काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वपर्यटनमन्त्री प्रदीप ज्ञवालीले चीनमार्फत समुन्द्रसम्मको पारवहन पहूँच विस्तार गर्नेगरी चीनसँग सम्झौता गर्ने तयारी भइरहेको बताएका छन्।
सचिव ज्ञवालीले दीर्घकालिन रुपमा तेस्रो मुलुकसम्म व्यापार गर्ने कार्यको थालनीस्वरुप उक्त सम्झौता हुन लागेको बताएका हुन् । भारतले गरेको अघोषित नाकाबन्दीबारे विश्वको ध्यानाकर्षण भएको भन्दै उनले भारतसँग पनि कुटनीतिक तवरबाट समस्या समाधान गराउन सरकार लागिपरेको बताए। ‘भारतसँग कुनै पनि सम्झौता हुँदा नेपालको सार्वभौमिकतामा आँच आउन दिनेछैनौं,’ नेकपा एमाले राजधानी पेशागत विशेष पर्यटन इलाकाको छैठौं संयुक्त शाखा अधिवेशन कार्यक्रममा उनले भने, ‘तर कुटनीतिकस्तरबाट हालको समस्या समाधान गर्ने पहल भइरहेको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ३/४ दिनमा राष्ट्र र जनताको नाममा सम्बोधन गर्नुहुने र त्यसले नेपाललाई आत्मनिर्भरतातर्फ लैजाने बाटो तय गर्ने उनले बताए। अहिलको संकटलाई पार गरेर अगाडि बढ्न पनि नेपाल सक्षम हुने उनको विश्वास छ । ‘चुल्हो नबल्दा गाह्रो छ, तरपनि अहिले लागेका कालो बादल हट्छन्,’ उनले भने, ‘स्वाधिनताको सूर्य पनि झल्कन्छन् । त्यसमा हामी प्रतिबद्ध छौं ।’
कार्यक्रममा पर्यटन प्रवद्र्धन विभागका इन्चार्ज सूर्य थापाले पर्यटन क्षेत्रका माध्यमबाट कसरी व्यवसायिक र राष्ट्रको हितमा योगदान गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन पर्यटन व्यवसायीलाई आग्रह गरे। उनले एमाले दया र निगाहाले नचल्ने भन्दै क्षमताका आधारमा नेतृत्व लिन मातहतका निकायलाई आग्रह गरे।
-nagariknews
No comments:
Post a Comment