काठमाडौं,मंसिर ६ । आज हरिबोधिनी वा प्रबोधिनी एकादशी। हिन्दूधर्ममा कात्तिक शुक्लपक्षको प्रबोधनी एकादशी व्रत बस्नाले पापको नास, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञको फल प्राप्त हुने जनविश्वास रहेको छ आषाढ शुक्ल एकादशीका दिनदेखि क्षीर सागरमा शयन गरेका भगवान् विष्णु चार महिनापछि भोलिका दिन जागा हुने भएकाले यस दिनलाई हिन्दू धर्मावलम्बीले विशेष रूपमा व्रत, उपवास बस्ने चार महिनाभरि चतुर्मास पुराण सुन्ने गर्दछन्। यसलाई ठूला एकादशीको रूपमा पनि मान्ने गरिन्छ।
भगवान् विष्णुको शयनका यी चार महिनामा विवाह, यात्रा आदि माङ्गलिक कार्यलाई राम्रो मानिँदैन। ठूला एकादशीको दिन भोलि गृहिणीले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन्। तसर्थ आजका दिनलाई तुलसी विवाह भन्ने प्रचलन पनि रहेको छ। तुलसीलाई विष्णुप्रिया पनि भनिन्छ। तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेंलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गर्दछन्। हिन्दू धर्मानुसार तुलसीको ज्यादै ठूलो महिमा छ। कात्तिक महिनाभरि सम्पूर्ण तीर्थसहित देवताहरू तुलसीमा निवास गर्दछन्।
जुन घरमा तुलसीको मठ हुन्छ त्यो घर तीर्थ समान हो, त्यस घरमा यमदूतको प्रवेश हुँदैन, एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गरेमा १० हजार गौदान गरे समान फल प्राप्त हुने गरुड पुराणमा उल्लेख भएको पाइन्छ। तुलसीको धार्मिक-सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्व प्रशस्त पाइन्छ। यसको पात, डाँठ तथा फूलको रस रुघाखोकी, औँलो आदिका लागि प्रयोग गरिन्छ।
तुलसीको हावा मात्रले विषालु कीटाणु नाश हुने जनविश्वास रहेको पाइन्छ। हरिबोधनी एकादशीका अबसरमा मुलकभर विष्णु मन्दिर तथा त्रिवेणीमा विशेष मेला लाग्नुका साथै दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। यो एकादशीका दिन विशेषगरी हिन्दू संस्कृतिअनुसार तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने भएकाले यस बेला यसको माग बढी हुन्छ।
No comments:
Post a Comment