Thursday, November 5, 2015

म्याच फिक्सिङ प्रकरण- राष्ट्र विप्लवमा जन्मकैद प्रस्ताव

काठमाडौं,कातिक २० । अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरी खेलप्रेमीमाझ घृणा र द्वेष फैलाएको निष्कर्ष निकाल्दै प्रहरीले फुटबलका पाँच राष्ट्रिय खेलाडी र एक फिजियोथेरापिस्टलाई राष्ट्र विप्लवको अभियोगमा जन्मकैदसम्मको सजाय प्रस्ताव गरेको छ।
राष्ट्रिय टिमका कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र अञ्जन केसी तथा फुटबलका फिजियोथेरापिस्ट डेजिव थापाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सक्रिय बुकी (दलाल) को आर्थिक प्रभावमा परी खेल मिलेमतो गरेको पुष्टि भएको दाबी गर्दै प्रहरीले उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध र सजाय ऐन–२०४६ अनुसार सजाय प्रस्ताव गरेको आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

पाँच खेलाडी प्रहरीको हिरासतमा छन् भने अमेरिकामा रहेका फिजियोथेरापिस्ट डेविजलाई फरार उल्लेख गर्दै अभियुक्त बनाइएको छ। प्रहरीले खेल मिलेमतोमा संलग्न अन्तर्राष्ट्रिय रूपमै कुख्यात बुकी विल्सन राज पेरुमल, टिटानी पेरिसामी, तमन प्रमाटा, केशवन पट्टानलाई भने अभियुक्त बनाएको छैन।

जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौंमा बिहीबार बुझाइएको प्रस्तावित राय सुझाव प्रतिवेदनमा उनीहरूको कसुरबाट सो ऐनको दफा ३ को उपदफा ३.३ आकर्षित हुने भन्दै अदालतमा सोहीअनुसारको दण्ड सजायको मागदाबी प्रस्ताव गरिएको छ।

सो उपदफामा …कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी कुनै विदेशी राज्य वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गरेमा निजलाई जन्मकैद वा दस वर्षसम्म कैद हुने’ उल्लेख छ।

…अनुसन्धानको निचोडका आधारमा जिल्ला न्यायाधिवक्ताको कार्यालयमा प्रस्तावित राय सुझाव पठायौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी विश्वराज पोखरेलले नागरिकसँग भने।

प्रहरीको प्रस्तावित राय–सुझाव नै अन्तिम हैन। राय–सुझावसँगै समेटिएको प्रमाण, बयानका आधारमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले अभियोग तयार पारी विशेष अदालतमा अभियोगपत्र दर्ता गर्नेछ। अभियोगपत्र तयार गर्दा अपराधअनुसार दण्ड–सजायको मागदाबी बदल्न सक्ने अधिकार भए पनि मागदाबीमा टेक्ने मुख्य आधार प्रहरीको राय–सुझाव प्रतिवेदन नै हो।

खेल मिलेमतो गराउन सक्रिय समूहसँग मिलेर सन् २००८ देखि खेलिएका अन्तर्राष्ट्रिय खेलमा मिलेमतोमार्फत नतिजा ल्याएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले असोज २७ मा पाँच खेलाडीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।

प्रहरीले प्रस्तावित रायमा खेलाडीको प्रारम्भिक बयान, खेल मिलेमतो गरेको दाबी गरिएका खेलको नतिजा र प्राविधिक विश्लेषण, उनीहरूको सम्पर्कमा रहेका विदेशी बुकी, उनीहरूको आर्थिक पृष्ठभूमि र उनीहरूको नाममा विदेशबाट आएको रकमको विवरणलाई प्रमुख आधार बनाएको छ।

प्रहरीले अन्तर्राष्ट्रिय बुकीसँग उनीहरूको नियमित सम्पर्क र भेटघाट, उनीहरूले रकम बुझेको विवरण, खेलाडीको प्रारम्भिक भिडियो बयानलाई समेत मिसिलसँगै समेटेर जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बुझाएको छ।

अञ्जनले वेस्टर्न युनियनमार्फत २००९ डिसेम्बरमा ७ हजार १ सय सिंगापुर डलर, २०१२ सेप्टेम्बरमा २ हजार ४ सय ८० मलेसियन रिंगेट, २०१३ अगस्टमा ९ हजार ८ सय, सेप्टेम्बरमा १ हजार ६ सय मलेसियन रिंगेट र फेब्रुअरीमा १ हजार सिंगापुर डलर लिएको विवरण मिसिलमा प्रमाणका रूपमा राखिएको छ।

रितेशले प्रारम्भिक बयानमा नेपालीको पैसा भन्दै बैंकमा कार्यरत आफन्तमार्फत मलेसियाबाट नेपालमा ९ लाख रुपैयाँ पठाएको स्वीकार गरेको विवरणसमेत मिसिलमा प्राथमिकतामा साथ राखिएको अनुसन्धानमा संलग्न अधिकारीले जानकारी दिए।

विशेष अदालतले दोस्रोपटक दिएको एक साताको अनुसन्धान म्याद आइतबार सकिने भएकाले जिल्ला न्यायाधिवक्ताको कार्यालयले सोही दिन अदालतमा अभियोगपत्र दर्ता गर्ने तयारी गरेको छ। अदालतमा अभियोगपत्र दर्तासँगै खेलाडीलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा छाड्ने भन्ने पक्ष–विपक्षको बहस प्रारम्भ हुनेछ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts