Saturday, July 2, 2016

मनकामना मन्दिर पुनःनिर्माणमा तीव्रता , एक तला निर्माण सम्पन्न

गोरखा, असार १९ । प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाइएको छ । गएको वर्षको भूकम्पले क्षति पुर्‍याएको मन्दिरलाई जगैसम्म भत्काएर पुनःनिर्माण गरिएको हो । गएको असारदेखि मन्दिर भत्काउन सुरु गरिएको थियो भने भदौ महिनादेखि मन्दिरको पुनःनिर्माणको काम अघि बढाइएको थियो । एक वर्षको अवधिमा मन्दिरको एक तला निर्माणको काम सकिएको मन्दिर जीर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए।

“मन्दिरको एक तला निर्माणको काम सकियो”, उनले भने– “काठको अभावले धमाधम मन्दिर पुनःनिर्माण गर्न सकेनौँ ।” सालको काठ खोज्दै चितवन, हेटौँडा र वीरगन्ज पुगेको भन्दै उनले मन्दिर पुनःनिर्माणमा अझै पाँच सय क्यूफिट काठ आवश्यक रहेको जानकारी दिए। हालै वीरगन्जबाट पाँच सय क्यूफिट काठ मन्दिर ल्याइएको थियो । काठमा बुट्टा भर्ने काम भइरहेको छ । भक्तपुरदेखि आएका कालीगढले झ्याल, ढोका, टुँडाल, थाममा बुट्टा भर्दै आएका छन् ।

कलात्मक बुट्टा भरिएका इँटाको अभाव हुँदा दोस्रो तलाको गाह्रो लगाउन नपाएको उनको भनाइ छ । इँटाको अभावले विगत एक सातादेखि छ जना कामदारले काम पाएका छैनन् । मन्दिर दुई तलाको हुने भए पनि बाहिरबाट हेर्दा तेस्रो तलाको जस्तो स्वरुप झल्किन्छ । पुरातत्व विभागको आवश्यक नीति निर्देशनअनुसार मन्दिर पुनःनिर्माणको काम भइरहेको हो । विभागबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा मन्दिर निर्माणको काम गरिएको छ।
आगामी एक वर्षभित्र मन्दिरको पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विसं २०६८ मा पुरातत्व विभागले मन्दिर पुनःनिर्माणमा आठ करोड लाग्ने लागत अनुमान गरेको भए पनि अहिलेको अवस्थामा आइपुग्दा निर्माण सामग्री ढुवानी तथा निर्माण सामग्रीको मूल्य वृद्धि भएकाले करिब १२ करोड लागतमा मन्दिरको पुनःनिर्माण गरिसक्ने श्रेष्ठले जानकारी दिए। मन्दिर निर्माणका लागि सरकारले जिन्सी सहयोग गरेको थियो ।
सरकारले तीन करोड बराबरको सुन खरिद गरी दिएको छ भने थप रु एक करोडमध्ये रु ५७ लाखको सुन र रु ४३ लाख बराबरको सालको काठ पनि खरिद गरी समितिलाई दिएको हो । “मन्दिरमा दर्शन गर्न आएका भक्तजनबाट पाँच करोडभन्दा बढी रकम सङ्कलन भइसकेको छ” – संयोजक श्रेष्ठले भने।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बर्खा लागेपछि घटेको मन्दिरका पुजारी इन्शानबहादुर थापाले जानकारी दिए। अहिले मन्दिर रहेको स्थानको बाहिरपट्टि टहरा निर्माण गरेर पूजाआजाको व्यवस्था गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts