सप्तरी,मंसिर ६ । सप्तरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि सप्तरीको स्थिति नियन्त्रण बाहिर पुगेको छ । प्रदर्शनकारीले आइतबार दिउसो सप्तरीको सदरमुकाम राजविराजमा जिल्ला प्रहरी प्रमुख एसपी भिम ढकाल चढेको गाडीमा आगजनी गरेका छन् । एसपी ढकाल चढेको ना१झ १३१६ गाडीमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । कफ्यू उल्लघंन गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले रुपनी मोडमा रहेको प्रहरी बिटमा समेत आगो लगाएका छन् ।
राजमार्गमा यातायात आगमन हुन नसक्ने गरी बरमझियास्थित सुन्दरी खोलाको पुल समेत आधा भन्दा बढी भत्काएका छन् । पुल भत्काउने प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गर्दा दर्जन बढी आन्दोलनकारी घाइते भएका छन् । प्रहरीको गाडीमा आगजनी गरेर आन्दोलनकारी गजेन्द्रनारायण सिंह अस्पतालमा लुकेको भन्दै प्रहरीले अस्पताल परिसरमै पसेर लाठीचार्ज गरेको छ । अस्पताल परिसरमा प्रहरीको लाठी चार्जबाट केही विरामीका कुरुवा र डाक्टर समेत घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग रुपनी र भारदह खण्डमा राती भएको झडपमा प्रहरीले गोली चलाउदा प्रदर्शनकारी र प्रहरी गरी करिब तीन दर्जन घाइते भएपछि स्थिति नियन्त्रण बाहिर पुगेको हो । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सप्तरीको स्थानीय प्रशासनले राजविराज अञ्चल प्रहरी कार्यालयबाट नगर प्रहरी कार्यालयसम्म अनिश्चितकालका लागि कर्फ्यु लगाएको भए पनि प्रदर्शनकारीले कर्फ्यु अवज्ञा गरेका छन् ।
रुपनी क्षेत्रमा रुपनी बजारदेखि पूर्व जगमोहन चौकसम्म र पश्चिम शम्भुनाथ नगरपालिकाको गेटसम्म कर्फ्यु जारी गरीएको छ। उत्तर-दक्षिणतर्फ रुपनी चोकदेखि ५–५ सय मिटर क्षेत्रमा कर्फयु आदेश जारी गरिएको प्रशासनले जनाएको छ। भारदहमा कंकालनी मन्दिरदेखि ५ सय मिटर पूर्व, पश्चिममा महुली पुल, उत्तरमा पोर्ताहा गाविस भवनसम्म र दक्षिणमा सकरदही नहरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरीएको छ।
मोर्चाले गरेको प्रदर्शनका कारण प्रहरीको सुरक्षामा चल्ने धेरै गाडी चल्न नसक्दा पूर्वबाट राजधानी हिडेका हजारौँ यात्रु अलपत्र परेका छन् । करिब तीन महिनादेखि पूर्वबाट काठमाडौँ जाने गाडीलाई प्रहरीले मध्यरातमा स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाउने गरेको थियो ।
No comments:
Post a Comment