एजेन्सी,असार २३ । वेल्सलाई हराँउदै पोर्चुगल युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति लियोनमा भएको सेमिफाइनलमा वेल्सलाई २–० ले हराएर पोर्चुगलले फाइनलमा पुगेको हो । पोर्चुगललाई जिताउन क्रिष्टियानो रोनाल्डो र नानीले तीन मिनेटको अन्तरमा २ गोल गरे । पहिलो हाफामा गोल रहित बराबरी भएको खेलमा दोस्रो आफको सुरुवातमै रोनाल्डोको सुन्दर हेड गोल मार्फत पोर्चुगलले अग्रता लियो । ५० औं मिनेटमा रोनाल्डोले हेडमार्फत गोल गरेका हुन् ।
त्यसको तीन मिनेटपछि रोनाल्डोको पासमा नानीले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । बलमा नियन्त्रण पोर्चुगलको भन्दा वेल्सको केही बढी रहेपछि वेल्सका खेलाडीले गोल गर्ने अवसर सृजना गर्न सकेनन् र पाएका अवसरलाई पनि सदुपयोग गर्न सकेनन् ।
वेल्सको भने ऐतिहासिक यात्रामा पूर्णबिराम लागेको छ । पोर्चुगल १२ बर्षको अन्तरमा दोस्रो पटक युरोको फाइनलमा पुगेको हो । सन् २००४ मा घरैमा भएको प्रतियोगिताको फाइनलमा पोर्चुगलले ग्रिससँग पराजय ब्यहोरेको थियो । पोर्चुगलले आज हुने जर्मनी र आयोजक फ्रान्सबिरुद्धको बिजेतासँग उपाधिका लागि आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।
No comments:
Post a Comment