सत्ता साझेदार दल एनेकपा (माओवादी) को अगुवाइमा चीनबाट पेट्रोलियम लगायत अत्यावश्यक सामग्री आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भएको छ ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सक्रियातामा शुक्रबार यहाँ वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइ र चीनका लागि नेपाली राजदूत महेश मास्केबीच चिनियाँ नाकाबाट अत्यावश्यक सामग्री आपूर्ति गर्नेबारे छलफल भएको हो।
‘नेपाल–भारत सीमा नाकामा झन्डै एक महिनादेखि उत्पन्न असहज परिस्थितिका कारण कष्टकर बन्दै गएको देशको पछिल्लो अवस्थालाई दृष्टिगत गरी पूर्व उपप्रधानमन्त्री श्रेष्ठको अगुवाइमा औषधि, इन्धन लगायत अति आवश्यक वस्तुको ढुवानी र पारस्परिक विषयमा कुराकानी भएको हो,’ उच्चस्तरीय छलफलबारे जानकारी दिँदै श्रेष्ठका सहयोगी सुसन कर्माचार्यले भने।
शुक्रबार नै चिनियाँ राजदूतसँगको छलफलपछि मन्त्री पुन र नेता श्रेष्ठले त्यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको उनले बताए। चिनियाँ राजदूतसँग भएको छलफल र त्यसको निष्कर्षका सम्बन्धमा भने आफू अनभिज्ञ रहेको उनको भनाइ थियो।
भूकम्पसँगै गएको पहिराका कारण अवरुद्ध रसुवाको केरुङ नाका चिनियाँ र नेपाली अधिकारीको प्रयासमा केही दिनअघि खोलिएको थियो । नाका खुलेकै दिन फेरि पहिराले बन्द भएको केरुङ मार्गलाई शीघ्र सञ्चालन गर्न दुवै मुलुकका सम्बद्ध कर्मचारी अहोरात्र खटेका छन् । रासस
No comments:
Post a Comment