काठमाडौं, असोज २४ । नेकपा एमाले संसदीय दलका नेता एवं अध्यक्ष तथा नेपालको ३८ औं प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा भएको हो । हाल भक्तपुरको बालकोटमा स्थायी रुपमा बस्दै आउनु भएका ओली २०७१ साल असारमा सम्पन्न नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनबाट पार्टीको अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँ २०७० साल मंसीरमा सम्पन्न संबिधान सभा निर्वाचनमा झापा क्षेत्र नम्बर सातबाट निर्वाचित हुनुभएको हो ।
२०७० साल माघ २१ गते भएको एमाले संसदीय दलको निर्वाचनमा उहाँ संसदीय दलको नेतामा निर्वाचित हुनु भएको थियो । अध्यक्ष ओलीको राजनीतिक यात्रा २०२३ सालमा माक्र्सबादी अध्ययन दलमा संगठित भई प्रारम्भ भएको हो । २०२५ सालबाट तत्कालिन नेपाल कम्युनिष्ट पार्टी सम्बध्द विधार्थी फाँटको फ्रयाक्सन कमिटीमा आबध्द भई उहाँले नेतृत्व गर्नु भएको थियो ।
२०२६ सालमा नेकपा कम्युनिष्ट पार्टीको सदस्यता पाउनु भएका ओली तत्कालिन झापा विद्रोहका एक जना संस्थापक र तत्कालिन नेकपा माले गठन हँुदाका संस्थापक मध्ये एक नेता हुनुहुन्छ । निरंकुश पञ्चायती व्यबस्थाका विरुध्दको आन्दोलनमा उहाँ २०२७ साल फागुन १६ गते झापाबाट गिरफ्तार हुनु भएको थियो । २०३० साल असोज २३ बाट उहाँको जेल जीवन प्रारम्भ भएको थियो । त्यसपछि अध्यक्ष ओलीले लगातार १४ वर्ष जेल जीवन विताउनु भएको थियो । २०४४ साल असार ११ मा उहाँ भद्रगोल जेलबाट रिहा हुनु भएको थियो ।
२०४४ साल पुष २ गते धादिङमा भूमिगत रुपमा बसेको तत्कालिन नेकपा मालेको बैठकबाट ओली केन्द्रीय कमिटि सदस्य हुनुभएको थियो । २०४६ सालमा तत्कालिन माले पार्टीको लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन गर्नु भएका अध्यक्ष ओली २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाचौ महाधिवेशनदेखि अध्यक्षमा निर्वाचित हुनु अघिसम्म एमालेको स्थायी समिति सदस्य हुनुहुन्थ्यो । उहाँ युवा संघ नेपालको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा उहाँ झापाबाट निर्वाचित हुनुभएको थियो भने २०५१ सालमा स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको पहिलो कम्युनिष्ट सरकारमा ओलीले गृह मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
२०६२–६३ को जनान्दोलनपछि स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा ओलीले उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो । जननेता मदन भण्डारीको सामिप्यमा रहेर नेकपा एमालेको विचार, सिध्दान्त निर्माणमा अहम भूमिका निर्वाह गर्नुभएका अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणका निम्ति पनि अहम भूमिका निर्वाह गर्नु भएको छ । देशका ७५ जिल्लाको भ्रमण गरिसक्नु भएका एमाले अध्यक्ष ओली भारत, चीन अमेरिका, बेलायत लगायत २९ देशको पनि भ्रमण गर्नु भएको छ ।
No comments:
Post a Comment