एजेन्सी,मंसिर ८ । पाकिस्तानी अलराउन्डर मोहम्मद हफिजले म्याच फिक्सिङ काण्डमा जेल सजाय व्यहोरेका पूर्वसहकर्मी मोहम्मद आमिरसँग एउटै टोलीबाट नखेल्ने घोषणा गरेका छन् । सन् २०१० मा इंग्ल्यान्डविरुद्धको सिरिजमा स्पट फिक्सिङमा संलग्न भएपछि पाँच वर्षको जेल सजाय पाएका आमिर आगामी सेप्टेम्बरबाट खेलमा फर्कंदै छन् ।
हफिजले आफ्नो देशको एकतामा आघात पुर्याउने काम गरेको भन्दै आमिरसँग एउटै टोलीमा रहेर नखेल्ने घोषणा गरेका हुन् । ‘म मेरो देशको एकतामा आघात पुर्याउने कसैसँग पनि ड्रेसिङ रुम सेयर गर्न सक्दिनँ,’ हफिजले भने । ३५ वर्षीय हफिजले आमिरसँग आफ्नो व्यक्तिगत दुस्मनी भने नरहेको बताए । पाँचवर्षे जेल सजायपछि आमिर पाकिस्तानको इंग्ल्यान्ड भ्रमणका लागि उपलब्ध हुन सक्नेछन् । हफिजले आमिरविरुद्ध अन्य कुनै टोलीबाट खेल्न सक्ने भए पनि एउटै टोलीबाट भने नखेल्ने बताए । ‘
मैले उनीविरुद्ध घरेलु क्रिकेटमा पनि खेलेको छु,’ हफिजले भने, ‘यदि कुनै टोलीले उनीविरुद्ध खेल्न बोलाउँछ भने त्यसका लागि म तयार छु, तर एउटै टोलीबाट असम्भव छ ।’ आमिरले सन् २०१० मा लर्डसमा भएको इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा पहिले नै तय भएको समयमा नो बल बलिङ गरेका थिए । त्यसबेला आमिर १८ वर्षका मात्रै थिए । आमिरसँगै पाकिस्तानका तत्कालीन कप्तान सलमान बट र मोहम्मद आसिफले पनि सोही आरोपमा जेल सजाय पाएका छन् । हफिजले उनीहरूका कारण अन्य पाकिस्तानी खेलाडीले बोझ व्यहोर्नुपरेको बताए ।
‘उनीहरू प्रतिबन्धमा परे र फिल्डबाट बाहिर गए,’ हफिजले भने, ‘तर, त्यसको बोझ हामीले व्यहोर्नुपर्यो, पाकिस्तानी टोलीको एकता हामीले फिर्ता ल्याउनुपर्यो, पाकिस्तानी टोलीमाथि विश्वको विश्वास हामीले नै फिर्ता ल्याउनुपर्यो ।’ हफिजले उनीहरूकै कारण आफूहरूले फ्यानको गाली सहनुपरेको बताए । हफिजले फेरि त्यस्तै अवस्था आउन नदिनका लागि पनि उनीहरूलाई टोलीमा फिर्ता बोलाउन नहुने बताए । ‘हामी फ्यानहरूको नजरमा गिर्यौँ, सन् २०१० पछि प्रत्येक कार्यमा, प्रत्येक पराजयमा, प्रत्येक गल्तीमा हामीमाथि शंका गरिन्थ्यो,’ हफिजले भने, ‘अहिले हामीले त्यो अवस्था पार गरिसकेका छौँ, फेरि पनि त्यही अवस्था आउन नदिन मैले यो निर्णय गरेको हुँ ।’ नयाँपत्रिका दैनिका दैनिकमा समाचार छ । आमिर प्रतिबन्ध फुकुवा भएपछि बंगलादेशी लिगमा खेल्दै छन् ।
पाकिस्तानी टेस्ट कप्तान मिसवाह उल हकले भने बंगलादेशी लिगमा आमिरको संलग्नतालाई स्वागत गरेका छन् । इंग्ल्यान्डका पूर्वब्याट्सम्यान जियोफ्रे बोयकटले पनि आमिर, आसिफ र बटलाई दोस्रो अवसर दिइनुपर्ने बताएका छन् । पाकप्यासन डट नेटलाई दिएको अन्तर्वार्तामा ७५ वर्षीय बोयकटले भनेका छन्, ‘उनीहरूलाई सही अवसर दिइनुपर्छ र राम्रो गर्न सकेको अवस्थामा पाकिस्तानी टोलीमा पनि राखिनुपर्छ ।’
आमिरले आइतबार भएको खेलमा बंगलादेशी क्लब भिकिङका लागि ३० रन खर्चंदै ४ विकेट लिए । त्यो आमिरका लागि पछिल्लो पाँच वर्षमा पाकिस्तानबाहिर खेलेको पहिलो खेल थियो । पाकिस्तानी क्रिकेट बोर्डले बट र आसिफललाई राष्ट्रिय टोलीको छनोट प्रक्रियामा सहभागी हुनुपूर्व पुनर्सुधारको प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ ।
No comments:
Post a Comment