Saturday, November 21, 2015

बाबुराम भन्छन -‘बच्चा जन्मेको दिन छिमेकीसंग झगडा पर्ला, बच्चा नै छिमेकीको भन्ने ?

काठमाडौं,मंसिर ५ । एमाओवादी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियानमा लागेको नेता डा. बाबुराम भट्टराईले देशले भोगिरहेको वर्तमान समस्या र नयाँ शक्ति निर्माण अभियानलाई जोडेर नहेर्न आग्रह गरेका छन् ।
बानेश्वरको इन्द्रेणी फूडल्याण्डमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले मधेस आन्दोलन र भारतीय नाकाबन्दीसँग नयाँ शक्ति निर्माण अभियानको कुनै सम्बन्ध नरहेको प्रट्याए । ‘मैले पूरानो पार्टी छोडेर नयाँ शक्ति निर्माण अभियानमा लागेको सन्दर्भलाई देशको वर्तमान संकटसँग जोडेर आशंका व्यक्त गरिएको छ,’ भट्टराईले भने, ‘यो नाकाबन्दी त आकस्मिक रुपमा आईपरेको समस्या हो, मैले पछिल्लो डेढ वर्षदेखि नयाँ शक्ति निर्माणको बहस चलाउँदै आएको छु, आकस्मिक रुपमा सिर्जना भएको परिस्थितिसँग यसको कुनै तादम्यता छैन ।’

घरमा बच्चा जन्मिएको उदाहरण दिँदै भट्टराईले अघि भने, ‘अन्यथा नसोच्नुहोला, बच्चा जन्मिएको बेलामा पनि छिमेकीसँग झगडा हुनसक्छ कहिलेकहिँ । छिमेकीसँग झगडा परेको दिन घरमा बच्चा जन्मियो भने त्यो छिमेकीकै बच्चा हो, छिमेकीले जन्माईदेको बच्चा हो भन्न मिल्छ ? यस्तो आरोप लगाउन मिल्छ ? बच्चा जन्मिने त एउटा प्रक्रिया हुन्छ, एउटा समय पुगेपछि बच्चा जन्मिन्छ ।’

भट्टराईले यसलाई थप प्रष्ट्याउँदै भने, ‘नेपाल साप्ताहिकको साथी कोही हुनुहुन्छ भने मैले २०७१ फाल्गुनको अंकमा ‘नयाँ शक्तिको खाँचो’ भनेर लेखेको छु । म त खाली संविधान जारी हुने दिन पर्खिएर बसेको थिएँ । असोज तीन गते संविधान जारी भयो । मैले तीन गते, चार गते जति गते भएपनि नयाँ शक्ति निर्माण अभियान सुरु गर्नै पर्थ्यो, यदि म जिम्मेवार हो भने । मैले गर्नै पर्थ्यो, मैले गरेँ । यो नाकाबन्दी त आकस्मिक कुरा हो । योसँग जोड्नु उपयुक्त हुँदैन ।’ भट्टराईले नयाँ शक्तिका बारेमा थप कुरा पछि प्रष्ट पार्दै जाने बताए ।

साथै उनले मधेस आन्दोलन आन्दोलनरत शक्तिहरुको हातमासमेत नरहने अवस्थामा पुगेको भन्दै छिट्टो वार्ता र छलफल गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए । वीरगञ्जमा आन्दोलनकारीले औषधिको ट्रक जलाएको विषयलाई इंगित गर्दै उनले भने, ‘यो जुन किसिमको परिस्थिति देखिँदै छ, त्यसले कतै आन्दोलन अराजक शक्तिको हातमा त जाँदै छैन भन्ने आशंका पैदा गरेको छ, त्यसैले सबैले आ-आफ्नो गल्ति कमजोरीको समिक्षा गरेर, समस्या समाधानमा लाग्नुपर्छ ।’

भट्टराईले भारतीय सत्तापक्षले लगाएको नाकाबन्दी विलकुल गलत भएको बताए । यसलाई सुगौली सन्धीदेखि विकसित पराश्रित र असमान सम्बन्धको निरन्तरताको रुपमा चर्चा गर्दै उनले कुटनीतिक तबरबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

-www.sajhapost.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts