Saturday, November 14, 2015

लन्डनमा मोदी भागेको क्षण

फडिन्द्र भट्टराई

“उ उतैबाट निस्कियो”, बेलायती प्रधानमन्त्रीको निवास डाउनिङ स्ट्रीटको कालो फलामे गेट भित्र पत्रकारहरूको टोली दौडिएको देख्ना साथ प्रदर्शनकारीको बीचबाटै कोही चिच्यायो।
घन्टौंदेखिको नारावाजीमा घाँटी सुकाएका नेपालीहरुको नारावाजी फेरि चर्कियो।  सयौं मान्छेको एक स्वरको आवाजले कम्पन पैदा भएजस्तो सुनिन्थ्यो। व्यापक मिडिया कभरेजले गर्दा साँझसम्म यो बिरोधको समाचार संसारमा फैलिने त् पक्का थियो तर बिरोधका सहभागीहरू यो विरोधको नजर र आवाज मोदीको आँखा र कानसम्म पुगोस् भन्नेमा केन्द्रीत थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत भ्रमणको क्रममा बेलायती प्रधानमन्त्री कार्यालयमा आउने र त्यहाँबाट बेलयती संसदमा सम्बोधन गर्न जानको लागि प्रदर्शन र सुरक्षाको कारण देखाउँदै अगाडिको मुख्य प्रवेशद्वारको प्रयोग नगरेर ब्याक इन्ट्रान्सबाट प्रवन्ध मिलाईएको थियो। अर्को शब्दमा भन्दा मोदीलाई चोर बाटोबाट भगाईएको थियो!  बिरोधमा उत्रिएका नेपालीसँगको भेटलाई छलेर उनी भागेका थिए।
मोदीसँग आमने सामने हुन आतुर नेपालीहरू संसद भवन तर्फ लम्किए। संसद भवन तर्फ जाँदा खाली बाटोमा नारा घन्काउँदै हिडेको दृश्य कम रोचक थिएन। बाई पासर्सहरुको पनि जुलुस तर्फ रुचिपूर्ण ध्यानाकर्षण भएको थियो। पार्लियामेन्ट स्क्यायरमा महात्मा गान्धीको शालिकमा फूल चढाउने बेलामा केही मिटर परको नेपालीहरुको नारावाजी सुन्दिन भनेपनि मोदीको कानमा नपर्ने कुरै थिएन।
प्रधानमन्त्री निवासबाट छलाएर यता ल्याईएका मोदीलाई याँहानिर प्रदर्शनकारीहरुले आफ्नो शक्ति देखाउन सफल भएका थिए।
पार्लियामेन्ट स्क्वायारको दुई तर्फी बाटो बन्द गरिएको थियो। सामान्यतया देशी बिदेशी राष्ट्र प्रमुखको भ्रमणमा पत्तै नपाईने लन्डन सेन्टरको बाटो बन्द गर्नुको कारण मोदी बिरूद्धको प्रदर्शन नै थियो। प्रदर्शनकारीको उपस्थितिलाई मध्यनजर गर्दै लन्डनको प्रमुख ठाउँको मुख्य सडक बन्द गरिएको थियो।
आयोजकहरूले मेट्रोपोलिटन पुलिसलाई कायक्रमबारे खबर गरिसकेका थिए।  बेलायती प्रधानमन्त्रीको कार्यालयको ठीक अगाडिको स्थान हाम्रो बिरोधको लागि छुट्याईएको थियो।
 यतिन्जेल लन्डनको सिंहदरबार एरिया टुडिखेलमय भईसकेको थियो। मोदी बिरुद्दको प्रदर्शनमा सोही ठाऊँमा भारतीयहरुकै ठूलो उपस्थितिले हामीमा थप उर्जा प्रदान गरेको थियो। भारतकै सिख तथा अन्य एथनिक माईनरिटीका मान्छेहरु मोदीबीरुद्द बौलाए जस्ता देखिन्थे।
उनीहरु पनि बगलमा सँगसँगै उपस्थित हुनाले हामीलाई मास ठूलो देखाउन भूमिका अवश्य खेलेको थियो। नाराहरूमा नेपालीहरू कुर्लिएकै थिए। “ब्याक अफ मोदी/ इन्डीया!, रेस्पेक्ट नेपाल, फ्रिडम अफ ट्रान्जिट! आदि इत्यादि।
कसैले त घरि घरी मुर्दावाद पनि भनेका थिए! प्राय सबैको हातमा नेपालमा मानवीय संकट निम्त्याउने भारतीय नाकावन्दीको बिरोधका शब्दहरु लेखिएका प्लेकार्ड र ब्यानरहरु थिए।
बिबिसी, स्काई, सीएनएन तथा हिन्दी, उर्दु लगायतका टिभी च्यानलका रिपोर्टरहरुले प्रदर्शनलाई फोकस गरेर खिचिरहेका देखिन्थे। नेपाली पत्रकारहरुको पनि उल्लेख्य उपस्थिति थियो। कसले के लेख्यो भनेर नारावाजिकै बिचमा पनि कोही मोबाईल ब्राउज गर्दै देखिन्थे। अन्तर्राष्ट्रिय मिडियाहरुले कमसेकम यो बिरोधलाई हेडलाइन न्युजमा हाइलाइट गर्दै  मेन्सन गरेका छन्।
यसलाई ठूलै उपलब्धिको रूपमा हेरिएको छ। लिडिङ ईंग्लिश न्युजपेपरका प्रिन्ट तथा अनलाईन संस्करण हरुमा यो प्रसंगलाई ब्यापक रुपमा उठाईएको छ।
केही दिन पहिलेबाट बिरोध प्रदर्शनको आयोजनाको प्रचार प्रसारको अभियान सामाजिक सञ्जालबाटै चलेको थियो। गणेश खडका, एभरेस्ट गौतम लगायतका युवाहरुले शुरु गरेको अभियानमा एन आर एन युकेलगायत दर्जनौ नेपाली संघ संस्थाहरुलेउतिखेरै ऐक्यवद्दता जनाएर बेलायतवासी नेपालीलाई बिरोध प्रदर्शनमा सहभागी हुन आवहान गरेका थिए। कार्यक्रमको एक मात्र उद्देश्य भारतीय नाकावन्दीको बिरोध गर्नु थियो।
कार्यक्रमको आयोजना र यस भित्रको राजनीतिक ध्रुविकरणमा प्रायः विभाजित देखिने बेलायती नेपालीहरुलाई भारतीय नाकावन्दीले  यस पटक  एकै ठाउँमा उभ्याई दिएको थियो। सामाजिक आगुवा मात्र नभएर बिरलै यस्ता प्रोग्राममा हिड्ने युवाहरु पनि सह्भागी देखिन्थे। नेपालमा भूकम्प आउँदा होस अथवा नाकावन्दी खेप्दा होस्  देशलाई दुख्दा संसारमा रहेका सबै नेपालीको मन दुख्छ भन्ने कुरा पुनः छर्लंङ पारिदिएका छन् बेलायती नेपालीहरुले यसपाली।
“नारावाजी गर्दै गर्दा मेरो त घरी घरी छाती ढक्क फुलेर चण्डिका रौ ठाडा भएर आँखा समेत रसाए”, एकजना सहभागीले कार्यक्रमपछि भन्दै थिए। हुनपनि सहभागीहरु राष्ट्रप्रेमले ओतप्रोत नै देखिन्थे। बेलायत तिर सामान्यतया हुने बिरोध प्रदर्शनमा सहभागीता निकै कम हुने गर्छ। एकाध दर्जन मान्छेहरुले प्लेकार्ड ब्यानर देखाउने, धर्ना गर्नुलाई नै बिरोधको स्वरुपमा बुझिने ठाउँमा झन्डै एक हजारको हाराहारीमा उपस्थित नेपालीहरुले अत्यन्तै सभ्य र संगठित तरिकाले प्रभावकारी प्रदर्शन गरेर भारतीय ज्यादतिको अन्तर्राष्ट्रियकरणमा भूमिका खेलेका छन्।
भारतीय सरकार र मोदी स्वयमलाई यो बिरोध आफैंमा एउटा ठूलो ह्यूमिलिएशन थियो। उनीहरु पनि यो स्केलमा प्रोटेस्ट हुन्छ भनेर कल्पना गरेका थिएनन् भन्ने कुरा भारतीय प्रधानमन्त्रीको कार्यालयले बेलायती समाजमा नेपालीको प्रभाव बारेको रिपोर्ट माग बाटै प्रमाणित हुन्छ।
डेभिड क्यामरुन र नरेन्द्र मोदीको संयुक्त बक्तव्यमा नेपाल बिषयले प्रवेश पाउनु भनेको पनि आवाज सुनिएको छ भन्ने जनाऊ हो। भलै बेलायतले इन्डियासँग दश बिलियन पाउण्डको ट्रेड डिल साइन गर्दै गर्दा नेपाल प्रति भारतीय कदमको बेलायत सरकारबाट  सिधा बिरोध आउने त कुरै भएन। बक्तव्यमा भारतीय चासोलाई बढी जोड दिँदै सम्बोधन दिशा औल्याउनु स्वाभाविकै थियो। तर यही बिषयले बेलायतीको उपल्लो  सदनमा  समेत प्रवेश पाइसकेको परिप्रेक्षमा यो मुद्दा राइट पोइन्टमा पुगिसकेको छ। परन्तु आगामी दिनमा यसको फलो अपमा भने नेपाली डायस्पोरा खास गरेर एन आर एनले नै यसलाई अभियानको रुपमा अघि बढाउनु पर्ने देखिन्छ।
आफ्नै देशका समस्यामा गाँजिएको, बिहार निर्वाचनमा लज्जास्पद पराजय बेहोरेको मोदी सरकारले नेपाललाई गरेको व्यवहारको अन्तर्राष्ट्रिय आलोचना शुरु भएको छ।  भारत सरकारलाई पर्न जाने चौतर्फी दवावले नेपालको हितमा काम गर्ला भन्ने आशा गर्न सकिन्छ। परन्तु नेपाल भारत सम्बन्धमा यो बिरोधले अरु पर्सनल तिक्तता थप्ने सम्भावना पनि उत्तिकै रहन्छ।
एक जना सहभागीको भनाईमा आफ्नै आँखा अगाडिको यो चर्को विरोधले मोदीलाई थप चिढाउने सम्भावनालाई नकार्न भने सकिदैन। “अस्तित्वमा रहेर बिकराल बन्दै गरेको देशको समस्यालाई लुकाएर किन बस्ने, दुःख पाएको कुरा कमसेकम दुनियाँले त थाहा पाओस्, किन र कसले गर्दा यस्तो भएको छ भनेर” कार्यक्रम पछिको कफी गफमा एक जना नेपालीले भन्दै थिए।
देश, मधेशको समस्यामा सरकार गम्भीर भएर लाग्न ढिला गरेको छ, राष्ट्रियताको भाषणले मात्र नेपालीको जीवन चल्दैन भन्ने जनताले भन्दा सरकारले बढी बुझ्नुपर्ने कुरा हो। गर्न सकिने सीमासम्म पुगेर सम्बोधन गरियोस जायज मागहरू, स्वदेशको निकास देशमै निस्कियोस्, निकासका हरेक प्रयत्नमा सरकार लागोस भन्नेमै छन् गैर आवासीय नेपालीहरु पनि! बिरोध मधेशको होइन भारतको गरेका हुन् बेलायतमा नेपालीहरुले!

 -setopati

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts