन यसो भने ? किनभने हामीले यिनको खुसीका लागि तातो रगत बगायौं। यिनको स्वतन्त्रताका लागि बलि चढ्यौं, यिनको रक्षाका लागि छाति थाप्यौं।
सयौं वर्षदेखि भारतीय भूमिमा हाम्रा पुर्खाको आँशु, पसिना र रगत बग्यो। र बग्दैछ, तिनै पुर्खाका सन्तानको आँशु, पसिना र रगत अझैसम्म। त्यो तत्कालीन इस्ट इन्डिया कम्पनीका अंग्रेजका लागि होस् वा हालको स्वतन्त्र भारतका लागि होस्, नेपाली सपुतको आँशु, पसिना र रगत हिजो पनि बग्यो, आज पनि निरन्तर बगिरहेकै छ, अनि भोलि पनि बगिरहनेछ। के अझै पनि बगाउने हो ? अपहेलित, अपमानित र घृणित हुनुको पीडाबोध हामीलाई कहिले हुन्छ ?
नेपाल–भारत सम्बन्धको उचाइ र यसको गरिमा हालका शासकहरूले नजरअन्दाज गरेजस्तो कमजोर, फितलो थिएन, बरु बलियो थियो। तर, दुःखको कुरा अंग्रेजले ‘इस्ट इन्डिया कम्पनी’ लाई भारतको नाममा छाडेर जाँदा पनि २१ डिसेम्बर १९२३ का दिन सम्पन्न असमान सन्धिले हाम्रो झन् ठूलो अपमान गर्यो। हाम्रो स्वतन्त्रताको लडाइँप्रतिको योगदानमा घात गर्यो। रगतको बदला नगद उपहार, तक्मा र क्रसचिह्न मात्र हुन सक्दैनन्। रगतको बदला स्वाभिमान हुनुपथ्र्यो।
सन्धिमा उल्लिखित अनेकौं बुँदा मूलतः हाम्रा पुर्खाकै अपमान थियो। जस्तो– बुँदा नम्बर ३ मा भनिएको छ, नेपालले युद्ध सामग्री भारतमार्फत् किन्न सक्ने तर नेपाल बाहिर निकासा गर्न नपाइने। तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहको कार्यकालमा यही सन्धिविपरीत चीनबाट हतियार खरिद गर्दा नाकाबन्दी ब्यहोर्नुपरेको थियो। यसपटक आफैं संविधान बनाउँदा नाकाबन्दी थोपारिएको छ। तर, नेपालको आन्तरिक मामिलामा पटक–पटक हुने हस्तक्षेप, नाकाबन्दी, कूटनैतिक मर्यादाको उल्लंघनले हामीले असमान भनिरहेको सन्धिको पनि उल्लंघन गर्दछ।
सन्धिको बुँदा नम्बर १ मा नेपाल अंग्रेज स्थायी मैत्री सम्बन्ध र देश विदेश नीतिमा दुवै सरकार स्वतन्त्र हुने कुरा उल्लेख छ भने बुँदा नम्बर २ मा सीमा मिल्ने देशसँग झगडा उठे आपसी सरसल्लाहबाट मिलाइने भन्ने उल्लेख छ। त्यस्तै बुदाँ नम्बर ४ मा नेपालले उपभोग गर्न विदेशबाट ल्याइएका मालसामानको भारतीय बन्दरगाहमा भन्सार तिर्नुपर्ने व्यवस्था भए पनि नाकाबन्दीको कुनै परिकल्पना गरिएको छैन।
भूपरिवेष्ठित देशको पारवहनसम्बन्धी अन्तर्राष्ट्रिय नीति अनुसरण नगर्ने मोदी सरकारले हामीले भन्दै आएको असमान सुगौली सन्धिका केही सकारात्मक बुँदा ख्याल राखेर कम्तीमा नाकाबन्दीजस्तो गम्भीर अपराध नगरेको भए हुन्थ्यो, तर गर्यो। यो भारतको तजबिजी र कूटनीतिको कुरा होला। उसको अधिनायकवादी साम्राज्यको नयाँ रुप होला, तर हामीले रूप बदल्नुपर्ने बेला आएको छ। उनीहरूले प्रदर्शन गरेको रामरमिता टुलुटुलु बसेर हेर्नेभन्दा छिमेकी देश चीनसँगका सबै नाका खोलौं र भारतका लागि गोर्खा भर्ती केन्द्र तत्काल खारेज गरौं, यसैमा हामी सबैको भलो हुनेछ।
-setopati

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts